+
+
Shares

अन्तिम घडीमा केले रोकिरहेको छ गगन-विश्वलाई ?

सभापति देउवाले विशेष महाधिवेशन आह्वानकर्ता महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माका शर्तहरू धेरैजसो मन्जुर गर्न सकारात्मक देखिए पनि आफू अहिलेकै अवस्थामा हट्ने संकेत दिएका छैनन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ३० गते १३:११

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कांग्रेसले विशेष महाधिवेशनमार्फत सभापति शेरबहादुर देउवालाई पदमुक्त गर्दै नयाँ सभापति ल्याउने अवस्था आए औपचारिक फुटको बाटोमा जानेछ।
  • देउवाले चुनावका टिकटमा हस्ताक्षर गर्न बाधक नबन्ने आश्वासन दिए पनि आफू पदबाट हट्ने संकेत दिएका छैनन् र दुई महिनासम्म कुर्न तयार छन्।
  • महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले देउवाको अडानलाई अस्वीकार गर्दै विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चुनिने अडान दोहोर्‍याएका छन्।

३० पुस, काठमाडौं । विशेष महाधिवेशनमार्फत् सभापति शेरबहादुर देउवालाई पदमुक्त गर्दै नयाँ सभापति ल्याउने अवस्था उत्पन्न भएमा कांग्रेस औपचारिक फुटको बाटोमा जानेछ ।

सभापति देउवाले विशेष महाधिवेशन आह्वानकर्ता महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माका शर्तहरू धेरैजसो मन्जुर गर्न सकारात्मक देखिए पनि आफू अहिलेकै अवस्थामा हट्ने संकेत दिएका छैनन् ।

देउवाले चुनावका टिकटमा हस्ताक्षर गर्न आफू बाधक नबन्ने आश्वासन त दिएका छन्, तर उनले यसअघि राष्ट्रियसभा चुनावमा, अनि प्रतिनिधिसभाकै समानुपातिकतर्फको टिकटमा आफूले सही गरेको नजिर दिएका छन् ।

यस्तो अवस्थामा अर्को व्यक्तिले सही गरेमा निर्वाचन आयोगले त्यसलाई मान्यता देला कि नदेला भन्ने देउवाको प्रश्न छ, जसको कानुनी प्रबन्ध यति बेला कांग्रेसभित्र खोजी भइरहेको छ ।

देउवाले दुवै महामन्त्रीलाई दुई महिनासम्म कुर्न तयार भए नियमित महाधिवेशनबाटै चुनिने अवसर आउने आश देखाएका छन् । आफू स्वतः पदबाट हट्ने अवस्थामा आउने अवसरको सदुपयोग गर्न उनले महामन्त्रीहरुलाई भनेका छन् ।

तर महामन्त्रीहरुले आफू पदका लागि विशेष महाधिवेशनमा नगएको, बरु यसअघि असोज २८ मै देउवाले छाड्छु भनेको जिम्मेवारीमा फेरि चलाखीपूर्वक फर्केको, टिकट वितरणमा मनपरी गरेको, एमालेसँग गठबन्धन गर्न खोजेको भन्दै पछि हट्न नसकिने अडान दोहोर्‍याएका छन् ।

उनीहरुले विधान महाधिवेशनलाई देउवा पक्षबाट अवैधानिक भनिएको विषयमा तीव्र आपत्ति जनाएका छन् । विधान महाधिवेशनमा सामान्य बहुमतभन्दा बढ्ता प्रतिनिधि सहभागी भएर गरेका निर्णयलाई तुरुन्तै स्वामित्व लिन नसक्नेहरुमाथि गगन र विश्वप्रकाशको प्रश्न छ ।

देउवा पक्षले एमालेसँग गठबन्धन नगर्ने संकेत गरेको छ । टिकट वितरणमा सम्पूर्ण परामर्शसहित अघि बढ्न तयार हुने, नियमित महाधिवेशनसम्मको बाँकी अवधि कार्यबाहक सभापति पूर्णबहादुर खड्काले पार्टी सन्चालन गर्ने देउवा पक्षको आश्वासन छ ।

महाधिवेशन हलले भने अब नयाँ नेतृत्व नै चुनिनुपर्ने भन्दै चुनावी प्रक्रिया अघि बढाइसकेको छ । गगन स्वयंले बन्दसत्रमा बोल्दै जे पास भए पनि यही विशेष महाधिवेशनले अपनत्व लिएपछि मात्रै अनुमोदन हुने अडान दोहोर्‍याएका छन् ।

तर गगनले भृकुटीमण्डपमा जे भने पनि कांग्रेसभित्रको प्रक्रिया अघि बढाउन त्यति सजिलो भने हुने छैन । नयाँ पार्टी नेतृत्वका रुपमा आगामी ६ माघमा निर्वाचन आयोगको प्रत्यक्षतर्फ उम्मेदवारी दिनका लागि निकै मुस्किल हुन थालेको छ ।

आज पुस ३० हो । भोलि माघे संक्रान्तिको नियमित बिदा छ । ३ माघ शनिबार भइहाल्यो । ५ माघमा सोनाम ल्होसारको सार्वजनिक बिदा छ । यसरी हेर्दा २ माघ र ४ माघ, अनि ६ माघ मात्रै प्रक्रिया पूरा गर्न बचेका मिति हुन् ।

गगन र विश्वप्रकाशहरु यति थोरै अवधिमा कसरी १६५ क्षेत्रमा उम्मेदवार उठाइसक्ने भन्ने समयको दबाबमा समेत परेको देखिन्छ । जुनसुकै नयाँ अवस्थामा पनि टिकट वितरणको विवाद भइछाड्ने नै परिस्थिति हुन्छ ।

‘हाम्रासामू यो कानुनी र प्राविधिक समस्या अहिले पनि छँदैछ, त्यसैले पनि देउवासँगका छलफलमा जिम्मेवार भएर पेश भइरहेका छौं,’ कांग्रेसका एक पदाधिकारीले भने, ‘तर हामी सीमाबद्ध छौं भन्दैमा जेपायो त्यही सम्झौता हुँदैन । त्यो प्रतिनिधिको म्यान्डेट पनि होइन ।’

पार्टीका नेताहरुले भने निर्वाचन आयोगले देखाएको समयसीमाका कारण आज गगन–विश्व समझदारी वा फुटको निर्णय गर्नैपर्ने बाध्यतामा रहेको बताएका छन् । उनीहरुलाई परेको समयको दबाबलाई देउवाले फकाउने अवसरका रुपमा उपयोग गर्न खोजेको देखिन्छ ।

गगन–विश्वले महामन्त्रीमा प्रदीप पौडेल र गुरु घिमिरेलाई प्रस्ताव तथा समर्थन गरेका छन् । विशेष महाधिवेशनमा मनोनयन तथा अन्य प्रक्रियाअघि बढिरहेका बेला देउवा पक्षले डाकेको केन्द्रीय समिति बैठक बस्न सकेको छैन ।

कांग्रेस महाधिवेशन विवाद
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?