
News Summary
Generated by OK AI. Editorially reviewed.- अमेरिकामा जन्मिएका नेपाली मूलका संगीतकार अभिनव बस्ताकोटीले कर्टिस वाटर्स नामले विश्वव्यापी सांगीतिक सफलता हासिल गरेका छन्।
- उनको हिपहप गीत 'स्टनिन' टिकटकमा भाइरल भई एक महिनामा २० लाखभन्दा बढी पटक हेरियो र रोलिङ्ग स्टोनको ब्रेकआउट २५ मा ३ नम्बरमा रह्यो।
- कर्टिसले स्वतन्त्र सर्जकको रूपमा संगीत सिर्जना गर्दै आरआईएएबाट प्लाटिनम र गोल्ड प्रमाणपत्र प्राप्त गरेका छन् र विश्वका विभिन्न महोत्सवमा प्रस्तुति दिइसकेका छन्।
भूमण्डलीकरणको यो युगमा संसार साँघुरिएको छ र मानिसको यात्रा अब भौगोलिक सीमाभित्र कैद छैन। अवसरको खोजीमा होस् वा ज्ञान र सीपको यात्रामा, नेपालीहरू पनि यही विश्वव्यापी लहरको एउटा अभिन्न अंग बनेका छन्। पृथ्वीका विभिन्न भूभागमा पुगेर उनीहरूले आफ्नो श्रम, बुद्धि र साहस ले नयाँ समाजमा अटल परिचय स्थापित गरेका छन्। तर, जतिसुकै टाढा पुगे पनि, उनीहरूको नाभी अझै पनि मातृभूमिमै गाँसिएको छ- भाषा, संस्कृति र भावनाको अटुट धागोमार्फत्।
अनलाइनखबरले सुरु गरेको ‘पौरखी प्रवासी’ शृङ्खला त्यही गौरवमय यात्राको गाथा हो। यो केवल व्यक्तिगत संघर्ष र पसिनाको कथा मात्र होइन, बरू विश्व मञ्चमा नेपालको सामूहिक पहिचानलाई उचाइ दिने प्रयासको दस्तावेज हो। हरेक प्रवासी नेपाली आफ्नो गन्तव्यमा नेपालको ‘ग्लोबल एम्बेसडर’ बनेर उभिएका छन्। उनीहरूले विश्वलाई देखाइरहेका छन्, ‘नेपालीहरू मेहनती, सहिष्णु र प्रतिभावान हुन्छन्।’
प्रवासी नेपालीहरूको महत्व केवल आर्थिक पक्षमा मात्र सीमित छैन, यद्यपि रेमिटेन्सले नेपालको अर्थतन्त्रको मेरुदण्डलाई सजीव राखेको छ। विदेशको तातो घाममा पसिना बगाउने श्रमिकदेखि अन्तर्राष्ट्रिय मञ्चमा उदाएका विज्ञ, उद्यमी र कलाकारहरूसम्म, उनीहरू सबैले नेपाललाई विश्वको नक्सामा चिनाएका छन्। उनीहरूको ज्ञान, सीप र नेतृत्व क्षमतालाई नेपालको समृद्धिको यात्रासँग जोड्नु अनिवार्य छ ।
सामाजिक र सांस्कृतिक दृष्टिले, प्रवासीहरू नेपालकै बहुरंगी स्वरूपलाई नयाँ ठाउँमा पुनः फूलाइरहेका छन्। चाहे नयाँ पुस्तामा नेपालीपनको बीउ रोप्ने कुरा होस् वा परदेशमा दशैँ–तिहार र तीजको उल्लास भर्ने कुरा, यी सबै अभ्यासले नेपालीपनलाई भौगोलिक सीमाभन्दा बाहिर फैलिएको ‘विश्व-चेतना’ बनाइदिएको छ।
