२९ मंसिर, काठमाडौं । नेकपा एमालेका नेता परशुराम मेघी गुरुङले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् ।
पार्टीको जारी ११औं महाधिवेशनमा उपाध्यक्ष पदमा उम्मेदवारी दिएका गुरुङ विकृतिमुक्त पार्टी बनाउन आफ्नो उम्मेदवारी रहेको बताउँछन् ।
‘अहिले पार्टीमा जुन चुनौती छ, समस्या छ, त्यसलाई हल गर्नको निम्ति । विचार/सिद्धान्त, नीति र कार्यशैलीसँग सम्बन्धित कमजोरीहरू पार्टीमा छन् । कतिपय विकृति विसंगतिहरू पनि पार्टीभित्र देखा परेको छ,’ उनी भन्छन्, ‘समग्रमा पार्टीलाई विकृति विसंगति मुक्त गर्न, सिर्जनशील र अहिलेको चुनौतीलाई समाधान गर्न सक्ने लोकतान्त्रिक पार्टी बनाउन मेरो उम्मेदवारी हो ।’
गुरुङ पार्टीमा २०३३ संगठित भएका नेता हुन् । यसअगाडि केन्द्रीय कार्यालयको सचिवको जिम्मेवारी सम्हालेको अनुभव रहेका उनी ईश्वर पोखरेल समूहको तर्फबाट उपाध्यक्षमा लड्दैछन् ।
एमालेको ११औं महाधिवेशनमा केपी शर्मा ओली र ईश्वर पोखरेल अध्यक्षमा प्रतिस्पर्धा गर्दैछन् । दुवै पक्ष आ–आफ्नो टिम बनाएर चुनाव लड्दैछन् ।
जेनजी आन्दोलन र बदलिँदो नेपाली समाजको चरित्रअनुसार एमालेले भावी नेतृत्व चयन गर्ने उनको विश्वास छ । संविधानले इंगित गरेको सुशासन स्थापनाका लागि राजनीतिक दलहरू पारदर्शी र लोकतान्त्रिक हुन आवश्यक रहेको उनले बताए ।
उनी थप्छन्, ‘जेनजी युवाहरूले सुशासन र भ्रष्टाचारमुक्त समाजको कुरा गर्नुभएको छ । मुलुकमा समृद्धिको कुरा, रोजगारी सिर्जनाको कुरा गर्नुभएको छ । उहाँहरूको चाहना र उद्देश्य समेटेर जान जरुरी छ ।’
युवाहरूले राजनीतिक दलहरूमा समेत पुस्तान्तरण चाहेका छन् । यसबारे पार्टी जिम्मेवार रहेको गुरुङ बताउँछन् । उनी भन्छन्, ‘हाम्रो पार्टीमा इन्ट्री र एक्जिटको प्रबन्ध हाम्रो पार्टीमा छ । ७० वर्षको उमेरहद र दुई कार्यकाल यही हो । यसलाई निरन्तरता दिनुपर्छ भन्नेमा जोड दिँदै आएको छु ।’
तर, एमालेले ७० वर्षको उमेरहद र दुई कार्यकालको प्रावधान हटाइसकेको छ । आफूले चुनाव जितेको खण्डमा ७० वर्षको उमेरहद र दुई कार्यकालको प्रावधानका लागि लड्ने उनको घोषणा छ ।
अहिले यी प्रावधान पक्षधर अल्पमतमा परेता पनि भविष्यमा स्थापित गराउने उनको दृढता छ । ‘उमेरहद र दुई कार्यकालको प्रबन्धलाई स्थापित गर्नका लागि लागिरहन्छु,’ नेता गुरुङ भन्छन्, ‘मलाई लाग्छ– अर्को महाधिवेशनसम्म जाँदा यो मुद्दाले संस्थागत रूप लिनेछ ।’
प्रतिक्रिया 4