News Summary
Generated by OK AI. Editorially reviewed.- अरुन्धती रोयको पुस्तक 'मदर मेरी कम्स टु मी'ले आमाको ममता र स्वार्थी व्यवहारबीचको द्वन्द्व उजागर गरेको छ।
- पुस्तकमा अरुन्धतीले आफ्नो आमासँगको जटिल सम्बन्ध र बाल्यकालको पीडा व्यक्त गरेकी छन्।
- अरुन्धतीले आमाको कठोर व्यवहार र समाजसँगको विद्रोहबीचको विरोधाभासलाई साहसिक रूपमा प्रस्तुत गरेकी छन्।
सर्वत्र प्रशंसित पुस्तकहरूप्रति मेरो अक्सर धेरथोर शङ्का रहने गर्छ। धेरैले प्रशंसा गरेका किताबहरू माझ कतै मेरो आफ्नै आवाज हराउन सक्ला कि जस्तो! यही बानीका कारण मैले थुप्रै ‘जरुरी’ मानिएका पुस्तक समयमै पढिनँ पनि। तर अरुन्धती रोयको ‘मदर मेरी कम्स टु मी’ भने अनौठो, निजी र हृदयभित्रसम्म छुने तरिकाले अचानक मेरो हातमा आयो। यो यसरी आयो, जसरी कुनै पुरानो, बिर्सिए जस्तो बत्ती अचानक आफैं बल्छ र कोठा उज्यालो बनाइदिन्छ।
यो पुस्तक केवल आमाको स्मृतिमा लेखिएको संस्मरण होइन; यो त अरुन्धतीले आफ्नो जीवनका सबै नखुलेका तहहरू एक–एक गरी उघार्ने, पीडाका पुराना घाउहरूलाई छुन र स्वीकार्न सक्ने दुर्लभ साहसको दस्तावेज हो। यहाँ उनी केवल लेखक होइनन्; आफ्नै पीडा, असुरक्षा, विद्रोह, असन्तोष, प्रेम र मुक्ति– सबैको बीच उभिएकी एक जना असल मान्छे जस्तै लाग्छिन्।
पुस्तकले पाठकलाई यस्तो ठाउँमा पुर्याउँछ, जहाँ हामी अरुन्धतीका शब्दसँग मात्र होइन, आफ्नै जीवनका अपूरा अध्यायहरूसँग पनि सामना गर्न बाध्य हुन्छौं शान्त, तर गहिरो ढङ्गले।
अरुन्धतीको लेखाइले एउटा असहज तर महत्त्वपूर्ण सत्य उजागर गरेको छ। आमाहरू सदैव ममतामयी मात्रै हुँदैनन्; स्वार्थी पनि हुन्छन्। आफ्नै जीवनका तिक्तता, अपूर्ण इच्छा र चोटहरूको तौल छोराछोरीको कुममा राखिदिन्छन्। कहिलेकाहीं आफैंले बनाएको कठोर संरचनाभित्र छोराछोरीलाई थुनिदिन्छन्।
आमाहरू निर्दयी पनि हुन्छन्। धेरैले सोच्न सक्छन् कि आमाबारे आलोचना गर्नु अनुचित हो, तर यस पुस्तकमा अरुन्धतीको सचेत र निर्भीक लेखनले आमा–छोरीको सम्बन्धलाई अझ वास्तविक र असहज बनाएको छ।
मेरी रोयको साहसिक जीवन यात्रा त्यतिबेलाको समयमा श्रीमान्लाई छोडेर केरला फर्किने दुस्साहस, प्रगतिशील विद्यालय खोल्ने दूरदृष्टि र आफ्नै परिवारलाई अदालतमा उभ्याएर उत्तराधिकार कानून खारेज गराउन पुगेको ऐतिहासिक विद्रोह ! यी सबै किताबमा वर्णित छन्।
यी सबले उनलाई एक अदम्य, ढुङ्गा जस्तै अडिग साहसको स्तम्भ बनाउँछ। त्यही पृष्ठभूमिमा अरुन्धतीले आमाको अँध्यारा छायाहरूलाई जसरी उघार्छिन्, त्यसले पाठकलाई अचम्मै पार्छ।
पुस्तक पढ्दै जाँदा प्रेम एकैचोटि आश्रय पनि अनुभूत हुन्छ अनि जोखिम पनि। आमाको साथ एकै पटक घर कम र युद्ध भूमि जस्तो बढी लाग्छ। यही द्वन्द्व, यही अपूर्णता मिलेर मायाको जटिलता हृदयभित्र प्रचण्ड भावनात्मक तुफान झन् तीव्र बनाइदिन्छ।