जब कोही आफ्नो जन्मभूमिबाट टाढा जान्छ, उसले आत्मपहिचानलाई पुनःपरिभाषित गर्नुपर्छ। नयाँ समाज र संस्कृतिमा घुलमिल हुँदै उसले आत्मान्वेषणको यात्रा गर्छ। यही प्रक्रियामा नेपालीहरू केवल आर्थिक योगदानकर्ता मात्र नभई विश्व-संस्कृतिको सक्रिय अंग बनेका छन्, जसले भूमण्डलीय संस्कृतिमा नेपाली रङ घोलिरहेका छन्।
‘पौरखी प्रवासी’ संसारभर छरिएका ती अब्बल नेपालीहरूको प्रतिनिधिमूलक जीवनगाथा हो। उनीहरूको कथा सुन्नु भनेको श्रम, सीप, आशा, साहस र गौरव मिसिएको हाम्रो समयको सांस्कृतिक इतिहास पढ्नु जस्तै हो।
आउनुहोस्, हामी संसारभर छरिएका ती ‘पौरखी प्रवासी’हरूको कथा सुनौं, जसले आफ्नो मेहनतले नेपालको शिर उँचो बनाएका छन्ः
गत वर्ष अमेरिकाबाट परिवारसहित नेपाल आएका कर्टिस वाटर्स आफ्नो आमाको जन्मभूमि लमजुङको गाउँ पुगे। त्यहाँ उनले आमाले घाँस काट्ने बारी-जंगल नियाले।
उनले आमाको जन्मभूमिको परिवेश र अहिले आफू बाँचिरहेको नर्थ क्यारोलाइनको जीवनशैलीको दूरी नाप्ने प्रयास गरे। र; आफ्नो नेपाल, भारत, जर्मनी, क्यानडा हुँदै अमेरिकासम्मको यात्रा सम्झिए।
पाश्चात्य संगीत खासगरी हिप-हप, पप र इन्डी पपको क्षेत्रमा अन्तर्राष्ट्रिय ख्याति कमाएका अहिलेका कर्टिस वाटर्स सन् १९९९ मा काठमाडौंमा जन्मिएका अभिनव बस्ताकोटी हुन्। उनको बाल्यकाल आफ्ना बुवा–आमाको अध्ययन र रोजगारीको सिलसिला सँगसँगै संसारका विभिन्न भागमा बित्यो।
काठमाडौंको चोभारस्थित मोडर्न इन्डियन स्कूलमा प्रारम्भिक शिक्षा सुरु गरेका अभिनव आफ्ना बुवाआमासँगै भारत र जर्मनीमा यात्रा गरे। १० वर्षको उमेर हुँदा उनी बुवाआमासँगै क्यानडा पुगे।
अभिनव बाल्यकालमा कमिक र कथाका पुस्तक पढ्न, कार्टुन बनाउन रुचि राख्थे। १४ वर्षको उमेरमा तीन महिनाको लागि व्रतबन्ध गर्न नेपाल आउँदा उनले ल्यापटपमा एफएल स्टुडियो डाउनलोड गरिआएका थिए। त्यही बेलादेखि उनी संगीतका बिट बनाउनतिर तानिए।
किशोर अवस्थामा हुने एक किसिमको एकांकीपन र निराशासँग जुध्न उनले संगीतका बिट बनाउने र ग्राफिक डिजाइन गर्न थाले जतिबेला उनी क्यानडाको क्यालगरीस्थित विन्स्टन चर्चिल स्कूलमा पढ्थे।
उनका आमाबुवाले पनि अन्य प्रवासी अभिभावकले जस्तै आफ्ना सन्तानको पढाइ अब्बल बनाउन हरतरहले प्रयास गरिरहे। छोराको गणित र पढाइको सीप राम्रो होस् भनेर आमाले उनलाई कुमोनको अतिरिक्त कक्षामा हालिदिइन्। तर, अभिनव संगीततिर यसरी तानिइसकेका थिए कि गणितका सूत्र र खातका खात गृहकार्य उनका लागि थप बोझ मात्र लाग्न थाले।
