News Summary
Generated by OK AI. Editorially reviewed.- सन् १९२४ मा जर्ज म्यालोरी र एन्ड्रयू अर्भिन सगरमाथा आरोहण गर्ने क्रममा शिखर नजिकै बेपत्ता भएका थिए।
- सन् १९९९ मा अमेरिकी टोलीले म्यालोरीको शव सगरमाथा शिखरभन्दा दुई हजार फिट तल फेला पारे।
- सगरमाथा आरोहणको इतिहासमा म्यालोरी र अर्भिनको रहस्य अझै सुल्झिएको छैन र उनीहरूको सफल आरोहण प्रमाणित भएको छैन।
‘सगरमाथा यसै-उसै हेर्दा त केवल हिउँको थुप्रो जस्तो मात्र छ । तर फरासिलो भएर हेर्ने हो भने केवल आफ्नो विशाल उचाइले मात्र पनि यो अत्यन्त आकर्षक छ, विशाल छ, सुन्दर छ, गज्जबसँग निर्मित छ, र त्यसकारण डरलाग्दो गरी भव्य छ । यो केवल हिमाल मात्र होइन, सबैले आदर र सम्मान गर्नुपर्ने प्राकृतिक धरोहर हो । यसको चहक र चमक-धमक हेर्दै यसको आधारभूमिमा उभिन पाउनु नै पनि सर्वाधिक अलौकिक अनुभूति हो । …सगरमाथा चढ्ने कुरा जति जोखिमयुक्त छ, त्यति नै रहरलाग्दो गरी आकर्षक पनि छ ।’
यो भनाइ उनै जर्ज म्यालोरीको हो जो एडमण्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले सफल आरोहण गर्नुभन्दा करिब तीस वर्ष पहिले नै सगरमाथा चढ्न तम्सेका थिए, तर उनी शिखरमा पुगे या पुगेनन् भन्ने बहस र विवाद उहिल्यैदेखि चलिआएको छ।
आफ्नो समय र कालखण्डका नामूद एवं सम्मानित पर्वतारोही म्यालोरी सगरमाथा चढेको कुनै प्रमाण छैन तर सगरमाथाले उनलाई खाएको हो भन्ने प्रमाण उनी हिमालमा हराएको करिब पचहत्तर वर्षपछि त्यही हिमचुलीमै फेला पर्यो ।
हिमाल आरोहणको इतिहासका पदचापहरूले म्यालोरीलाई एक ऐतिहासिक पात्र मात्र नभएर एक किम्बदन्तीमा रूपान्तरित गरी दिएका छन् ।
००० ०००
भर्खर-भर्खर बेलायती लेखक रोबर्ट एच.एडवार्ड्स लिखित एउटा गज्जब किताब ‘म्यालोरी, अर्भिन एन्ड एभरेष्ट, द लाष्ट स्टेप बट वान’ पढ्ने अवसर मिल्यो । आफू खासै एडभेन्चरिष्ट नभए पनि मलाई एडभेन्चर वा साहसिक गतिविधि र त्यस्ता किस्सा-कहानीहरू औधी मनपर्छ । सुन्न र पर्दा वा स्क्रिनमा हेर्न मात्र होइन, पढ्न पनि उत्तिकै ।
यसै क्रममा पछिल्लो पटक हात परेको किताब हो- यो। बेलायतको योर्कशरस्थित ‘पेन एन्ड स्वार्ड हिस्ट्री बुक्स लिमिटेड’ नामक प्रकाशन संस्थाले सन् २०२४ मा डिमाईभन्दा अलि ठूलो आकारमा प्रकाशित र २५ स्टर्लिङ पाउन्ड मूल्य रहेको यो पुस्तक २३८ पृष्ठको छ ।
शीर्षकले भनेझैं यस कृतिले उहिल्यै, १०० वर्षअघि सगरमाथाले खाएका दुई जब्बर आरोहीबारे अनेक कोण-दृष्टिकोणबाट यथासम्भव आचार, विचार र प्रतिकार प्रस्तुत गरेको छ । अनि, सुल्झिन र सुल्झाउन नसकिएको रहस्यबारे उजागर गर्ने सबल जमर्को गरेको छ ।

