
News Summary
Generated by OK AI. Editorially reviewed.- धादिङकी पार्वती कार्कीलाई एनसेलको मुख्यालयबाट एक करोड रुपैयाँको बम्पर पुरस्कार परेको छ ।
- पार्वतीले पुरस्कारबाट ऋण तिर्न, श्रीमान् फर्काउन र छोराको शिक्षा सुनिश्चित गर्न चाहन्छिन्।
जिन्दगी जेनतेन चलिरहेकै थियो । एक मेलो काम गरेर साँझ–बिहान छाक टार्यो, बस्यो । न मनग्ये आयआर्जन थियो, न मन छुने सपना ।
श्रीमान् वैदेशिक रोजगारीमा, छोरो काठमाडौंमा । अनि पार्वती कार्की थिइन् गाउँमै । पैसा र परिबन्धले यसरी छरिएको थियो, एउटा सानो परिवार । परिवारको आफ्नै दु:ख थियो । दु:खको छुटै कथा थियो ।
ऋणपन गरी चलाएको किराना पसल ऋणैमा डुब्यो । दु:खजिलो गरेर बनाएको घर बस्न नपाई खण्डहर भयो । घर मात्र खण्डहर भएन, उनीहरूको खुसी पनि ।
बल्लतल्ल बनाएको घर एकै झमटमा भत्कनु, घरसँगै आफ्नो कोखको सन्तान खोसिनु । पार्वती कार्कीलाई लागेको थियो, ‘मेरो भागको यो दु:ख कहिल्यै सकिने छैन । मेरो आँखा कहिल्यै ओभाउने छैनन् ।’
तर, त्यस्तो भएन ।
एकदिन उनको जीवनमा ‘खुस खबरी’ तुफान जसरी आइदियो । त्यसबेला उनी बारीमा काम गर्दै थिइन् । मेलापातको काम गरिरहँदा मोबाइलमा फोन आएको समेत भेउ पाइनन् । साँझ घर फर्केपछि उनले फोन हेरिन्, जहाँ अपरिचित नम्बरबाट केही पटक आएको ‘मिस्ड कल’ थियो ।
सुरुमा त उनले बेवास्ता गरिन् । तर, उस्तै नम्बरबाट फोन आउने क्रम जारी रहेपछि फोन उठाइन् । फोनमा उनले यस्तो खबर सुनिन्, ‘तपाईंलाई ठूलो पुरस्कार परेको छ ।’
यो खबर आएको थियो, काठमाडौंस्थित एनसेलको मुख्यालयबाट ।
सुरुमा उनले पत्याइनन् । कसैले ठगी गर्न पो भने कि, कसैले ठट्टा गर्न पो भने कि । तर, बुझ्दै जाँदा थाहा भयो, उनलाई एक करोड रुपैयाँको बम्पर उपहार परेको रहेछ ।
हजार होइन, लाख होइन । करोड । यो अंक आफैँमा अत्याउने खालको थियो । करोड रुपैयाँ सानो रकम थिएन । उनले त यो जुनीमा यत्तिको रकम देख्न पाइएला भनेर कल्पना पनि गरेकी थिइनन् । जीवन अचानक सपनाजस्तै भइदियो ।
सपनाजस्तो लाग्ने कुरा सुन्दा कस्तो भयो होला ? त्यो पनि गाउँमा सामान्य जीवन बिताइरहेकी एक महिलालाई । उनको मनोभाव कस्तो हुँदो हो ? उनले के-के सोचिन होला ? खुसी, आश्चर्य, संशय र उमंगले एकसाथ कस्तो भाव पैदा गर्यो होला ?
………..