हुँदाहुँदै कुमोनको लोगो पनि उनलाई कहिल्यै हाँस्न नसकेको निराश केटोको प्रतिबिम्ब झैं लाग्न थाल्यो। उनी राति अबेरसम्म लुकीलुकी म्युजिक बनाउँथे। यसो गर्दा आमाबुवा उति खुशी हुँदैनन् भनेर उनलाई थाहा नभएको होइन, यद्यपि संगीतमा केही गरेर प्रमाणित गर्न नसकुन्जेल पढाइ पनि धानिरहे, संगीत पनि गरिरहे।
पढाइ र संगीतको लुकामारीमा रूमल्लिइरहेको बेला एकदिन अभिनवले थाहा पाए- आफ्नै शहर क्याल्गरीमा बिट ब्याटल हुँदैछ ! उनले दुई-तीन दिन पढाइ नै छाडेर प्रतियोगिताको तयारी गरे। अठार वर्ष नपुगी प्रतियोगिता स्थल जान मिल्दैनथ्यो। उनी १५ पुगेर १६ वर्ष लाग्दैथिए। तर उनको मनमा रहेको तूफानी चाहनालाई उमेरको प्रतिबन्धले रोक्न सकेन।
अभिनव ब्याक डोरबाट पसेर कसरी कसरी प्रतियोगितामा सामेल भए। थुप्रै प्रतिस्पर्धीलाई पछि पार्दै उनी फाइनलमा पुगे। आफ्ना पिताका उमेरका एक जना स्थापित संगीतकर्मीसँगको अन्तिम प्रतिस्पर्धामा उनी दोस्रो भए। यो दिन उनको सोह्रौं जन्म दिन पनि थियो।
उनले थुप्रै पुरस्कार र उपहार पाए, दुई वटा संगीत प्रशिक्षणको छात्रवृत्ति पनि पाए। उनी त्यो दिन जिन्दगीमा शायद सबैभन्दा धेरै खुशी भए। थुप्रै पुरस्कार बोकेर फुरुङ्ग पर्दै राति घर फर्के।
छोराको सफलता र अनुहारको चमक देखेर उनका आमाबुवा निकै भावुक भए। उनीहरूलाई लाग्यो- यो केटो सिर्जना र संगीतकै लागि जन्मेको रहेछ ! सन् २०१७ मा उनको परिवार फेरि अन्तरदेशीय बसाइँ सरेर अमेरिकाको नर्थ क्यारोलाइना पुग्यो। अभिनवको हाईस्कूलको बाँकी पढाइ त्यहीं हुने भयो।
क्यानडा र अमेरिकाको पढाइमा केही विषयहरूको तालमेल मिलेन यद्यपि अन्तिम वर्षको पढाइ त सक्नै पर्यो। क्यानडामा भएका साथी पनि छुटे। यो चापलाई सन्तुलन मिलाउन उनलाई संगीतले नै सघायो।
सन् २०१७ मा टोरन्टोमा ग्लोबल बिट ब्याटल आयोजना हुँदैथियो। उनी परिवारको सहयोगमा अमेरिकाबाट त्यहाँ जाने भए। त्यहाँ उनी विश्वभरबाट छानिएर आएका ६५ प्रतिस्पर्धीलाई पछि पार्दै उत्कृष्ट आठसम्म आइपुगे। यसले उनको आत्मविश्वास अग्लियो र हौसला बढ्यो।
अनि अभिनव कर्टिस वाटर्स बने
पढाइका अतिरिक्त अभिनव र्याप म्युजिकहरू बनाउँथे। इन्टरनेटमा पोस्ट गर्थे। एउटा गहुँगोरो आप्रवासी बच्चाले यस्तो म्युजिक पोस्ट गर्नु अलि अनौठो नै थियो। उनलाई लाग्यो- बरु एउटा गोरे पुरानो नाम पो राखौं कि !
