+

अचम्मको रोग ‘मानसिक तुवाँलो’

२०८२ भदौ  ४ गते १८:३७ २०८२ भदौ ४ गते १८:३७
Shares
अचम्मको रोग ‘मानसिक तुवाँलो’

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ब्रेन फग मानसिक र शारीरिक थकान, निद्राको अभाव, तनाव र डिजिटल प्रयोगको अत्यधिकताबाट हुन्छ।
  • जीवनशैली सुधार, पौष्टिक आहार, व्यायाम, विश्राम र विचार व्यवस्थापनले ब्रेन फगको उपचार सम्भव छ।

काठमाडौंको एक प्रतिष्ठित कर्पोरेट हाउसमा काम गर्ने ३८ वर्षीय मनोज न्यौपाने, सो कम्पनीका कार्यकारी प्रमुख हुन् । स्कुल काल देखि तीष्ण दिमागका उनी पढाइमा अब्बल थिए ।

उनी अत्यन्तै अनुशासित, मेहनती, स्पष्ट वक्ता र सफल व्यक्तिका रूपमा गनिन्छन् । सफलताको शिखर चुमेका न्यौपानेको बिस्तारै सक्रियता घट्दै गयो ।

कुरा गर्दा कुराको विषय नै बिर्सने, काममा ध्यान नलगाउने, थकानले भरिएको अनुहार लिएर अफिस आउने, मनमा कुरा खेलाएर सोचमग्न हुने जस्ता समस्याले ग्रसित भए ।

बिहान उठ्दा न निद्राबाट पूर्ण रूपमा ब्यूँझिएको अनुभव हुन्थ्यो, न त निद्रामा नै रहेको जस्तो । बिहानको चिया कप लिएर समाचार हेर्दा पनि ध्यान केन्द्रित हुन सक्दैनथ्यो ।

मनमा थुप्रै कुरा चलिरहन्थे, तर एउटा पनि स्पष्ट थिएन। किचनबाट बाहिर आउदा ग्यास निभाएँकी निभाइनँ ?, घरकाट बाहिर निस्कँदा ढोकाको ताल्चा लगाएँकी लगाइनँ ? हिजोको मिटिङमा के कुरा उठेको थियो ? जस्ता सामान्य कुरा पनि सम्झन नसक्ने अवस्था बन्यो ।

अफिसमा पनि उनी कहिले इमेलहरू नपढीकन पठाउने गल्ती गर्थे त कहिले निर्देशक मण्डलको निर्देशन नै बिर्सन्थे। पहिले-पहिले चिठ्ठीपत्र, मिटिङका माइन्युट, नीति, नियम, निर्देशिका र पावर प्वाइन्टहरू तत्काल ड्राफ्ट गर्ने मनोज त्यो बेला त्यस्ता कागजात घन्टौं घोत्लिँदा पनि तयार गर्न सक्दैनथे ।

घर फर्किएपछि पनि साना छोराछोरीसँग खेल्ने फुर्सद उनले पाउँदैनथे, किनभने उनलाई मानसिक रूपमा थकान महसुस हुन्थ्यो । श्रीमतीले केही कुरा गर्दा पनि उनी ध्यान दिन सक्दैनथे।

समस्या धेरै बढ्दै गएपछि श्रीमतीले उनलाई एकजाना योग तथा प्राकृतिक चिकित्सकसँग भेट गराइन । चिकित्सकले परीक्षण पश्चात भने, ‘तपाईंमा मानसिक तुवालो अर्थात ‘ब्रेन फग’ को समस्या देखिएको छ ।’

यो कुनै रोग होइन, तर मानसिक र शारीरिक थकान, निद्राको अभाव, तनाव, डिजिटल सामाग्रीहरू अत्यधिक प्रयोग र ब्यस्त जीवनशैलीको असरले सिर्जना हुने अवस्था हो।

