+
+
Shares

तर्सिरहन्छिन् मन्त्रीको गाडीले ठक्कर दिएकी उषा

प्रदेशमन्त्रीको गाडीले ठक्कर दिएर भाग्न खोज्यो । प्रधानमन्त्रीले घटनाको सामान्यीकरण गरिदिए । यस्तो अभिव्यक्तिले उषाको परिवारलाई चित्तदुखेको छ ।

कौशल काफ्ले कौशल काफ्ले
२०८२ भदौ २२ गते २२:०२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गोदावरीमा नेकपा एमालेको विधान महाधिवेशनको क्रममा हरिसिद्धिमा प्रदेश मन्त्रीको गाडीले बालिका उषा सुनार मगरलाई ठक्कर दियो र भाग्यो।
  • मन्त्री रामबहादुर मगरले ठक्करलाई सामान्य घटना भनेका छन् भने प्रधानमन्त्री केपी शर्मा ओलीले यसलाई राजनीतीकरण गर्न खोजिएको टिप्पणी गर्नुभयो।
  • स्थानीयले नेताका गाडीको अनियन्त्रित गतिले सडक असुरक्षित भएको गुनासो गर्दै मन्त्रीको संवेदनहीनता र गैरजिम्मेवारीमाथि प्रश्न उठाएका छन्।

२२ भदौ, काठमाडौं । गोदावरीमा नेकपा एमालेको विधान महाधिवेशन जारी छ । देशकै प्रमुख दलको यो कार्यक्रमले स्थानीय भने अशान्त रहेको अनुभव सुनाउँछन् । कारण, शनिबार बिहान मात्र हरिसिद्धिमा प्रदेश मन्त्रीको गाडीले एक बालिकालाई ठक्कर दिएर भाग्यो । त्यसबाहेक पनि नेताका गाडीहरू कार्यकर्ताको लहरसहित तीव्र गतिमा दौडधुप गरिरहेकोले त्रासमा देखिन्छन्, उनीहरू ।

स्थानीयका अनुसार उनीहरूले नेताका गाडीको गतिमा सत्ताको अहंकार देखेका छन् । विधान महाधिवेशनको सुरुवाती दिनदेखि नै सिर्जित यस्तो माहोल अहिलेसम्म पनि कम भएको छैन । अझ शनिबार बिहान स्थानीय बालिका उषा सुनार मगरलाई ठक्कर दिएर घाइते बनाएपछि उनीहरु आक्रोशित सुनिन्छन् ।

‘शनिबार मात्र हो र ? त्यसको अघिल्लो दिन पनि झन्डै एउटा ट्राफिकलाई ठोकेन । त्यसपछि पनि पूरै हुँइक्याएर चलाउँछन्’ स्थानीय आस्था कुमारीले भनिन्, ‘विचरा त्यो बहिनी (उषा) लाई त ठोकेर भागे, त्यो पनि मन्त्रीको गाडीले ।’

पीडित उषाका मामा जीवन मगरकाअनुसार कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगर सवार सरकारी गाडीले भान्जी उषालाई जेब्राक्रसिङमै ठक्कर दियो । त्यसपछि ढलेकी उनलाई बेवास्ता गरेर मन्त्रीको गाडी अगाडि बढ्यो । यो दृश्य सामाजिक सञ्जालमा भाइरल सीसीटीभी फुटेजमा पनि देखिन्छ । सामाजिक सञ्जालमा भाइरल भएपछि मन्त्रीको गैरजिम्मेवारी र संवेदनहीनतामाथि गम्भीर प्रश्न उठ्यो ।

तर, मन्त्रीका अभिव्यक्तिमा पनि कुनै पश्चाताप वा गलत गरें भन्ने भान परेको देखिंदैन । बरु उनले यसलाई सामान्य घटनाको रूपमा चित्रण गरे ।

मन्त्रीले त गरे–गरे, देशकै प्रधानमन्त्री केपी शर्मा ओलीले समेत यसलाई सामान्यीकरण गरिदिए । सामान्य चोटपटक भएको कुरालाई राजनीतीकरण गर्न खोजिएको टिप्पणी नै गरे ।

यत्रो घटना घट्दा मन्त्री स्वयंले भने पीडित पक्षसँग एकपटक पनि सम्पर्क गरेका छैनन् ।

देशकै अभिभावकजस्तो जिम्मेवार व्यक्तिबाट आएको यस्तो अभिव्यक्तिले उनको उषा र उनको परिवारलाई चित्तदुखेको छ ।

उषाका मामा जीवनको नजरमा यो घटना सामाजिक न्याय र सडक सुरक्षामा एउटा गम्भीर चुक हो । मन्दिर हिंडेकी भान्जी एकाएक अस्पताल पुर्‍याउनुपर्दा परिवार पूरै आत्तिएको थियो । तर, त्यहाँ सम्बन्धित निकाय जिम्मेवार नदेखिएको आरोप जीवनको छ ।

‘सामान्य मान्छेले ठोकेको भए त्यो गाडी समाउन नसक्ने हो र ? त्यहाँ त ट्राफिकले रोक्ने प्रयत्नसम्म गरेनन् । यत्तिकै जान दिए’ जीवनले भने, ‘धन्न स्थानीयले विरोध गरेछन् बाटो छेकेर, अनि बल्ल अलि गम्भीर भएर हेरियो । नत्र हामी सामान्य मान्छेलाई ठूला मान्छेले हान्दा त के नै फरक पर्ने रहेछ र ?’

