+

ढाड दुखाइको समस्या : गलत उपचारको चक्रव्यूहमा एक लेखा अधिकृत

२०८२ भदौ  २२ गते १९:१४ २०८२ भदौ २२ गते १९:१४
Shares
ढाड दुखाइको समस्या : गलत उपचारको चक्रव्यूहमा एक लेखा अधिकृत

News Summary

Generated by OK AI. Editorially reviewed.
  • लेखा अधिकृत तिलक श्रेष्ठले २०८२ जेठमा वीर अस्पतालको फिजियोथेरापी युनिटमा ढाड दुखाइको उपचार सुरु गरे।
  • तिलकले ६ महिनासम्म विभिन्न क्लिनिक र उपचारमा दुई लाख रुपैयाँभन्दा बढी खर्च गरे पनि निको भएन।
  • वीर अस्पतालको फिजियोथेरापीले प्रमाणमा आधारित उपचार र व्यायाम सिकाएर तिलकको दुखाइ कम गर्‍यो र उनी काममा फर्किए।

पेशाले लेखा अधिकृत  तिलक श्रेष्ठ(नाम परिवर्तन) २०८२ जेठ महिनामा वीर अस्पतालको फिजियोथेरापी युनिट आइपुगे ।

उनको समस्या  थियो, ढाड दुखाइ ।

उपचारका लागि धेरैतिर भौतारिँदा पनि समस्या समाधान नभएपछि उनी यहाँ आएका रहेछन् ।

उनले उपचारमा भोग्नुपरेका हैरानीको फेहरिस्त सुनाए ।

यो भोगाइ उनको मात्रै होइन, ढाड दुख्ने समस्या भएका धेरैको भोगाइ यही खालको हुने गर्छ । विभिन्न मान्छेका अनावश्यक सुझावको पछि लागेर गलत उपचारको फन्दामा परिरहेका हुन्छन् धेरै जना ।

दुखाइले पीडित

तिलक ६ महिनादेखि ढाड दुख्ने समस्याले पीडित थिए । बिहान उठ्दा दुखाइ बढी हुन्थ्यो । लामो समय कुर्सीमा बस्दा वा उभिँदा झन् धेरै दुख्थ्यो । सुरुमा सामान्य मानेर बेवास्ता गरे । दुखाइ बिस्तारै खुट्टासम्म झम्झमाउने र हिँड्न समेत अप्ठ्यारो हुने अवस्थामा पुग्यो । काम गर्दा बसाइ अप्ठ्यारो भएर पो हो कि भनेर उनले अफिसको कुर्सी समेत २ पटक फेरे ।

काममा ध्यान दिन नसक्ने, लामो समय अफिसमा बस्न नसक्ने र दैनिक जीवन कष्टकर बनेपछि उनी उपचारको खोजीमा लागे।

प्रारम्भिक प्रयास

सुरुमा उनी फुपाजुको सुझावअनुसार बसुन्धरास्थित एक आयुर्वेदिक उपचार केन्द्रमा गए । त्यहाँ उनलाई भारी बोक्ने, गलत आशनमा बस्ने जस्ता कामले ढाड दुखेको भनियो। तिलक भारी बोक्ने काम गर्दैनथे । अफिसमा एकै पोजिसनमा लामो समयसम्म बस्ने भएकाले ढाड दुखेको उनको निष्कर्ष भयो ।

उनलाई अकुपन्चर सेवा, तातो पानीले सेक्ने, मसाज गरुने जस्ता उपचार हप्तामा एक पटक दिइयो । र, केही औषधि खान पनि भनियो। यी उपचारले केही दुखाइ कम भए पनि समस्या पूरा ठिक भएन । यी उपचार गराउँदा उनलाई प्रत्येक पटकको २२०० रूपैयाँका दरले रकम लिइयो । औषधिको खर्च छुट्टै थियो ।

उपचारको क्रममा चौथोपटक मसाज गराएपछि उनलाई खुट्टा झम्झमाउने र दुखाइ बढ्ने समस्या पनि हुन थाल्यो।

अनि क्लिनिकमा

समस्या काम नभएपछि घर नजिकैको क्लिनिकमा चिकित्सकसँग परामर्श लिन गए । डाक्टरको सल्लाहमा उनले रगतको जाँच र एक्स-रे गराए । यी जाँचमा ठूलो समस्या देखिएन । सामान्य हड्डी खिइएको भन्ने जानकारी दिइयो ।

