News Summary
Generated by OK AI. Editorially reviewed.- जापानले महिला एसियन कप फुटबल २०२६ को फाइनलमा आयोजक अस्ट्रेलियालाई १–० गोलले पराजित गर्दै तेस्रो पटक उपाधि जितेको छ।
- माइका हमानोले पहिलो हाफमै १८ मिटर टाढाबाट गरेको गोल निर्णायक बनेको थियो।
- जापानले नयाँ प्रशिक्षक निल्सनको नेतृत्वमा पहिलो उपाधि जितेको हो भने अस्ट्रेलिया तेस्रोपटक फाइनलमा जापानसँग पराजित भएको छ।
७ चैत, काठमाडौं । जापानले महिला एसियन कप फुटबल २०२६ को उपाधि जितेको छ। फाइनलमा आयोजक अस्ट्रेलियालाई १–० गोलले पराजित गर्दै जापानले तेस्रो पटक उपाधि हात पारेको हो।
सिड्नीमा भएको खेलमा पहिलो हाफमै माइका हमानोले उत्कृष्ट गोल गर्दै जापानलाई अग्रता दिलाएकी थिइन्। करिब १८ मिटर टाढाबाट गरेको उनको प्रहार निर्णायक बन्यो।
जापानले प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्दै २९ गोल गरेको थियो भने मात्र २ गोल खाएको थियो। यससँगै जापानले नयाँ प्रशिक्षक निल्स निल्सनको नेतृत्वमा पहिलो उपाधि जितेको हो।
अस्ट्रेलिया भने तेस्रोपटक फाइनलमा जापानसँगै पराजित भएको छ। यसअघि सन् २०१४ र २०१८ मा पनि अस्ट्रेलिया जापानसँग नै पराजित भएको थियो।
घरेलु भूमिमा पराजित भएपछि अस्ट्रेलियाली खेलाडीहरू स्तब्ध देखिएका थिए ।
जापानका प्रशिक्षक निल्सनले जितपछि राहत महसुस भएको बताएका छन्। उनले खेल ५०–५० को रहेको र आफूले अनुमान गरेजस्तै भएको बताए।
‘अस्ट्रेलियामा अस्ट्रेलियाविरुद्ध खेल्न निकै कठिन हुन्छ, तर टोलीले राम्रो प्रदर्शन गर्यो, केही अवसरमा हामी भाग्यमानी पनि भयौं’ उनले भने ।
उनले दर्शकको दबाब पनि चुनौतीपूर्ण रहेको बताए। ‘यस्तो उत्साही समर्थकबीच खेल्न गाह्रो हुन्छ। हामीले सानो गल्ती गर्दा पनि दर्शकको प्रतिक्रिया ठूलो हुन्थ्यो’ उनले भने, ‘अवसर सिर्जना गर्न गाह्रो भयो, यसमा हामीले अझ काम गर्नुपर्छ।’
यद्यपी उनले टोलीप्रति गर्व व्यक्त गर्दै अहिले उत्सव मनाउने समय भएको बताए। ‘आज म धेरै विश्लेषण गर्न चाहन्न। अहिले रमाउने समय हो। यो जापानको तेस्रो उपाधि हो, हामीले ६ खेल जित्यौं, त्यसैले ट्रफी जित्नु उचित नै हो’ उनले भने।
प्रतिक्रिया 4