२६ मंसिर, काठमाडौं । नेकपा एमालेका पोलिटब्यूरो सदस्य दलबहादुर रानाले सक्रिय राजनीतिबाट बिदा लिएको घोषणा गरेका छन् । नेकपा एमालेको एघारौं महाधिवेशनको सुरु हुन लाग्दा रानाले सामाजिक संजालमार्फत आफू सक्रिय राजनीतिबाट अलग हुने घोषणा गरेका हुन् ।
रानाले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत स्टाटस लेख्दै पारिवारिक समस्या देखाएर सक्रिय राजनीतिबाट अलग हुने बताएका छन् ।
४५ वर्षदेखि सक्रिय राजनीतिमा रहेका राना १० औं महाधिवेशनपछि राना पोलिटब्युरो सदस्य थिए । राना बुटवलमा भएको एमालेको आठौं राष्ट्रिय महाधिवेशनदेखि केन्द्रीय कमिटी सदस्य तथा लुम्बिनी प्रदेश कमिटी सहइन्चार्ज हुँदै नवौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्य तथा पोलिटब्युरो सदस्य थिए ।
दशौं राष्ट्रिय महाधिवेशनपछि पोलिटब्युरो सदस्य तथा भूमि व्यवस्था विभाग इञ्चार्ज थिए ।
उनी दुई पटक पाल्पा जिल्ला कमिटी सचिव, तत्कालीन लुम्बिनी अञ्चल समन्वय कमिटीको सदस्य तथा सहईन्चार्ज समेत थिए ।
उनी दुई पटक प्रतिनिधिसभा सदस्य र एकपटक संविधानसभा सदस्य भए । यस्तै राना भूमिसुधार तथा व्यवस्था मन्त्रीसमेत भएका थिए ।
रानाले स्टाटसमार्फत सक्रिय राजनीतिक जीवनबाट बिदा लिए पनि पार्टी सदस्यको हैसियतबाट समय अनुकूलतामा अनुभवको आधारमा देश, जनता र पार्टीको हितमा क्रियाशील रहने उनले प्रतिबद्धता जनाएका छन् ।
प्रतिक्रिया 4