थप अनुसन्धानका लागि भनी थप जाँचहरू गर्न सुझाव दिइयो । जसअनुसार सीबीसी, ईएसआर, भिटामिन डी, क्याल्सियम, युरिक एसिडको स्तर लगायतका परीक्षण गरियो । अन्य प्यारामिटरहरूका लागि पनि रगतको थप परीक्षण भयो।

सबै प्यारामिटरहरू समान्य रहेको थाहा पाएपछि ढाड दुखाइको कारण पत्ता लगाउन एमआरआई गर्न भनिएको थियो।

सोही क्लिनिकमा फिजियोथेरापीको रूपमा ‘निडल थेरापी’, ‘ट्रयाक्सन’, ‘टेन्स’ दिइयो । तर पनि तिलकले कुनै सुधार महसुस गरेनन् । बरु झन् दुखेको जस्तो भयो ।  उनलाई केही समय आराम गरेर घरमा बस्न, अफिस नजान र दैनिक घरयसी काम पनि नगर्न सुझाब दिइयो ।

दोस्रो क्लिनिक र महँगो खर्च

त्यसपछि उनलाई त्रिपुरेश्वरस्थित एक क्लिनिकमा जाने सुझाव आयो । त्यहाँ उनको समस्याको जाँचपछि ढाडमा मासुमा डल्लो रहेकोले त्यो फुटाउनु पर्छ भन्ने सुझाव आयो । यसका लागि लागि ‘निडलिङ’, ‘म्यानुयल’, ‘काइरोप्राक्टटिक’ मसाज गन जस्ता नाम दिइएका विधिहरू प्रयोग गरिए ।

दिनको १००० का दरले खरेच गरी १५ दिनसम्म उनले त्यहाँ भनिएअनुसार उपचार गराए । तर दुखाइमा खासै कमी आएन ।

तेस्रो क्लिनिकमा थप खर्च

त्यसपछि उनी बानेश्वरको निजामती अस्पतालनजिकै रहेको अर्को क्लिनिक पुगे । त्यहाँ उनले दैनिक ५०० खर्च गरेर ९-१० दिन जति ततो वाफ लिए । साथै त्यति नै दिन म्यासेस थेरापी लिए उनले । त्यसमा दैनिक ६०० का दरले खर्च भयो । यहाँ करिब १० हजार जति खर्च भयो ।

यी सामान्य मसाज र स्टीम उपचारहरूले दुखाइमा तत्काल राहत दिए पनि, दीर्घकालीन समाधान दिन सकेनन्।

प्राकृतिक उपचारतिर

अन्तिममा तिलक प्राकृतिक उपचार गर्न भनी बनेश्वरकै एक केन्द्रमा पुगे । जहाँ १० दिन लगातार उपचार गराए। त्यहाँ ‘अकुपन्चर’, ‘कपिङ’, जस्ता उपचार दिइयो । त्यहाँ दैनिक१० मिनेट जति फिजियोथेरापी दिइन्थ्यो । जसमा थेरापिस्टले हातले तन्काइदिन्थे भने र केही आफैँ गर्ने व्ययाम

सिकाएका थिए । यी उपचारले पनि तिलकको ढाड दुखाइ पूर्णरूपमा निको पार्न सकेनन्।

राष्ट्रिय ट्रमा सेन्टरमा चिकित्सकसँग परामर्श

धेरै खालको उपचारले पनि ठिक नभएपछि उनी राष्ट्रिय ट्रमा सेन्टरमा हाडजोर्नीको डाक्टरसँग परामर्श लिन पुगे । त्यहाँ चिकित्सकले अवस्था निक्कै जटिल भएको र एमआरआई गरिहाल्नुपर्ने बताए ।

औषधि खाने र केही समय फिजियोथेरापी गर्नुपर्ने डाक्टरको सुझाव रह्यो । त्यतिले पनि निको नभए सुई लगाउनुपर्छ भनियो ।

तिलकले आफुले फिजियोथेरापी विभिन्न ठाउँमा गराएको भएतापनि निको नभएको जानकारी डाक्टरलाई दिए। त्यो सबै सुनेपछि डाक्टरले सुई लगाउने र आवश्यक परे शल्यक्रिया गर्नुपर्ने सुझाब दिएर एमआरआई गर्न लगाए ।

पेन केयर सेन्टरमा

सुइ लगाउने र अप्रेसन गर्नुपर्ने भनेपछि तिलकको मनमा डर पस्यो । साथीभाइ र आफन्तसँग सल्लाह गर्दा केहीले अप्रेसन गरेर ठिक भएका कसैको उदाहरण दिए भने केहीले अप्रेसन नगर्न सल्लाह दिए । यी उल्लाहले उनी दुविधामा परे ।