किताब अनेक व्यक्ति र हिमालका थुप्रै-थुप्रै तस्वीरहरूले सजिएको छ र यस पुस्तकले हिमाल आरोहणको क्षेत्रमा अहिलेसम्मकै सबैभन्दा गम्भीर अनि सुल्झिन नसकेको ठूलो रहस्यका रूपमा रहेको ‘दुई बेलायती पर्वतारोही -जर्ज म्यालोरी र एन्ड्रयू अर्भिन- सन् १९२४ मा सगरमाथा चढ्न गएका र शिखर नजिक पुगेर अचानक बेपत्ता भएकाको बारेमा चर्चा गरेको छ ।
अनि ‘के उनीहरू संसारको सबैभन्दा अग्लो शिखरमा टेक्ने प्रथम व्यक्तित्व बन्न सफल भएका थिए वा थिएनन ? र, भएका थिएनन् भने पनि उनीहरू त्यति बेलासम्म कोही नपुगेको शिखरको कति नजिक पुगे ? कस्तो दुर्घटनाका शिकार भएर उनीहरूको ज्यान गयो ?’ भन्ने प्रसङ्ग र प्रकृतिबारे अनेक कोणबाट उल्लेख गरेको छ ।
म्यालोरी र अर्भिन रहस्यमय ढङ्गले बेपत्ता हुनु पहिले उनीहरू अनि उनका सह-आरोहीहरूले घरपरिवार, आफन्त, साथी, कार्यालयहरू आदिलाई समय-समयमा लेखेका अनेक चिठ्ठी, डायरी र टिपोट अनि विभिन्न पत्र-पत्रिकामा आएका समाचार र टिप्पणी आदि समेत यथास्थानमा उद्धृत गर्दै दर्जनौं तर्क लेखकले यस किताबमा अगाडि सारेका छन् ।
यसरी लेखकले आफ्नो विस्तृत खोज-अनुसन्धान र लेखनलाई यथाशक्य आधिकारिक एवं प्रामाणिक बनाएका छन् ।
०००
दुई जना बेलायती आरोही क्रमशः ३७ वर्षीय जर्ज ली म्यालोरी र २२ वर्षीय एन्ड्रयू कोमिन अर्भिन ८ जून १९२४ मा बिहानै उत्तरी मोहडाबाट सगरमाथा शिखर पुग्ने भनेर आफ्नो शिविर (टेन्ट) बाट निस्किएका थिए ।
म्यालोरीको यो तेश्रो सगरमाथा आरोहण अभियान थियो तर अर्भिन अनुभवहीन थिए । उनका लागि यो नितान्त पहिलो सगरमाथा आरोहण अनुभव थियो । सह-आरोहीका रूपमा अरू पनि अनुभवी व्यक्ति छँदाछँदै म्यालोरीले अप्रत्याशित रूपमा अर्भिनलाई रोजेका थिए ।
म्यालोरी-अर्भिनको शिविरमा अन्य कोही साथी थिएनन् । त्यस कारण त्यो बिहान उनीहरू दुई जना कति बजे शिविरबाट बाहिरिए, उनीहरूसित के के थियो वा उनीहरूले के-के सामान बोकेका थिए भन्ने कुराहरूबारे कोही कसैलाई केही थाहा भएन ।
उनीहरूसँगै त्यही आरोहण अभियानमा अर्का एक आरोही थिए, नोएल ओडेल । म्यालोरी र अर्भिन दुवै जना शिविरबाट बिहान निस्केको मध्यान्ह लगत्तै आकाशमा एकछिन बादल हराएको थियो । सबैतिर दृश्य छर्लङ्ग देख्न सकिन्थ्यो । त्यही समयमा ओडेलले ‘शिखरभन्दा केही सय फिट तल’ मात्र अनि पूर्ण सबल अवस्थामा चढ्दै गरेका उनीहरूलाई देखेका थिए ।
ओडेल उनीहरू दुई जनाभन्दा दुई हजार फिट तल थिए ।
तर त्यस लगत्तै मौसम बिग्रियो, बादलले सबैतिर ढाक्यो र केही देखिन पनि छाड्यो । तापनि म्यालोरी र अर्भिनलाई जीवित अवस्थामा अन्तिम पटक देख्ने व्यक्ति उनै ओडेल भए । किनभने त्यस दिनपछि म्यालोरी र अर्भिन कहिल्यै कतै देखा परेनन् । उनीहरू दुई जना सगरमाथाको चुचुरो छेउछाउबाट सधैँका लागि बेपत्ता भए ।

भोलि-पर्सिपल्ट पनि आरोहण दलले उनीहरूको खोजी गर्यो तर धेरै बेरसम्म केही नपाएपछि खोज स्थगित गरियो । हिमालको मौसम बिग्रिन थालेको थियो, त्यसकारण पनि टोली बिस्तारै आधार शिविरतिर फर्कियो ।