उनले जोय डेभिड्सन व्यांडका लिड सिंगर तथा गीतकार इएन कर्टिसबाट कर्टिस झिके। उनी अभिनवका मन परेका कलाकार थिए। अर्का मन परेका कलाकार फ्र्यांक ओसियनबाट वाटर्स बनाए। केही सोचविचार त गरिएको थियो, कर्टिस वाटर्स नाम राख्नु आफूलाई मनपर्ने कलाकारप्रति सम्मान पनि थियो अभिनवको लागि।
शुरुमा मजाक जस्तै बने पनि विस्तारै उनलाई यही परिचय प्यारो लाग्न थाल्यो। ‘मेरा लागि अभिनव एक व्यक्ति हो भने कर्टिस वाटर्स एक चरित्र’, उनले भने।अभिनव यही काल्पनिक चरित्रमा डुबेर संगीतको सागरमा हराउन थाले। अन्ततः उनी सांगीतिक आकाशमा कर्टिस वाटर्स नै बनेर चर्चित बने।
कोभिडले जुराएको अवसर
हाईस्कूल सकिसक्दा अभिनवले अभिभावकका चाहना पनि बदलिसकेका थिए। अब उनीहरू छोरो संगीत नै पढोस् भन्न थालेका थिए। आफ्ना केही सांगीतिक सिर्जना सहित उनी नर्थ क्यारोलाइना विश्वविद्यालय चापलहिलको संगीत विभागमा भर्ना हुन अन्तर्वार्तामा गए।
संगीतका प्राध्यापकहरूले अन्तर्वार्ताबाट अभिनवको क्षमता र रुचि बुझे तर अनौठो सल्लाह दिए। ‘तिमी यहाँ पढ्न आयौ भने बाँधिएर औपचारिक र सैद्धान्तिक पाठ पढ्नुपर्छ। यसमा रमाएर सफल भयौ भने हामी जस्तै प्राध्यापक हौला तर आफ्नो प्यासनलाई पछ्याउँदै स्वच्छन्द सिर्जनामा लाग्यौ भने एक दिन तिमीलाई दुनियाँले चिन्नेछ, नाम कमाउने छौ।’
उनीहरूले थपे, ‘तिम्रा संगीत बारे हामी अरू विद्यार्थीलाई पढाउने छौं।’ यो सल्लाहले अभिनवसँगै उनका बुवाआमालाई पनि सोच्न बाध्य बनायो। अन्ततः अभिनव छात्रवासमै बसेर युएनसी ग्रीन्सबोरोमा पढ्न थाले, सिद्धान्तसँगै संगीत साधनामा रमाउन थाले। यही बीच संसारलाई कोभिडको महामारीले गाँज्यो। सबैतिर बन्दाबन्दी भयो। संगीतका ठूला-ठूला कार्यक्रमहरू सबै रोकिए।
सन् २०२० अप्रिलको शुरुतिर उनले आफ्नो हिपहप/पप गीत ‘स्टनिन’ को १५ सेकेन्डको क्लिप टिकटकमा पोस्ट गरे। यो गीतको क्लिपमा उनले आफ्नो १६ वर्षको भाइ अल्बर्टसँग नाँच्दै गरेको भिडियो हालेर मजाकको क्याप्सन लेखे, ‘यो गीत भाइरल नभएसम्म प्रत्येक दिन नाचेर टिकटकमा हालिरहनेछु।’
टिकटकले त्यतिबेला भर्खर गति लिंदैथियो। नभन्दै केही हप्तामा उनको गीतले तहल्का नै मच्चायो। एक महिनामा लाखौंले यो गीतमा भिडियो बनाए, करोडौंले हेरे। युट्युबमा पनि यो गीत एक महिनाको बीचमा २० लाखभन्दा बढी पटक हेरियो।
रोलिङ्ग स्टोनको ब्रेकआउट २५ चार्टको ३ नम्बरमा पर्यो। सन् २०२० को जुलाईसम्म स्पोटिफाईमा तीन करोड पचास लाखभन्दा बढी स्ट्रिमिङ्ग भयो। अन्ततः यो गीतले संसारभर तहल्का मच्चायो। मुख्य मुख्य रेकर्ड लेबलहरू उनका पछि लागे।
