+
+
Shares

सुहाङ नेम्वाङलाई एमालेले बनाउला संसदीय दलको नेता ?

उच्च भूमिकामा भएर पनि सांसद पद सुरक्षित गर्न समानुपातिक कोटा रोजेका यी नेताहरूलाई दलको नेता मानेर जाँदा एमालेको आकर्षण नबढ्ने निष्कर्षमा एमालेभित्र ठूलै पङ्क्ति देखिन्छ। तिनै पङ्क्तिको साथ लिएर सुहाङ दलको नेता बन्न चाहन्छन्।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ५ गते २१:३४
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित सबै प्रत्यक्ष पदाधिकारी पराजित हुँदा युवा नेता सुहाङ नेम्वाङ इलाम-२ बाट दोहोरिएर निर्वाचित भएका छन्।
  • सुहाङले २२ हजार ४२६ मत ल्याएर कांग्रेसका भेषराज आचार्यलाई ७ हजार ७७६ मतले पराजित गरेका छन् र एमालेभित्र सहज जित निकाल्ने नेता मानिन्छन्।
  • सुहाङले संसदीय दलको नेता बन्ने तयारी गरिरहेका छन् र पार्टीभित्र नयाँ पुस्तासँग जोड्न र पुरानो पुस्ताको योगदानलाई खेर जान नदिन दबाब बढेको छ।

५ चैत, काठमाडौं। पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित प्रत्यक्षतर्फका सबै पदाधिकारी पराजित हुँदा नेकपा एमालेका केही युवा नेताले निर्वाचन जितेका छन्।

निर्वाचन जित्नेमध्ये पनि सबैभन्दा कान्छा छन्- सुहाङ नेम्वाङ।

इलाम-२ बाट दोहोरिएर निर्वाचित सुहाङ ३६ वर्षका छन्। संविधानसभाका अध्यक्ष एवं एमालेका तत्कालीन उपाध्यक्ष सुवास नेम्वाङको निधनपछि २०८१ वैशाखमा सम्पन्न उपनिर्वाचनमा सुहाङ पहिलोपटक प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए।

तर जेनजी आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रमका कारण उनले उपनिर्वाचनपछिको बाँकी पूरा अवधि पनि सांसद रहन पाएनन्। सुहाङ सांसद बनेको १६ महिनाभित्रै गत २३ भदौमा जेनजी आन्दोलन भयो, प्रतिनिधिसभा विघटन गरियो।

२१ फागुनको प्रतिनिधिसभा निर्वाचन एमालेका निम्ति संसदीय इतिहासकै प्रतिकूल बन्यो। रास्वपाले दुई तिहाइ नजिकको एकल जित निकाल्दा प्रत्यक्षतर्फ ९ र समानुपातिकतर्फ १६ गरी एमाले जम्मा २५ सिटको शक्तिमा खुम्चियो।

४९ जना उम्मेदवारले जमानत नै जोगाउन नसकेको एमालेमा तुलनात्मक रूपमा राम्रो मत ल्याउने उम्मेदवार र निर्वाचन क्षेत्रहरूको विश्लेषण भइरहेको छ। ‘हार्न त हारियो, तर भोलिको योजना बनाउन पनि नतिजाहरूको एकीकृत विश्लेषण गर्ने काम भइरहेको छ,’ एक नेताले भने।

ती नेताका अनुसार, अधिकांश क्षेत्रको नतिजा सन्तोष मान्न सकिने छैन। तर जित्नेहरूमध्ये भने उनै सुहाङ नेम्वाङको जित तुलनात्मक रूपमा सहज देखिन्छ। यद्यपि धेरै मत ल्याउने उम्मेदवार भने बाँके-२ बाट निर्वाचित मोहम्मद इस्तियाक राई छन्।

इस्तियाकले २४ हजार ६२८ मत ल्याएर जित्दा उनका निकटतम प्रतिद्वन्द्वी रास्वपाका विवेककुमार श्रेष्ठले १८ हजार ६८२ मत पाएका छन्। मतान्तर ५ हजार ९४६ छ।

दोस्रो धेरै मत सुहाङले नै पाएका छन्। २२ हजार ४२६ मत ल्याएर सुहाङले जित्दा निकटतम प्रतिद्वन्द्वी कांग्रेसका भेषराज आचार्यले १४ हजार ६५० मत मात्र पाएका छन्। मतान्तर ७ हजार ७७६ छ ।