म्यालोरी र अर्भिन सगरमाथाको सेताम्मे हिउँभित्र कतै हराए । त्यसपछि ब्रिटिश सरकारले बेलाबेलामा उनीहरूको खोजीमा विभिन्न आरोहण दल सगरमाथा पठाएको थियो ।
०००
त्यस दुर्घटनाको चार वर्षपछि सन् १९३३ मा दुई अलग-अलग बेलायती टोली उत्तरी मोहडा हुँदै सगरमाथा चढ्ने अभियानमा थिए, तर ती दुवै टोली सगरमाथा आरोहण गर्न असफल भए । अँ, बरू त्यही बेला पहिलो आरोहण प्रयास गर्ने टोलीका सदस्य पर्सी व्यान ह्यारीसले पूर्वोत्तर मोहडा ‘नर्थइष्ट रीज’ भन्दा केही तलतिर सग्लो अवस्थामा रहेको हिउँबञ्चरो ‘आइस एक्स’ फेला पारेका थिए, जुन म्यालोरी वा अर्भिन मध्ये एक जनाको थियो ।
फेरि त्यो घटनाको ६० वर्षसम्म म्यालोरी र अर्भिनले सगरमाथाको चुचुरोमा पुग्ने गरी गरेको अन्तिम आरोहणबारे बताउने एकमात्र वस्तु त्यही एउटा ‘आइस एक्स’ रह्यो ।
नेपालमा राणाशासन छँदासम्म यताबाट हिमाल आरोहण प्रतिबन्धित थियो ।
सगरमाथा वा अन्य हिमाल चढ्न जानेहरू चीन सरकारको अनुमति पाएपछि मात्र तिब्बतको बाटो भएर आरोहण अभियान अगाडि बढाउँथे । चीन तर्फबाट सगरमाथा आरोहण गर्नु अत्यन्त कठिन मानिन्छ । तर नेपाल तर्फबाट भने अपेक्षाकृत धेरै सजिलो छ ।
राणाशाही ढलेपछि सन् १९५० उप्रान्त नेपाल तर्फबाट पनि सगरमाथा र अन्य हिमाल चढ्न पाइने भयो । यही क्रममा २९ मे १९५३ मा एडमण्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पा संसारको सर्वोच्च टाकुरामा सर्वप्रथम पुग्ने मानव बन्न सफल भए । अनि धर्मराज थापाको स्वरमा रेकर्डेड गीत घन्किन थाल्यो- हाम्रो तेन्जिङ शेर्पाले चढ्यो हिमाल चुचुरा…।
हिलारी र शेर्पा नेपाल तर्फबाट चढेका थिए । यस बीच चीनमा सन् १९४९ मा कम्युनिष्ट शासन स्थापना भएसँगै विदेशीका लागि हिमाल आरोहणमा प्रतिबन्ध लगाइएको थियो । पछि पत्रकारहरूसित कुराकानी गर्दै हिलारी र शेर्पाले आफूहरूले शिखरमा यत्रतत्र हेरेको तर कतै पनि म्यालोरी र अर्भिन त्यहाँ पुगेको भन्ने कुनै चिन्ह वा निशान फेला पार्न नसकेको बताएका थिए ।
यही बीच जनगणतन्त्र चीनले एउटा सुव्यवस्थित एवं अनुभवी टोली सगरमाथा आरोहण गर्न पठायो । थाहा नभए पनि यो टोली म्यालोरी र अर्भिनले आरोहण गरेको बाटो हुँदै अगाडि बढ्यो तर अन्तिमतिर पुग्दा भने उनीहरूको बाटो फरक भइसकेको थियो ।
त्यो चिनियाँ टोलीका तीन सदस्य क्रमशः वाङ फू-झाओ, क्यू यीन-हुआ र गोम्बूले २५ मे १९६० मा एकाबिहानै सगरमाथाको शिखर टेक्न सफल भए । उत्तरी मोहडा, अर्थात् चीनतर्फबाट भएको यो पहिलो सफल सगरमाथा आरोहण थियो ।