अभिनवले कुनै पनि रेकर्ड लेबलसँग अनुबन्धित नभई स्वतन्त्र सर्जकको रूपमै संगीतमै लाग्ने निधो गरे। तर, बीएमजी नामको प्रतिष्ठित कम्पनीसँग लाइन्सेन्सिङ डिल गरे। केटी परी र रिहान्ना जस्ता अहिले लोकप्रिय कलाकारहरूलाई करिअरको शुरुमा व्यवस्थापन गरेका क्रिस अनाकुटेले उनको व्यवस्थापक भई काम गर्ने भए।
सन् २०२० को जूनमा रोलिङ स्टोनले कर्टिसको टिकटक हिट स्टनिन मुख्य रेकर्ड लेवलहरुका लागि चुनौती शीर्षकमा उनको सांगीतिक छलाङका बारे विस्तृत लेख प्रकाशित गर्यो।
जुलाईमा द गार्जियनले ‘टिकटक किङ कर्टिस वाटर्स: अब सांगीतिक उद्योगमा प्रवेश रोक्ने कोही छैनन्’ शीर्षक राखेर लामो आलेख प्रकाशित गर्यो। विश्व प्रसिद्ध यी दुई पत्रिकामा प्रकाशित लेखले उनका संगीत ख्यातिलाई मात्र उजागर गरेनन् कि तिनले त विश्व सांगीतिक बजारका डिस्कोर्स नै बदलिदिए।
स्टनिनको ख्यातिसँगै उनको व्यस्तता यति बढ्यो कि संसारभरका अनेक मिडियाले उनको खोजी गरी अन्तर्वार्ता गर्न थाले। युनिभर्सिटीका संगीत विभागका विद्यार्थीहरू कर्टिससँग गीत संगीतका बारे अन्तरक्रिया गर्न थाले।
स्टनिनले आर्जेको ख्याति
एक बिलियन भन्दा बढी स्ट्रिमिङ्गको रेकर्ड सहितको अन्तर्राष्ट्रिय ख्याति पाएपछि स्टनिनको लागि कर्टिसले रेकर्डिङ इन्डस्ट्री एसोसिएसन अफ अमेरिका (आरआईएए) बाट क्यानडा, अष्ट्रेलिया र ब्राजिलको लागि प्लाटिनमसँगै अमेरिका, न्युजिल्याण्ड, म्याक्सिको र भारतको लागि गोल्ड सर्टिफिकेट प्राप्त गरेका छन्।
आरआईएए अमेरिकी संगीत उद्योगको सबैभन्दा महत्वपूर्ण संस्था हो जसले संगीत बिक्री र स्ट्रिमिङको आधारमा प्रमाणपत्रहरू दिन्छ। यसरी प्लाटिनम र गोल्ड सर्टिफिकेट पाउने ठूलो प्रतिष्ठाको विषय मानिन्छ।
क्यानडाको प्रसिद्ध जुनो अवार्डको लागि सन् २०२१ मा स्टनिन फ्यान च्वाइस, ब्रेक थ्रु आर्टिस्ट अफ द इयर लगायत तीन विधाका लागि छनोटमा परेको थियो। स्टनिनलाई मर्सिडिज बेञ्च, मेटा (फेसबुक), एनबीए, ग्रामी, ह्वाइट क्ल लगायतले आफ्नो कमर्सियलमा समेत प्रयोग गरेका थिए।
अमेरिकाका विभिन्न शहरमा आयोजना हुने सांगीतिक कार्यक्रमहरूमा कर्टिसले आफ्नो प्रस्तुतिको लागि निमन्त्रणा पाउने गर्छन्।
टेक्सासमा आयोजना हुने साउथ बाइ साउथवेस्ट महोत्सव, नर्थ क्यारोलाइनाको रालीवूड महोत्सव, कोलोराडोको म्युजिक शोकेस र एडमन्टनको नर्थन लाइट्स महोत्सवहरूमा उनले आमन्त्रित कलाकारको रूपमा प्रस्तुति दिएका छन्। यसका अतिरिक्त अमेरिका र क्यानडाका १५ भन्दा बढी मुख्य शहरहरूमा कर्टिसले एकल प्रस्तुति दिइसकेका छन्।
स्टनिनपछिको सांगीतिक यात्रा