आन्योल भएपछि उनी फेरि बिनाअप्रेसन हुने उपचारको खोजीमा लागे । त्यही सिलसिलामा पेन केयर सेन्टर पुगे । त्यहाँ उनलाई २० दिनका लागि औषधि लेखियो । विभिन्न थेरापी तथा उपचार गरी प्रतिदिन ७०० रुपैयाँका दरले केही दिन खरेच गरी सेवा लिए ।

६ महिनाको सास्ती र अनावश्यक खर्च

तिलक आफ्नो ढाड दुखाइको उपचारका लागि करिब ६ महिनासम्म विभिन्न ठाउँमा धाए । यस क्रममा उनले शारीरिक पीडा, मानसिक तनाव, काममा बाधा र करिब दुई लाख रुपैयाँभन्दा बढी खर्च बेहोर्नुपर्‍यो । उनले परिवारलाई समय दिन सकेनन् र उनको जीवनशैली निकै प्रभावित भयो ।

उनले पटक-पटक गरेर १८ दिन कामबाट बिदा लिए यसबीचमा । यत्रो उपचारपछि पनि घरायसी काम गर्न अप्ठ्यारो हुने, अफिसमा लामो समय बसेर काम गर्दा, खाल्डाखुल्ड़ीमा स्कुटर चलाउँदा दुखाइ बढ्ने जस्ता समस्या यतावत रह्यो ।

के हो त खास उनको समस्या ?

तिकलको समस्या र उपचारका लागि भोगेका सास्तीको अनुभव नेपालमा ढाड दुखाइका धेरै बिरामीको साझा समस्या हो । धेरैजसो अवस्थामा ढाड दुखाइ सामान्य हुन्छ र जटिलता बिरलै देखिन्छ। तर कुनै स्वास्थ्य समस्या भयो भने थरीथरी मान्छेका थरीथरी सुझाव दिने र बिरामीले त्यो अनुसार गर्ने गर्दा समस्या झन् जटिल बन्ने गरेको देखिन्छ।

फिजियोथेरापीको नाममा गैरफिजियोथेरापीको प्रयोग गर्ने वा प्रमाणमा आधारित फिजियोथेरापी उपचार पद्धतिको प्रयोग नगर्नाले पनि बिरामीले अनावश्यक सास्ती खेप्नु परिरहेको छ।

नतिजा नआउने उपचारमा मुफतमा समय र धन खर्च भइरहेको छ । नयाँ र अप्रमाणित विधिको प्रचार-प्रसार गरेर बिरामीलाई भ्रमित पार्ने प्रवृत्ति धेरै देखिन्छ ।

दुखाइको समस्या हुँदा नेपालमा पहिलो भेटमै ‘एमआरआई गराउनुपर्छ’ भन्ने एउटा गलत मान्यता र प्रचलन बढेको छ । एमआरआई गराइहाल्न लगाउने स्वास्थ्यकर्मीको समस्या एकातिर छ भने कतिपय अवस्थामा बिरामी आफैँ पनि स्वास्थ्यकर्मीले एमआरआई गर्न सुझाव नदिएकोमा असन्तुष्ट हुन्छन् । डाक्टरले एमआरआई गर्न भनेन, सायद मेरो समस्या बेवास्ता गरे भन्ने सोच राख्ने बिरामी पनि भेटिन्छन् ।

वास्तवमा, धेरैजसो ढाड दुखाइका लागि एमआरआई गर्न अनावश्यक नै हुँदैन । सामान्य दुखाइमा एमआरआई गर्दा त्यसमा सामान्य ‘डिस्क बल्जिङ वा ‘डिजेनेरेटिभ चेन्जेज’ देखिन सक्छन्, जुन उमेरसँगै धेरै स्वस्थ व्यक्तिमा पनि देखिन्छन् । एमआरआईबाट देखिने यी कुराबारे बिरामीलाई सुनाउँदा अनावश्यक रूपमा बिरामी डराउँछन् । त्यसलाई ठूलै समस्या ठानेर चिन्तित हुन्छन् ।

त्यस्तै, दुखाइको निवारण गर्ने नेपालमा ‘स्टेरोइड’ जस्तो सुई लगाउने चलन पनि बढ्दो छ । स्टेरोइडले तत्काल दुखाइ कम गरे पनि, यसको दीर्घकालीन असर र बारम्बार प्रयोगले शरीरमा नकारात्मक प्रभाव पार्न सक्छ ।

