
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली मूलकी फुटबल खेलाडी अस्मिता आले हाल इंग्ल्याण्डको वुमन्स सुपर लिगमा लेस्टर सिटीबाट खेलिरहेकी छन्।
- अस्मिताले १८ वर्ष पुगेपछि एस्टन भिल्लासँग व्यावसायिक सम्झौता गर्दै इंग्ल्याण्डमा खेल्ने पहिलो नेपाली मूलकी महिला फुटबलर बन्न सफल भएकी थिइन्।
- उनी इंग्ल्याण्डको विभिन्न उमेर समूहको राष्ट्रिय टिमबाट समेत खेलिसकेकी छन् र लफबरो युनिभर्सिटीमा स्पोर्टस साइन्समा अध्ययनरत छिन्।
१२ असोज, काठमाडौं । अस्मिता आले हाल इंग्ल्याण्डमा वुमन्स सुपर लिग (डब्लुएसएल) मा लेस्टर सिटीबाट खेलिरहेकी छन् । नेपाली मुलकी फुटबल खेलाडी अस्मिताले इंग्ल्याण्डमा उत्कृष्ट प्रदर्शन गरिरहेकी छन् ।
२३ वर्षीय डिफेण्डर अस्मिताले यसअघि एस्टन भिल्ला र टोटनहमबाट समेत खेलिसकेकी छन् भने इंग्ल्याण्डको विभिन्न उमेर समूहको राष्ट्रिय टिमबाट समेत खेलिसकेकी छन् ।
अस्मिताले १८ वर्ष पुगेपछि एस्टन भिल्लामा व्यावसायिक सम्झौता गर्दै इतिहास रचेकी थिइन् ।
नेपाली मुलको भएपनि अस्मिताले अहिले इंग्ल्याण्डका लागि खेल्नु ठूलो प्रतिष्ठाको विषय हो । उनी रिटायर्ड गोर्खा सोल्जरको छोरी हुन् ।
उनको परिवारको पुर्ख्यौली घर भने नेपालमै छ । तनहुँ दमौली स्थायी घर भएका भूतपूर्व गोर्खा अमृत आले र वसन्ती आलेकी छोरी हुन् अस्मिता ।
हाल अस्मिता लेस्टर सिटीबाट लिग खेल्नुका साथै इंग्ल्याण्डको उमेर समूहको राष्ट्रिय टिमबाट समेत खेल्दै आएकी छन् ।
उनी हाल लफबरो युनिभर्सिटीमा स्पोर्टस साइन्समा ब्याचलर्स पनि गर्दैछिन् । खेलसँगै पढाईलाई पनि अस्मिताले सँगै अघि बढाएकी छन् ।
खेलका कारण पढाईमा केही असर गरेपनि परिवारको नाम उचोँ पार्दा कसको आमा बुबा खुशी नहोलान् र । अस्मिताले पनि आफ्नो परिवारलाई त्यही खुशी दिएकी छन् साथै नेपालीलाई पनि खुशी बनाएकी छन् । ‘खेलका कारण पढाइमा भने अलिक ब्रेक लागिरहेको छ’ बुबा अमृत भन्छन्, ‘तर छोरीले परिवार र देशको नाम उँचो पारेकी छ । त्यसैमा हामीलाई गर्व छ ।’
प्रिमियर लिग विश्वकै चर्चित फुटबल लिग हो । यहाँ खेल्न विश्वकै उत्कृष्ट खेलाडीहरु समेत आकर्षित हुन्छन् । त्यही देशको महिला फुटबल लिगमा नेपाली मुलबाट समेत एक खेलाडी खेलिरहेकी छन् । उनी इंग्ल्याण्डको महिला लिगमा व्यावसायिक सम्झौता पाउने नेपाली मुलकी पहिलो फुटबल समेत हुन् ।
गत वर्ष स्काई स्पोर्टसले न्युजले प्रकाशित गरेको एक सामाग्रीमा अस्मिता वुमन्स सुपर लिगमा खेल्ने नेपाली हेरिटेजकी एक मात्र खेलाडी रहेको उल्लेख छ । यस्तै उनी साउथ एसिया कम्युनिटीबाटै इंग्ल्याण्डमा खेल्ने एक मात्र फुटबलर हुन् ।
यस सिजन उनले वुमन्स सुपर लिगमा लेस्टरका लागि तीन खेल खेलिसकेकी छन् ।
८ वर्ष हुँदा नै क्लबमा आबद्ध
