२८ मंसिर, काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले वर्तमान सरकार चुनाव नगराउने र स्वार्थ समूहको चंगुलमा फस्न थालेको आरोप लगाएका छन् ।
सरकार बनेको तीन महिना बितेपछि पनि मन्त्रिपरिषद् विस्तारको नाटकमञ्चन गरेर प्रधानमन्त्री सुशीला कार्कीले घोषित मितिमा निर्वाचन नगर्न प्रपञ्च रचेको साहको आरोप छ ।
वर्तमान सरकार जेनजीहरूको भावनाविपरीत चल्न थालेको र एकपछि अर्को गरेर गलत निर्णय लिन थालेको भन्दै साहले आलोचना गरेका हुन् ।
आज (आइतबार) काठमाडौंमा आजपाले ‘संसद् पुन:स्थापनाको षड्यन्त्र रोक्न’ भन्दै काठमाडौंको गैरीगाउँमा आयोजना गरेको काठमाडौं क्षेत्र नं. १ र २ को संयुक्त विशेष क्षेत्रीय भेलालाई सम्बोधन गर्दै पूर्वमन्त्री साहले सरकारलाई सच्चिएर आफू मूल म्याण्डेटतर्फ ध्यान दिन सुझाव दिए ।
उनले २१ फागुनमा प्रतिनिधिसभाको निर्वाचन गराउने मूल दायित्व नबिर्सिन प्रधानमन्त्री कार्कीको ध्यानाकार्षण गराए । उनले प्रतिनिधिसभा पून:स्थापनाको लागि भइरहेको षड्यन्त्रको पर्दाफास गर्न र देशव्यापी रुपमा निर्वाचन तोकिएकै मितिमा सम्पन्न गराउन दबाब सिर्जना गरिनुपर्ने आवश्यकता औंल्याए ।
एमालेको केपी ओली समूह र कांग्रेसको शेरबहादुर देउवा समूहले प्रतिनिधिसभाको चुनाव नचाहेको र संसद् पून:स्थापनको लागि षड्यन्त्रको तानाबाना बुनेको बेलामा प्रधानमन्त्री कार्कीपनि उनीहरूकै सहयोगीको भूमिकामा देखिन थालेको आभाष भएको साहको टिप्पणी छ ।
‘जेनजी आन्दोलनमा दमन गरेका केपी ओलीहरूले संसद् पुन:स्थापनाको षड्यन्त्र गरिरहेका छन्, कांग्रेसमा देउवा ग्याङ् ओलीकै पुच्छर बनेर अदालत धाउन थालेको छ । अनि प्रधानमन्त्री पनि उनीहरूकै डिजाईनमा हिँड्न खोजेको संकेत देखियो, होईन भने कसको स्वार्थमा चार जना मन्त्रीहरू थप्नुभयो, के आधारमा नियुक्त गर्नुभयो ?’, साहले प्रश्न गर्दै भने ।
साहले सरकार र जेन–जीहरूबीच भएको पछिल्लो सम्झौतापनि धोकाको दस्तावेज भएको टिप्पणी गरे ।
प्रतिक्रिया 4