पछि, सन् १९६५ मा तत्कालीन सोभियत संघको लेनिनग्रादस्थित जोग्राफिकल सोसाइटीमा बोल्दै उनै चिनियाँ सगरमाथा आरोही वाङ फू-झाओले आफूले २८ हजार २१५ फिटको उचाइ अर्थात्, शिखरभन्दा करिब ८०० फिट तल- कुनै यूरोपियन आरोहीको शव देखेको बताएका थिए । तर त्यस अघि र पछि यो भनाइबारे कतै केही चर्चा भएन ।
चीनको दोश्रो सफल सगरमाथा आरोहण टोली सन् १९७५ मा हिमाल चढ्यो । त्यो सफल टोलीका एक सदस्य थिए, वाङ होङ-बाओ । चार वर्षपछि उनै वाङ अर्को एक चिनियाँ-जापानी सगरमाथा आरोहण दलसँग मिसिएर हिमालतिर पुगे ।
तर यस पटक दुर्घटनाका शिकार बन्न पुगे र उनको ज्यान पनि गयो । आफ्नो मृत्युभन्दा एक दिन पहिले उनले आफ्ना जापानी सह-आरोही साथीसँग सांकेतिक भाषामा र एकाध अङ्ग्रेजी शब्दसहित कुराकानी गर्दै ‘आफूले एक जना मरेको बृद्ध अङ्ग्रेज देखेको’ देखेको बताएका थिए ।
अनि आयो सन् १९९९, जतिबेला म्यालोरी र इर्भिनबारे आवश्यक खोजतलाश गर्ने गम्भीर लक्ष्यसहित एउटा अमेरिकी आरोहण टोली हिमालतिर हिँड्यो । यो टोलीलाई विश्वख्यिात जर्मन भूगर्भविद् जोचेन हेमलेबको पनि साथ-सहयोग थियो ।
भूगर्भविद् हेमलेबले सन् १९७५ मा भएको चिनियाँ आरोहण दलले खडा गरेको शिविर-स्थल पत्ता लगाए । अनि त सोचेको भन्दा बढी नै सफलता हात लाग्यो । पाँच जना आरोही ‘कोनराड एङ्कर, डेभ हान, ज्याक नोर्टन, एन्डी पोलीज र, ट्याप रिचर्ड्स’ ले १ मे १९९९ मा जर्ज म्यालोरीको शव फेला पारे ।
सगरमाथे हिउँमा हराएको पचहत्तर वर्षपछि म्यालोरीको शव फेला पर्यो । म्यालोरीको निस्प्राण शरीर हिउँ र मसिना ढुङ्गाहरूले आंशिक रूपमा पुरिएको थियो । उनी सगरमाथा शिखरभन्दा दुई हजार फिट तल लम्पसार थिए । उनको दाहिने खुट्टा भाँचिएको थियो ।
अमेरिकी आरोहीहरूले म्यालारीको मृत शरीरबाट निकाल्न सकिने सामानहरू निकाले अनि अर्को चिहान बनाएर म्यालोरीलाई अन्तिम विदाइ गरे ।
केही दिनपछि, १६ मेका दिन, त्यही आरोहण दलका दुई जना क्रमशः पोलिज र पोलार्ड थप केही पाइन्छ कि भन्दै म्यालोरीको चिहान वरिपरि खोजतलाश गर्न फर्किए । यो पटक उनीहरूले म्यालोरीको घडी फेला पारे, साथै के पनि थाहा पाए भने म्यालोरीको टाउकोमा चोट लागेको रहेछ र सम्भवतः त्यही चोटले गर्दा उनको मृत्यु भयो ।
तर यताउता कतै पनि अर्भिनको नामोनिशान केही भेटएन ।
सन् १९३० को दशकको शुरूआती समयसम्म आरोहण क्षेत्रमा दुई धार थिए । एक थरीले म्यालोरी र अर्भिन सगरमाथा चढ्न सफल भएको मान्दथे भने अर्का थरी त्यो विचार र भनाइसितै असहमति राख्थे । अमेरिकी आरोहण दलले अन्य धेरै पक्ष फेला पारे पनि उनीहरू दुवै जना वा दुईमध्ये कोही एक जना शिखरमा पुगेको थियो भन्ने कुनै प्रमाण भेटाउन सकेन ।
त्यसपछि आरोहण खोज-अनुसन्धान र बौद्धिक विलासको अर्को पक्ष बन्यो, बनिरहेको छ- शिखरको त्यति नजिक पुगेर पनि के कति कुन कारणले गर्दा उनीहरू दुवै जना वा दुईमध्ये कोही एक जना पनि किन शिखरमा पुग्न सकेनन् ?
