२३ मंसिर,बुटवल । रुपन्देहीको क्षेत्र नं ५ मा प्रतिनिधि सभा सदस्य (प्रत्यक्षतर्फ) उम्मेदवार सिफारिशलाई लिएर नेपाली कांग्रेसभित्र विवाद चर्किएको छ ।
संस्थापन पक्षले पुर्व अर्थ राज्यमन्त्री एवं तीन पटक प्रतिनिधि सभा सदस्य निर्वाचित भरतकुमार शाहको नाम एकल सिफारिश गरेको थियो ।
तर उक्त सिफारिशप्रति संस्थापन इतर पक्षले असहमति जनाउंदै युवा नेता विष्णु पोखरेलसहित तीनजनालाई उम्मेदवार सिफारिस गर्दै उक्त जानकारी पार्टी केन्द्रीय कार्यालयलाई पठाएको छ ।
उम्मेदवार सिफारिसका लागि महासमिति सदस्य तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिहरुलाई अनिवार्य उपस्थित गराउनुपर्ने कांग्रेसको विधानमा उल्लेख भएपनि भरत शाह पक्षले आफूहरुलाई उपस्थित नै नगराई शाहको नाम एकलौटी सिफारिश गरिएको क्षेत्रीय सचिव कृष्णप्रसाद शर्माले बताए ।
‘नेपाली काग्रेस केन्द्रिय कार्यालयको परिपत्र बमोजिम उम्मेद्वार सिफारिसका लागि क्षेत्रीय समितिले अनिवार्य रुपमा महासमिति सदस्य, केन्द्रिय महाधिवेशन प्रतिनिधि र प्रदेश महाधिवेसन प्रतिनिधिलाई सहभागि गराई सिफारिस गर्नुपर्छ तर क्षेत्र नं ५ रुपन्देहीले बलजफ्ती आफू अनुकूलका प्रतिनिधिलाई मात्र खबर गरेको र आफु अनुकुल नभएका नेतालाई बैठकबाट निकालेर एकलौटी गरिएकोमा हाम्रो गम्भीर असहमति छ,’ क्षेत्रीय समितिका सचिव शर्माले भने, ‘एउटा पक्षलाई बैठकमा नबोलाई एक पक्षीय रुपमा नाम सिफारिस गरेकोले यो निशेधको राजनितिक प्रबृत्तिले पार्टीले आगामी निर्वाचनमा कुनै हालतमा जित्न सक्दैन,त्यसैले हामीले युवा नेता विष्णु पोखरेलसहित तीनजनाको नाम सिफारिस गरी इमेलमार्फत केन्द्रमा पठाएका छौं ।’
सचिव शर्माका अनुसार प्रतिनिधि सभा प्रत्यक्षतर्फ २०७४को आम निर्वाचनमा प्रदेश सभा सदस्य उम्मेद्वार भई तत्कालीन बाम गठवन्धनका उमेद्वारसँग निकटतम प्रतिस्पर्धी तथा ०७९ सालको निर्वाचनमा प्रदेश सभातर्फ टिकट पाएर मनोनयन दर्ता समेत गरेका तर गठबन्धनका कारण तत्कालीन माओवादी केन्द्रका लागि उम्मेद्वारी फिर्ता लिएका महासमिति सदस्य पोखरेललाई असन्तुष्ट पक्षले एक नम्बरमा राखेर सिफारिस गरिएको छ । पोखरेल गत नेता डा.शेखर कोइराला निकट हुन् । पोखरेलले गत निर्वाचनमा अन्तर्घात गरेको भन्दै अनुशासनको कारबाहीको सिफारिस गरिएको थियो ।
यस्तै महासमिति सदस्य एवं पुर्व क्षेत्रीय सचिव कमल प्रकाश भुषाल र महाधिवेशन प्रतिनिधि लिला कुमारी पौडेललाई सिफारिस गरिएको शर्माले बताए ।
उनीहरुलाई सिफारिश गर्नेहरुमा क्षेत्रीय सचिव कृण प्रसाद शर्मा, क्षेत्रीय सह–सचिव हरि प्रसाद घिमिरे, सह–सचिव चिरञ्जिवी खनाल लगायत रहेका छन् ।यस्तै महासमिति महाधिवेशन प्रतिनिधिहरु विष्णु प्रसाद पोख्रेल, शेषमन यादव, महाधिवेशन प्रतिनिधिहरुशारदा गौतम, चाम बहादुर थापा, खिमानन्द खनाल, कल्पना ढकाल, हुमनाथ अधिकारी, दिलमाया कडेल लगायतले उम्मेदवार सिफारिशमा हस्ताक्षर गरेका छन् । यस्तै क्षेत्रका जिल्ला समिति सदस्यहरु, पालिका सभापतिहरुले पनि पोखरेलको पक्षमा हस्ताक्षर गरेका छन् ।
तर नेपाली कांग्रेस क्षेत्रीय सभापति वसिउल्लाह मुसलमानले वैठकमा शाहको नाम मात्र प्रस्ताव आएको र कसैले शाहको नाममा विरोध नगरेकाले एकल सिफारिश गरिएको बताए । उनले इतर पक्षबाट उम्मेदवार सिफारिश भएका पोखरेल र भुसाल पार्टीको कारवाहीमा परेका व्यक्ति भएकाले उनीहरुलाई वैठकमा नबोलाइएको बताए ।
शाह पक्षबाट प्रतिनिधि सभा सदस्य समानुपातिकतर्फ क्षेत्रीय सभापति वसिवुल्लाह मुसलमान र मामकला थापा तथा राष्ट्रियसभामा सुर्यमति उपााध्ययाय र शेषमन यादवलाई सिफारिश गरेको छ । संस्थापन इतरले प्रतिनिधि सभा सदस्य समानुपातिकमा अधिवक्ता शेषमन यादव,डोलबहादुर थापा,दिलमाया कंडेल,खडानन्द खनाल र सिता पोखरेल तथा राष्ट्रियसभामा रघुनाथ घिमिरे, इन्द्रबहादुर जीसी र कल्पना ढकाललाई सिफारिश गरेको छ ।
रुपन्देही ५ प्रदेश सभा क्षेत्रीय सहसचिव जितेन्द्र यादवले पांचपटक उम्मेदवार र तीनपटक चुनाव जितेका र २०७९को चुनावमा दश हजार मतान्तरले पराजित पुराना नेतालाई उम्मेदवार सिफारिस गर्नु जेन जी आन्दोलनको मर्म र भावना विपरीत भएकाले क्षेत्रमा पार्टीको युवा पुस्ता समेत विपक्षमा रहेको बताए ।
प्रतिक्रिया 4