१२ चैत, काठमाडौं । इरानले खाडी क्षेत्रमा युद्ध अन्त्य गर्न अमेरिकाले पठाएको प्रस्तावको समीक्षा गरिरहेको जनाएको छ । तर जारी क्षेत्रीय द्वन्द्वलाई कम गर्न वार्ता गर्ने कुनै मनसाय नभएको उसले स्पष्ट पारेको छ ।
यो कुरा इरानका विदेशमन्त्री अब्बास अरघचीले बताएका हुन् । उनको यो भनाइले, आफ्ना मागहरू पूरा भएमा इरान युद्ध अन्त्यका लागि वार्ता गर्न तयार हुन सक्ने संकेत दिएको रोयटर्सले जनाएको छ ।
‘यो इरानको प्रारम्भिक नकारात्मक प्रतिक्रियाभन्दा फरक हो, किनकि यसअघि इरानी अधिकारीहरूले अमेरिकासँग वार्ताको सम्भावनालाई सार्वजनिक रूपमा अस्वीकार गरेका थिए,’ रोयटर्सले लेखेको छ ।
इरानका विदेशमन्त्रीले भने– इरान युद्ध चाहँदैन
राज्य टेलिभिजनसँग कुरा गर्दै इरानका विदेशमन्त्री अरघचीले अमेरिकाको प्रस्ताव इरानको उच्च नेतृत्वले विचार गरिरहेको बताएका छन् । तर प्रत्यक्ष संवादको कुनै सम्भावना उनले अस्वीकार गरे । ‘मध्यस्थमार्फत सन्देश आदानप्रदान हुनु भनेको अमेरिकासँग वार्ता गर्नु होइन,’ उनले भनेका छन् ।
उनले वासिङ्टनले विभिन्न मध्यस्थमार्फत सन्देश पठाइरहेको पुष्टि गरे, तर तेहरानले यसलाई औपचारिक संवादका रूपमा नहेरेको उनले स्पष्ट पारे । ‘सन्देशमार्फत केही प्रस्तावहरू आएका छन्, जुन उच्च निकायसम्म पुर्याइएको छ, आवश्यक परे उनीहरूले आधिकारिक धारणा सार्वजनिक गर्नेछन्,’ उनले भने ।
अरघचीले इरानले दीर्घकालीन द्वन्द्व नचाहेको तर आफ्नै सर्तमा स्थायी समाधान खोजिरहेको बताए । ‘इरान युद्ध चाहँदैन, यो द्वन्द्वको स्थायी अन्त्य चाहन्छ,’ उनले भने।
इरानले भन्यो– सम्झौतामा लेबनानलाई पनि समेट्नुपर्छ
समाचार एजेन्सी रोयटर्सका अनुसार, इरानले मध्यस्थहरूलाई कुनै पनि युद्धविराम सम्झौतामा लेबनानलाई पनि समेट्नुपर्ने बताएको छ ।
पाकिस्तानमार्फत इरान पठाइएको भनिएको ट्रम्पको १५ बुँदे प्रस्तावमा इरानको उच्च समृद्ध युरेनियम भण्डार हटाउने, युरेनियम संवर्धन रोक्ने, ब्यालिस्टिक मिसाइल कार्यक्रम सीमित गर्ने र क्षेत्रीय सहयोगीहरूलाई दिइने आर्थिक सहयोग रोक्ने जस्ता विषय समेटिएको स्रोतहरूले बताएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वासिङ्टनमा आयोजित एक कार्यक्रममा इरानी नेताहरू वार्तामा संलग्न रहेको दाबी गरेका थिए । ‘उनीहरू सम्झौता गर्न चाहन्छन्, तर आफ्नै जनताबाट मारिने डरले खुला रूपमा भन्न डराइरहेका छन् । उनीहरू हामीबाट पनि डराइरहेका छन्,’ ट्रम्पले भनेका छन् ।
अमेरिका र इजरायलले इरानमा आक्रमण गरेपछि पश्चिम एसियामा सुरु भएको द्वन्द्व चौथो हप्तामा प्रवेश गरिसकेको छ, जसले होर्मुज जलडमरू (स्ट्रेट अफ होर्मुज) जलमार्ग हुँदै हुने व्यापारमा अवरोध पुर्याएको छ । फेब्रुअरी २८ मा अमेरिका र इजरायलको संयुक्त आक्रमणमा इरानका सर्वोच्च नेता अली खामेनी मारिएपछि तनाव झनै बढेको हो ।
यसको जवाफमा इरानले खाडी क्षेत्रका विभिन्न देशहरूमा रहेका अमेरिकी र इजरायली लक्ष्यहरूमा आक्रमण गरेको छ, जसले जलमार्गमा थप अवरोध सिर्जना गर्नुका साथै अन्तर्राष्ट्रिय ऊर्जा बजार र विश्व अर्थतन्त्रमा असर पारेको छ ।
ऊर्जा पूर्वाधारमा आक्रमण र स्ट्रेट अफ होर्मुजमा आवागमनमा प्रतिबन्धका कारण तेलको मूल्य बढेको छ, जसले अमेरिका र उसका सहयोगीमाथि समाधान खोज्ने दबाब बढाएको विभिन्न रिपोर्टहरूले जनाएका छन् ।
प्रतिक्रिया 4