+
+
Shares
अलबिदा केशव आचार्य :

जो वृद्ध भत्ता र ‘आफ्नो गाउँ आफैं बनाऊँ’ का एक परिकल्पनाकार थिए

अधिकांश समय राष्ट्र बैंकको दिमाग मानिने आर्थिक अनुसन्धान विभागमा रहेर काम गरेका आचार्य २०५१ सालमै मनमोहन अधिकारी नेतृत्वको सरकारमा अर्थ मन्त्रालयका प्रमुख आर्थिक सल्लाहकार बनेर काम गरेका थिए।

जनार्दन बराल जनार्दन बराल
२०८२ चैत ९ गते २२:०७

९ चैत, काठमाडौं । नेपाली जनतामाझ परिचित एक अर्थशास्त्री केशव आचार्यको सोमबार निधन भएको छ । जटिल आर्थिक विषय सरल भाषामा जनतालाई बुझाउन सक्ने भएकाले आचार्यको नाम धेरैमाझ भिजेको छ ।

त्यसभन्दा पनि महत्त्वपूर्ण चाहिँ– आचार्यसमेतको टिमले परिकल्पना गरेका दुई नीति छन्, जसले नेपालको अर्थतन्त्र र जनजीविकाले सधैं सम्झिरहनेछ ।

२०५१ सालमा एमालेले ९ महिने अल्पमतको सरकार बनाउँदा सरकारको आर्थिक नीतिमा काम गर्ने प्रमुख तीन अर्थशास्त्री थिए– डा. डिल्लीराज खनाल, केशव आचार्य र डा. गोविन्दबहादुर थापा । मनमोहन अधिकारी प्रधानमन्त्री र भरतमोहन अधिकारी अर्थमन्त्री भएको सो सरकारले ‘आफ्नो गाउँ आफैं बनाऊँ’ भन्ने नाराका साथ तत्कालीन स्थानीय निकाहरूमा सिधै बजेट पठाउने नीति शुरु गरेको थियो ।

त्यही सरकारले ७५ वर्षभन्दा बढी उमेरका वृद्धवृद्धालाई वृद्धभत्ता उपलब्ध गराउन थालेको थियो । शुरुमा अर्थ मन्त्रालयको विज्ञ टिममा बसेर काम गरेका आचार्यले यी नीतिहरू बनाउन महत्त्वपूर्ण योगदान गरेको त्यसबेलाका राष्ट्रिय योजना आयोगका सदस्य तथा अर्थ मन्त्रालयका प्रमुख आर्थिक सल्लाहकार डा. खनाल बताउँछन् ।

‘शुरुमा म मन्त्रालयको प्रमुख आर्थिक सल्लाहकार थिएँ, म योजना आयोगमा गएपछि केशवजी त्यो पदमा आउनुभयो । त्यसबेलाको बजेट निर्माण गर्ने तथा यी नीतिहरू ल्याउने काम हामीले मिलेर गरेका हौं,’ उनी भन्छन् ।

त्यसबेला आफूहरूको टिमले सरकारको दीर्घकालीन दूरदृष्टि (भिजन) पनि बनाएको डा. खनाल सम्झन्छन् । नेपाल राष्ट्र बैंकको नोकरीमा रहंदैको अवस्थामा आचार्यले सरकारको नीति निर्माणमा सहयोग गरेको खनालको भनाइ छ ।

हुन पनि आचार्यले तीन दशकभन्दा बढी नेपाल राष्ट्र बैंकमा बिताए । २०१० साल मंसिर १ गते सिन्धुलीको बोहोरेटारमा जन्मिएका आचार्य २०३४ सालमा खुला प्रतिस्पर्धाबाट राष्ट्र बैंकको अधिकृत हुँदै सरकारी सेवामा प्रवेश गरेका थिए । त्यसपछिको अधिकांश समय राष्ट्र बैंकको दिमाग मानिने आर्थिक अनुसन्धान विभागमा रहेर उनले काम गरेका थिए । २०५८ सालमा उनी नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक बनेका थिए भने २०६५ सालमा केन्द्रीय बैंकको सेवाबाट निवृत्त भएका थिए ।

त्रिवि र युनिभर्सिटी अफ फिलिपिन्सबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेका आचार्यले बेलायतबाट फाइनान्सियल स्टडिजमा एमएस्सी गरेका थिए ।

लामो समयसम्म अनुसन्धान विभागलाई नेपाल राष्ट्र बैंकको सबैभन्दा आकर्षक विभाग मानिथ्यो । ‘राष्ट्र बैंकमा रहँदा केही समय अन्य विभागमा काम गर्नुभयो हो, अधिकांश समय उहाँले अनुसन्धान विभागमै बस्नुभयो,’ आचार्यका सहकर्मी तथा पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्री बताउँछन् ।