अस्मिताले ७ वर्षको उमेरदेखि फुटबल खेल्न सुरु गरिन् भने ८ वर्षको हुँदा उनी एस्टन भिल्लाको एकेडेमीमा पुगिन् । त्यसपछि उनले आफ्नो फुटबल कला त्यही निखारिन् ।
स्थानीय ब्वाइज टिममा केही समय खेलेपछि एस्टन भिल्लाबाट उनको फुटबल यात्रा अगाडि बढेको थियो ।
१६ वर्ष पुगेपछि उनले एस्टन भिल्लाबाट वुमन्स सुपर लिगमा खेल्न थालिन् । उनी १८ वर्ष पुगेपछि मा सन् २०१९ मा उनलाई एस्टन भिल्लाले प्रोफेसनल कन्ट्रयाक्ट गरेको थियो ।
अस्मिताले एस्टन भिल्लालाई सन् २०२० को वुमन्स सुपर लिग प्रमोसन गराउन महत्वपूर्ण भूमिका खेलेकी थिइन् । जसले गर्दा उनको चर्चा समेत चुलिएको थियो ।
एस्टन भिल्ला देखि लेस्टरसम्म
अस्मिताले आफूले फुटबल खेल्न सुरु गरेको क्लबमै पहिलो व्यावसायिक सम्झौता गर्दै फड्को मारेकी थिइन् । सन् २०१९ मा एस्टन भिल्लाले नै उनलाई त्यो अवसर दिएको थियो ।
पहिलो पटक क्लबमा सम्झौता गरेपछि उनले व्यावसायिक फुटबल खेल्ने सपना पूरा भएको प्रतिक्रिया दिएकी थिइन् । ‘व्यवसायिक रुपमा फुटबल खेल्ने मेरो सपना हो र यो क्लबमा रहँदा म खुसी छु ।’ अस्मिताले त्यसबेला भनेकी थिइन् ।
अस्मिताले सन् २०२१ सम्म एस्टन भिल्लाबाट खेलिन् । त्यहाँ रहँदा उनले क्लबका लागि ५० खेल खेलेकी थिइन् । त्यसपछि उनी इंग्लयाण्डकै अर्को क्लब टोटनम हटस्परमा आबद्ध भइन् । टोटनहममा उनले सन् २०२१ देखि २०२४ सम्मको अवधिमा ३१ खेल खेलिन् ।
सन् २०२१ मा बेलायतको चर्चित अनलाइन बीबीसी स्पोर्ट्सले अस्मितालाई वुमन्स सुपर लिगको पाँच ब्राइटेस्ट योङ ट्यालेन्ट भनेर समाचार प्रकाशित गरेको थियो ।
इंग्ल्याण्डको उमेर समूहको प्रतिनिधित्व
अस्मिताले अहिलेसम्म इंग्ल्याण्डमा तीन फरक क्लबबाट खेलिसकेकी छन् । जसले उनको खेलमा अझ निखार आइरहेको छ । यस अवधिमा उनले क्लबबाट मात्र नभई इंग्ल्याण्डको उमेर समूहबाट समेत खेलिसकेकी छन् ।
सन् २०१७-१८ को सिजनममा पहिलो टिममा आवद्ध भएयता उनले व्यवस्थापन, खेलाडी तथा समर्थकहरुको मन जित्न सफल भएकी थिइन् । टिमकी प्रमुख प्रशिक्षक गेम्मा डेभिस भविष्यमा आलेले टिमका लागि ठूलो योगदान दिन सक्ने बताउँछिन् ।
उनले भनिन्, ‘अस्मिताले आफ्नो क्षमता प्रमाणित गरिसकेकी छन् । अहिले उनी आफ्नो करिअरको सुरुवातमै छिन् र मलाई लाग्छ कि उनीसँग पर्याप्त सम्भावना छ ।’
अस्मिताले इंग्ल्यान्डको महिला टिमको उमेर समूहको टिम यू१७, यू१८ र यू१९ टिमबाट समेत खेलिसकेकी छन् । यस्तै उनले युरोपियन यू२३ लिगको उद्घाटन खेलमा समेत इंग्ल्यान्डको टिममा समावेश थिइन् ।
‘म इंग्ल्याण्डको लागि खेल्न मन पराउँछु । यो सधैँ मेरो सपना थियो । हरेक लिटिल गर्लका लागि आफ्नो राष्ट्रका लागि खेल्नु सम्भवत सपना हुने गर्छ’ अस्मिताले गत वर्ष स्काई स्पोर्ट्स न्युजसँगको कुराकानीमा भनेकी थिइन्, ‘क्लब भन्दा आफ्नो देशका लागि खेल्नु केही फरक हुन्छ । तपाईँले प्रेरणा पाउनुहुनेछ ।’