चिकित्सकको सल्लाह पश्चात उनले जीवनशैली सुधार गर्न थाले । राति १० बजेभित्रै सुत्न थाले । बिहान ५ बजे नै उठेर हल्का व्यायाम, योगासन, प्राणायाम र ध्यान गर्न थाले । अहिल उनी चिया, कफी र कार्बोनेटेड ड्रिंक्स पिएनन् । पेयको रूपमा ग्रीन टी र प्रशस्त पानी पिए। दिनको दुई पटक घोडताप्रे, अश्वगन्धा, पुदिना, रोजमेरी, मिसिएको काँडा पिए ।

मोबाइलको प्रयोग पनि कम गर्दैछन् भने अफिसमा पनि २५ मिनेटको कामपछि ५ मिनेटको ब्रेक लिन थाले । मासुजन्य खानेकुरा छाडेर शाकाहारी खाना रोजे । तारे, भुटेको, धेरै चिल्लो, अमिलो, पिरो, धेरै तातो, धेरै चिसो र मनलाई उत्तेजित पार्ने खानेकुरा खाएनन् । प्रशस्त फलफूल, सागसब्जी, नट्स, सग्लो अनाज, पातलो दाल, कागुनोको भात र मोही खाने गरे ।

यसरी एक महिनाको स्वस्थकर जीवनशैलीको अभ्यास ले उनको जीवनमा नाटकीय परिवर्तन ल्यायो । अहिले उनी पुनः जीवनको आनन्द उठाइरहेका छन् ।

के हो मानसिक तुवालो ?

चिकित्सा विज्ञानमा मानसिक तुवालो अर्थात ब्रेन फग भनेको दिमागको स्पष्टता हराउनु हो । यसमा व्यक्ति सुस्त भएको महसुस गर्छ, भने उसलाई सोच्न, सम्झन, ध्यान दिन र निर्णय लिन पनि गाह्रो भइरहेको हुन्छ । मानसिक रूपले ‘ब्लक’ जस्तो महसुस गर्दछन् ।

यो मानसिक थकान, अलमल, भुलाइ वा आफ्नो सोचप्रति छुट्टिएजस्तो अनुभूति गराउने अवस्था हो । यद्यपि यसलाई प्रायः हल्का रूपमा लिइन्छ, ब्रेन फगले धेरै व्यक्तिको कार्यक्षमता, सम्बन्ध र जीवनस्तरमा गम्भीर प्रभाव पार्न सक्छ।

के कारणले हुन्छ ?

यो रोग हुने कारणहरू धेरै छन् ।

-अनियमित वा अपूरो निद्रा,

-ध्यान र एकाग्रताको कमी

-लामो समयदेखिको तनाव

-अत्यधिक मोबाइल वा कम्प्युटर स्क्रिनको प्रयोग

-अस्वस्थकर आहार जस्तै अत्यधिक चिनी, प्रशोधित खाना, र ट्रान्स फ्याटको सेवन

-खानामा भिटामिन, एन्टिअक्सिडेन्ट, ओमेगा–३ फ्याटी एसिड र आइरनको कमी

-हर्मोनको उतार–चढाव,

-शारीरिक रोगहरू जस्तै कुनै पनि प्रकारको इन्फ्लामेसन

-क्रोनिक फ्याटिग सिन्ड्रोम, फाइब्रोम्याल्जिया

-डिप्रेसन र एन्जाइटीको समस्या

-अटोइम्युन रोगहरू, मधुमेध

-कोभिडपछिको थकान, औषधि र लतहरू जस्तै एन्टीहिस्टामिन

-एन्टीडिप्रेसन्ट औषधिको सेवन

-अत्यधिक क्याफिन, मदिरा वा लागुपदार्थको सेवन

-श्रम र व्यायामबाट पन्छिने बानी

-व्यायामको कमी, हर्मोन असन्तुलन

-कार्यालयको तनावपूर्ण वातावरण

-असन्तुलित जीवनशैलील,

-धेरै कामहरू एकै पटक गर्ने बानी

लक्षणहरू

-ध्यान केन्द्रित गर्न गाह्रो हुने

-नाम, मिति वा कुराकानीहरू छिट्टै बिर्सने

-कुनै, सूचना, जानकारीहरू के हो भनेर यकीन गर्न ढिलो हुने

-मस्तिष्क झोक्रिएको वा धुम्मिएको महसुस हुने

-बोल्दा सही शब्द भेट्टाउन नसक्ने

-सामान्य कामहरू गर्नसमेत हिच्किचाहट वा अन्योल हुने,

ब्रेन फगलाई कसरी चिन्ने ?

