+
+
Shares
पौरखी प्रवासी :

रूस-युक्रेन युद्धका नेपाली उद्धारक

जब रूसले युक्रेनमा आक्रमण शुरु गर्‍यो, युक्रेनमा बसोबास गरिरहेका नेपालीको उद्धार गर्न अघि सरे स्लोभाकिया बसिरहेका जयप्रसाद सिवाकोटी। उनले आफ्नो रेष्टुरेन्टलाई अफिसियल रूपमा रेस्क्यु सेन्टरमा परिणत गरे। अनि, नेपाली मात्र नभएर इन्डियन, बंगलादेशी, सेनेगल लगायतका आप्रवासीलाई समेत सुरक्षित आश्रय दिए।

वसन्त रानाभाट वसन्त रानाभाट
२०८२ असोज १४ गते २०:३३

भूमण्डलीकरणको यो युगमा संसार साँघुरिएको छ र मानिसको यात्रा अब भौगोलिक सीमाभित्र कैद छैन। अवसरको खोजीमा होस् वा ज्ञान र सीपको यात्रामा, नेपालीहरू पनि यही विश्वव्यापी लहरको एउटा अभिन्न अंग बनेका छन्। पृथ्वीका विभिन्न भूभागमा पुगेर उनीहरूले आफ्नो श्रम, बुद्धि र साहस ले नयाँ समाजमा अटल परिचय स्थापित गरेका छन्। तर, जतिसुकै टाढा पुगे पनि, उनीहरूको नाभी अझै पनि मातृभूमिमै गाँसिएको छ- भाषा, संस्कृति र भावनाको अटुट धागोमार्फत्।

 

अनलाइनखबरले सुरु गरेको ‘पौरखी प्रवासी’ शृङ्खला त्यही गौरवमय यात्राको गाथा हो। यो केवल व्यक्तिगत संघर्ष र पसिनाको कथा मात्र होइन, बरू विश्व मञ्चमा नेपालको सामूहिक पहिचानलाई उचाइ दिने प्रयासको दस्तावेज हो। हरेक प्रवासी नेपाली आफ्नो गन्तव्यमा नेपालको ‘ग्लोबल एम्बेसडर’ बनेर उभिएका छन्। उनीहरूले विश्वलाई देखाइरहेका छन्, ‘नेपालीहरू मेहनती, सहिष्णु र प्रतिभावान हुन्छन्।’

 

प्रवासी नेपालीहरूको महत्व केवल आर्थिक पक्षमा मात्र सीमित छैन, यद्यपि रेमिटेन्सले नेपालको अर्थतन्त्रको मेरुदण्डलाई सजीव राखेको छ। विदेशको तातो घाममा पसिना बगाउने श्रमिकदेखि अन्तर्राष्ट्रिय मञ्चमा उदाएका विज्ञ, उद्यमी र कलाकारहरूसम्म, उनीहरू सबैले नेपाललाई विश्वको नक्सामा चिनाएका छन्। उनीहरूको ज्ञान, सीप र नेतृत्व क्षमतालाई नेपालको समृद्धिको यात्रासँग जोड्नु अनिवार्य छ ।

 

सामाजिक र सांस्कृतिक दृष्टिले, प्रवासीहरू नेपालकै बहुरंगी स्वरूपलाई नयाँ ठाउँमा पुनः फूलाइरहेका छन्। चाहे नयाँ पुस्तामा नेपालीपनको बीउ रोप्ने कुरा होस् वा परदेशमा दशैँ–तिहार र तीजको उल्लास भर्ने कुरा, यी सबै अभ्यासले नेपालीपनलाई भौगोलिक सीमाभन्दा बाहिर फैलिएको ‘विश्व-चेतना’ बनाइदिएको छ।

 

जब कोही आफ्नो जन्मभूमिबाट टाढा जान्छ, उसले आत्मपहिचानलाई पुनःपरिभाषित गर्नुपर्छ। नयाँ समाज र संस्कृतिमा घुलमिल हुँदै उसले आत्मान्वेषणको यात्रा गर्छ। यही प्रक्रियामा नेपालीहरू केवल आर्थिक योगदानकर्ता मात्र नभई विश्व-संस्कृतिको सक्रिय अंग बनेका छन्, जसले भूमण्डलीय संस्कृतिमा नेपाली रङ घोलिरहेका छन्।

 