अस्मिताले सन् २०१८ मा १६ वर्षको उमेरमै यू-१७ युरोमा इंग्ल्याण्डका लागि डेब्यु गरेकी थिइन् । जहाँ उनले इटली विरुद्ध दोस्रो हाफमा मैदान प्रवेश गर्दै खेलेकी थिइन् ।
अस्मिताले आफ्नो परिवार नै आफ्नो लागि सबै भन्दा ठूलो समर्थक भएको बताएकी छन् । साथै उनले आफ्नो बुबाबाट नै स्पोर्ट्सको जेनेटिक्स आफूमा सरेको बताइन् ।
ब्रिटिस आर्मीले पछिल्लो २०० वर्षपछि नेपालबाट गोर्खा सोल्जर लैजाँदै आएको छ । गोर्खा सोल्जर विश्वकै उनीहरुको बहादुरी कार्य, इमानदारी र निडरका लागि परिचित छ ।
अस्मिताका बुबा अमृत आलेले पनि १९ वर्ष आर्मीका काम गरे । उनी आपैँ पनि स्क्वास खेलाडी हुन् । नेपालमा रहँदा उनले दक्षिण एसियाली खेलकुदमा राष्ट्रिय स्क्वास टिमका लागि छनो६ खेलेका थिए ।
तर उनले छनोटमा सहभागिता जनाएपनि सेप्टेम्बर ११ अट्याकका कारण तत्काल खेल हुन सकेन । त्यसपछि अस्मिताको बुबा अमृत बेलायतको एक रेजिमेन्टमा फर्किनुपर्ने भएकाले उनले आफ्नो परिवारलाई पनि पहिल्यै पहिले नै बेलायत लगे । किनभने उनकी श्रीमतीको डेलिभरी मिति नजिक रहेकोले त्यस्तो बेला यात्रा असुरक्षित ठानिन्थ्यो ।
अस्मिता बेलायत जन्मने उनको परिवारको पहिलो सदस्य बनिन् । उनी आफ्नो करियरभर परिवारको साथ पाएकोले आफूलाई भाग्यमानी ठान्छिन् ।
‘म बच्चा हुँदा देखि उहाँहरुले मलाई इंग्ल्याण्डर लैजानुहुन्थ्यो । मैले भिल्ला एकेडेमीमा खेल्दा पनि सँगै लैजानुहुन्थ्यो’ अस्मिताले स्काई स्पोर्ट्स न्युजसँग भनेकी छन्, ‘जब मैले इंग्ल्याण्डको लागि खेलँ, उहाँहरु मलाई हेर्नका लागि फ्लाइट चढेर विभिन्न देशमा पुग्न्हुन्थ्यो । उहाँहरु कति सपोर्टिभ हुनुहुन्छ भन्ने कुरा महत्वपूर्ण हो।’
अस्मितालाई आफ्नो परिवारले सधैँ आफुहरु कहाँबाट आएको हो भन्ने कुरा सुनाउने गरेका छन् र साथै संस्कृति पनि सम्झन भनेका छन् ।
‘मलाई नेपाली खाना मन पर्छ । मेरो ममी निकै राम्रो कुक हुनुहुन्छ । हामी धेरै उत्सवहरु सँगै मनाउँछौं’ अस्मिताले भनिन् । ‘जब म युवा थिएँ, म हरेक वर्ष परिवारसँगै नेपाल जाने गर्थेँ किनकी मेरो धेरै आफन्तहरु नेपालमै बस्नुहुन्थयो ।’
इंग्ल्याण्डमा ब्रिटिस नेपालिज कम्युनिटी धेरै रहेको र त्यहाँ विवाह, पार्टी जस्ता रमाइलो क्षण पनि हुने गरेको उनले बताइन् ।
अस्मिताले आफ्नो जीवनमा फुटबलको ठूलो प्रभाव रहेको बताउँदै यसले आफ्नो विकास र आत्मविश्वासमा सहयोग गरेको बताइन् । ‘जब म बच्चा थिएँ म धेरै शान्त थिएँ । म्यानेजरले मलाई तिनीमाले बोल्नुपर्छ भनेर धेरै पटक भनेका थिए । फुटबलले मलाई फरक अवस्थामा अघि बढ्नका लागि धेरै सहयोग गरेको छ । मलाई स्कुलमा चिन्नेहरुले अहिले म धेरै कन्फिडेन्ट भएको भन्छन्’ उनले भनिन् ।
प्रतिक्रिया 4