राष्ट्र बैंकका एकदमै थोरै मात्रै कर्मचारी जसको उपत्यकाबाहिर सरुवा भएन, तिनमा आचार्य पर्ने उनको भनाइ छ । ‘उहाँले काठमाडौंमै बस्छु भनेर सोर्सफोर्स लाएर होइन, बैंकले नै उहाँको आवश्यकता केन्द्रीय कार्यालयमै छ भन्ने महसुस गरेर उहाँलाई अन्त पठाएन,’ उनी भन्छन् ।

विश्व अर्थतन्त्रका बारेमा अत्यन्तै अद्यावधिक ज्ञान राख्ने र कुनै महत्त्वपूर्ण विषय आए भने राष्ट्र बैंकमा छलफलमा ल्याइहाल्ने उनको बानी रहेको क्षेत्री बताउँछन् ।

उनले नेपाल सरकारको प्रमुख आर्थिक सल्लाहकारका रुपमा, अन्तर्राष्ट्रिय मुद्रा कोषको सल्लाहकारका रुपमा पनि महत्त्वपूर्ण योगदान गरेको उनी बताउँछन् । दीर्घकालीन कृषि विकास रणनीतिको समष्टीगत खण्ड लेख्ने काम आचार्यले नै गरेको क्षेत्रीले जानकारी दिए ।

‘एमालेको पहिलो सरकार बन्दा अर्थशास्त्रीहरूको कोर टिममा उहाँ हुनुहुन्थ्यो, वृद्धभत्ता तथा आफ्नो गाउँ आफैं बनाऊँ’ भन्ने दुई महत्त्वपूर्ण नीति कार्यान्वयन गर्नमा उहाँको ठूलो योगदान छ,’ उनी भन्छन् ।

अर्थशास्त्रमा अत्यन्तै बलियो पकड, मिलनसार र विनयी स्वभावका कारण आचार्य धेरैको मनमा बसिरहेको उनको भनाइ छ ।

‘उहाँले एमाले सरकारको आर्थिक विज्ञको टिममा बसेर काम गरे पनि प्रतिबद्ध कार्यकर्ता भने होइन,’ क्षेत्र बताउँछन् ।

आचार्यले २०५१ पछि २०६६ सालमा सुरेन्द्र पाण्डे अर्थमन्त्री र माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा प्रमुख आर्थिक सल्लाहकारको रूपमा काम गरे । त्यसबेलाका अर्थमन्त्री पाण्डे पनि आचार्यलाई कुनै राजनीतिक सिद्धान्तप्रति प्रतिबद्ध भन्दा पनि व्यावहारिक र यथार्थवादी अर्थशास्त्रीका रुपमा सम्झन्छन् ।

‘कलेज पढ्दै प्रगतिशील अभियान प्रति रुची भएकाले हुनसक्छ, उहाँले एमाले सरकार रहँदा विज्ञका रुपमा योगदान गर्नुभयो । तर, उहाँ एमालेको कार्यकर्ता होइन,’ पाण्डे भन्छन्, ‘नेपाल राष्ट्रबैंकको वरिष्ठ कर्मचारी भएकाले पनि उहाँ पार्टीको संगठनमा बस्न मिल्दैनथ्यो । तर, त्यस्तो संगठनमा बस्ने खालको मान्छे पनि उहाँ होइन ।’

कम्युनिष्ट सरकारका आर्थिक सल्लाहकार भएर पटकपटक काम गरे पनि आचार्यले सधैं आर्थिक सुधारका एजेन्डा उठाइरहे ।

आफूसँग काम गर्दा आचार्यले कहिल्यै पनि राजनीतिक वादका कुरा नगरेका पाण्डे सम्झन्छन् । ‘कतिपय मान्छे सिद्धान्तका ठूलाठूला कुरा गर्ने तर काम नगर्ने, नीति कार्यान्वयन गर्न नसक्ने खालका हुन्छन् तर उहाँ सिद्धान्तलाई पचाएर त्यसलाई नीतिमा ढाल्ने र कार्यान्वयन गर्नसक्ने अर्थशास्त्री हुनुहुन्थ्यो,’ पाण्डे भन्छन् ।

आफू अर्थमन्त्री हुँदा कार्यान्वयन गरेका प्रमुख नीतिहरू सामाजिक सुरक्षा, स्वास्थ्य बीमा, तेस्रो पक्षबीमा, माथिल्लो तामाकोशीमा लगानी, ढल्केबर–मुजफ्फरपुर क्रसबोर्डर प्रसारण लाइनलगायत अघि बढाउन आचार्यको ठूलो योगदान रहेको उनको भनाइ छ ।