मामा जीवनका अनुसार त्यसदिन उनकी भान्जी जेब्रा क्रसिङबाट पारि जाँदै थिइन् । त्यहीं नजिकै रहेका उनका धर्मपितालाई भेट्न उनी कोठाबाट निस्केकी थिइन् । ती बासँग लेलेको मनकामना मन्दिर दर्शन गर्न जाने उनीहरुको योजना थियो । हरेक हप्ता कतै न कतै गइरहने यी बा–छोरीले सो दिन पनि त्यस्तै योजना बनाएका थिए ।

तर, हुँकिएर आएको मन्त्रीको गाडीले उषालाई ठक्कर दियो । मनकामना जानुपर्ने उनी स्थानीयको सहयोगमा बीएण्डबी अस्पताल भर्ना हुनुपर्‍यो ।

उषाका मामा जीवन भने त्यसबेला ठमेलमा काममा थिए । घटनाबारे खबर पाए लगत्तै अस्पताल पुगे । उनी पुग्नु र भान्जी पुर्‍याइनु सँगै भएको थियो । भान्जी आत्तिएको अवस्थामा थिइन् । सामान्य घाइते भएपनि मनोवैज्ञानिक रुपमा एकदमै पीडामा देखिन्थिन् ।

‘भान्जी बिहानै हजुरबासँग मन्दिर जान निस्केकी थिइन् । उहाँको घर नजिकै छ । सानैदेखि भान्जीको हेरचाह गर्दै आएकाले पनि एकखाले सम्बन्ध छ’ उषाका मामाले भने, ‘तर, गाडीले हान्यो । ल, एक्सिडेन्ट अन्जानमा भयो अरे । तर, त्यसपछिको व्यवहार त्यस्तै हो ? मन्त्री भनेको जनताको सेवक हो । ठक्कर लगाएर भाग्नु त अपराध हो ।’

जीवन सिन्धुलीको फिकल गाउँपालिकाका बासिन्दा हुन् । भान्जीको परिवारको मूल थलो पनि सिन्धुलीको दुधौली नगरपालिका हो । उनीहरु हाल हरिसिद्धिमा डेरामा बस्छन् । भान्जीलाई आफैंले राखेका छन् । उषाकी आमा भने कुवेतमा वैदेशिक रोजगारीको सिलसिलामा छन् ।

चार कक्षामा पढ्ने भान्जी उषालाई अनुहार र घुँडामा सामान्य चोट लागेको छ । अस्पतालबाट डिस्चार्ज भए पनि फलोअपको लागि गइरहनुपर्नेछ । मामा जीवनका अनुसार हामीले उनीसँग आइतबार सम्पर्क गर्दा पनि उषालाई फलोअपका लागि अस्पताल लगिंदै थियो ।

‘चोट त सामान्य छ, तर भान्जीलाई ट्रमा जस्तो भएको छ । बेलुका सीसीटीभी भिडियो जताततै आयो झन् त्यो हेरेपछि उनी आत्तिएर रुन्थिन् । हामीले सम्झाएर सुताउन खोज्यौं’ उनले भने, ‘तर, म सुतेपछि पनि रातभरि ‘ऐया–ऐया, दुख्यो’ भन्दै आत्तिने/तर्सिने गरिरहेको थियो रे । त्यसैले अहिले उनलाई काउन्सिलिङचाहिं चाहिएको छ ।’

तर, यता घटनास्थलबाट मन्त्री भागे पनि पछि सबैतिर विरोध भएपछि अस्पतालमा आफ्ना मान्छे पठाएको जीवनले बताए । सर्वत्र विरोध भएपछि मन्त्रीले लागेको सबै खर्च बेहोरेको उनको भनाइ छ । यद्यपि, यत्रो घटना घट्दा मन्त्री स्वयंले भने पीडित पक्षसँग एकपटक पनि सम्पर्क नगरेकोमा भने गुनासो छ, जीवनलाई ।

त्रसित छन् स्थानीय

स्थानीय अधिवक्ता आस्ताकुमारी महर्जन एमालेको विधान महाधिवेशन पछि हरिसिद्धिको बाटोमा गाडीहरु अनियन्त्रित भएर हिंड्ने गरेको गुनासो गर्छिन् । उषालाई ठक्कर दिएको मन्त्रीको ‘हिट एन्ड रन’ प्रकरणभन्दा अघिल्लो दिन पनि झन्डै दुर्घटना घटेको स्मरण उनले गरिन् । त्यसको अघिल्लो दिन एउटा गाडीले नै हुलमुलसहित आएका नेताको गाडीले ट्राफिक प्रहरीलाई ठक्कर दिन खोजेको थियो । तर, संयोगले बच्न पुग्यो ।

‘गोदावरीमा एमालेको विधान महाधिवेशन सुरु भएको थियो । नेताको गाडी झण्डा फर्फराउँदै, होहल्ला गर्दै चलाइएका थिए । एक दिनअघि ट्राफिक प्रहरीलाई झन्डै ठक्कर दिएको थियो’ महर्जनले सुनाइन्, ‘यी दृश्यले सडक असुरक्षित महसुस भएकै थियो । भोलिपल्ट त ठोकिहाल्यो ।’

शनिबारको दुर्घटनामा पनि मन्त्री संवेदनहीनता देखेर उनी अचम्मित छिन् । ‘ठक्कर पछि बच्चा लड्यो । मान्छेहरू ‘गयो, गयो’ भन्दै कराए । गाडी भाग्यो, त्यो पनि मन्त्रीको’, उनले थप भनिन् ।

यसरी अनियन्त्रित गाडीका लस्करले आत्तिएका स्थानीयले भने अहिले प्रतिवाद गर्न थालेको उनले बताइन् । यदि कुनै नेता वा कसैको गाडी त्यसरी आयो भने कराउँदै स्लो गर्न लगाइरहेको उनको अनुभव छ । उनले भनिन्, ‘आज पनि उस्तै अवस्था छ ।’

लेखक
कौशल काफ्ले

काफ्ले अनलाइनखबरमा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?