अरुन्धतीले आफ्नी आमालाई जसरी देख्छिन्, त्यसले हामीलाई पनि विवश बनाउँछ ममता सधैं पवित्र हुँदैन। कहिलेकाहीं घाउहरू नै प्रेमको अर्को नाम हो कि भन्ने कठोर तर मुक्तिदायी प्रश्न खुला राखिदिन्छ।
अरुन्धतीकी आमा त्यसै पाखण्डी समाजको प्रतिरूप जस्तै देखिन्छिन् जहाँ उनी बाहिरबाट अत्यन्त विद्रोही लाग्छिन्; छोरालाई मात्रै सम्पत्ति दिने भेदभावपूर्ण कानूनसँग खुलेर लड्न सक्ने, अदालतसम्म पुगेर व्यवस्था नै उल्टाउन सक्ने साहस राख्ने। तर यही विद्रोही स्त्री, घरभित्र फर्किने बित्तिकै, आफ्नै बच्चाले परीक्षामा कम अङ्क ल्याउँदा मध्यरातमा उठाएर स्केल भाँचिने गरी पिट्न सक्छिन्।
समाजको अन्यायसँग जुध्न सक्ने शक्ति राख्ने एउटै स्त्री, आफ्नै छोरीको असुरक्षा चिर्न भने कत्तिको असमर्थ यही विरोधाभास अरुन्धतीको बाल्यकालभरि गहिरो घाउ बनेर बसिरह्यो।
अरुन्धती पछि गएर विश्व प्रसिद्ध लेखक बनिन्, तर आमा भने ‘समाजले के भन्छ’ भन्ने डर, सङ्कुचन र निरन्तर निगरानीको छायाबाट कहिल्यै बाहिर आइनन्। छोरीले उड्न खोज्दा उनी कहिल्यै पवन बनिनन्; बरु व्यङ्ग्य, तुच्छ आलोचना, अनवरत शङ्का र कठोर अपेक्षाहरूको पिंजडामै छोरीलाई थुनिरहिन्।
यही कारण, पुस्तकले केवल आमाको कथा मात्र होइन एक समाजले सिर्जना गरेको विरोधाभासपूर्ण स्त्रीको भित्री द्वन्द्व अनि त्यो द्वन्द्वले एक प्रतिभाशाली छोरीलाई कसरी आकार, पीडा दियो र अन्ततः कसरी मुक्त गरायो भन्ने हृदयविदारक सत्य उजागर गर्छ।
उनी त आफ्नो आमाको अँगालोमा बाँधिन चाहन्थिन्, तर त्यो अँगालो कहिल्यै खुलेन आमा नजिक आइन् भन्नुको प्रायः सजाय सुनाउने क्षणमा मात्र थियो। बाँकी समय उनी कोठा–कोठामा, मन–मनमा, दूरीकै नाममा हराइरहन्थिन्।
उनले जीवनमा पहिलो पटक माया, सुरक्षा र ‘कसैमा भर पर्न सकिन्छ’ भन्ने अनुभूति घरमा काम गर्न बसेकी कुरुसम्मलबाट पाइन्। एक साधारण महिलाबाट, जसको उपस्थितिले उनलाई पहिलो पटक आधार दियो, ऊ नडराई टिक्न सक्ने जमिन दियो।
के एउटा पुरुषसँगको असफल विवाह वा आफ्नै परिवारसँग नमिलेका विचारले सिर्जना भएको उकुसमुकुसको बोझ छोराछोरीले नै बोक्नुपर्ने थियो? उनकी आमाले समाजसँग भयङ्कर तर आफ्नै बच्चाको मनमा चलिरहेको युद्ध बुझ्न भने कहिल्यै फर्केर हेरिनन्। बुझ्ने प्रयाससम्म पनि गरिनन्।
पाठकको रूपमा मैले अरुन्धतीलाई जति बुझें, उनमा आफ्नो आमा जस्तो बन्ने चाहना कहिल्यै थिएन; तर आमाबाट सिकेका, नचाहेरै पनि सरेका व्यवहार उनीभित्र जीवन्त थिए। सहज, सुरक्षित जीवनभन्दा उनी जटिल, चुनौतीपूर्ण, अपूर्ण कुराहरूमा बढी आकर्षित हुन्थिन्।
त्यसैले त उनको पहिलो प्रेमसँगको सम्बन्ध टुट्यो, दोस्रो प्रेमीसँग घर बसाइन्, र अन्त्यमा आमाको मृत्यु भएको दिन नै डिभोर्स पेपर जसमा उनको सहमति थियो उनकै हातमा पर्यो।