पुरस्कारका लागि पार्वती दुई दिनअघि काठमाडौं आइन् । एनसेलको मुख्यालयमा उनको फोटोसुट चल्दै थियो । १ अंकमा ७ वटा शून्य भएको पोस्टरलाई पृष्ठभूमि बनाएर उनी पोज दिइरहेकी थिइन् ।
छोरो र देवर हातमा पुष्पगुच्छा र खादा बोकेर पछिल्तिर उभिएका थिए । प्रफुल्ल मुद्रामा ।
‘कहिल्यै सोचेको थिइनँ’ उनले हामीसँग भनिन्, ‘सपना हो कि, विपना हो भइरहेको छ ।’
पुरस्कार परेको कसरी थाहा भयो ? थाहा पाउँदा कस्तो भयो ? यो कुरा सुरुमा कसलाई सुनाउनु भयो ? सुन्ने मान्छेले के भने ?
यी प्रश्नहरुसँगै हामीले उनको विगत जान्न खोज्यौं ।
जिन्दगी चल्न त चल्या छ
जीवन सामान्य थियो । सपनाहरू सामान्य थिए । मेलापात गर्यो, घाँसदाउरा गर्यो । यसरी नै जेनतेन चल्दै थियो जिन्दगी ।
धेरै पढेलेखकी थिइनन् । पुग्दो जायजेथा थिएन । मजबुरी र मजदुरीको कहिल्यै चुक्त नहुने किस्ता जस्तै थिए दिनहरु । बिहान उठ्यो, घर लिपपोत गर्यो, घाँसदाउरा गर्यो, खेतीपाती स्यहार्यो । यता मिलायो, उता मिलायो । यसरी नै गुज्रिन्थ्यो हरेक साँझ ।
तर, यो पनि एकनासको थिएन । कहिले असाध्यै दु:खले सताउथ्यो, कहिले अभावले रुवाउँथ्यो । आखिर जे भएपनि बाँच्नु नै थियो । केवल बाँच्नैका लागि बाँचेको जस्तो थियो जीवन । कुनै ठूलो लक्ष्य, आकंक्षा थिएन । वस्, दुई छाक टार्न पाए पुग्थ्यो ।
जसोतसो ९ कक्षासम्म पढेकी थिइन् । कयौँ रहरहरू थाती राख्दै उनको विवाह भयो । विवाह त भयो तर घर गृहस्थी सुविस्ताको थिएन । अभावै अभावमा बित्थ्यो दिनहरू । यस्तै अभाव टार्न श्रीमान् धनबहादुर धनकै लागि वैदेशिक रोजगारीमा गए ।
घर परिवार छाडेर वैदेशिक रोजगारीमा गएका श्रीमानको अवस्था ठिकठाक रहेन । विदेश गएपछि कहिले बिरामी पर्ने, कहिले के हुने । ऋण गएर विदेश गएका उनी बिरामी परेकै कारण बेलाबखत घर फर्कंथे । यस्तो क्रम चलिरन्थ्यो ।
वैदेशिक रोजगारीले पार नलाग्ने देखेपछि उनी घर फर्किए । उसैगरी ऋणपन गरे । र, काठमाडौंमा किराना पसल चलाए । किरना पसल चलाउन पनि त्यति सजिलो कहाँ छ र ? त्यो पनि काठमाडौं जस्तो ठाउँमा ? धेरैजसो उधारोमै सामान जाने । पैसा उठाउन अर्को हैरानी । उधारो खाएर कोही आउँदै नआउने । ऋण गरेर खोलेको किराना पसलले ऋणमाथि ऋण थपेर डुबाइदियो ।
घुम्दै फिर्दै रुम्जाटार
अब के गर्ने त ? एकातिर टाल्न खोज्यो, अर्कोतिर फाट्ने । उपाय थिएन । घुम्दै फिर्दै रुम्जाटार भनेजसरी उनीसँग एउटै विकल्प बाँकी रह्यो, वैदेशिक रोजगारी । अन्तत: फेरि धनबहादुर बहराइनतर्फ उडे ।
