News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालमा दृष्टिदोष भएका करिब ३० प्रतिशत मानिसले चस्मा लगाउँदैनन्, जसले रोजगारी र आत्मविश्वासमा असर पार्छ।
- लेजर प्रविधिबाट आँखाको नानीमा पावर घटाएर दृष्टिदोष सुधार गर्ने तीन मुख्य विधि छन्: फोटोरिफरेक्टिव केराटेक्टोमी, लासिक, र स्माइल।
- लेजर सर्जरी १८ वर्षमाथिका स्थिर पावर भएका बिरामीका लागि उपयुक्त छ र ९५ देखि ९८ प्रतिशत सफलताको दर छ।
तपाईं बाटोमा हिँडेका मानिसहरूको आँखातिर नियाल्नुहोस् । करिब हरेक १० जनामध्ये ३ जना चस्मा लगाएका भेटिन्छन् । भनिन्छ-जहाँ गुण हुन्छ, त्यहाँ दोष पनि हुन्छ । यस्तै सुविधायुक्त संसारको दोष हो सायद दृष्टिदोष । लगातार नजिकको काम, स्क्रिनको अत्यधिक र निरन्तर प्रयोगले दृष्टिदोषको जोखिम झन् बढ्दै गएको छ ।
दृष्टिमा समस्या भए पनि चस्मा लगाउनु पर्ने करिब आघा मानिसहरूले चस्मा लगाइरहेका छैनन् । कतिपयले आफ्नो दृष्टिदोषको बारेमा जानकारी नभएर त कतिले झन्झट मानेर चस्मा लगाउँदैनन् ।
चस्मा लगाउँदा सौन्दर्यमा असर पर्ने, बोल्दा आत्मविश्वास कम हुने, खेल्दा वा गाडी चलाउँदा झट्ट छेउका वस्तुहरू हेर्न अप्ठ्यारो हुने जस्ता कुराले मानिसहरू चस्मा लगाउन खोज्दैनन् ।
केही रोजगारीहरू जस्तै सैनिक भर्ती, विमानचालक आदि कामका लागि चस्मा प्रयोगकर्तालाई प्राथमिकतामा राखिँदैन। यस्ता रोजगारीमा जान चाहने मानिसहरूलाई दृष्टिदोषको कारण आफ्नो रोजगारीमा सम्झौता गर्नुपर्ने अवस्था सिर्जना हुन्छ । चाहे रोजगारीका लागि होस् वा अन्य कारणले, चस्मा लगाउनेहरूका आत्मसन्तुष्टि र दक्षतामा प्रत्यक्ष वा अप्रत्यक्ष असर पर्छ ।
यस्ता व्यक्तिका बिनाचस्मा दृष्टिदोष हटाउने लेजर प्रविधि उपलब्ध छ । अहिले विशेषगरी काठमाडौं तथा पूर्वी नेपालका विभिन्न क्षेत्रमा यो सेवा विस्तार भइरहेको छ । यसरी चस्मा हटाउने प्रविधिको विस्तार नेपालजस्तो देशका लागि आँखाको स्वास्थ्य क्षेत्रमा नयाँ आयाम हो । यो सेवा विस्तारसँगै सर्वसाधारणमा चस्मा हटाउने प्रविधिको सामान्य ज्ञान हुनु आवश्यक छ ।
लेजर प्रविधिबाट चस्मा हटाउने विधि
लेजर प्रविधिबाट चस्मा हटाउने विधि भनेको आँखाको दृष्टिदोषहरू (जस्तै, नजिकको नदेख्ने, टाढाको नदेख्ने वा कुनै निश्चित अक्षमा पावर हुने) सुधार गर्न लेजर प्रयोग गरेर आँखालाई बाहिरबाट चाहिने पावरलाई शून्य बनाउने गरी नानीको आकार परिवर्तन गर्ने प्रक्रिया हो ।
यसको मुख्य उद्देश्य प्रकाशका किरणहरू सिधै रेटिनामा केन्द्रित गराउनु हो, जसले गर्दा चस्मा वा कन्ट्याक्ट लेन्सको आवश्यकता हट्छ वा घट्छ । यो प्रक्रियालाई चस्माको सिसा बनाउने प्रक्रियासँग तुलना गरी बुझ्न सकिन्छ । जसरी, एउटा चस्माको सिसामा पावर राख्न त्यसको अगाडिको भाग पोलिस गरेर त्यसमा पावर कोरिन्छ, ठिक त्यसैगरी लेजर प्रविधिले आँखाको नानीमै लाग्ने पावर कोरिन्छ ।
दृष्टिदोष हटाउन लेजर कसरी काम गर्छ ?