ब्रेन फग आफैँमा रोग होइन, एउटा सामान्य लक्षण मात्र हो । त्यसैले उपचारका लागि पहिला यसको कारण पत्ता लगाउनुपर्छ । यसका लागि गहन चिकित्सकीय परामर्श आवश्यक हुन्छ ।

परामर्शपश्चात रगत परीक्षणमार्फत शारीरिक इन्फ्लामेसन, तनावका कारक हार्मोनको रक्त स्तर, थाइराइड र अन्य हर्मोन, भिटामिनको कमी वा सुस्त मेटाबोलिजम पत्ता लगाउनुपर्ने हुन्छ ।

तनाव, अनिन्द्रा र एकै चोटि धेरै कामगर्ने बानी यस रोगको प्रमुख कारण हो । त्यसैले हार्ट रेट भेरिएबिलिटी परीक्षण गर्नुपर्छ । हातबाट पसिना आए/नआएको हेर्न फिङ्गर प्लातेस्मोग्राफ, रक्त कोर्टिसोल परीक्षण, एड्रिनल उत्तेजना परीक्षण, क्याटेकोलामिन परीक्षण, रक्तचाप परीक्षण, नाडीको गति परीक्षण, रक्त ग्लुकोज परीक्षण आवश्यक पर्छ ।

प्रतिरक्षा सूचकहरू जस्तै एनके सेल्सको गतिविधि, टीएनएफ अल्फा र आइएल-६ को गतिविधि हेर्न सकिन्छ ।

उपचार कसरी गर्ने ?

ब्रेन फगको उपचारका लागि सर्वप्रथम त यसको मूल जरो अथवा जोखिम कारकको पहिचान गर्नुपर्छ। यदि जोखिम कारकहरू कुनै रोग वा शारीरिक समस्या हुन् भने त्यसको उपचार गर्नुपर्छ । यदि यसका कारक जीवनशैलीसँग सम्बन्धित भए जीवनशैलीमा परिवर्तन गर्नुपर्ने हुन्छ ।

जीवनशैली परिवर्तन भनेको भोजन, व्यायाम, विश्राम, विचार, व्यावहार र संस्कारलाई स्वास्थ्य मैत्री हुने गरी ठिक–ठिक तरिकाले समायोजन गर्नु हो ।

भोजन व्यावस्थापन

१. मानसिक तुवालोको समस्या भएकाले पौष्टिकयुक्त र प्राकृतिक खानामा जोड दिनुपर्छ ।

विशेषतः फलफूल, सागसब्जी, गेडागुडी, सग्लो अनाज खाने बानी बसाल्नुपर्छ ।

२. ओमेगा–३, युक्त खाना, भिटामिन र एन्टिअक्सिडेन्टयुक्त, प्रोटिनयुक्त खाने कुरामा बढी जोड दिनुपर्छ। म्याग्नेसियमयुक्त खाना जस्तै: बदाम, काजु, पालुङ्गो, एभोकाडो, केरा खानुपर्छ ।

आइरनयुक्त खानेकुरा जस्तै दाल, पालुङ्गो, चना अनि जिंकयुक्त खाना जस्तै: फर्सीको बीउ, दही, आदिको सेवन गर्नु राम्रो हुन्छ ।

३. खानालाई धेरै पिसेर, कुटेर वा धुल्याएर नखाई सग्लै खानुपर्छ, फलफूललाई जुस बनाएर खानु भन्दा ताजै खानुपर्छ ।

४. बेलाबेलामा पानी वा ग्रीन टी को सेवन गर्नुपर्छ । पानी पर्याप्त भएका फलफूलहरू खाई आफूलाई हाइड्रेटेड राखिरहनुपर्छ ।