स्टनिनको चर्चापछि कर्टिसले ‘सिस्टम’ गीत सार्वजनिक गरे। हिपहप शैलीको यो गीत एक उच्च ऊर्जावान् गीत हो। यसमा उनले स्टनिनको ख्यातिपछिका अनेक उतारचढावहरूलाई भावनात्मक प्रतिक्रिया जनाएका छन्। यसले संगीत उद्योगमा उनको स्वतन्त्र अडानलाई संकेत गर्छ।
अभिनवले स्टनिन र सिस्टम सहित यूएनसी ग्रीन्सबोरो होस्टेलमै बनाएका अरू १० गीत राखेर सन् २०२० अक्टोबरमा पहिलो एल्बम ‘पिटी पार्टी’ सार्वजनिक गरे। एक समीक्षकका अनुसार, यी १२ वटा गीतहरूलाई आफ्नो अनौठो दृष्टिकोणले जोडेका छन्।
गीतहरूमा उनको आत्म-गौरवमा भएको व्यवहारको सरल रूप पनि देखिन्छ। समीक्षकहरूका अनुसार यी गीतहरू भावनात्मक अँध्यारामा फुल्ने फूल जस्तै छन्।
सन् २०२३ मा रिलिज भएको अभिनवको दोस्रो अल्बल ‘ब्याड सन’ मा १४ वटा गीतहरू रहेका छन्। समीक्षकहरूले ब्याड सनलाई शक्तिशाली स्वर, आकर्षक र अर्थपूर्ण शब्द अनि विविध संगीतको संगम भनेका छन्।
‘यो मैले १० वर्षदेखि बनाउने सोच्दै आएको र लामो समय लगाएर तयार पारेको अल्बम हो’ अभिनवले अनलाइनखबरसँग भने, ‘मेरा लागि यो केवल संगीत मात्र हैन। एक आप्रवासी परिवारको छोराको पूरै जीवन कथा हो, यसले आफ्नो पहिचान र पारिवारिक दायित्वसँग संघर्ष गरेको छ।’
उनले थपे, ‘मेरो भावनात्मक यात्रा, बाल्यकाल र सांस्कृतिक पहिचानको कुरा समेटेको छु।’ अब तेस्रो प्रोजेक्टको रूपमा सन् २०२३ पछि काम गर्दै आएका गीतहरू उनी सार्वजनिक गर्ने क्रममा छन्। सांगीतिक यात्राको तेस्रो चरणका गीतहरू कस्ता छन् त ?
अभि भन्छन्, ‘यस पटकको सिर्जनामा अहिलेसम्मका आफ्ना सिकाइ र अनुभवहरू समेटिने छन्। मेरो बुझाइमा गीत–संगीत पनि स्टोरी टेलिङकै अर्को कलात्मक रूप हो। यी गीतहरू मूलतः जीवनमा सकारात्मक सन्देश दिने खालका हुनेछन्।’
गीतको शब्द, संगीत, स्वरदेखि रेकर्डिङ र मिक्सिङ-मास्टरिङको प्राविधिक काम समेत आफैं गर्छन् अभिनव। डी-आई-वाई कलाकारको छवि बनाएका कर्टिसले यसपटक धेरैजसो गीतमा भिजुअल आर्टको काम पनि आफैं गर्दैछन्।
समकालीन र पछिल्लो पुस्ताका संगीतकर्मीहरूसँग अभिनवले सहकार्य गरेका छन्। सुगर क्र्यास गीतमा एली ओटो र किम पेट्रससँगको सहकार्य उनको सांगीतिक जीवनको एक सफल सहकार्य मानिन्छ। उदीयमान गायक नफिसको पहिलो अल्बममा उनले एक्जुकेटिभ प्रोड्युसरको रूपमा काम गर्दैछन्।
यस्तै, क्यालिफोर्नियावासी दक्षिण एशियाली मूलकी गायिका रेमाका गीतहरूमा पनि उनले एक्जुकेटिभ प्रोड्युसरको काम गरेका छन्। अभिनवका लागि संगीत जीवनको सार हो, जिउनुको आधार हो। उनी भन्छन्, ‘मेरा लागि संगीत केवल मनोरञ्जन मात्र होइन, गीतहरू बनाउने र आफूलाई अभिव्यक्त गर्ने आनन्द त्यस्तो कुरा हो जुन म चाहेर या नचाहेर रोक्न सक्दिनँ।’