लेजरले मुख्य तीन तरिकाले काम गर्छ: तन्तु काट्ने, तन्तु तान्ने र तन्तु हटाउने । चस्मा हटाउने शल्यक्रियामा आँखाको नानीलाई कुनै विशेष ठाउँमा पातलो पार्ने प्रक्रिया हुन्छ, जसमा लेजरको काट्ने वा तान्ने प्रविधिलाई प्रयोग गरिन्छ ।
आँखाको नानीको अगाडि भागबाट सानो भागलाई लेजरको प्रयोगले हटाउँदा बाहिर जाने पावर आँखाको नानीमा घट्छ । यो प्रविधि अत्यन्त सटिक र भरपर्दो हुन्छ । यो अप्रेसनपछि ९५ प्रतिशत बिरामीहरूले जस्मा नलगाइकन समान्य अवस्थाजस्तै देख्न सक्छन्।
लेजर प्रविधिबाट हुने शल्यक्रियालाई तीन भागमा बाँड्न सकिन्छ:
१.फोटोरिफरेक्टिव केराटेक्टोमी
यो प्रकारको अप्रेसन प्रायः कम वा बढी दृष्टिदोष भएका, तर आँखाको नानीको मोटाइ कम भएका मानिसहरूमा गरिन्छ । यसमा आँखाको नानीको माथिल्लो सतहलाई लेजर ले हटाएर तलको सतहमा पुनः लेजरले काम गरिन्छ । केही दिनका लागि आँखामा कन्ट्याक्ट लेन्स लगाएर आराम गराइन्छ । सुरुका केही दिन आँखामा जलन र असहजता हुन सक्छ । करिब २ देखि ३ हप्तामा दृष्टिदोष लगभग ९५ प्रतिशत सुधार हुन्छ।
३.लासिक सर्जरी
यो हाल सबैभन्दा धेरै प्रयोगमा आएको सर्जरी हो । यसमा आँखाको माथिल्लो सतहलाई गोलाकाररूपमा काटेर तल्लो सतहको तन्तुलाई लेजरले हटाइन्छ र काटेको सतह फिर्ता राखिन्छ । यस विधिमा दृष्टिदोष तत्काल सुधार हुन्छ र दृश्य पुनःप्राप्ति छिटो हुन्छ । अप्रेसनपछि हुने समस्या कम हुन्छन्।
३.स्माइल वा सिल्क प्रविधि
यसमा आँखाको नानीमा सानो चिरा बनाएर लेजर प्रयोग गरी तन्तु काटिन्छ । यसमा दृष्टि पुनःप्राप्ति धेरै छिटो हुन्छ र आँखामा समस्या कम हुन्छ । यो विधिले आँखाको प्राकृतिक बललाई खासै असर गर्दैन र भविष्यमा हुने समस्या कम हुन्छ । यद्यपि यो विधि सबैका लागि उपयुक्त नहुन सक्छ ।
लेजर सर्जरी गर्नुअघि ध्यान दिनुपर्ने कुरा
-लेजर सर्जरी गर्दा आँखाको पावर स्थिर हुन आवश्यक हुन्छ । आँखाको आकार करिब १८ देखि २० वर्षको उमेरसम्म बढ्छ । त्यसैले कम्तीमा १८ वर्ष उमेर पुगेपछि मात्र यो सर्जरी गर्नुपर्छ ।
-केही व्यक्तिको आँखाको पावर १८ वर्षपछि पनि स्थिर नहुँदा २१ वर्षसम्म अवलोकनमा राख्नुपर्ने हुन्छ ।
-आँखाको नानी कम्तीमा ५०० माइक्रोन मोटाइ भएको हुनुपर्छ ।
-आँखामा कुनै संक्रमण, चोट वा अन्य रोग हुनुहुँदैन ।
-मधुमेह, अटोइम्यून रोग वा अत्यधिक चिन्तित बिरामीहरूका लागि यो सर्जरी उपयुक्त नहुन सक्छ ।
लेजरले कति दृष्टिदोष ठिक गर्छ ?
– यो उपचारले माइनस ८.०० डायप्टरसम्म नजिकको दृष्टिदोष, प्लस ४.०० देखि ५.०० सम्म टाढाको दृष्टिदोष र ५.०० सम्म सिलिन्डर ठिक गर्न सक्छ।
-फोटो रिफरेक्टिव केराटेक्टोमीले माइनस ८.०० सम्म, टाढाको दृष्टिदोष ३-४ डायप्टरसम्म, र सिलिन्डर ३-४ सम्म उपचार गर्न सक्छ।
-स्माइल वा सिल्क प्रविधि पनि माइनस ८.०० सम्म नजिकको दृष्टिदोष र ५.०० सम्म सिलिन्डर ठिक गर्न सक्षम छन् ।
-माथि उल्लेखित पावर भन्दा बढी पावर हुने बिरामीका लागि एक प्रकारको प्लास्टिकको लेन्स (आइ पी सी एल) आँखाभित्रै राखिन्छ । सर्जरीअघि अपनाउने सावधानी र हुनसक्ने साइड इफेक्टहरू
-कम्तीमा एक महिनाअघि कन्ट्याक्ट लेन्सको प्रयोग बन्द गर्नुपर्छ ।
-सर्जरी पीडारहित हुन्छ तर हल्का दबाब वा उज्यालो देखिन सक्छ ।
-निको हुने समय सामान्यतया ३ देखि ५ दिनसम्म हुन्छ, कतिपयलाई २ हप्तासम्म लाग्न सक्छ।
सामान्य (अस्थायी) साइड इफेक्टहरू:
-आँखामा सुख्खापन, जलन, बाह्य वस्तु भएको जस्तो महसुस
-राति बत्ती वरिपरि घेरा देखिनु
-कडा उज्यालोमा असहज हुनु
-दृष्टि कहिले स्पष्ट कहिले धुमिल देखिने
-हल्का पीडा वा जलन हुन सक्छ
लेजर सर्जरीको सु कति सुरक्षित छ ?
-यसको सफलता दर ९५ देखि ९८ प्रतिशत बिरामीले ६/६ (नजिकको) दृष्टि पाउँछन् ।
-९९ प्रतिशत भन्दा बढीको चस्माबिना दैनिक जीवन सहज हुन्छ ।
-गम्भीर दृष्टि गुम्ने जोखिम अत्यन्त कम छ ।
-२०-२५ वर्षसम्मको अध्ययनले तीनै प्रविधि सुरक्षित प्रमाणित गरेको छ।
प्रतिक्रिया 4