परिवारसँग विछोडिनु, परदेशमा पसिना बगाउनु कसैको रहर हुँदैन । बाध्यताले लेखेटेपछि आखिर के लाग्छ र ! टाउकोभरी ऋण छ । तिर्नै पर्यो । ऋण तिर्नका लागि विदेशिनै पर्यो । छालाको एलर्जी छ भनेर के गर्नु ? रोगव्याधि सहेरै श्रीमान् विदेश गए ।
विदेश त गए, तर भनेजस्तो पैसा भएन । मुश्किलले महिनामा २०–२५ हजार रुपैयाँ बचाउन सकिने । त्यतिका पैसाले के हुन्छ ? ऋण तिर्ने कि घरखर्च टार्ने ? त्यसमाथि छोरोलाई पढाउनु पनि छ ।
गाउँले जीवन, एकोहोरो काम र कमाइमा मात्र लाग्न पनि नसकिने । मर्दापर्दा सहभागी हुनैपर्ने । त्यसमाथि उनी त महिला स्वास्थ्य स्वयम् सेविका । घरको कामधन्दा भ्याएर गाउँ डुल्नुपर्ने । सामान्य दु:ख बिराम भएको ठाउँमा पुग्नैपर्ने । यसरी नै बित्दै थियो पारिवारीक जीवन ।
एक प्रलय र सन्तान वियोगको पीडा
ऋणमै परेर, दु:खै गरेर भएपनि एउटा सानो घर बनाउने योजना थियो । त्यही अनुसार दिनरात खटिएर उनीहरुले घर बनाए पनि । गाउँको घर । सामान्य नै हुने भयो । यद्यपि उनीहरूका लागि यो सामान्य कुरा थिएन । जीवनभरका लागि ओत लाग्ने एक सुरक्षित आश्रयस्थल थियो । त्यसैले घर निर्माण पूरा भएपछि उनीहरूले सन्तोषको सास फेरेका थिए ।
धादिङको गंगाजमुना गाउँपालिकास्थित बाङ्गे पिपलमा घर ठडियो । यो उनीहरूको सपनाको घर थियो, जहाँ श्रम र पसिना मिसिएको थियो । पश्चिमतर्फ बारपाक । पूर्वमा बुढीगण्डकी ।
घरको सबै व्यवस्था भइसकेपछि नयाँ घरमा विधिवत् रुपमा सर्ने तयारी थियो । परम्परा अनुसार नयाँ घरमा विधिवत् रुपमा बस्नका लागि घरपैंचो गरिन्छ । त्यसैको तयरीमा थिए उनीहरू ।
२०७२ साल । वैशाख १२ गते ।
अचानक विनाशकारी भूकम्प आयो । बारपाकलाई केन्द्रविन्दु बनाएर आएको भूकम्पले उनीहरूको सपनाको घर एकै निमेषमा गर्ल्याम्मगुर्लुम्म ढालिदियो । बारपाकदेखि बस्तीको दूरी त्यति धेरै टाढा छैन ।
भूकम्पले नयाँ घर मात्र भत्काएन, कहिल्यै नपुरिने घाउ पनि दिएर गयो । धनसारमा सुताएको छोरो पनि घरसँगै पुरिए । त्यो कलिलो छोरो जन्मिएको एक महिना एक दिन मात्र भएको थियो ।
सन्तान वियोगको यो पीडाले उनीहरूलाई नराम्ररी विक्षिप्त बनायो । तर, जतिसुकै ठूलो दु:ख भएपनि सहनै पर्छ । सहेरै बाँचेका थिए जसोतसो ।
बाँकी रहेको ठूलो छोरोलाई हुर्काउने, बढाउने, पढाउने गर्नु छँदैछ । त्यही छोरोको भविष्य हेरेर उनीहरूले दु:ख भुल्ने यत्न गरेका थिए । छोरोको भविष्यका खातिर उनीहरू आफ्नो वर्तमान रित्याउँदै थिए ।