अझ चिन्ताको विषय त, सामान्य ढाड दुखाइमै अप्रेसनका लागि सिफारिस गर्ने प्रवृत्ति बढ्दो छ। जब कि, ढाड दुखाइको समस्या हुनेमध्ये १-२ प्रतिशतमा मात्रै अप्रेसन आवश्यक पर्ने जटिल समस्या हुन्छ ।

यही कारणले गर्दा बिरामीहरू अनावश्यक सास्ती, खर्च र मानसिक तनावबाट गुज्रिरहेका छन् । हामीले बुझ्नुपर्छ कि, ढाड दुखाइ कुनै गम्भीर रोग होइन, यो शरीरको एक सामान्य प्रतिक्रिया हो र यसलाई सही तरिकाले बुझेर व्यवस्थापन गर्न सकिन्छ ।

ढाड दुखाइका लागि सबैभन्दा महत्वपूर्ण कुरा आश्वासन, धैर्यता र सही जानकारी हो । करिब ९५ प्रतिशत जस्तो ढाड दुखाइ सामान्य प्रकृतिका हुन्छन् । ६ हप्तादेखि ३ महिनाभित्र आफैँ निको हुन्छन् वा राम्रो स्व-व्यवस्थापनले पूरै निको हुन्छन् ।

पहिलो ३ देखि ६ महिनासम्म प्रमाणमा आधारित ‘कन्जर्भेटिभ’ उपचार नै पहिलो प्राथमिकता हुनुपर्छ । प्रमाणित फिजियोथेरापिस्टबाट व्यक्ति अनुसारको व्यवस्थित फिजियोथेरापी सेवा लिनु आवश्यक हुन्छ ।

व्यक्तिको अवस्था, दुखाइको मात्रा, कार्यक्षमता अनुसार व्यायाम र ह्यान्ड-अन थेरापीहरू जस्तै: मोबिलाइजेशन, मनिपुल्लेशन, स्ट्रेचिङ प्रदान गरिन्छ। फिजियोथेरापीमा बिरामीलाई आफ्नो शरीर र दुखाइबारे सिकाएर आत्म-व्यवस्थापनका लागि तयार पार्नु मुख्य उद्देश्य हो । फिजियोथेरापिस्टले बिरामीको कर्यक्षमताको मापन गरेर कर्यक्षमता वृद्धि गर्ने उपायबारे सुझाव दिन्छन् ।

यसमा निम्न कुराहरू पर्छन्:

१.स्वत: व्यवस्थापन र बिरामीलाई शिक्षा

बिरामीलाई ढाड दुखाइ किन हुन्छ, यसको सामान्य प्रवृत्ति के हो, र अधिकांश केसमा यो आफैँ निको हुन सक्छ भन्ने कुरा बुझाउनुपर्छ । ‘ढाड दुखाइ भनेको सधैँ गम्भीर कुरा होइन’ भन्ने धारणा विकास गराउनु महत्वपूर्ण हुन्छ । बिरामीलाई आफ्नो दुखाइको बारेमा सही जानकारी दिँदा अनावश्यक डर र चिन्ता कम हुन्छ ।

डर र चिन्ताले दुखाइको कारण र यसलाई अझ बढाउन सक्छ। बिरामीलाई ढाड दुख्नु सामान्य हो र यो दीर्घकालीन समस्या नभएको कुरामा आश्वस्त पार्नुपर्छ । ओछ्यानमा आराम गर्नुको सट्टा, सामान्य क्रियाकलापहरूमा सक्रिय रहन प्रोत्साहन दिनुपर्छ।

२.दुखाइ व्यवस्थापन र व्यायाम

ढाड र पेटका मांसपेशीहरूलाई बलियो बनाउने, लचकता बढाउने र शरीरको मुद्रा सुधार्ने व्यायामहरू (जस्तै: कोब्रा पोज, बिरालो-ऊँट स्ट्रेच, पुल व्यायाम) आदि बिरामीको अवस्था अनुसार सिकाउनुपर्छ।

हिँड्ने, साइकल चलाउने, पौडी खेल्ने जस्ता गतिविधिहरूले रक्तसञ्चार बढाउँछ र दुखाइ कम गर्न मद्दत गर्छ। अल्पकालीन दुखाइ कम गर्न तातो वा चिसो प्याकको प्रयोग गर्न सकिन्छ।