००० ०००
सन् १८०० देखि नै त्यतिबेलाको ब्रिटिश साम्राज्य अन्तर्गत सञ्चालित ‘रोयल जोग्राफिक सोसाइटी’ ले भारतको सुदूर दक्षिणी छेउदेखि लिएर हिमालय क्षेत्रसम्म समेट्दै समग्र भारतीय उपमहाद्वीपको नक्साङ्कन गर्ने उत्तरदायित्व पाएको थियो ।
त्यस कार्यका लागि भारतमा खटिएको टोलीको मुखिया थिए, कर्णेल जर्ज एभरेष्ट, र त्यस टोलीमा कार्यरत एक जना भारतीय थिए, रामनाथ सिकदर । करिब एघार वर्षपछि कर्णेल एभरेष्टले अवकाश पाएपछि उनको ठाउँमा कर्णेल ‘एन्ड्र्यू स्कट वा’ नयाँ टोली नेता बनेका थिए ।
सिकदर अत्यन्त प्रतिभाशाली गणितज्ञ थिए । उनको अद्वितीय क्षमतालाई सबै बेलायतीहरू उच्च सम्मान गर्दथे । कर्णेल एभरेष्ट र स्कट वाले बेलायती संसदमा पठाएका आफ्ना पत्र र रिपोर्टहरूमा समेत उनको ईष्र्यालाग्दो प्रतिभा र योग्यताबारे उल्लेख गर्ने गरेका थिए ।
तिनताका एउटा अग्लो हिमचुली थियो । त्यसलाई ‘पन्ध्रौं शिखर’ ‘पीक फिफ्टिन’ भनिन्थ्यो । त्यो नेपालमा पर्थ्यो तर त्यसको नापजोख केही भएको थिएन । त्यसकारण त्यसबेलासम्मको संसारकै अग्लो भनेर सिक्किममा रहेको कञ्चनजङ्घा हिमाललाई मानिन्थ्यो ।
‘पन्ध्रौं शिखर’ लाई सबभन्दा पहिले देख्ने, हेर्ने र नोटिश गर्ने यूरोपियन व्यक्ति बेलायतका जे.ओ.निकोलसन थिए, जसले सन् १८४७ मा दार्जीलिङ छेउबाट पहिलो पटक त्यो चुली देखेका थिए । यस कार्यमा उनलाई अर्का बेलायती जोन हेनेसीले भूमि सर्वेक्षणसम्बन्धी तथ्याङ्क उपलब्ध गराएर सहयोग गरेका थिए । र, त्यसपछि नै ‘यो शिखर संसारकै अग्लो शिखर हुन सक्ने’ सम्भावित दावेदार मानिन थालेको थियो ।
तर तिनताका नेपालमा विदेशीहरूलाई प्रवेश निषेध थियो, केवल कूटनीतिज्ञहरू मात्र आवतजावत गर्न सक्थे । यसले गर्दा कोही पनि स्वतन्त्रतापूर्वक नेपाल बसेर त्यो हिमचुलीबारे पूर्ण अध्ययन गर्न सक्दैन थिए ।
सिकदरले अलि छिटो त्यो हिमचुलीको उचाइ नाप्नुपर्ने थप जिम्मेवारी पाए । उनले विभिन्न ६ ठाउँमा अंकगणितीय तथ्याङ्कगत केन्द्र स्थापना गरे र ‘पन्धौं शिखर’ को उचाइ नाप्ने कार्य थालनी गरे । अनि त सन् १८५२ मा उनले त्यो हिमचुलीको उचाइ समुद्री सतहभन्दा २९,००० फिट (उन्तीस हजार फिट) माथि रहेछ भनेर निष्कर्ष निकाले ।
तर कर्णेल स्कट वाले त्यो उचाइ ‘राउन्ड फिगर’ भएकोले अलि असहज जस्तो महसुस हुने भयो भनेर दुई फिट आफैँ थपिदिए र त्यसरी सगरमाथाको उचाइ २,९००२ फिट कायम भयो
तिनताका बाहिरी दुनियाँका लागि सगरमाथा अज्ञात थियो । नेपाल र दार्जीलिङतिर त्यसलाई ‘देवढुङ्गा’ र तिब्बती क्षेत्रतिर ‘चोमोलोङ्मा’ भन्ने गरिन्थ्यो । तर कर्णेल स्कट वाले कुनै स्थानीय नाम दिनुभन्दा बरू सृष्टिको यो एक सुन्दर सिर्जनालाई अङ्ग्रेजी नाम दिनुपर्छ भन्ने तर्क अगाडि सारे । बेलायतको संसदलाई त्यही भनेर पत्राचार गरे ।