‘पौरखी प्रवासी’ संसारभर छरिएका ती अब्बल नेपालीहरूको प्रतिनिधिमूलक जीवनगाथा हो। उनीहरूको कथा सुन्नु भनेको श्रम, सीप, आशा, साहस र गौरव मिसिएको हाम्रो समयको सांस्कृतिक इतिहास पढ्नु जस्तै हो।

 

आउनुहोस्, हामी संसारभर छरिएका ती ‘पौरखी प्रवासी’हरूको कथा सुनौं, जसले आफ्नो मेहनतले नेपालको शिर उँचो बनाएका छन्ः

बार्सिलोना। २४ फेब्रुअरी २०२२। बिहानैदेखि संसारभरका टेलिभिजन च्यानल, रेडियो र अनलाइनबाट एउटै ब्रेकिङ समाचार गुन्जिरहेको थियो, ‘रूसले युक्रेनमाथि आक्रमण शुरु गर्‍यो।’

सयौं किलोमिटर टाढा भए पनि त्यो खबरले युरोपभरका नेपाली समुदायलाई झस्काइदियो। अचानक मोबाइलका घण्टीहरू बज्न थाले। युक्रेनका शहरहरूमा रहेका नेपाली विद्यार्थी र कामदारहरू त्रसित थिए।

आकाशमा गुन्जिरहेका बमका आवाजबीच कसैलाई घरको सम्झनाले सताइरहेको थियो, कोही सीमा नजिक पुगेर अलपत्र परेका थिए। ‘अब कहाँ जाने ? कसरी ज्यान जोगाउने ?’ यही अनिश्चितताले सताएको थियो।

त्यतिबेला स्लोभाकियाको राजधानी ब्रातिस्लाभामा बस्दै आएका पाँचथरका जयप्रसाद सिवाकोटी आफ्नै दैनिकीमा व्यस्त थिए। उनको फोनमा तारन्तार घन्टी बज्न थाल्यो। फोन उठाउँदा सबैको एउटै सन्देश हुन्थ्यो, ‘हामी फसेका छौं, उद्धार गर्ने कोही छ ?’

सिवाकोटीको मनमा ती पीडित नेपालीको स्वर प्रतिध्वनित भइरहेको थियो। उनी त्यो दिन आफ्ना व्यक्तिगत काम वा व्यवसायभन्दा ठूलो जिम्मेवारीतर्फ तानिए। अझै महत्वपूर्ण कुरा- युक्रेनसँग सीमा जोडिएको मुलुकमा बसिरहेका कारण उनले त्यसलाई आफ्नै दायित्व ठाने।

सीमामा पहिलो उद्धारको यात्रा

‘म अलमलमा थिएँ। के गर्ने त ? जहाँ युद्ध भइरहेको छ, त्यहाँ कति नेपाली होलान्, कस्तो अवस्थामा होलान् ?’ उनी त्यो क्षण सम्झन्छन्।

बिहान ११ बजेदेखि फोन आउन थाले। नेपालभन्दा बढी विदेशमा रहेका आफन्तहरूले युक्रेनमा फसेका आफ्ना नातेदारको लागि आग्रह गर्दै फोन गरिरहेका थिए। ‘फोन गर्नेहरूले आश गरेर सोध्नुहुन्थ्यो। तर म जवाफहीन थिएँ- सक्छु भनौं कि सक्दिनँ भनौं भन्ने दोधारमै थिएँ। तर जब लगातार ४–५ वटा फोन आयो; हैन, यसरी त हुँदैन भन्ने लाग्यो’, सिवाकोटी भन्छन्।

त्यसपछि उनले तत्कालीन जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्कासँग सम्पर्क गरे। ‘उहाँले ‘गो अहेड’ भन्नुभयो’, सिवाकोटी सम्झन्छन्। त्यसपछि विभिन्न देशमा रहेका स्वयंसेवीहरू सहित एउटा उद्धार टिम बनेको थियो।