५.प्राकृतिक रूपमै पाकेका विभिन्न रङका खानेकुरा खानु मानसिक स्वास्थ्यको लागि अत्यन्त लाभदायक छ ।

६. अल्कोहल, क्याफिन, चिनी र प्रशोधित खानेकुरा कम गर्ने । बाहिरको खाने कुरा खानै पर्ने भए स्वास्थयलाई हानि नहुने खालका खाना मात्रै खाने ।

७. फर्मेन्टेड खानेकुरा जस्तै दही, किम्ची, इडली, गुन्द्रुक आदि खाने गरौँ ।

८. चिया सिड, फर्सीको बियाँ, सूर्यमूखीको बियाँ आदिको सेवन पनि यो रोगका लागि राम्रो मानिन्छ ।

९. कार्बोहाइड्रेडको सेवनलाई सकेसम्म कम गर्नुपर्छ ।

व्यायाम व्यवस्थापन

१. मानसिक तुवालोलाई जित्नका लागि व्यायामको पनि उत्तिकै आवश्यक छ । व्यायाम गर्दा बिहानको समय सबैभन्दा राम्रो हो । मर्निङ वाकमा जाने, दौडने, डोरी खेल्ने, पिटी खेल्ने, कुनै खेल खेल्ने, उफ्रने, नाच्ने गर्दा राम्रो व्यायाम हुन्छ ।

योग गर्ने, हाइकिङ जाने,साइकल चलाउने, जिम जाने, करेसा बारी वा बगैंचाको काममा संलग्न रहने जस्ता शारीरिक सक्रियताले यो रोगलाई जीत्नका लागि सहयोग पुर्‍याउँछ ।

२. व्यायाम गर्दा पसिना आउनु पर्ने, शरीरका सबै अङ्ग वा जोर्नी चल्नुपर्छ । मुटु, कलेजो, फोक्सो, मस्तिष्क जस्ता अङ्गलाई पनि प्राभाव पर्ने खालको हुनुपर्छ ।

विश्राम व्यवस्थापन

१. दैनिक ६ देखि ८ घण्टा नियमित निदाउनु प्राकृतिक विश्राम हो ।

मानसिक तनाव कम गर्नका लागि निम्न विश्राम विधिहरू सिकेर गर्न सकिन्छ ।

-योग आसन,

-योग निद्रा

-माइन्ड साउन्ड रेसोनेन्ट टेक्निक

-प्राणिक इनरजाइजिङ टेक्निक

-सेल्फ मेनेजमेन्ट अफ एक्सेसिभ टेन्सन

-जेकब्सन प्रोग्रेसिभ मसल्स् रिल्याक्सेसन टेक्निक

-डिप रिल्याक्सेसन् टेक्निक

-क्विक रिल्याक्सेसन टेक्निक

-इन्स्टेन्ट रिल्याक्सेसन् टेक्निक

सम्पूर्ण शरिरको मालिस गर्ने, वाष्पस्नान, सउना स्नान, फोहोरा स्नान, पौडिनु, तैरिनु जस्ता उपचार पद्धतिले विश्रामलाई बढाउँछ ।

विचार व्यावस्थापन

विचार व्यवस्थापन भन्नाले मनमा उत्पन्न हुने विविध विचार, भावनात्मक तरङ्ग र मानसिक प्रक्रियालाई सचेत ढङ्गले नियन्त्रित, अनुशासित र सकारात्मक दिशातर्फ निर्देशित गर्ने प्रक्रिया बुझ्न पर्दछ ।

ब्रेन फग हुँदा मानसिक अस्पष्टता, एकाग्रताको कमी, स्मरणशक्ति घट्ने, निरन्तर थकान वा निर्णय क्षमतामा अवरोध जस्ता असहजता देखिन्छ । यसो हुँदा यो रोगलाई जित्न विचार व्यवस्थापनको ठूलो भूमिका रहन्छ ।

विचार व्यावस्थापनले तनाव र चिन्ता घटाउने, एकाग्रता र स्मरणशक्ति सुधार्ने, भावनात्मक सन्तुलन कायम राख्ने, आत्म–अनुशासित बनाउने गर्दछ । विचार व्यावस्थावनको सबैभन्दा ठूलो अस्त्र ध्यान हो ।

