News Summary
Generated by OK AI. Editorially reviewed.- पोखरामा सातौं एसिया कप ट्रायथलन र १४औं साउथ एसिया ट्रायथलन च्याम्पियनसिप सफलतापूर्वक सम्पन्न भएको छ।
- एसिया कप ट्रायथलनमा पुरुषतर्फ जापानका हुकुतो ओवाराले र महिलातर्फ सारिका नाकायामाले स्वर्ण जितेका छन्।
- साउथ एसिया ट्रायथलनमा पुरुषतर्फ भारतका याजात कन्दन्दा र महिलातर्फ डोली देवीदास पाटिलले पहिलो स्थान हासिल गरेका छन्।
७ चैत, काठमाडौं । नेपाल ट्रायथलन संघको आयोजनामा पोखरामा शनिबार सातौं एसिया कप ट्रायथलन तथा १४औं साउथ एसिया ट्रायथलन च्याम्पियनसिप सफलतापूर्वक सम्पन्न भएको छ।
प्रतियोगिताले अन्तर्राष्ट्रिय खेलकुद क्षेत्रमा नेपालको प्रतिष्ठा अझ उचो बनाएको संघले जनाएको छ। प्रतियोगितामा विभिन्न देशका उत्कृष्ट खेलाडीहरूको सहभागिता रहेको थियो।
नेपालसहित जापान, स्लोभाकिया, उज्वेकिस्तान, दक्षिण कोरिया, सिङ्गापुर, ओमान, इस्टोनिया र भारतका गरी ४१ खेलाडीले प्रतिस्पर्धा गरेका थिए।
एसिया कप ट्रायथलनमा पुरुषतर्फ जापानका हुकुतो ओवाराले ५४ मिनेट ३० सेकेन्डमा पहिलो स्थान हासिल गरे। मित्सुहो मुचीजुकी (जापान) दोस्रो र उज्वेकिस्तानका आलेक्जेन्डर कुरीशोभ तेस्रो भए।
महिलातर्फ जापानकी सारिका नाकायामाले १ घण्टा १६ सेकेन्डमा स्वर्ण जितिन्। उज्वेकिस्तानकी अलिना खाकीमोभा दोस्रो र जापानकी मिनोरी इकोना तेस्रो भइन्।
शीर्ष पाँच स्थानमा रहने खेलाडीहरूले क्रमशः ६३०, ५२५, ४२९, ३१५ र २१० अमेरिकी डलर नगदसहित पदक र प्रमाणपत्र प्राप्त गरे।
यस्तै साउथ एसिया ट्रायथलन च्याम्पियनसिपमा पुरुषतर्फ भारतका याजात कन्दन्दा पहिलो, खुन्द्राकपाम मेतेई दोस्रो र नेपालका मौलिक महर्जन तेस्रो भए।
महिलातर्फ भारतकी डोली देवीदास पाटिल पहिलो, मान्सी मोहती दोस्रो र नेपालकी युस्का महर्जन तेस्रो भइन्।
संघले प्रतियोगिता सफल बनाउन सहयोग गर्ने सबै निकाय, प्रायोजक, स्वयंसेवक, सुरक्षा निकाय, सञ्चारकर्मी तथा दर्शकप्रति आभार व्यक्त गरेको छ।
गण्डकी प्रदेश सरकार, राष्ट्रिय खेलकुद परिषद, पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको सहयोगलाई विशेष धन्यवाद दिइएको छ।
संघका अध्यक्ष निलेन्द्रराज श्रेष्ठले आगामी दिनमा पनि यस्ता अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्दै नेपाललाई खेलकुद पर्यटनको केन्द्रका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
प्रतिक्रिया 4