सहन नसक्ने दुखाइ भएमा दुखाइ निवारक वा मांसपेशी शिथिल पार्ने औषधीहरू चिकित्सकको सल्लाहमा प्रयोग गर्न सकिन्छ । तर लामो समय यस्ता औषधिकै भरमा दुखाइ कम गर्दा यसले नकारात्मक असर पार्न सक्छ।

३.शारीरिक परिश्रम र दैनिक क्रियाकलापमा निरन्तरता

दुखाइको बाबजुद पनि आफ्नो सामान्य दैनिक क्रियाकलापहरू जारी राख्न प्रोत्साहन दिनुपर्छ। लामो समयसम्म निस्क्रिय बस्नुले दुखाइ झन् बढाउँछ । बस्ने, उठ्ने र हिँड्ने सही तरिकाबारे सिकाउने । कम्प्युटरमा काम गर्दा वा भारी सामान उठाउँदा सही तरिका अपनाउनुपर्छ । कुनै पनि आसन वा मुद्रामा ३० मिनट भन्दा लामो बस्नुहुँदैन । हरेक २०-३० मिनेटमा उठ्ने, हिँड्ने वा शरीर तन्काउने जस्ता ‘माइक्रोब्रेक’ लिनुपर्छ।

४.मनोवैज्ञानिक सहयोग

यो बिरामीमा पहेंलो संकेत देखिए सामान्य अवस्थामा फिजियोथेरापिस्टले र जटिल अवस्थामा क्लिनिकल शाइकोलोजिस्टले प्रदान गर्ने उपचार पद्धति हो । जस्तो: दीर्घकालीन दुखाइमा मानसिक स्वास्थ्यको भूमिका महत्त्वपूर्ण हुन्छ । दुखाइप्रतिको नकारात्मक सोचाइ र व्यवहार परिवर्तनका लागि सहयोग मिल्छ । ध्यान र माइन्डफुलनेस अभ्यासले दुखाइको अनुभूतिलाई कम गर्न र यसलाई स्वीकार गर्न सिकाउँछ।

कस्तो अवस्थामा जटिल उपचार आवश्यक पर्छ ?

यदि ढाड दुखाइ ६ महिनाभन्दा बढी समयसम्म पनि उस्तै रहेमा, उपचारबाट कम भएन वा दुखाइको साथमा अन्य गम्भीर लक्षणहरू देखिएमा अन्य खालका उपचार आवश्यकपर्छ ।

जस्तै: खुट्टामा कमजोरी, पिसाब वा दिसा नियन्त्रणमा समस्या, लगातार ज्वरो वा रातमा दुखाइ जस्ता समस्या देखिएमा मात्रै एमआरआई लगायतका थप जाँच आवश्यकपर्छ ।

यो अवस्थामा स्टेरोइड सुई वा अप्रेसनबारे सोच्नुपर्ने हुन्छ। यी उपचार विधिहरू विशेषज्ञ चिकित्सकको गहन मूल्यांकनपछि मात्र सिफारिस गरिनुपर्छ ।

तिलकमा आएको परिवर्तन

उपचारका नाममा तिलकले जे भोगे, उनी मालप्राक्टिस शिकार भए । जसले बिरामीलाई आर्थिक, शारीरिक र मानसिक रूपले यातना दिने र फिजियोथेरापीको महत्त्व घटाउने काम गर्छ ।

वीर अस्पतालको फिजियोथेरापी युनिटको सल्लाहअनुसार तिलकले फिजियोथेरापीका नियमित शत्रहरू लिन थाले । उनलाई ढाड दुखाइको बारेमा सही जानकारी दिइयो । दैनिक रूपमा गर्नुपर्ने व्यायामहरू सिकाइयो । उनले आफ्नो बस्ने शैलीमा सुधार गरे । नियमित रूपमा हिँड्न थाले ।

उनले बुझे कि-ढाड दुखाइ सधैँ गम्भीर हुँदैन र सक्रिय रहनु नै यसको उत्तम उपचार हो । केही हप्तामै उनको दुखाइमा उल्लेख्य कमी आयो र उनी आफ्नो काममा पूर्णरूपमा फर्कन सफल भए । उनले अनावश्यक खर्च र कष्टबाट मुक्ति पाए।

ढाड दुखाइ फिजियोथेरापी
बिनय कँडेल
लेखक
बिनय कँडेल
सह-प्रमुख फिजियोथेरापिस्ट

बिनय कँडेल चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पताल फिजियोथेरापी युनिटको प्रमुख हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय