१ पुस, काठमाडौं । देशभरका निकुञ्ज, वन्यजन्तु आरक्ष तथा बाघ पाइने राष्ट्रिय वन क्षेत्रमा बाघहरुको गणनाको काम आजदेखि सुरु हुँदैछ ।
चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरामा बाघ गणनाको औपचारिक शुभारम्भ गर्ने कार्यक्रम तय भएको छ । पाँचौं राष्ट्रिय बाघ गणनाको नाम दिइएको यो अभियानको नतिजा चैतमा आउनेछ ।
चितवन–पर्सा, बाँके–बर्दिया र शुक्लाफाँटा–लालझाडी कप्लेक्स भनेर तीनखण्डमा विभाजन गरी वैज्ञानिक विधिबाट बाघको गणना गरिदैछ । गणनामा २ हजार ३०० स्वाचालित क्यामेराको प्रयोग गरिनेछ । बाघ गणनाका लागि २ करोड ५० लाख खर्च अनुमान गरिएको छ ।
चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार पुस १ र २ गते गणनामा सहभागीलाई कसरामा तालिम दिने कार्यक्रम छ । पुस ३ गते तालिम लिएकाहरुलाई गणनाका लागि कार्यक्षेत्रमा परिचालन गरिने निकुञ्जका प्रमुख डा.गणेश पन्तले जानकारी दिए ।
बाघ पाइने करिब ८ हजार ४ सय वर्ग किलोमिटर क्षेत्रफलमा क्यामराहरु राखेर बाघको फोटो खिच्ने र त्यसका आधारमा मूल्याङ्कन गरेर बाघ गणना गरिनेछ । हरेक ४/४ वर्षमा नेपालमा बाघ गणना गर्ने गरिन्छ ।
चितवन पर्सा ब्लकमा क्यामरा जडानको काम सुरु हुँदैछ । दुई बाई दुई वर्ग किमीको क्षेत्रलाई एउटा ग्रिड मानेर सबैतिरबाट कभरेज हुने गरी एक-एक जोडी क्यामरा जडान गरेर छाडिनेछ ।
चितवन पर्सा कप्लेक्समा ८ सयदेखि ९ सयसम्म यस्ता ग्रिडहरू बन्नेछ । आवश्यकता अनुसार क्यामेराहरू सार्ने काम पनि गरिनेछ । बाँके बर्दिया कम्प्लेक्समा करिब ८ सय बटा ग्रिडहरु बन्नेछन् ।
बाँके बर्दियामा करीव ५ सय स्वाचालित क्यामेराहरु आवश्यक पर्नेछन् । यो क्षेत्रमा पुस ५ गतेबाट गणना सुरु हुनेछ । निकुञ्ज विभागले तेस्रोखण्डका रुपमा शुक्लाफाँटा–लालझाडी कप्लेक्स बनाएको छ ।

चितवन-पर्सा ब्लकको गणना सकिएपछि मात्रै शुक्लाफाँटा क्षेत्रमा गणनाका लागि क्यामेराहरु राखिनेछन् । क्यामेराको अभाव भएकोले यसो गर्न लागिएको विभागका उपमहानिर्देशक डा.हरिभद्र आचार्यले बताए ।
यसअघि सन् २०२२ मा गरिएको बाघ गणनामा एक हजार ८४३ क्यामरा प्रयोग गरिएको थियो । यसपटक भने २ हजार ३०० क्यामरा प्रयोग गर्न लागिएको हो । बाघ गणनामा २५० भन्दा बढी जनशक्तिको परिचालन गरिनेछ ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको नेतृत्वमा हुन लागेको बाघ गणनामा राष्ट्रिय प्रकृति संरक्षण कोष, डब्लुडब्लुएफ र जेडएसएल लगातयका निकायले आर्थिक तथा प्राविधिक सहयोग गरेका छन् ।
क्यामराले मिति, समय र स्थानसहितको फोटो खिच्छ । रातमा अटोमेटिक रुपमा फ्ल्यास बलेर फोटो खिच्छ । बाघ पाइने क्षेत्र र बाघ बढी बस्न रुचाउने क्षेत्रहरुको पहिचान गरेर क्यामेराहरु राखिन्छन् । ति क्यामेराहरुले बाघ वा अन्य जे सुकै पनि त्यसबाट पार भएमा आफैं फोटो खिच्ने गर्दछ ।
पानीका स्रोत नजिक, फायरलाइन, गोरेटो बाटो, मृग प्रजाति बढी पाइने ठाउँ नजिकै क्यामेराहरु राखिनेछन् ।
बाघको शरिरमा रहेको पाटा फरक फरक हुने भएकोले त्यसकै आधारमा बाघको संख्या निर्धारण गर्ने गरिन्छ । एउटै बाघ क्यामेरामा दोहोरिएर फोटो खिचिएमा त्यसलाई गणनामा समावेश गरिँदैन ।
सन् २००९ देखि स्वचालित क्यामरा राखेर बाघको संख्या यकिन गर्न थालिएको हो । क्यामेराले खिचेर पठाएका फोटोहरु संकलन गरी सफ्टवेयरमार्फत पहिचान गरेर मात्रै बाघको एकिन संख्या निर्धारण गरिनेछ सन् २०२६ जुलाई २९ मा पर्ने विश्व बाघ दिवसका अवसरमा नतिजा सार्वजनिक गर्ने लक्ष्य राखिएको छ ।
यसअघि, सन् २००९ मा गरिएको गणनामा देशभरी १२१ बाघ, सन् २०१३ मा १९८, सन् २०१८ मा २३५ र सन् २०२२ मा ३५५ बाघ रहेको गणना नतिजा आएको थियो । हरेक ४/४ वर्षमा गरिने गणनामा बाघको संख्या बढ्दै गएको देखिएको छ ।
पछिल्लो सन् २०२२ को गणनामा सबैभन्दा धेरै बाघ चितवनमा १२८, बर्दिया निकुञ्जमा १२५, बाँके निकुञ्जमा २५, पर्सामा ४१ र शुक्लाफाँटामा ३६ वटा भेटिएका थिए ।
प्रतिक्रिया 4