जब एक करोडको उपहार पर्यो
‘तपाईंलाई एक करोड रुपैयाँको बम्पर उपहार परेको छ’ यो खबर उनले सुरुमा पत्याइनन् । पत्याउनु पनि कसरी ? यो सोच्दै नसोचेको कुरा जो थियो ।
कसैले ठट्टा गरेको हुनसक्छ, कसैले झुक्याएको हुनसक्छ । आखिर यस्तो भइरहेकै हुन्छ अहिलेको दुनियाँमा ।
तर, पटक-पटक काठमाडौंबाट फोन आएपछि, छिमेक र आफन्तमार्फत पनि सोही खबर पाएपछि उनलाई पत्याउन कर लाग्यो । उनले काठमाडौंमै बसेर पढ्दै गरेका छोरालाई यो कुरा सुनाए । छोरा एसएस कलेजमा १२ कक्षा पढिरहेका छन् ।
एक करोडको कुरा ‘कन्फर्म’ गर्न उनी काठमाडौं आइन् । अनि एनसेलको मुख्यालयमा पुगिन्, छोरोलाई साथमा लिए । त्यहाँ कर्मचारीले उनीसँग यही खुसी साटे र उल्लासले ताली बजाए । जीवनमा जहिले दु:खै दु:ख भोगेकी, अभावका कैयौं रातहरू गुजारेकी पावर्ती कार्कीको खुसीले आँखा भरिए ।
एक करोड रुपैयाँ पाउने उमंगले उनका शरीरका अवयवहरू तंग्रिए ।
…………….
‘सुरुमा त यहाँबाट (एनसेल) म्याडमहरूले फोन गर्नुभाथ्यो, यस्तो प्राइज छ, यति छ भन्नुभयो’ उनले सुनाइन्, ‘सुरुमा त मैले पत्याइनँ ।’
पुरस्कार परेकै हो त भनी टुंगो गर्न उनी काठमाडौं आइन् । काठमाडौंमै बसेर पढिरहेका छोरा र देवरलाई साथमा लिएर एनसेलको मुख्यालय पुगिन् ।
यत्तिका पैसा अब उनले के गर्छिन् ?
स्वभाविक रुपमा उनको प्राथमिकतामा छ, ऋण । ऋण चुक्ता गरेर टाउको हलुंगो बनाउनुछ । त्यसपछि परदेशमा दु:ख गरिरहेका श्रीमानलाई घर फर्काउनुछ । छोरोलाई भनेजस्तै शिक्षादीक्षा दिनुछ ।
अनि बुढाबुढी मिलेर आफ्नै छुटै उद्यम गर्नुछ, एकै ठाउँमा बसेर । अनि खुसी परिवार, सुखी परिवारको रुपमा एकढिक्का हुनुछ ।
एनसेलको ‘सबै अन’ अर्न्तगतको पुरस्कार
पार्वतीलाई कसरी यो पुरस्कार पर्यो, कहाँबाट पर्यो, कुन योजनाअन्र्तगत पर्यो थाहा थिएन । खासमा एनसेलले ‘सधैं अन करोडपति’ भन्ने योजना सञ्चालन गरेको थियो, असार १ गतेदेखि असार ३२ गतेसम्म ।
ग्राहकले ९९ रुपैयाँभन्दा माथिको डाटा प्याक वा भ्वाइस प्याक लिएपछि ग्राहक त्यस योजनामा स्वतः सहभागी हुने व्यवस्था थियो । यसै अन्र्तगत योजना सञ्चालन भएको तेस्रो हप्ता पार्वतीले ९९ रुपैयाँको रिन्यूल प्याक लिइन् । त्यसैले उनलाई दिलायो, एक करोड रुपैयाँ ।
पहिला १२ हप्ताका लागि भनेर एनसेलले ल्याईएको यो योजना अहिले नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशन बमोजिम बन्द भईसकेको छ ।
प्रतिक्रिया 4