युक्रेनमा रहेका नेपालीहरूले प्रत्यक्ष सम्पर्क गर्न थाले। टिमले उनीहरूलाई सुरक्षित निस्कन मार्गदर्शन गर्‍यो। फेब्रुअरी २६ सम्ममा निस्कन चाहने धेरै नेपाली पोल्यान्ड र स्लोभाकियाको सीमा नजिक पुगे। तर पोल्यान्डको बोर्डरमा ठूलो भीड र अव्यवस्था शुरु भएपछि उनीहरू झनै त्रसित भए। त्यसपछि नेपालीहरूले स्लोभाकियाको बाटो पनि रोज्न थाले। ‘मैले नेपाल र यहाँ दुवै ठाउँमा स्वास्थ्य क्षेत्रमा काम गरेको अनुभवले गर्दा ‘ह्युमन राइट्स’ र ‘आईओएम’ (अन्तर्राष्ट्रिय आप्रवासन संगठन) जस्ता संस्थासँग तुरुन्तै सम्पर्क गर्न सकें’, उनी भन्छन्।

त्यो सहयोगकै कारण २६ फेब्रुअरी बेलुकी पहिलो ८ जना नेपाली स्लोभाकिया छिर्न सफल भए। त्यतिबेलासम्म त बोर्डर युक्रेनीहरूका लागि मात्र खुला थियो। ती नेपालीहरूलाई आईओएमले उपलब्ध गराएको सेल्टरमा राखियो।

भोलिपल्ट, फेब्रुअरी २७ मा सिवाकोटीले उनीहरूलाई राजधानी ब्रातिस्लाभा बोलाए। ‘आउनुस्, म रिसिभ गर्छु।’ त्यसपछि उनीहरू ६०० किलोमिटर टाढाबाट रेल चढेर ब्रातिस्लाभा आए। उनीहरू केवल मेरो सम्पर्क र म यहाँ छु भन्ने भरोसामा आउनुभएको थियो’, उनी सम्झन्छन्।

रेष्टुरेन्टभित्रको घर जस्तो आश्रय

फेब्रुअरी २७ को बिहान। उद्धारको पहिलो टोलीमा ८ जना नेपाली स्लोभाकिया प्रवेश गरेर ब्रातिस्लाभा पुगे। तीमध्ये एक महिला पनि थिइन्। सिवाकोटीले उनीहरूलाई आफूले सञ्चालन गर्दै आएको ‘नेपाल रेष्टुरेन्ट’मा लगे।

‘त्यो बेला अरू कुनै विकल्प थिएन’ सिवाकोटी सम्झन्छन्, ‘युद्धबाट थकित, झोला–लत्ता बोकेका, अनुहारमा त्रास र थकाइ मिसिएका ती नेपालीहरूलाई रेष्टुरेन्ट नै सबैभन्दा सुरक्षित ठाउँ लाग्यो।’ रेष्टुरेन्ट बिहान ११ बजे मात्र खुल्ने। तर त्यो दिन बिहान ९ बज्नै लाग्दा उनीहरू त्यहाँ पुगे। किचन बन्द थियो, तर डाइनिङ हल तातो थियो। सिवाकोटीले आफैंले चिया पकाएर खुवाए।

‘गफ गर्दागर्दै अचानक उनीहरू कुर्सीमै निदाउन थाले। त्यो दृश्य देख्दा म झन् भावुक भएँ। युद्धबाट भागेर सुरक्षित घरभित्र छिरेपछि मात्रै निश्चिन्त भएर निदाएको जस्तो लाग्यो मलाई’, उनी भन्छन्। त्यसपछि उनले ठाने- आज मात्र होइन, अब रेष्टुरेन्ट पूर्ण रूपमा बन्द गरेर उद्धार केन्द्रमै परिणत गर्ने।

शुरुमा कुर्सीमा राखिएको कुशनलाई सिरानी बनाएर उनीहरू निदाए। तर सिवाकोटीले आफ्नै फर्निचर व्यवसायबाट म्याट्रेस ल्याए र बिछ्याएर सबैलाई आराम गर्न दिए। ‘जंगलको बाटो हुँदै हिंडेर बोर्डरसम्म आएका थिए। थकित भएर निदाए’, सिवाकोटी भावुक भएर सम्झन्छन्।

यसैबीच नयाँ टोली पनि आउँदै थियो। पुरानालाई सम्हाल्नु, आउँदै गरेका समूहलाई तयारी गर्नु, अनि युक्रेनका विभिन्न शहरबाट निरन्तर आउने फोन सम्हाल्नु- यी सबै जिम्मेवारी उनले एक्लै बोक्न थाले। त्यसैले उनले रेष्टुरेन्टलाई उद्धार केन्द्र घोषणा गरे। त्यहाँ आएका समूहलाई आराम दिने मात्र होइन, अर्को समूह आउँदा पुरानाले नै सहयोग गर्ने सिस्टम पनि बनाए।