सकारात्मक सोचको विकास, मनमा आएका विचारलाई कागजमा उतार्ने अभ्यास, विचारको प्राथमिकता निर्धारण गर्ने अभ्यास, प्राणायामको अभ्यास भावनाहरूको नियन्त्रण र नियमित आत्म-चिन्तन आदिले विचार व्यवस्थापन गर्न मद्दत गर्छ ।

व्यवहार व्यवस्थापन

व्यवहार व्यवस्थापन भन्नाले व्यक्तिको बोली, आचरण, बानी व्याहोरा, सामाजिक सम्बन्ध र दैनिक कार्यशैलीलाई सचेत, अनुशासित र उद्देश्यपूर्ण ढङ्गले नियन्त्रण गर्ने प्रक्रियालाई जनाउदछ । नकारात्मक, अवाञ्छित वा हानिकारक व्यवहारलाई कम गर्नुपर्छ ।

सकारात्मक, सिर्जनशील र समाजिक व्यवहारलाई प्रोत्साहन गर्नुपर्छ । ब्रेन फग भएकाहरूले अधैर्यवान् हुने, इख राख्ने, वैरभाव लिने, आफ्नो हठ र अडानहरू छाड्न नसक्ने व्यवहार परिवर्तन गर्नुपर्छ ।

साथै सधैं हतारमा रहने, पूर्वाग्रही हुने, आलोचक हुने, अभद्र व्यवहार गर्ने, इर्श्यालु, अरुलाई दबाएर राख्ने, प्रतिस्पर्धी, अहंकारीपन छाड्नुपर्छ । शान्त र लचिलोपनको व्यवहार अपनाउनुपर्छ ।

डिजिटल ब्रेक लिने

ब्रेन फगको एउटा सशक्त कारण डिजिटल सामग्रीमा धेरै भुल्नु पनि हो । विशेष गरी बढी समय स्क्रिनमा बिताउनु, एकैपल्ट धेरै काम गर्नु मस्तिष्कको थकानको कारण बन्छ । यसर्थ तपाईलाई ब्रेन फग छ भने केही समयका लागि डिजिटल ब्रेक लिनुपर्छ । एक पटकमा एउटा मात्रै काम गर्नुपर्छ ।

‘ब्रेन फग’
डा. हेमराज कोइराला
लेखक
डा. हेमराज कोइराला
वरिष्ठ योग तथा प्राकृतिक चिकित्सक एवं वरिष्ठ विशेषज्ञ रिजेनेरेटिव मेडिसिन

बीएनवाईएस एमफिल (रिजेनेरेटिव मेडिसिन), पिएचडी (बायोटेक्नोलोजी अध्ययनरत) योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालय, भरतपुर र काठमाडौं विश्वविद्यालय योग तथा प्राकृतिक चिकित्सालयमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

अचम्मको रोग ‘मानसिक तुवाँलो’

अचम्मको रोग ‘मानसिक तुवाँलो’

कसरी लगाइन्छ कृत्रिम दाँत, कुन कति टिकाउ ?

कसरी लगाइन्छ कृत्रिम दाँत, कुन कति टिकाउ ?

गर्दन बाउँडियो, अब के गर्ने ?

गर्दन बाउँडियो, अब के गर्ने ?

एक पटक निको भइसकेपछि क्यान्सर फेरि किन फर्किन्छ ?

एक पटक निको भइसकेपछि क्यान्सर फेरि किन फर्किन्छ ?

‘घुर्ने समस्याले थाहै नपाई भित्रभित्रै शरीरका भागहरू बिगार्न सक्छ’ (भिडियो)

‘घुर्ने समस्याले थाहै नपाई भित्रभित्रै शरीरका भागहरू बिगार्न सक्छ’ (भिडियो)

ग्यास र एसिडिटी बढाउने यी ७ कारण, जसलाई धेरैले गर्छन् बेवास्ता

ग्यास र एसिडिटी बढाउने यी ७ कारण, जसलाई धेरैले गर्छन् बेवास्ता