News Summary
Generated by OK AI. Editorially reviewed.- महान्यायाधिवक्ता सविता भण्डारीले महिलाहरू उच्च पदमा पुग्दा महिलाबाटै विरोध हुने भन्दै एकअर्काको वकालत गर्ने संस्कार बसाल्न आग्रह गरेकी छिन्।
- भण्डारीले न्यायपालिकामा महिला नेतृत्व पाउने आशा व्यक्त गर्दै वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल भोलि प्रधानन्यायाधीश हुनेमा विश्वस्त रहेको बताइन्।
- उनले महिला कानून व्यवसायीलाई समाज परिवर्तनका संवाहक र अधिकार संरक्षणमा निर्णायक भूमिका हुने उल्लेख गरिन्।
६ चैत, काठमाडौं । महान्यायाधिवक्ता सविता भण्डारीले महिलाहरू उच्च पदमा पुग्दा महिलाहरूबाटै विरोध हुने गरेको भन्दै त्यसको सट्टा एक–अर्काको वकालत गर्ने संस्कार बसाल्न आग्रह गरेकी छिन् ।
शुक्रबार भक्तपुरमा नेपाल बारले आयोजना गरेको कानून व्यवसायी महिलाहरूको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले आगामी दिनमा न्यायपालिकामा महिला नेतृत्व पाउने आशा व्यक्त गरिन् ।
सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल भोलिको प्रधानन्यायाधीश हुनेमा आफू विश्वस्त रहेको पनि उनको भनाइ छ ।
‘हाम्रा वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल भोलिको प्रधानन्यायाधीश हुनुहुन्छ भन्ने विश्वस्त पनि छौं । तर यसरी माथिल्लो पदमा कुनै महिला पुग्दाखेरि हामीले उहाँहरूका वकालत गर्ने हामीले बानी बसाल्नुपर्छ,’ भण्डारीले भनिन् ।
महान्यायाधिवक्ता भण्डारीले कानुन व्यवसायी महिलाहरू केवल पेशागत भुमिकामा मात्र सिमित नभई समाज परिवर्तनका वास्तविक संवाहक भएको बताइन् ।
महिला, बालबालिका, दलित, आदिवासी जनजाति र सीमान्तकृत समुदायको अधिकार संरक्षणमा महिला कानून व्यवसायीको भुमिका निर्णायक हुने उनले उल्लेख गरिन् ।
‘जब म महान्यायाधिवक्ताको पदमा मेरो मनोनयन भयो त्यही बेला मलाई केही पत्रकार मित्रहरूले मलाई प्रश्न गर्नुभयो । होइन, तपाईंको विरोध गर्ने त किन महिलाहरूले बढी देखिए ? मैले भनें सायद हामीले हाम्रा वकालत गर्नै जानेनौं,’ उनले भनेकी छिन्, ‘हामी महिला त भयौं तर महिलाको वकालत गर्न हामीले जानेनौं । सायद त्यसले गर्दाखेरि पनि ती प्रश्नहरू हामीप्रति बारम्बार आइराखे । त्यसैले म यहाँहरू समक्ष एउटा अनुरोध पनि गर्न चाहन्छु आगामी दिनमा न्यायपालिकामा पनि हामीले एउटा महिला नेतृत्व पाउने आश गरेका छौं ।’
प्रतिक्रिया 4