रेष्टुरेन्टमा दुईवटा ट्वाइलेट भए पनि बाथरुम थिएन। तर उनले फर्स्ट एड, महिलाका लागि आवश्यक सामग्री र वाईफाईको सुविधा पनि उपलब्ध गराए। ‘कम्तीमा दुई रात सहजै बस्न सक्ने वातावरण बनाएँ। घरपरिवारसँग सम्पर्क गर्न पाइयो भने मानसिक रूपमा राहत मिल्छ भन्ने सोचें’, उनी भन्छन्।

त्यसपछि अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम) को सहयोगमा ब्रातिस्लाभाबाट ११ किलोमिटर टाढा २०० जना अट्न सक्ने ठूलो आश्रयस्थल तयार भयो। त्यहाँ आवश्यक सामग्री पुर्‍याउने जिम्मा पनि सिवाकोटीले नै लिए।

सबैभन्दा महत्वपूर्ण कुरा, उनीहरूले कसैलाई अनावश्यक प्रश्न गरेनन्। ‘आफ्नै निर्णय लिनुस्’ भन्ने मात्र भनियो। नेपाल फर्किन चाहनेहरूलाई दूतावाससँग समन्वय गरेर फर्काउने तयारी गरिएको थियो। तर रेष्टुरेन्टमा आएका नेपालीमध्ये कोही पनि स्वदेश फर्किन चाहेनन्। बरु सहज भएपछि, आ–आफ्नो बाटो लागे।

त्यो रेष्टुरेन्ट, जसले कहिल्यै यति धेरै आँसु, थकाइ र आशा एकैसाथ बोकेको थिएन। त्यही बनेको थियो युद्धग्रस्त नेपालीहरूको अस्थायी घर।

सिवाकोटीले आफ्नै रेष्टुरेन्टलाई उद्धार केन्द्र बनाएर ७८ जना नेपालीलाई अर्को बसोबास स्थलमा पुर्‍याए। ती सबैको नामावली उनले सुरक्षित राखे। तर रेष्टुरेन्टमै रात बिताएर त्यहींबाट आफ्नै बाटो लाग्ने नेपालीको संख्या भने १०० भन्दा बढी थियो। उनीहरूको विवरण राखेनन्। तर सिवाकोटीका सम्झनामा, ती सबै युद्धको त्रासदीबीच सुरक्षित घरजस्तो आश्रय पाएको अनुभूति गर्दै निस्किएका थिए।

पोल्यान्डको सीमामा त्रास र मोडिएको बाटो

युद्ध शुरु भएको सातौं-आठौं दिनतिर केही नेपालीहरू पनि पोल्यान्डतर्फको सीमामा पुगेका थिए। तर त्यहाँको अवस्था सामान्य थिएन। भीड बढ्दै गइरहेको थियो, धकेलाधकेल असह्य थियो। त्यसमाथि, उनीहरूको आँखै अगाडि अपरिचित केही व्यक्तिहरूले अचानक गोली चलाए, भीडबीच लुटपाट सुरु भयो।

‘नेपालीहरूकै भनाइ अनुसार त्यहाँ अपरिचित केही मान्छेहरूले गोली चलाए र लुटपाट गर्न थाले’ सिवाकोटी सम्झन्छन्, ‘त्यसपछि त्यो सीमा नै अर्को त्रासदीको मैदान बनेको थियो।’

यस्तो भयावह दृश्य देखेपछि, शुरुमा पोल्यान्ड छिर्ने आशामा पुगेका नेपालीहरू पनि फर्किन बाध्य भए। उनीहरूलाई डरले पोल्यान्डको बाटो त्याग्न बाध्य बनायो र अन्ततः स्लोभाकियातर्फ मोडियो।

तर, सुरक्षित यात्राको त्यो प्रयास पनि सहज थिएन। ‘त्यो समूहबाट करिब २२–२५ जना सँगै हिंडेका थिए’ सिवाकोटी भन्छन्, ‘तर अन्ततः मेरो सम्पर्कमा जम्मा १३ जना मात्रै आइपुगे। बाँकी साथीहरू कता गए भन्ने कुरा थाहा भएन।’

