+
+
Shares

नेपाली युवाले ल्याए ‘ल बसम’ राइड सेयरिङ एप

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ९ गते ७:५१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली युवाहरूको पहलमा तयार पारिएको राइड–सेयरिङ एप 'ल बसम' काठमाडौं उपत्यकामा औपचारिक रूपमा सञ्चालनमा आएको छ।
  • कम्पनीले छिट्टै पोखरा, बुटवल, विराटनगर र चितवनमा सेवा विस्तार गर्ने र निकट भविष्यमा फुड डेलिभरी सेवा सञ्चालन गर्ने योजना बनाएको छ।
  • 'ल बसम' मा महिला यात्रीका लागि महिला चालक छनोट गर्न सकिने 'पिंक मोड' फिचर र दुर्घटना बीमाको व्यवस्था गरिएको छ।

९ चैत, काठमाडौं । नेपाली युवाहरूको पहल, सीप र स्वदेशी लगानीमा तयार पारिएको नयाँ राइड–सेयरिङ एप ‘ल बसम’ (La Basam) औपचारिक रूपमा सञ्चालनमा आएको छ । ‘हामी सबै सँगै बसौं र यात्रा गरौं’ भन्ने मूल नारासहित सुरु गरिएको यो प्लेटफर्मले नेपालमै विकसित प्रविधिको प्रयोगमार्फत आत्मनिर्भरतातर्फको नयाँ संकेत दिएको छ ।

कम्पनीले आइतबार पत्रकार सम्मेलन गर्दै राइड–सेयरिङ एप सार्वजनिक गरेको हो ।

काठमाडौंको तारकेश्वर– ८, शेषमतिमा कार्यालय रहेको ‘ल बसम’ हाल काठमाडौँ उपत्यकामा मात्र सेवा सुरु गरेको छ । छिट्टै पोखरा, बुटवल, विराटनगर र चितवन जस्ता प्रमुख सहरहरूमा सेवा विस्तार गर्ने लक्ष्य राखेको छ । साथै, निकट भविष्यमा फुड डेलिभरी सेवा समेत सञ्चालनमा ल्याउने तयारी भइरहेको कम्पनीले जनाएको छ ।

सुरुआती चरणमा राइड सेयरिङका चालकहरुलाई कुनै सेवा शुल्क नलाग्ने गरी प्रयोग गर्न छुट दिइएको कम्पनीले जनाएको छ ।

स्वदेशी विकल्पको उदय

कम्पनीका सञ्चालकहरूले सुरुवाती चरणमा विदेशी राइड–सेयरिङ एपहरूको आवश्यकता रहेता पनि अब स्वदेशी प्लेटफर्म सञ्चालनमा आउनु महत्वपूर्ण उपलब्धि भएको बताए । कम्पनीका सञ्चालक विष्णुराज गिरीले सबै सुविधासहितको नेपाली राइड सेयरिङ आइसकेकाले अब अन्य राइड सेयरिङतिर झुकाव राखिरहनु नपर्ने बताए । उनले विदेशी एपमार्फत ठूलो नेपाली रकम बाहिरिएको र त्यसले अर्थतन्त्रमा असर पारेको उल्लेख गर्दै ‘ल बसम’ ले त्यसलाई न्यूनीकरण गर्न सहयोग गर्ने विश्वास व्यक्त गरे ।

कम्पनी सञ्चालकहरुको भनाइमा, ‘ल बसम’ केवल सेवा होइन, नेपाली प्रविधि, सीप र श्रमलाई एकीकृत गर्दै देशभित्रै आर्थिक मूल्य सिर्जना गर्ने अभियान हो ।

कम्पनीका अनुसार प्लेटफर्मको मुख्य लक्ष्य नेपालको यातायात प्रणालीलाई सुरक्षित, मर्यादित र प्रविधिमैत्री बनाउनु हो । पारदर्शिता र उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै प्रयोगकर्तामा विश्वास निर्माण गर्ने रणनीति अपनाइएको कम्पनीले जनाएको छ ।

सुरुमा काठमाडौं उपत्यकामा सुरुआत गरिएको ‘ल बसम’ राइड सेयरिङ देशका अन्य मुख्य शहरहरुमा पनि विस्तार गर्ने योजना बनाइएको कम्पनीका अर्का सञ्चालक सिताराम अधिकारीले जानकारी दिए । उनले भने, ‘तत्कालका लागि ल बसम राइड सेयरिङ हामीले काठमाडौँ उपत्यकामा सेवा सुरु गरेका छौं । छिट्टै पोखरा, बुटवल, विराटनगर र चितवन जस्ता प्रमुख सहरहरूमा पनि सेवा विस्तार गर्ने लक्ष्य राखेका छौं ।’ कम्पनीले निकट भविष्यमा फुड डेलिभरी सेवा समेत सञ्चालनमा ल्याउने तयारी गरेको सञ्चालक अधिकारीले बताए ।

उनका अनुसार हाल २५० भन्दा बढी चालकहरु जोडिएका छन् । यो एप प्लेस्टोर र एपस्टोर दुवैमा उपलब्ध रहेको छ ।

महिला यात्रीका लागि ‘पिंक मोड’

‘ल बसम’ ले चालकलाई केवल ड्राइभर नभई साझेदार को रूपमा लिने अवधारणा अघि सारेको छ । कम्पनीका अनुसार चालकहरूको सम्मान र उचित अवसर सुनिश्चित गरिनेछ । त्यस्तै, यात्रुहरूलाई पनि ग्राहक मात्र नभई समुदायका सदस्यका रूपमा लिइनेछ । कम्पनीले चालक र यात्रुलाई प्लेटफर्मका ‘अभिभावक’ वा ‘परिवार’ को रूपमा परिभाषित गरेको छ ।

महिला यात्रीहरूको सुरक्षालाई मध्यनजर गर्दै ‘पिंक मोड’ फिचर ल्याइएको छ, जसअन्तर्गत महिला यात्रीले महिला चालक नै छनोट गर्न सक्नेछन् । यसले महिला सशक्तीकरण र रोजगारीमा समेत टेवा पुर्‍याउने कम्पनीको विश्वास छ

यात्री र चालक दुवैका लागि दुर्घटना बीमाको व्यवस्था गरिएको छ । यात्रुले राइड बुक गर्नुअघि नै अनुमानित भाडा देख्न पाउनेछन् । साथै, यात्रुले आफ्नो बजेटअनुसार भाडा प्रस्ताव गर्न सक्ने र चालकले त्यसलाई स्वीकार वा अस्वीकार गर्न सक्ने सुविधा पनि रहेको छ ।

प्रत्येक यात्रापछि यात्री र चालक दुवैले डिजिटल कुपन प्राप्त गर्नेछन् । पछि लक्की ड्रमार्फत नगद, स्मार्टफोन र अन्य ग्याजेटहरू जित्न सकिने कम्पनीले जनाएको छ ।

कम्पनीले सुरक्षाका लागि प्रत्येक चालकको प्रमाणीकरणका लागि लाइसेन्स, ब्लु बुक र सवारीसाधनको फोटो अनिवार्य गरेको छ । रियल–टाइम लाइभ ट्रयाकिङ र आपतकालीन अवस्थाका लागि एसओएस बटनको व्यवस्था गरेको जनाएको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?