News Summary
Generated by OK AI. Editorially reviewed.- गर्दन बाङ्गिने समस्या टोर्टिकोलिस भनिन्छ र यसले गर्दन एकातिर बाङ्गिएर यता–उता फर्काउन गाह्रो हुन्छ।
- यो समस्या प्रायः गलत सुत्ने पोजिसन, खनिज कमी वा हड्डी–नसाका कारणले हुन्छ।
गर्दन बाङ्गिने वा कडा हुने समस्या धेरैलाई हुन्छ । नेपालीमा यसलाई गर्दन अक्डियो वा बाउँडियो भन्ने गरिन्छ, तर मेडिकल भाषामा यसलाई टोर्टिकोलिस भनिन्छ । यो अवस्थामा गर्दनका मांसपेशीहरू कडा भएर गर्दन एकातिर बाङ्गिन्छ र यता–उता फर्काउन गाह्रो हुन्छ । कहिलेकाहीं यो समस्या अचानक देखा पर्छ र गर्दनलाई एकै दिशामा मात्र राख्नुपर्ने हुन्छ, जसले गर्दा दैनिक जीवनमा अप्ठ्यारो पर्छ ।
गर्दन बाउँडिने कारण के हो ? गर्दन बाउँडिदा तत्काल के गर्ने ? भन्ने प्रश्न मनमा आउन सक्छ । यो समस्या केही समयमा आफैं ठिक हुन सक्छ, तर यसलाई सहज बनाउने उपायहरू अपनाउन सकिन्छ ।
लक्षणहरू
यो समस्यामा गर्दन एकातिर बाङ्गिने वा कडा हुने हुन्छ । गर्दनलाई यता–उता फर्काउन नमिल्ने, दुखाइ हुने र कहिलेकाहीं यो समस्या अचानक देखा पर्छ र गर्दनलाई एकै दिशामा मात्र राख्नुपर्ने हुन्छ ।
यदि दुखाइ छाती वा हातसम्म फैलियो भने अन्य गम्भीर समस्या जस्तै मुटुको समस्या हुन सक्छ ।
कारणहरू
यो समस्या प्राय सामान्य कारणले हुन्छ, तर कहिलेकाहीं गम्भीर कारण पनि हुन सक्छन् । सुताइको गलत पोजिसनको कारण मुख्यतया यो समस्या देखा पर्ने गर्छ । लगभग ८०–९० प्रतिशत केसहरूमा यो समस्या अग्लो वा होचो सिरानी प्रयोग गरेर वा गर्दनको पोजिसन नमिलेको कारणले हुन्छ । टाउको असजिलो गरी सुतेमा पनि मांसपेशीहरू कडा हुन्छन् ।
कहिलेकाँही यो समस्या हड्डी वा नसामा समस्याको कारण पनि हुन्छ । हड्डीहरूमा असर वा नसामा दबाब पर्दा यो समस्या निम्तन सक्छ ।
सोडियम, पोटासियम, क्याल्सियम वा म्याग्नेसियम जस्ता खनिजहरूको कमीले मांसपेशीहरू प्रभावित हुन्छन् र गर्दन बाउँडिन सक्छ ।
५० वर्षभन्दा माथिका व्यक्तिहरूमा हड्डी खिइने समस्या ‘ओस्टियोआर्थ्राइटिस’ कारणले यो समस्या बारम्बार हुन सक्छ ।
गर्दन बाउँडिने समस्या मुटुको समस्या जस्तै हार्ट अट्याकका लक्षणहरू देखिन्छन् । जसमा छाती भारी हुने वा दुखाइ गर्दनसम्म फैलिने वा अन्य स्वास्थ्य समस्या पनि मिसिन सक्छन् । यसलाई जाँच गरेर सही समस्या पहिचान गर्नुपर्छ ।
उपचार र घरेलु उपाय
घरेलु उपायहरू
गर्दन बाउँडिएर दुखेको छ भने हट ब्यागले गर्दनलाई सेक्न सकिन्छ ।यसले मांसपेशीलाई आराम दिन्छ ।
दुखेको ठाउँमा हल्का मालिस पनि गर्न सकिन्छ । पेन रिलिफ जेल लगाएर मालिस गर्दा फाइदा हुन्छ, तर धेरै जोडले मासिल गर्न हुँदैन ।
गर्दनलाई यता–उता नफर्काई आराम गर्नुपर्छ । सिरानीको उचाइ सामान्य राख्नुपर्छ । जसले गर्दनको प्राकृतिक कर्भ ‘सी–आकार’ कायम राख्छ । यदि समस्या बारम्बार हुन्छ भने बजारमा उपलब्ध गर्दन विशेष सिरानी ‘सर्भाइकल पिलो’ प्रयोग गर्न सकिन्छ । यसले सुतेको बेला गर्दनलाई सही पोजिसनमा राख्छ ।
औषधि र चिकित्सकीय उपचार
दुखाइ कम गर्न पेनकिलर र मांसपेशी आराम गर्ने औषधि मसल रिल्याक्सेन्ट खान सकिन्छ । तर चिकित्सकको सल्लाहबिना खानु हुँदैन ।
दुखाइ कम भएपछि लगभग १ हप्तापछि फिजियोथेरापी गर्न सकिन्छ । यसले मांसपेशीलाई बलियो बनाउँछ र समस्या दोहोरिने सम्भावना कम गर्छ ।
यदि क्याल्सियम वा अन्य खनिजहरूको कमी छ र त्यसको कारण गर्दन बाउँडिएको छ भने सप्लिमेन्ट लिन सकिन्छ । तर चिकित्सकको सल्लाहमा मात्र ।
यदि समस्या बारम्बार हुन्छ भने कारण पत्ता लगाउन डाक्टरलाई देखाउनुपर्छ । हड्डी वा मुटुको जाँच आवश्यक हुन सक्छ ।
ध्यान दिनुपर्ने कुरा
यदि दुखाइ छाती, हात वा मुटुतिर फैलियो भने तुरुन्तै चिकित्सकलाई देखाउनुपर्छ, किनकि यो हार्ट अट्याक जस्ता गम्भीर समस्याको लक्षण हुन सक्छ ।
बारम्बार समस्या भएमा सुत्ने तरिका सुधार्नुपर्छ र नियमित व्यायाम गर्नुपर्छ । प्रायः यो समस्या आफैं ठिक हुन्छ, तर उपचारले यसलाई छिटो सहज बनाउँछ ।
यो समस्या सामान्य भए पनि यसलाई बेवास्ता गर्नु हुँदैन । यदि दुखाइ बढ्यो वा अन्य लक्षण देखियो भने चिकित्सकीय सहायता लिनुपर्छ ।
प्रतिक्रिया 4