२५ मंसिर, गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिका–४ मोत्तियारस्थित पनाहा खोलामा गत शनिबार फेला परेको पुरुषको शवको पहिचान अहिलेसम्म खुल्न नसकेको प्रहरीले जनाएको छ ।
मंसिर २० गते दिउँसो स्थानीयवासीले खोलामा शव देखेपछि प्रहरीलाई जानकारी गराएका थिए ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक पर्वत कुमार केसीका अनुसार मृतक पुरुषको उमेर करिब ३४ देखि ३५ वर्षको अनुमान गरिएको बताए । शव भेटिँदा सेतो–हरियो चेकदार सर्ट, माथि ‘नाइक’ लेखिएको कालो ट्याक र कालो पाइन्ट लगाएको अवस्थामा पानीमा भेटिएको थियो ।
नाम, थर र ठेगाना नखुलेपछि प्रहरीले छिमेकी जिल्लासँग समन्वय गर्दै पहिचानका कामलाई तीव्रता दिएको प्रहरी निरीक्षक केसीले बताए ।
घटनाको प्रारम्भिक अनुसन्धान जारी रहेकाले मृत्युको वास्तविक कारण पत्ता लगाउन थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए ।
प्रहरीका अनुसार शवको पहिचान खुलाउन स्थानीय तथा राष्ट्रियस्तरमा सूचनासमेत प्रवाह गरिएको जनाएको छ । शवलाई पहिचानका लागि गुल्मी अस्पतालमा राखिएको छ ।
प्रतिक्रिया 4