
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेस र नेकपा एमालेले उपसभामुख इन्दिरा रानालाई हटाउन दुई तिहाइ बहुमत पुर्याउने प्रयास सुरु गरेका छन्।
- सिंहदरवारमा कांग्रेस, एमाले र साना दलका प्रतिनिधिहरूको बैठक चलिरहेको छ, जसमा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ पनि सहभागी छिन्।
- प्रतिनिधि सभामा उपसभामुख हटाउन दुई तिहाइ अर्थात् १८३ सांसदको समर्थन आवश्यक छ, जुन कांग्रेस र एमालेको हालको संख्या १६७ छ।
३ भदौ, काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेले उपसभामुखबाट इन्दिरा रानालाई हटाउन दुई तिहाइ पुर्याउने कसरत सुरु गरेका छन् ।
कांग्रेस र एमालेले पहिले आफ्नो पार्टीका सांसदहरूलाई हस्ताक्षर गर्न लगाएर अन्य साना दलसँग छलफल सुरु गरेका हुन् ।
उपसभामुख हटाउन दुई तिहाइ पुर्याउने कसरत अन्तर्गत सिंहदरवारमा दलहरूको बैठक चलिरहेको छ । जहाँ कांग्रेस र एमाले बाहेक साना दलहरूको पनि सहभागिता छ ।
लोकतान्त्रिक समाजवादीका अध्यक्ष महन्थ ठाकुर कांग्रेस संसदीय दलको कार्यालय पुगेका छन् । जहाँ सत्तापक्षको बैठक चलिरहेको छ ।
प्रतिनिधि सभामा लोसपाको ४ सिट छ ।
नागरिक उन्मुक्ति पार्टी (नाउपा)की अध्यक्ष अध्यक्ष रञ्जिता श्रेष्ठ र जनमत सांसद अनिता देवी पनि बैठक स्थल पुगेका छन् ।
प्रतिनिधि सभामा नाउपाको ४ र जनमत पार्टीको ६ सिट छ ।
उपसभामुख हटाउन दुई तिहाइ पुर्याउने कसरत अन्तर्गत सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको नागरिक उन्मुक्ति पार्टीलाई समेत सत्तापक्षको बैठकमा बोलावट भएको हो ।
नाउपा संसदीय दलका नेता गंगाराम चौधरीले २२ असारमा सभामुख देवराज घिमिरेलाई पत्र लेखेर सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराएका थिए । तर, आज उक्त पार्टीका तर्फबाट अध्यक्ष रञ्जिता श्रेष्ठ सत्तापक्षको बैठकमा सहभागी हुन पुगेकी हुन् ।
प्रतिनिधि सभा नियमावलीको नियम २१० मा सभामुख वा उपसभामुखले पद अनुकूल आचरण नगरेको भन्ने प्रस्ताव सम्बन्धी व्यवस्था छ ।
यो नियम अनुसार कुनै सदस्यलाई सभामुख वा उपसभामुखले आफ्नो पद अनुकूल आचरण गरेको छैन भन्ने लागेमा प्रतिनिधि सभाका तत्काल कायम रहेको सम्पूर्ण सदस्य सङ्ख्याको एक चौथाई सदस्यको समर्थन प्राप्त गरी पदबाट हटाउने माग गर्दै प्रस्ताव लैजान सकिन्छ । २७५ सदस्यीय सभामा एक चौथाई भनेको ६९ जना सांसद हो ।
तर, पदबाट हटाउनका लागि भने सभाको तत्काल कायम रहेको सम्पूर्ण सदस्य सङ्ख्याको दुई तिहाई बहुमतबाट पारित हुनुपर्छ ।
हाल प्रतिनिधि सभामा २७४ जना बहाल रहेका छन् । रुपन्देही ३ बाट निर्वाचित सांसद दिपक बोहराको निधन भएकाले उक्त स्थान रिक्त छ ।
यदि सभामुख वा उपसभामुखलाई हटाउने हो भने तत्काल बहाल रहेको २७४ को दुई तिहाइ (१८२.६६) अर्थात, १८३ जना सांसद आवश्यक पर्छ ।
नेपाली कांग्रेसको ८८ र नेकपा एमालेको ७९ जोड्दा १६७ पुग्छ ।
सत्तापक्षमै रहेको जनता समाजवादी पार्टीका ७ जना सांसद रहेका छन् । जनमत पार्टीका ६, लोकतान्त्रिक समावादी पार्टीका ४ जना सांसद छन ।
प्रतिनिधि सभामा नेकपा माओवाद केन्द्रका ३२, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का २१, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का १३, नेकपा एकीकृत समाजवादीका १० जना सांसद रहेका छन् ।
अर्को दल नागरिक उन्मुक्ति पार्टीका ४ जना रहेका छन् ।
जनता समाजवादी पार्टी नेपालका ५, नेमकिपाको १, जनमोर्चाको एक, आजपाको १ र स्वतन्त्र २ जना रहेका छन् ।
प्रतिक्रिया 4