‘आर्थिक कारोबारमा अत्यन्तै इमानदार हुनुहुन्थ्यो, त्यही भएर उहाँले सही सल्लाह दिनुहुन्थ्यो, हामीले लागू गर्न खोजेका योजनालाई एकदमै राम्रो पृष्ठपोषण उहाँको रहने गर्थ्यो,’ पाण्डे भन्छन् ।

आचार्य पूर्वमुख्यसचिव डा. वमल कोइरालाका कलेजका सहपाठी थिए ।

‘विराटनगरको महेन्द्र मोरङ क्याम्पसमा पढ्न जाँदा उनी १५ वर्षका थिए, म १३ वर्षको थिएँ । उनी आर्ट्स पठ्थे, म साइन्स पढ्थेँ । त्यसबेलादेखिको हाम्रो मित्रता अहिलेसम्म कायम रह्यो,’ डा. कोइराला भन्छन् ।

आचार्य एकदमै तीक्ष्ण, सूक्ष्म ढंगले कुरा बुझ्न सक्ने र मिहीन कुरा गर्नसक्ने अर्थशास्त्री भएको कोइराला बताउँछन् । ‘कुनै नकारात्मक भावना थिएन, जहिले पनि कसरी सुधार हुन्छ, कसरी विकास हुन्छ भन्ने कुरा गरिरहन्थे,’ कोइराला भन्छन्, ‘चुनावपछि रास्वपाको बलियो बहुमत आएपछि नयाँ सरकारले नसोचेको सुधार गर्ने उनको विश्वास थियो ।’

अर्थशास्त्र मात्रै होइन, साहित्यमा पनि आचार्यको गहिरो अध्ययन भएको कोइराला बताउँछन् ।

अर्थ मन्त्रालयमा करिब १८ महिना काम गरेपछि आचार्यले आर्थिक नीति पैरवीमा काम गरिरहेका थिए । विभिन्न अध्ययन अनुसन्धान तथा सञ्चार माध्यममा आर्थिक विषयमा आलेखहरू लेखिरहन्थे । नेपाल राष्ट्र बैंकमा हुँदादेखि नै पत्रकारहरूलाई आर्थिक विषयमा सूचना उपलब्ध गराउने मात्रै होइन, प्राविधिक आर्थिक सूचकहरूलाई बुझाइदिने र सरल भाषामा लेख्न प्रोत्साहित गर्ने गर्ने काम उनी गर्थे ।

२०७१ सालमा उनी उच्चस्तरीय कर प्रणाली पुनरावलोकन आयोगको सदस्य भएर पनि काम गरेका थिए । आचार्य २०६९ सालमा स्थापना भएको लक्ष्मी लघुवित्त वित्तीय संस्थाको अध्यक्ष पनि भएका थिए । सो लघुवित्तको अध्यक्षमा उनले २०७८ सालसम्म काम गरेका थिए ।

पछिल्लो समय युकेएड सहयोगको इकोनोमिक पोलिसी इन्क्युबेटरमा उनले काम गरेका थिए ।

सो परियोजनाको टिम लिडर तथा अहिले भारतका लागि नेपाली राजदूत डा. शंकर शर्मा आचार्यलाई दिलको अत्यन्तै सफा, प्रष्ट बोल्ने तथा काममा लगनशील व्यक्तिका रुपमा सम्झन्छन् । ‘कार्यालयमा रमाइलो गरिरहने बानी थियो, उहाँ कार्यालय नआएको दिन खल्लो हुन्थ्यो,’ डा. शर्मा भन्छन् ।

उनले काममा रहँदा राजनीतिक पक्षधरता वा संलग्नताको संकेतसम्म पनि नगरेको डा. शर्मा सम्झन्छन् ।

‘शुरुशुरुमा बाम राजनीतिप्रति झुकाव थियो होला, मनमोहन अधिकारी तथा माधव नेपाल सरकारको टिममै रहेर पनि काम गर्नुभयो । त्यसबेला उहाँसँग काम गर्ने टिम पनि राम्रो थियो,’ डा. शर्मा भन्छन्, ‘तर, पछिल्लो समय उहाँ सुधारको पक्षमा वकालत गर्नुहुन्थ्यो, सरकारले डेलिभरी दिनुपर्छ भन्नुहुन्थ्यो । धेरै आर्थिक कानुन सुधारमा उहाँले योगदान गर्नुभएको छ ।’

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
लेखक
जनार्दन बराल

आर्थिक पत्रकारितामा लामो समयदेखि कलम चलाइरहेका बराल अनलाइनखबरको आर्थिक ब्युरो प्रमुख हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?