अन्ततः उनकै विचारलाई सदर गर्दै बेलायती संसदले त्यस ‘पन्ध्रौं शिखर’, अथवा, ‘देवढुङ्गा’, अथवा ‘चोमोलोङ्मा’ को अङ्ग्रेजी नाम कर्णेल स्कट वाका पूर्ववर्ती प्रमुख तथा भारतीय उपमहाद्वीप नक्साङ्कन अभियानका थालनीकर्ता जर्ज एभरेष्टको नाममा ‘माउन्ट एभरेष्ट’ राख्ने निर्णय पारित गर्यो । सन् १८५७ देखि यही नयाँ नाम क्रमशः सर्वत्र प्रचलित एवं स्थापित भयो ।
००० ०००
समयको बित्दो क्रम र नयाँनयाँ खोज-अनुसन्धान भइरहेको अवधिमा सर्वप्रथम अप्रिल १९०९ मा अमेरिकी खोजकर्ता ‘एक्सप्लोरर’ रोबर्ट ई.पीयरी नेतृत्वको टोली संसारको सबैभन्दा उत्तरी छेउ ‘नर्थ पोल’ पुग्यो, यो त्यो ठाउँ हो जहाँ ६ महिना घाम लागिरहन्छ र अर्को ६ महिना रात परिरहन्छ ।
अमेरिकीहरू नर्थ पोल पुगेको दुई वर्षपछि नर्वेका रोआल्ड ई.जी.एमन्डसेन पृथ्वीको सबैभन्दा दक्षिणी छेउ ‘साउथ पोल’ खोज्न सफल भए । यो ठाउँमा पनि ६ महिना दिन र ६ महिना नै रात पर्ने गर्दछ ।
खोज-अनुसन्धानको क्षेत्रमा अन्य देश अगाडि आइसकेपछि बेलायत अब ‘पृथ्वीको तेस्रो छेउ’ ‘थर्ड पोल’ को खोजी गर्नुपर्ने निष्कर्षमा पुग्यो । र, यसका लागि सगरमाथा आरोहण सर्वोत्तम विकल्पका रूपमा देखियो ।
अनि सन् १९२० देखि बेलायतले सगरमाथा आरोहण अभियानको थालनी गर्यो । यस सम्बन्धी सम्भावना र प्रक्रिया आदि बारे बुझ्न रोयल जोग्राफिकल सोसाइटीको तर्फबाट लेफ्टिनेन्ट-कर्नेल चार्ल्स केनेथ होवार्ड-बेरी त्यसै वर्षको गर्मी याममा लन्डनबाट भारत आए ।
अर्को वर्ष मे १९२१ मा पहिलो बेलायती टोली सगरमाथा आरोहण अभियानका लागि भारत हुँदै तिब्बत पुगेको थियो । यो टोलीलाई ‘रीकोनासान्स, माउन्ट एभरेष्ट’ नाम दिइयो र टोली नेतामा उनै कर्नेल होवार्ड बेरी नियुक्त भए । जर्ज म्यालोरी समेत चार जना पर्वतारोहणको राम्रो अनुभव भएकाहरू र अन्य चार जना गरी नौ सदस्यीय टोली थियो । पन्ध्र-बीस जना स्थानीय शेर्पा र भोटिया भरिया पनि थिए ।
तर टोलीका एक सदस्य डा. अलेक्जान्डर मिशेल केलस चाहिँ तिब्बत हुँदै यात्रारत रहँदा अचानक बिरामी परे र त्यही अवस्थामै उनलाई हृदयाघात भयो । फलतः सगरमाथा नै देख्न नपाई ५ जुन १९२१ मा उनी दिवंगत भए । उनलाई तिब्बतकै काम्पा झोङ भन्ने गाउँ नजिकै चिहान खनेर अन्तिम संस्कार गरिएको थियो । त्यो बेला चौंतीस वर्षीय म्यालोरी यूरोपको अल्पाइन हिमाली क्षेत्र चढेर एक जना कुशल एवं प्रतिभाशाली पर्वतारोहीका रूपमा चर्चित, प्रतिष्ठित एव. स्थापित भइसकेका थिए । अझ त्यसअघि, उनीसँग पहिलो विश्व युद्ध लडेको अनुभव पनि थियो ।
आरोहणको उपक्रम चलिरहेकै समयमा सगरमाथा क्षेत्रमा लगातार तीव्र हावा र हिउँ आँधी आइरहन थाल्यो, जसले थप आरोहण असम्भवसरह बन्न पुग्यो । परिस्थितिले साथ नदिएपछि आरोहण अभियान स्थगित गर्दै रीकोनासान्स टोली फर्कियो ।
