
News Summary
Generated by OK AI. Editorially reviewed.- गर्भवती महिलाले दशैंको समयमा यात्रा गर्दा त्रैमासिक अनुसार सावधानी अपनाउनुपर्छ र चिकित्सकको सल्लाह लिनु आवश्यक हुन्छ ।
- पहिलो त्रैमासिकमा लामो यात्रा जोखिमपूर्ण हुन्छ र अत्यधिक झट्काले गर्भपातको खतरा बढाउन सक्छ भने दोस्रो त्रैमासिकमा सावधानीसहित यात्रा गर्न सकिन्छ।
दशैंको उमंगमय माहोलमा परिवारसँग समय बिताउन सबैलाई मन लाग्छ । यो समयमा धेरैजना लामो यात्रा गरी आफ्नो घर–परिवारसँग भेटघाट गर्न टाढा टाढाबाट आवतजावत गर्छन् ।
तर, गर्भवती महिलाले यात्रा गर्दा विशेष सावधानी अपनाउनुपर्छ । अहिले नेपालका धेरैजसो सडकहरू निर्माणको क्रममा छन् । जसले गर्दा गर्भवतीहरूको लागि जोखिम हुनसक्छ।
गर्भावस्थाको अवधि र स्वास्थ्य अवस्थाअनुसार यात्रा गर्न मिल्ने वा नमिल्ने कुरा फरक पर्छ ।
पहिलो त्रैमासिक (१ देखि १३ हप्ता)
गर्भावस्थाको पहिलो त्रैमासिकलाई सामान्यतया जोखिमपूर्ण समय मानिन्छ । यो अवधिमा गर्भवती महिलालाई वाकवाक लाग्ने, वान्ता हुने, थकान र कमजोरी जस्ता लक्षणहरू अनुभव गर्छन् ।
यी गर्भावस्थाका सामान्य संकेत भए पनि, लामो यात्राले यिनलाई थप जटिल बनाउन सक्छ ।
लामो दूरीको सडकहरूमा प्रायः खाल्डाखुल्डी छन् । यस्ता सडकमा यात्रा गर्दा गाडीको झट्काले गर्भमा रहेको बच्चालाई असर पर्न सक्छ । यो समयमा बच्चा भखरै गर्भाशयमा स्थापित हुँदै गरेको हुन्छ । अत्यधिक झट्का वा तनावले रक्तस्राव वा गर्भपातको जोखिम बढाउन सक्छ । त्यो मात्र होइन, हर्मोनल तीव्र उतारचढाव हुँदा बान्ता हुने, रिंगटा चल्ने र कमजोरी हुने हुँदा यसले पनि धरै हदसम्म यात्रामा असहजता थप्छ ।
त्यसैले, पहिलो त्रैमासिकमा सकेसम्म यात्रा गर्नुहुँदैन । यदि यात्रा अनिवार्य छ भने छोटो दूरीका लागि मात्र गर्न सकिन्छ । यात्रा जस्तो सुकै होस, चिकित्सकको सल्लाह एकपटक लिनु उचित हुन्छ ।
दोस्रो त्रैमासिक (१४ देखि २८ हप्ता), सावधानीसहित यात्रा गर्न सकिन्छ
दोस्रो त्रैमासिकलाई यात्राका लागि तुलनात्मक रूपमा सुरक्षित मानिन्छ । यो समयमा वाकवाक र बान्ता जस्ता लक्षणहरू कम हुन्छन् । पेट धेरै ठूलो नभएकोले यात्रा गर्दा
असहजता पनि कम हुन्छ ।
यदि गर्भावस्था सामान्य छ र चिकित्सकले अनुमति दिएका छन् भने, यो अवधिमा यात्रा गर्न सकिन्छ । तर, सावधानी जरूरी छ । नेपालका पहाडी सडकहरूमा लामो यात्रा गर्दा झन झट्काले असर पार्न सक्छ । बाइक वा मोटरसाइकलमा यात्रा गर्नुहुँदैन ।
यदि आफ्नै सवारीसाधन छ । र, सडक राम्रो छ भने, प्रत्येक एक–दुई घण्टामा ब्रेक लिंदै, पानी पिउँदै र हल्का खाजा खाँदै यात्रा गर्न सकिन्छ ।
विशेष अवस्थामा सतर्कता जरुरी
यदि साल तल छ, जुम्ल्याहा बच्चा छन् वा विगतमा समयपूर्व प्रसवको इतिहास छ भने, यात्रा नगर्नु राम्रो हुन्छ । छोटो दूरीको हवाई यात्रा ठिक हुन्छ, तर लामो उडानमा असर पार्न सक्छ । यात्रा गर्नुअघि चिकित्सकसँग परामर्श लिनु राम्रो हुन्छ ।
तेस्रो त्रैमासिक (२९ देखि ४० हप्ता) : यात्रा न्यूनीकरण गर्नुहोस्
तेस्रो त्रैमासिकमा यात्रा गर्नु जोखिमपूर्ण हुन्छ । पेट ठूलो भएकाले लामो समय एउटै पोजिसनमा बस्न गाह्रो हुन्छ । प्रसवको समय नजिकिएकाले कुनै पनि बेला बेथा लाग्न सक्छ । बच्चा खेल्ने पानीको मात्रा बढ्छ, जसले समयपूर्व व्यथा वा जटिलता निम्त्याउन सक्छ ।
यो समयमा मधुमेह, उच्च रक्तचाप वा (डिप भेन थ्रोम्बोसिस) नसा फुल्ने समस्या जस्ता स्वास्थ्य समस्याको जोखिम बढ्छ । रगत बाक्लिएर जम्न सक्छ, जुन लामो समय हातखुट्टा नचलाउँदा हुन्छ र फोक्सो वा मुटुमा गम्भीर समस्या निम्त्याउन सक्छ । यदि यात्रा अनिवार्य छ भने ३६ हप्तासम्म नेपालभित्र २ घण्टाभन्दा कमको हवाई यात्रा गर्न सकिन्छ ।
यात्रा गर्नुपरे सुरक्षित तरिकाले कसरी सावधानी अपनाउने ?
यात्रा गर्नुपरेमा सबै मेडिकल रेकर्डहरू साथमा बोक्न सकिन्छ । नजिकको राम्रो अस्पताल कहाँ छ भन्ने जानकारी राख्नुपर्छ । व्यथा लागे वा जटिलता देखिए तुरुन्त उपचारको व्यवस्था गर्नुपर्छ । यात्रा गर्नुअघि चिकित्सकसँग परामर्श लिनु उचित हुन्छ । टाढाको गन्तव्य छ भने, यात्रा स्थगित गर्नु राम्रो हुन्छ ।
गर्भवतीले प्रत्येक १–२ घण्टामा ब्रेक लिने, खुट्टा तन्काउने र पानी पिउने गर्नुपर्छ ।
स्वास्थ्य रेकर्ड र आपतकालीन सम्पर्क नम्बर बोक्ने र गन्तव्यमा नजिकको राम्रो अस्पतालबारे जानकारी लिनु उचित हुन्छ । तर, धेरैजसो राजमार्गमा अहिले पहिरो खसेको अवस्था छ । जोखिम नभएको समुहले पनि यात्रा गर्दा सावधानी भने अपनाउनु पर्ने देखिन्छ ।
प्रतिक्रिया 4