त्यो यात्रामा उनीहरूले दुई दिनसम्म जंगल पार गर्नुपरेको थियो। रातभरि डराउँदै अघि बढ्नु, अपरिचित भूमिमा असुरक्षाको भारी बोकिनु- सबै पीडादायी क्षणहरूको कथन सुन्दा नै मन गाँठो पर्छ।

‘उनीहरूले सुनाएको कुरा निकै दर्दनाक थियो’ सिवाकोटी भन्छन्, ‘जंगलभित्र रात बिताउनुपरेको रहेछ, कहिले गोली चल्ने हो कि, कहिले लुटिने हो कि भन्ने डरमा अगाडि बढेका रहेछन्।’ तर त्यस्तो भोगाइ सुनेर रेष्टुरेन्टमा उनीहरूलाई सुरक्षित राख्दा सिवाकोटीको मन धेरै खुसी भयो।

उद्धारमा व्यवस्थापन

फेब्रुअरी २९ देखि सिवाकोटीले एउटा नयाँ आइडिया अघि सारे ‘चेन इन्फर्मेसन सिस्टम।’ उनी भन्छन्, ‘मैले सोचें, यदि समूहहरू बीच सिधा सम्पर्क हुनसके, सबै काम सहज र छिटो हुनेछ।’ रेष्टुरेन्टमा बसिरहेका नेपालीलाई पोर्चुगल वा फ्रान्स पुगिसकेका समूहसँग सम्पर्क गराइदिएँ। त्यहाँ रहेका समूहलाई फेरि बोर्डर क्रस गर्दै गरेका टोलीसँग जोडिदिएँ। अनि ती टोलीलाई किभमा अझै फसेका नेपालीहरूसँग सम्पर्क गराइदिएँ। यसरी सञ्जाल जस्तो प्रणाली बनाएँ, जसले एक–अर्कालाई सहयोग गर्न सजिलो बनायो’, सिवाकोटी सम्झन्छन्।

यस प्रणालीले उद्धार कार्यलाई धेरै सजिलो बनायो। प्रत्येक टोलीले अर्को टोलीलाई निर्देशन गर्न थाल्यो, जसले सम्पूर्ण उद्धारमा भार घटायो र प्रभावकारिता बढायो। त्यसपछि, विभिन्न देशमा रहेका नेपालीहरूको व्यवस्थापनका लागि अर्को टोली गठन गरियो। उनी भन्छन्, ‘हामीले पाँचवटा देशका एनआरएनए र सम्बन्धित दूतावासहरूसँग छलफल गर्‍यौं, जसले युद्धबाट आएका नेपालीहरूलाई सही जानकारी र सुझाव दिन सहयोग पुग्यो।’

अन्ततः यो सञ्जालले पोर्चुगल, फ्रान्स, स्पेन लगायत देशतर्फ जाने नेपालीहरूलाई आवश्यक सहयोग पुर्‍यायो। सिवाकोटी भन्छन्, ‘यसले युद्धबाट भर्खर आएका नेपालीलाई सही जानकारी र सुझाव दिन धेरै मद्दत पुग्यो।’

सन् २०२२ फेब्रुअरी २७ देखि सिवाकोटीले आफ्नो रेष्टुरेन्टलाई अफिसियल रूपमा रेस्क्यु सेन्टरमा परिणत गरेका थिए। मार्चको पूरै महिना रेष्टुरेन्ट बन्द गरेर युद्धबाट आएका नेपालीहरूको उद्धार कार्यमा समर्पित रहे। मार्चको अन्तिम हप्तामा चाप घट्दै गयो। त्यतिबेला केवल २–३ जना मात्रै आउँथे। ‘उनीहरूले खाना मात्र खान्थे, उनीहरू बस्न चाहन्नथे, केवल आफ्नो बाटो लाग्न खोज्थे’, सिवाकोटी सम्झन्छन्।

त्यसपछि अर्को वासस्थान पनि बन्द गर्ने निर्णय गरियो। अप्रिल १ देखि नेपाल रेष्टुरेन्ट पुनः सामान्य रूपमा खुल्यो र व्यवसायमा फर्कियो। उद्धारको क्रममा उनले नेपाली मात्र नभएर अन्य देशका नागरिकलाई पनि आश्रय दिए। इन्डियन, बंगलादेशी, सेनेगल लगायत १५ जना विदेशी आप्रवासी सुरक्षित बस्न पाए।