बेलायत फर्केपछि यो टोलीले एउटा किताब निकाल्यो, ‘माउन्ट एभरेष्ट, द रीकोनासान्स, १९२१’ । यो किताबको प्रमुख हिस्साका लेखक म्यालोरी नै थिए । एक ठाउँ म्यालोरीले लेखेका थिए, ‘गलत जोखिम उठाउनु भनेको फगत भद्दा बहादुरी हो ।’ यही अभियानको क्रममा म्यालोरीले सगरमाथा चढ्नका लागि कहाँ र कताबाट सहज हुन्छ, अनि कतिकति दूरीमा शिविर खडा गर्दा सुविस्ता हुन्छ, र, एक दिनमा कतिसम्म उचाइ चढ्दा मानसिक थकान नहुन सक्छ भन्ने जस्ता धेरै तथ्यहरूको खोज, अनुसन्धान र सर्वेक्षण गरेका थिए ।
म्यालोरी आरोहण गर्न मात्र नभएर लेख्नमा झन् बढी रुचि राख्दथे ।
००० ०००
अर्को वर्ष सन् १९२२ को वसन्त ऋतुमा बेलायतले दोश्रो आरोहण टोली हिमालतिर पठायो, यस पटक चाहिँ सगरमाथाको चुचुरो चुमेर फर्कनु पर्ने विशेष मिशन तोकेर नै ।
सेनाका ब्रिगेडियर-जनरल चार्ल्स ग्रेनविल ब्रूसको नेतृत्वमा जर्ज म्यालोरी, एडवार्ड नोर्टन, मेजर हेनरी ट्रेस मुर्शीद, डा.होवार्ड समरवेल, फोटोग्राफर जोन नोएल, क्याप्टन ज्योफ्री ब्रूस, क्याप्टन जर्ज फिन्च आदि समेत टोलीमा थिए ।
टोलीलाई साथ-सहयोग पुर्याउन दर्जनौं स्थानीय भरिया जुटाइएको थियो । पोर्टर टोलीमा एक जना नेपाली, ब्रिटिश इन्डियन आर्मीको सेकेन्ड बटालियन अन्तर्गत सिक्स्थ गोर्खा राइफल्सका लान्स नायक, तेजबीर बुढा पनि थिए । तर कालान्तरमा उनी इतिहासको अँध्यारोमा हराए ।
यही बेला ज्योफ्री ब्रूस र जर्ज फिन्चले २७ हजार ३०० फिट उचाइसम्म चढेर त्यो समयसम्मको सबैभन्दा उचाइसम्म आरोहण गरेको कीर्तिमान कायम गरेका थिए ।
यस आरोहण अभियानको क्रममा म्यालोरी र अन्य आरोहीहरूले तीन पटकसम्म शिखर चढ्ने प्रयास गरे । तर सफलता हात लागेन । यस्तैमा ७ जून १९२२ मा उनीहरूको आरोहण क्षेत्रमा ठूलो हिउँआँधी गयो । त्यसमा बेलायतीहरू त सबै बाँचे तर सात जना भरियाको ज्यान गयो ।
यसले गर्दा थप आरोहण अभियान स्थगित भयो । सगरमाथा आरोहणका लागि समस्या त्यहाँको अतिशय चिसो थिएन, बरू थियो त त्यहाँ बग्ने र बगिरहने चिसो बाक्लो सिरेटो अनि धूलो सरी हिउँ उडाउँदै आइजाइ गर्ने हिउँ-आँधी ।
फेरि असफलता बोकेर टोली स्वदेश फिर्न विवश भयो ।
दोश्रो आरोहण अभियान पनि अपूर्णतामा सकिएर स्वदेश फर्किएपछि टोली नाइके ब्रूस प्रमुख लेखक बनेर एउटा किताब निकाले, ‘द एसल्ट अन माउन्ट एभरेष्ट १९२२’ । यस किताबमा भएका पन्ध्र अध्यायमध्ये पाँच अध्याय (अर्थात्, १०६ पेज) म्यालोरीले लेखेका थिए ।
००० ०००
फेरि आउँदो वर्ष सन् १९२४ मा सगरमाथा आरोहण अभियान सञ्चालन गर्ने गरी मे १९२३ मा लन्डनस्थित ‘माउन्ट एभरेष्ट कमिटी’ मातहत नयाँ टोली निर्माण हुन थाल्यो । टोली नेताका रूपमा उनै जनरल चार्ल्स ब्रूस र उपनेताका रूपमा लेफ्टिनेन्ट-कर्नेल एडवार्ड नोर्टन छानिए भने अन्य सदस्यमा बेन्टली बीथम, जर्ज म्यालोरी, नोएल ओडेल, जोन डी भार्स हाजार्ड र होवार्ड समरवेल चुनिए ।
