
२२ भदौ, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आइतबार साँझ सामाजिक सञ्जालमा एक पोस्ट गरे ।
उनले सामाजिक सञ्जाल बन्द गराउने सरकारको कदम गलत भएको स्पष्ट भनेका छन् । साथै, भोलि काठमाडौं लगायत देशका विभिन्न ठाउँमा जेन जीहरूले गर्न लागेको प्रदर्शन स्वभाविक भएको पनि बताएका छन् ।
सरकारलाई प्रदर्शनमाथि कुनै बल प्रयोग नगर्न चेतावनी दिएका प्रचण्डलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले प्रतिप्रश्न गरेका छन् ।
उनले प्रचण्डलाई प्रधानमन्त्री हुँदा टिकटक बन्द गराएको विषय पनि कमेन्टमार्फत स्मरण गराएका छन् ।
कमेन्टमा बालेनले भनेका छन्, ‘एकादेशमा टिकटक पनि बन्द भएको थियो । हजुर पीएम (प्रधानमन्त्री) हुँदा पनि म मेयर नै थिएँ, काम हजुरबाट पनि केही भएन, कमरेड !’
साथै, उनले आफ्ना लागि एक दिन दिएको भए काठमाडौंका खोलानाला नै फेरिदिने थिएँ पनि भनेका छन् ।
‘मेरा लागि एक दिन दिएको भए म काठमाडौंका खोलानाला फेरिदिन्थेँ,’ उनले गुनासो गरेका छन् ।
मेयर शाहले आज बिहान पनि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको पोष्टमा प्रतिक्रिया जनाएका थिए ।
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा नेपाल उराँव संघको स्थापन दिवस तथा करम पूजा कार्यक्रमलाई सम्बोधन गरेकोबारे देउवाले लेखेको पोष्टमा मेयर शाहले प्रश्न गर्दै भनेका थिए, ‘यो पोष्ट कुन भीपीएनबाट हो, नेपाली कि विदेशी ?’
प्रतिक्रिया 4