+
+
WC Series
जनकपुर बोल्ट्स 2025
130/9 (20)
VS
Pokhara Avengers won by 25 runs
Won पोखरा एभेन्जर्स 2025
155/6 (20)
Shares

काठमाडौंका खाल्डाखुल्डी पुर्न सडक एम्बुलेन्स सञ्चालनमा

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ११ गते १८:१७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले काठमाडौंका सडक खाल्डाखुल्डी तत्काल मर्मत गर्न नेपालमै पहिलो पटक सडक एम्बुलेन्स सञ्चालनमा ल्याएको छ।
  • ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले सडक डिभिजन कार्यालय, काठमाडौंले सञ्चालन गरेको सडक एम्बुलेन्स प्रयोग सुरु गरेको बताए।
  • सडक एम्बुलेन्सले ३६५ दिन २४ घण्टा तयारी अवस्थामा रहेर खाल्डो देखिएको स्थानमा छिटो मर्मत गरी सहज आवागमन सुनिश्चित गर्ने मन्त्रालयले विश्वास व्यक्त गरेको छ।

११ मंसिर, काठमाडौं । सरकारले काठमाडौंका सडक खाल्डाखुल्डी तत्काल मर्मत गर्न सडक एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । खाल्डाखुल्डी मर्मत गर्न नेपालमै पहिलो पटक सडक एम्बुलेन्स सञ्चालनमा आएको हो ।

ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले बिहीबार सडक डिभिजन कार्यालय, काठमाडौंले प्रयोगमा ल्याएको सडक मर्मत एम्बुलेन्स प्रयोग सुरुआत गरे ।

सडक डिभिजन कार्यालय, काठमाडौंको कार्यक्षेत्रमा पर्ने काठमाडौं जिल्लाभित्रका सामरिक महत्त्वका सडक तत्काल मर्मत गर्नका लागि एम्बुलेन्स प्रयोगमा ल्याइनेछ ।

त्यस्तै, सडकमा देखिएका खाल्डाखुल्डीको तत्काल जानकारी दिइ मर्मत अगाडि बढाउन मोबाइल एप पनि सञ्चालनमा ल्याइएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।

जसमा खाल्डोको अवस्थाको तत्काल फोटो खिची अपलोड गर्न सकिने व्यवस्था र मर्मतपछि त्यसको अद्यावधिक विवरण राख्न सकिनेछ ।

कार्यक्रममा मन्त्री घिसिङले सडक एम्बुलेन्स नेपालमा नमुनाका रूपमा प्रयोगमा ल्याइएको बताउँदै त्यसलाई अन्य मुख्य शहरमा पनि विस्तार गरी सडक मर्मतसम्भारमा आउने गुनासोलाई सम्बोधन गरिने बताए ।

विकसित देशमा जस्तै अत्याधुनिक उपकरण जडान गरी सडक मर्मतको सेवा प्रवाहलाई अझै प्रभावकारी बनाइनु पर्नेमा उनको जोड छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव कुमार शर्मा र सडक विभागका महानिर्देशक विजय जैशीले सडक एम्बुलेन्सको प्रयोगले सडक मर्मतका विषयमा आउने गुनासोलाई तत्काल सम्बोधन गर्ने विश्वास व्यक्त गरे ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले सडक मर्मत कार्यलाई प्रभावकारी तथा पारदर्शी बनाउन एम्बुलेन्सले सहयोग गर्ने बताए ।

सडक डिभिजन काठमाडौंका प्रमुख सुवोध कुमार देवकोटाले एम्बुलेन्सको प्रयोगबाट ३६५ दिन र २४सै घण्टा तयारी अवस्थामा रहने, सडक तत्कालै मर्मत सम्भार गरी सहज अवागमन सुनिश्चित प्रदान गर्न सकिने उल्लेख गरे ।

एम्बुलेन्ससँगै तालिमप्राप्त प्राविधिक टोली खाल्डो देखिएको स्थानमा पुगेर छिटोछरितो मर्मत कार्य सम्पन्न हुने मन्त्रालयको विश्वास छ ।

सडक एम्बुलेन्सको प्रयोगले भीडभाडको समयमा समेत आकस्मिक मर्मत गर्न सकिने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?