आफ्ना गीत–संगीतमा उनी आफूले बुझेको सत्यको अभिव्यक्तिसँगै आफ्नो संस्कृति र अनुभवहरूलाई मिसाएर ल्याउँछन्। कलाका अतिरिक्त गीत–संगीतमा उनको पारदर्शिता, इमानदारी र सत्यतालाई श्रोताले रुचाएका छन्।
कर्टिस वाटर्स नेपालमा जन्मे, विभिन्न देश पुगे। मूलतः इन्टरनेटमै हुर्के। अहिले उनी अल्टर्नेटिभ जनराको म्युजिक गर्छन्। उनका श्रोता पनि मूलतः आफ्नै पुस्ताका युवा छन्। ती देश, जाति र सम्प्रदायभन्दा माथि छन्।
यसैले अभिनव आफूलाई गीत–संगीतको काम गर्दा यो वा त्यो सम्प्रदायको भन्ने पहिचानको वर्गीकरण र घेराबन्दीमा राख्न चाहँदैनन। सिर्जना गर्दा उनी नेपाली बावुआमाको छोरो अभिनव भन्दा पनि क्यारेक्टर कर्टिस वाटर्स हुन्छन्। ‘म हृदयको आवाजलाई सुन्छु। जति सीमाभित्र राख्यो सिर्जनामा उत्ति नै कृत्रिमता आउँछ’, उनले भने।
उनले थपे, ‘मेरो बलियो विश्वास छ कि जति सीमा र बन्धनमुक्त महसुस गर्न सक्यो, आग्रह पूर्वाग्रहबाट पर राख्न सक्यो उति नै ‘अथेन्टिक’ सिर्जना गर्न सकिन्छ।’
भावी पुस्तालाई भन्नु
संगीतमा स्थापित हुनु अघिसम्म उनले निकै उल्झनहरू भोगे। पढेर जागिर खाने, यसैमा मान–प्रतिष्ठा देख्ने समाजमा यी सब मान्यताका विरुद्ध गएर संगीत या सिर्जना कर्ममा लाग्नु भनेको सरासर जोखिम मोल्नु ‘एन्टी करेन्ट’ कुरा थियो। उनले यो सब झेले।
घरपरिवार र समाजसँग शान्त विद्रोह गरे। कसैलाई नसुन्दा पनि उनले केवल आफ्नै हृदयको आवाज मात्र सुने। प्यासनको पछि लागिरहे। ‘आफ्नो प्यासनमा हिंड्दा प्राप्त हुने आत्मिक खुशी कुनै पनि भौतिक सुख या सामाजिक प्रतिष्ठाले दिंदैन’, उनी भन्छन्।
न्युयोर्क, टोरन्टो लगायत शहरका बिल्वोर्डमा आफ्ना तस्वीर आउन थालेपछि, रेडियोहरूमा उनकै गीत बज्न थालेपछि, कमर्सियलहरूमा आफ्नै गीतको प्रयोग हुन थालेपछि अनि सञ्चार माध्यमहरूमा उनकै बारे लेख र अन्तर्वार्ता आउन थालेपछि एउटा गुमनाम आप्रवासीको सामाजिक परिचय फेरियो।
‘जीवनमा म सिक्दैछु, सिकेको सत्य गीत, संगीत मार्फत राख्दैछु’ उनी आफ्ना फ्यान, फलोअर र सिर्जनाकर्ममा आउन खोज्नेहरूलाई भन्छन्, ‘पहिले आफ्नो हृदयलाई सुन्नुहोस्। त्यसलाई विश्वास गर्नुहोस्। आफूलाई आफन्त, परिवार र समाजको प्रमाणीकरण र नकारात्मकताबाट पर राख्नुहोस्। आफूले आफैंलाई प्रमाणित गर्यौं भने एक दिन तपाईंलाई आफन्त, परिवार, समाज सबैले पत्याउँछन्।’
कर्टिससँगको कुराकानी पछि उनको यही भावनालाई प्रतिबिम्बित गर्दै संगीतको प्रतिष्ठित पत्रिका कम्प्लेक्सले आलेखको शीर्षकमै लेखेको छ, ‘सबैले नपत्याएसम्म कर्टिसलाई कसैले पत्याएनन्।’
प्रतिक्रिया 4