पछि, ओडेलको सिफारिशमा, अर्भिन पनि नयाँ टोलीका सदस्य बने । यही अवधिमा सन् १९२२ को अभियानका बेला ज्योफ्री ब्रूससित मिलेर २७ हजार ३२० फिट उचाइसम्म चढ्न सफल हुँदै त्यसबेलासम्मको सर्वाधिक उचाइ चढेको कीर्तिमान बनाएका जर्ज इङ्गल फिन्चको नाम पनि नयाँ सदस्यका रूपमा आएको थियो
तर कुनै अज्ञात कारणवश उनलाई नयाँ टोलीमा समावेश गरिएन । भनिन्छ, यदि फिन्चलाई यो नयाँ टोलीमा राखिएको भए सम्भवतः म्यालोरी र फिन्च मिलेर सगरमाथा आरोहण अभियानमा नितान्त नयाँ अध्याय लेख्न सक्ने थिए ।
अनि सगरमाथा चढ्ने तेश्रो जमर्को गर्न नयाँ बेलायती टोली फेब्रुअरी २०२४ मा लन्डनबाट भारततिर प्रस्थान गर्यो । त्यहाँबाट टोली मुम्बई पुग्यो । पुनः मुम्बईबाट दार्जीलिङको बाटो हुँदै तिब्बत पुग्यो र शुरू भयो उसको सगरमाथा आरोहण अभियान ।
टोलीलाई अक्सिजन सिलिन्डर, खाद्यान्न र अन्य आवश्यक सामानको ढुवानी गर्न र थप साथ-सहयोगका लागि २० जना भरियाको बन्दोबस्त थियो । ती भरियाहरूमा लाक्पा छेदे, नार्बू यीशे, सेमछुम्बी र लोब्साङ प्रमुख थिए ।
हिमालमा मौसम बिग्रन थाल्नुअगावै अर्थात् जुनको पहिलो साताभित्रै शिखर आरोहण गरिसक्ने लक्ष्य निर्धारण भएको थियो । तर परिस्थिति फेरि पनि सोचे अनुसार भएन । म्यालोरीहरूले इतिहास लेख्न पाएनन्, इतिहासले उनीहरूलाई आफ्नो च्यादर ओढाइदियो ।
तापनि एउटा तथ्य भने कहिल्यै नमेटिने भएर स्थापित भयो- जब जब सगरमाथा वा हिमाल आरोहणको चर्चा हुन्छ, तब तब म्यालोरी र अर्भिनहरूको चर्चा पनि स्वतः हुन्छ । यसरी चर्चा हुँदा म्यालोरीहरूले सगरमाथाको शिखर टेक्ने सवालमा सफलता पाए पाएनन् भन्ने प्रसङ्ग दोयम बन्न पुगेको हुन्छ ।
००० ०००
समग्र किताब पढिसक्दा यस्तो लाग्छ, लेखकमा रहेको असन्तुष्ट मौन भावसँग पाठकले पनि तादात्म्य महसुस गरिरहेको हुन्छ- लामो एवं अथक प्रयत्नहरूपछि भए पनि अन्ततः म्यालोरीको शव उनी सगरमाथामा हराएको ७५ वर्षपछि फेला पर्यो तर अर्भिनको शव अझै बेपत्ता छ ।
००० ०००
म्यालोरी सगरमाथा आरोहणको जोखिम र त्यसको सौन्दर्य दुवैप्रति अत्यन्त मोहित थिए । एक पटक आरोहणबारे प्रवचन दिँदै उनी अमेरिका भ्रमणमा थिए ।
त्यही बेला पत्रकारले उनलाई सोधेका थिए, ‘त्यहाँ त कुनै पनि बेला ज्यान जाने जोखिम बढी छ तापनि किन त्यति टाढा पुगेर सगरमाथा चढ्न तयार रहनुहुन्छ ?’ म्यालोरीले मुसुमुसु हाँस्दै यति मात्र भनेका थिए, ‘किनभने त्यो त्यहाँ छ ।’
एडवाडरसको प्रस्तुत पुस्तक पढिरहँदा लेखकको अत्यधिक परिश्रम किताबभरी नै देखिन्छ । त्यसमा पनि किताब हार्ड कभरमा छ र छपाइ अत्यन्त शानदार छ ।
रोबर्ट्स एच.एडवार्ड्स लिखित समीक्ष्य किताब पढिसकेपछि मलाई यति भन्न दुई पटक सोच्न पर्दैन- यो एक उत्तम र पठनीय पुस्तक हो, खासगरी हिमाल आरोहण अझ, त्यसमा पनि जर्ज म्यालोरीबारे चासो राख्नेहरूका लागि ।
प्रतिक्रिया 4