आमाले चर्को स्वर र कठोरताको दूरीले छोरीलाई टाढा राखिन्; तर अरुन्धतीले उल्टो बाटो रोजिन्। रिस उठे पनि, बोल्नुपर्ने बेला मौन बसेर, जसलाई माया गर्थिन् त्यसलाई शान्त तर अटल ढङ्गले टाढा पठाइन्। ‘
उनले आफ्नो आमाको दोहोरोपन दोहोर्याउन चाहिनन्, तर जीवनका पीडा, सम्बन्धका जटिल तानाबाना र भित्री घाउहरूले उनलाई अदृश्य तर घातक धागोले जीवनभरि बाँधिरह्यो जसमा प्रेम, क्रोध, चोट र मुक्तिको सबै मिश्रण थियो। जसले संसारसँग लड्ने, विद्रोही आवाज उठाउने अदम्य क्षमता राख्छ, त्यही व्यक्ति आफ्नै भित्री अत्याचार, असफलता र डरको सामना गर्न कहिल्यै बोल्न सक्दैन। यही विरोधाभासले अरुन्धतीको महानतासँगै उनको भित्री रिक्तता, असुरक्षा र मानवीय कमजोरीको चित्र पनि उजागर गर्छ।
अनि यही सङ्घर्ष, यही साहसको प्रतिबिम्ब हो जसले उनलाई बुकर प्राइज जित्ने लेखक बनायो। बाहिरबाट अटल, विद्रोही र असम्भव देखिने तर भित्रबाट पीडा र संवेदनशीलताले भरिएको व्यक्तित्व।
शायद अरुन्धतीको परिवार सँगै हुन्थ्यो, शायद उनकी आमाले उनलाई चाहे जस्तो माया देखाउँथिन्, र यदि उनको जीवन र पुस्तकमा सुखका पानाहरू दुःखका पानाभन्दा बढी हुन्थे भने, मलाई पनि यो पुस्तकले यति गहिरोसम्म तान्दैनथ्यो।
दुःखले भरिएको कथा नै हृदयको सबैभन्दा गहिरो कुनामा पुगेर बस्छ, त्यही ठाउँमा हामी आफैंलाई भेट्छौं, आफ्नै चोट, पीडा र संवेदनशीलतासँग प्रत्यक्ष जुध्छौं। शायद मानिसको जातै यस्तै होला।
उनको पहिलो पुस्तकको विमोचनको क्षण होस् वा पहिलो पटक उनको फोटो पत्रिकामा देखिएको पल होस् वा बिहेको दिन होस् वा जीवनका अन्य कुनै खास क्षण; उनी भित्र सधैं त्यही ऊर्जा, त्यही आगो जस्तै रहेको थियो।
समाजसँग लड्ने साहस, पहिलो प्रेमसँग छुट्ने पीडा, वैवाहिक सम्बन्धमा पूर्णविराम लगाउने अडान यति सबै गर्न सक्ने अरुन्धतीले आमासँग कहिल्यै न खुलेर गफ गर्न सकिन्, न रुन सकिन्, न हाँस्न नै। उनी सधैं बाहिरका घटनामा अटल र विद्रोही थिइन्, तर भित्री भावनात्मक संसारमा बन्द र अपूर्णको त्रासले घेरिइन्।
अक्सर मानिसहरू आफ्नो बाल्यकालमा फर्किन सक्ने कल्पना गर्छन्, आमाको काखबाट टाढा हुँदा जहिल्यै आमाको अँगालोमा बाँधिन पाउने दिनको सपना देख्छन्। तर अरुन्धतीका लागि त्यो स्मरण पनि भयानक दुःस्वप्न जस्तो भइदिन्छ।
उनको जीवन र लेखनमा देखिने भरिपूर्णता वास्तवमा मायाको अभावको झिल्को हो, जसले उनलाई चोटसँगै प्रसिद्धि पनि दिन्छ। जुन उनलाई कहिल्यै चाहिएकै थिएन। अरुन्धती सफल लेखिका हुन्, तर उनी अभागी छोरी पनि हुन् जो खोजीमा अनवरत भौंतारिइन्, र बाल्यकालको खालीपन र आमाको यातना नै उनको चाया बनिरह्यो। अरुन्धतीले जीवनमा प्रायः त्यही पाइन्, जुन उनले कहिल्यै चाहिनन्।
प्रतिक्रिया 4