+
+
Shares

संगीत सर्जकलाई खेम सेन्चुरीको आग्रह : गीत सिर्जनाअघि स्पष्ट सम्झौता गरौं

उनले संगीत क्षेत्रलाई पूर्ण रूपमा व्यवसायिक ढंगले अघि बढाउनुपर्नेमा जोड दिँदै पर्दा अगाडि र पछाडि काम गर्ने सबैको अधिकार सुरक्षित हुनुपर्ने बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १० गते १३:०१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • संगीतकार खेम सेन्चुरीले सर्जक अधिकारमाथि चुनौती बढ्दै गएको भन्दै गीत सिर्जनाअघि स्पष्ट सम्झौता गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।
  • सेन्चुरीले सर्जकहरूलाई एकजुट भएर बौद्धिक सम्पत्ति, नैतिकता र हकहितको संरक्षणका लागि सम्झौता अनिवार्य गर्न आग्रह गर्नुभएको छ।
  • उनले संगीत क्षेत्रलाई व्यवसायिक बनाउन र सबैको अधिकार सुरक्षित गर्नुपर्नेमा जोड दिँदै सर्जकहरूलाई सचेत हुन आग्रह गर्नुभएको छ।

काठमाडौं । चर्चित संगीतकार तथा गायक खेम सेन्चुरीले पछिल्लो समय सांगीतिक क्षेत्रमा सर्जकको अधिकारमाथि चुनौती बढ्दै गएको भन्दै गीत सिर्जनाअघि स्पष्ट सम्झौता गर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत अहिले देखिएको समस्या आफू मात्रको नभई थुप्रै सर्जकको साझा पीडा भएको उल्लेख गरेका छन् । सेन्चुरीले कतिपय अवस्थामा इज्जत, नैतिकता र समग्र सांगीतिक क्षेत्रको हितका लागि सर्जकहरू मौन बस्न बाध्य भएको उल्लेख गर्दै अब भने यस्तो अवस्थामा चुप लागेर बस्न नहुने बताएका छन् ।

उनका अनुसार यो आवाज लोभ, लालच वा घमण्डबाट नभई नीति, नियम, बराबरी र आत्मसम्मानको पक्षमा उठाइएको हो । उनले सम्पूर्ण सर्जकलाई एकजुट भएर कुनै पनि गीत सिर्जना गर्नु अघि स्पष्ट सम्झौता गर्ने अभ्यास सुरु गर्न आग्रह गरेका छन् ।

सेन्चुरीले गीत चले वा नचले, आम्दानी भए वा नभए पनि बौद्धिक सम्पत्ति, नैतिकता र हकहितको संरक्षणका लागि सम्झौता अनिवार्य भएको बताएका छन् । उनका अनुसार सर्जकलाई ढाल बनाएर अरूले फाइदा उठाउने र पछि उल्टै सर्जकलाई नै प्रश्न गर्ने तथा अधिकार खोस्ने प्रवृत्ति बढ्दो छ, जसलाई अब रोक्न आवश्यक रहेको उनले उल्लेख गरेका छन् ।

उनले संगीत क्षेत्रलाई पूर्ण रूपमा व्यवसायिक ढंगले अघि बढाउनुपर्नेमा जोड दिँदै पर्दा अगाडि र पछाडि काम गर्ने सबैको अधिकार सुरक्षित हुनुपर्ने बताएका छन् । अन्त्यमा उनले सर्जकहरूलाई सचेत हुँदै आफू पनि सुध्रिन र क्षेत्रलाई सुधार्न आग्रह गरेका छन् ।

सेन्चुरी लेख्छन् :

सांगीतिक बजारमा देखिएको समस्या केवल मेरो मात्र होइन । भित्रभित्रै पीडा बोकेर गुम्सिएर बसेका थुप्रै सर्जकहरूको साझा पीडा हो यो । कहिलेकाहीँ कसैको इज्जत, नैतिकता र समग्र सांगीतिक क्षेत्रको हितका लागि आफूलाई त्यागी बनाउनुपर्ने बाध्यता आउँछ । तर अब यस्तो अवस्थामा मौन बसिरहनु उचित देखिँदैन । अब बोल्नैपर्छ । आजका लागि होइन, भोलिका लागि । आफ्नो लागि मात्र होइन, आउने पुस्ताका लागि ।

यो आवाज लोभ, लालच, इष्र्या वा घमण्डबाट होइन नीति, नियम, बराबरी र आत्मसम्मानको पक्षमा उठाइएको हो ।
अब समय आएको छ सम्पूर्ण सर्जकहरू एकजुट भएर कुनै पनि गीत सिर्जना गर्नु अघि स्पष्ट सम्झौता (अग्रिमेन्ट) गर्ने । मैले यो कुरा पटक–पटक उठाउँदै आएको छु, र यसको आवश्यकता झन् बढ्दै गएको छ ।

गीत चलोस् वा नचलोस्, आम्दानी होस् वा नहोस् नैतिकता, बौद्धिक सम्पत्ति र हकहितको रक्षा गर्न यस्तो सम्झौता अत्यन्त आवश्यक छ । किनकि यहाँ सर्जकलाई ढाल बनाएर अरूले फाइदा उठाउने, र पछि उल्टै सर्जकलाई प्रश्न गर्ने तथा उनीहरूको अधिकार खोस्ने प्रवृत्ति अत्यधिक देखिएको छ ।

यो अब रोकिनुपर्छ ढिला भइसकेको छ । अघि पछिको माया, प्रेम र हार्दिकता आफ्नो ठाउँमा छन्, तर अब गीत संगीतलाई पूर्ण रूपमा व्यवसायिक ढंगले अघि बढाउन सक्नुपर्छ । सम्पूर्ण सर्जकज्यूहरूले यस विषयमा गम्भीर ध्यान दिन आवश्यक छ । गीत संगीतको क्षेत्रमा पर्दा अगाडि र पछाडि सबैजना बाँच्न पाउनुपर्छ । सुध्रिनुस्, सुधार्नुस् । धन्यवाद !’

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?