अर्थात्, एमालेभित्र निर्वाचित हुने ९ जनामध्ये पनि सहज जित निकाल्ने नेता हुन्, सुहाङ। पदाधिकारीहरूकै पराजयमा मतान्तरको कीर्तिमान बन्दा सुहाङले तुलनात्मक रूपमा सहज जित निकालेकाले उनको आकर्षण पार्टीभित्र र बाहिर बढेको देखिन्छ।

इलाम-२ को उपनिर्वाचनमा निर्वाचित भएपछि सुहाङलाई बधाइ दिने क्रममा एमाले अध्यक्ष केपी शर्मा ओली ।

‘राजनीतिमा जस्तो लहर चलेको छ र सुहाङले तुलनात्मक रूपमा सहज जित निकालेकाले पनि थप आकर्षण बढेको हुन सक्छ,’ एमालेका एक पदाधिकारी भन्छन्, ‘उनको जितले पार्टीभित्र युवाहरूमा आशाको सन्देश नै गएको छ।’

नेताहरूका अनुसार, सुहाङले पनि आफूले पाएको अवसरलाई पार्टीभित्र पुस्तान्तरण र रूपान्तरणका निम्ति उपयोग गर्नेगरी तयारी बढाएका छन्। ‘पार्टी सङ्कटमा पर्दा पनि सजिलै जितेका सुहाङलाई युवा पुस्ताले रुचाएका छन्,’ एमालेका एक नेता भन्छन्, ‘अब एमालेलाई नयाँ पुस्तासँग जोड्न र पुरानो पुस्ताको योगदानलाई खेर जान नदिन सुहाङले संसदीय दलको नेता बन्नुपर्छ भन्ने दबाब बढ्दो छ। यो कुरा सुहाङले पनि अनुभूति गरेको हुनुपर्छ।’

उनका अनुसार सुहाङले निकटस्थहरूबीच दलको नेता बन्नेबारे छलफल थालिसकेका छन्। ‘अहिलेकै एमाले समीकरणमा सुहाङ दलको नेता बन्न सजिलो छैन। तर अग्रसरता लिइसकेका छन्,’ उनी भन्छन्।

एमाले सचिव पद्मा अर्याल संसदीय दलको नेताबारे पार्टीभित्र छलफल नै सुरु नभएको बताउँछिन्। ‘समानुपातिक सांसदहरूले प्रमाणपत्र बुझ्ने काम बल्ल भएको छ। १६ गते शपथको चर्चा छ,’ अर्याल भन्छिन्, ‘शपथपछि बल्ल दलको नेताको कुरा होला।’

विधि र परम्पराबमोजिम नै दलको नेता चयन हुन सक्ने उनी बताउँछिन्। अर्यालको तर्कबमोजिम समानुपातिक सांसद बनेका पार्टी उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ सम्भवतः एमाले संसदीय दलको नेता बन्न सक्छन्। त्यसपछि उनै अर्याल, पूर्वउपाध्यक्ष गुरु बराल अथवा लेखा आयोगका अध्यक्ष पुष्प कँडेल सिनियर नेताका हैसियतमा दलको नेता बन्न सक्छन्।

तर उच्च भूमिकामा भएर पनि सांसद पद सुरक्षित गर्न समानुपातिक कोटा रोजेका यी नेताहरूलाई दलको नेता मानेर जाँदा एमालेको आकर्षण नबढ्ने निष्कर्षमा एमालेभित्र ठूलै पङ्क्ति देखिन्छ। तिनै पङ्क्तिको साथ लिएर सुहाङ दलको नेता बन्न चाहन्छन्।

‘पुरानो पुस्ताको योगदानलाई बुझ्न सक्ने र नवयुवाहरूमा आकर्षण ल्याउन सक्ने पात्रका रूपमा परिस्थितिले मलाई उभ्याएको छ,’ सुहाङले निकटस्थ नेताहरूसँग भन्ने गरेका छन्, ‘यो निर्वाचनको सन्देशलाई सम्मान गर्न पनि मलाई दलको नेता बन्न सहयोग गर्नुपर्‍यो।’

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?