News Summary
Generated by OK AI. Editorially reviewed.- अखिल नेपाल फुटबल संघले दशरथ रंगशाला सुरक्षित र अन्तर्राष्ट्रिय खेल खेलाउने स्तरको रहेको दाबी गरेको छ।
- एन्फाका प्रतियोगिता निर्देशक सञ्जीव मिश्रले एएफसीको रेगुलेसन पूरा नहुँदा दशरथ रंगशालामा अन्तर्राष्ट्रिय फुटबल हुन नसकेको बताए।
- नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण खेलका लागि बंगलादेशको टोली नेपाल आइसकेको छ र नेपाली टोली घोषणा भइसकेको छ।
१९ भदौ, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले काठमाडौंस्थित दशरथ रंगशाला सुरक्षित रहेको र अन्तर्राष्ट्रिय खेल खेलाउने स्तरको रहेको दाबी गरेको छ ।
एन्फाका प्रतियोगिता निर्देशक सञ्जीव मिश्रले एएफसीको कम्पिटसन डिपार्टमेन्टले तय गरेको रेगुलेसन पूरा नहुँदा दशरथ रंगशालामा अन्तर्राष्ट्रिय फुटबल हुन नसकेको बताउँदै उक्त कुरा उल्लेख गरेका हुन् ।
बिहीबार रंगशालामा नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण खेलको अन्तिम तयारीबारे जानकारी दिन आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
‘अहिले फिफा टाइरको फर्म भरेर नै यी दुई मैत्रीपूर्ण खेल तय भएको हो, दशरथ रंगशाला असुरक्षित र अन्तर्राष्ट्रिय म्याच नै नहुने खालको त छैन’ मिश्रले भने ।
उनले साफको प्रतियोगिता, साफको क्लब च्याम्पियनसिप भएको र क्लब च्याम्पियनसिपको क्वालिफायरका लागि एएफसीले पनि यो रंगशालामा खेल्न दिएको उनले उल्लेख गरेका छन् ।
यसले गर्दा एएफसीकै कतिपय निर्णय नै एकआपसमा बाझिने खालको रहेको उनको भनाइ छ । मिश्रले आवश्यकभन्दा मापदण्ड नेपालसँग मागेको हो कि भन्ने आफूलाई लागेको उल्लेख गरेका छन् ।
मैत्रीपूर्ण खेलका लागि बंगलादेशको टोली नेपाल आइसकेको छ । गोलकिपर किरण चेम्जोङको कप्तानीमा नेपाली राष्ट्रिय टोली पनि घोषणा भइसकेको छ ।
एन्फाका प्रवक्ता सुरेश शाहले मैत्रीपूर्ण खेलको तयारी पूरा भइसकेको जानकारी दिए ।
प्रतिक्रिया 4