+
+
Shares

सिरहा गोलीकाण्ड : झण्डै दुई महिनासम्म पनि पत्ता लागेन हत्यारा, न्यायको पर्खाइमा पीडित परिवार

सिरहामा माघ १६ गते प्रेमनाथ यादवलाई गोली हानी हत्या भएको करिब दुई महिना बितिसक्दा पनि प्रहरीले दोषी पक्राउ गर्न सकेको छैन।

सुरेश राय सुरेश राय
२०८२ चैत ९ गते ९:५०

९ चैत, सिरहा । सिरहामा एक व्यक्तिको गोली हानी हत्या भएको करिब दुई महिना बितिसक्दा पनि प्रहरीले दोषी पक्राउ गर्न सकेको छैन । सिरहा नगरपालिका–१ का अन्दाजी ४५ वर्षीय प्रेमनाथ यादवको माघ १६ गते सिरहा नगरपालिका–७ स्थित मैनाबत्ती खोला किनारमा ट्याक्टरले खेत जोतिरहेका बेला गोली प्रहार गरी हत्या भएको थियो ।

मृतकका भाइ अभयनाथ यादवका अनुसार घटनाका बेला रामबिलास यादव र रामप्रसाद महरा प्रत्यक्षदर्शी रहेकाले उनीहरुलाई नियन्त्रणमा लिएर प्रहरीले सोधपुछ गरेको थियो । २३ दिनपछि दुवै जना रिहा भएका थिए । तर प्रहरीले हत्यामा संलग्न व्यक्ति पहिचान गर्न सकेको छैन ।

मृतकका भाइ अभयनाथ भन्छन्, ‘प्रहरीले घटनाको अनुसन्धान भइरहेको छ भन्छ तर अहिलेसम्म ठोस प्रगति देखिएको छैन ।’ हत्यामा संलग्नलाई कारबाही र परिवारलाई न्यायको अनुभूति दिलाउनुपर्ने उनले माग गरे ।

मृतक प्रेमनाथका १७ र १४ वर्षका दुई छोरा छन् । बुवाको निधनपछि उनीहरूको भविष्य अन्योलमा पर्ने चिन्ता छ । कक्षा १० मा अध्ययनरत जेठो छोरा रामजन्म भन्छन्, ‘हाम्रो सबै सहारा बुवा हुनुहुन्थ्यो, बुवा नै नरहेपछि अब हाम्रो भविष्य के हुन्छ भन्ने चिन्ता लागेको छ ।’

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी बासुदेव पाठकले घटनाको सक्रिय अनुसन्धान जारी रहेको बताए । प्रारम्भिक चरणमा प्रत्यक्षदर्शीका रूपमा दुई जनालाई सोधपुछका लागि ल्याइएको र बयान लिएपछि छाडिएको उनले जानकारी दिए । उनका अनुसार साथै हालसम्म १४ जनालाई अनुसन्धानको दायरामा ल्याइएको र आवश्यक कागजी प्रक्रिया पूरा गरी छाडिएको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) सँग पनि अनुसन्धानमा समन्वय भइरहेको उनले बताए ।

एसपी पाठकका अनुसार प्रत्यक्षदर्शी दुई जनालाई प्रारम्भिक चरणमा अनुसन्धानका लागि ल्याउँदा उनीहरूले केही खुलाउन चाहेका थिएनन् । तर अनुसन्धान अगाडि बढ्दै जाँदा ती दुई जनाबाट केही महत्वपूर्ण सूचना प्राप्त भएको छ । त्यसपछि उनीहरूलाई साधारण तारिखमा छाडिएको उनले बताए । उनका अनुसार अनुसन्धानको क्रममा ल्याइएका सबै व्यक्तिहरूलाई प्रहरीको निगरानीमै राखिएको छ र आवश्यक परे जुनसुकै बेला पुन: नियन्त्रणमा लिन सकिनेछ ।

तर प्रत्यक्षदर्शी स्वयंले नै घटना गरेको हो वा होइन भन्ने कुरा हालसम्म स्पष्ट हुन नसकेको उनको भनाइ छ । यद्यपि पीडित पक्षले छिट्टै न्याय पाउँछ भन्नेमा ढुक्क रहन उनले आग्रह गरे । ५२ दिन बितिसक्दा पनि हत्यारा पक्राउ किन हुन सकेन भन्ने प्रश्नमा एसपी पाठकले भने, ‘अनुसन्धानका क्रममा कहिलेकाहीँ ढिलाइ हुन सक्छ, अन्तत: दोषी पक्राउ पर्नेमा विश्वस्त रहन अनुरोध गर्दछु ।’

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
लेखक
सुरेश राय

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?