यी सबै घटनाहरू अहिले सम्झँदा पनि सपना जस्तो लाग्छ। ‘आउँदा उनीहरू बोल्न पनि डराउँथे। तर दुई रात बसेपछि मेरो काँधमा टाउको राखेर आरामसँग गफ गर्थे। बाहिर निकालेर बिदाइ गर्दा मलाई साह्रै नराम्रो लाग्थ्यो’, भावुक हुँदै सिवाकोटी भन्छन्।

त्यहाँबाट गएका धेरैले ६ महिनासम्म सम्पर्क राखे। तर समयसँगै, ‘९५ प्रतिशतले आफ्नो नम्बर परिवर्तन गरिसकेका छन्। धेरैजसो पुरानो फेसबुक अकाउन्ट चलाउँदैनन्। धेरैजसोसँग अहिले सम्पर्क छैन। तर केहीले अझै पनि मलाई सम्झिरहन्छन् र कहिलेकाहीं कुराकानी पनि गर्छन्’, सिवाकोटी थप्छन्।

उद्धारपछि पनि समस्या बाँकी

रेस्टुरेन्टलाई अस्थायी उद्धार केन्द्र बनाएर सयौं नेपालीलाई सुरक्षित पार्ने अभियान सकिएपछि जयप्रसाद सिवाकोटी सामान्य व्यवसायतर्फ फर्किए। तर उनले चाँडै बुझ्न थाले- यो युद्धसँगै आएको असहायतालाई त केही हदसम्म टारेका होलान्, तर स्लोभाकियामा रहेका नेपालीहरूको वास्तविकता अझै जटिल छ।

‘स्लोभाकियामा अहिले यति नै नेपाली छन् भन्ने तथ्यांक छैन’ सिवाकोटी भन्छन्, ‘तर मेरो अनुमानमा करिब एक हजार नेपाली हुनुपर्छ। धेरै जना कागजविहीन अवस्थामा छन्।’

उनका अनुसार यहाँ मध्य र पश्चिम नेपालका नेपाली बढी छन्। प्रायः कार उत्पादन फ्याक्ट्री, हस्पिटल क्लिनिङ र कृषि क्षेत्रमा काम गर्छन्। तर अवस्था सजिलो छैन। ‘यहाँ आएका करिब ४० प्रतिशत जति कामविहीन भेटिन्छन्’, उनी भन्छन्।

नेपालमै मोटो रकम तिरेर एक वर्षको कन्ट्रयाक्टमा आउने चलन छ। तर अवधि सकिएपछि कम्पनीले नथामे कागजमा समस्या हुन्छ। नेपाल फर्कन मन नगरेपछि उनीहरू अन्य युरोपेली देशतर्फ जान खोज्छन् वा अवैधानिक रूपमा स्लोभाकियामै बस्न बाध्य हुन्छन्।

‘केही महिनाअघि साइप्रसबाट आएका एक जना नेपालीको निधन भयो’ सिवाकोटी सम्झन्छन्, ‘उनको स्लोभाकियाको कागजपत्र केही थिएन। जेनतेन उनको शव व्यवस्थापन गर्न सकियो।’

यसरी, अस्थायी उद्धारको कार्य सम्पन्न भए पनि यहाँका नेपालीको दीर्घकालीन समस्या अझै समाधान हुनसकेको छैन। ‘यहाँका कम्पनीसँग सम्पर्क गरेर काम खोज्ने प्रयास त गरिरहेको हुन्छु’ उनी भन्छन्, ‘तर नेपालमा भने यताको वास्तविकता नबुझी कामको ठूलो माग छ भन्ने प्रचार भइरहेको छ। कहाँ गल्ती छ भन्ने कुरा अझै स्पष्ट छैन।’

त्यसै क्रममा, सिवाकोटीले एनआरएनए स्लोभाकियाको नेतृत्व पनि सम्हालेका छन्। उनले एनआरएनए स्लोभाकियालाई त्यहाँ विधिवत् रूपमा दर्ता गरिसकेका छन्, जसले स्लोभाकियामा रहेका नेपालीहरूको दीर्घकालीन समस्या समाधानका लागि एक कानूनी र संरचनात्मक आधार तयार गरेको छ।

लेखक
वसन्त रानाभाट

बसन्त रानाभाट अनलाइनखबरका युरोपका समाचार संयोजक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?