+
खेलकुद समीक्षा २०८२ :

नेपाली फुटबलका लागि बिर्सनलायक वर्ष

२०८२ चैत  ३० गते १०:१० २०८२ चैत ३० गते १०:१०

फुटबल भन्ने बित्तिकै अहिले विवाद, समस्या र कमजोर प्रदर्शन नै देखिन्छ । यस्तो अवस्थामा रहेको फुटबलको लागि वर्ष २०८२ बिर्सनलायक नै रह्यो ।

नेपाली फुटबलका लागि बिर्सनलायक वर्ष

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय खेलकुद परिषदले अखिल नेपाल फुटबल संघलाई तीन महिनाका लागि निलम्बन गरेको छ र फिफाले पनि निलम्बन गर्ने खतरा बढेको छ।
  • नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले वर्ष २०८२ मा एक खेल पनि जित्न सकेन र एसियन कप छनोटमा सबै खेलमा पराजित भयो।
  • अखिल नेपाल फुटबल संघको आन्तरिक विवादका कारण तीन सिजनदेखि शहीद स्मारक ए डिभिजन लिग आयोजना हुन सकेको छैन।

३० चैत, काठमाडौं । फुटबल खेलकै लागि वर्ष २०८२ बिर्सनलायक वर्ष बन्यो । चाहे त्यो मैदानभित्र होस् या मैदानबाहिर, कतै पनि नेपाली फुटबलबारे खासै राम्रो समाचार रहेन ।

वर्षको अन्तिमतिर आइपुग्दा त झन् नेपाली फुटबल ठूलो संकटतिर गइरहेको छ । नेपाली खेलकुदको कार्यकारी निकाय राष्ट्रिय खेलकुद परिषद (राखेप) बाट नेपाली फुटबलको अभिभावक संस्था अखिल नेपाल फुटबल संघ (एन्फा) तीन महिनाका लागि निलम्बनमा छ ।

राखेपको निलम्बनपछि अहिले अन्तर्राष्ट्रिय फुटबलकै सर्वोच्च निका फिफाले पनि एन्फालाई निलम्बन गर्ने खतरा बढिरहेको छ । अहिले नेपाली फुटबलमा देखिएको संकटको असर कुन हदसम्म कहाँसम्म पर्छ त्यो भने समय नै देखाउनेछ ।

तर अहिलेको अवस्थामा भने नेपाली फुटबलमा केही कुरा पनि राम्रो हुन सकेको छैन । मैदानभित्र राष्ट्रिय टिमको प्रदर्शन होस् या उमेर समूहको प्रदर्शन, सबै कमजोर देखियो ।

महिला राष्ट्रिय टिमले केही सम्भावना देखाएपनि एएफसी महिला एसिया कपमा छनोट हुन सकेन । जसले गर्दा महिला फुटबलमा पनि अझै धेरै काम गर्न बाँकी रहेको देखियो ।

पुरुष राष्ट्रिय फुटबल टिमले पनि अन्तर्राष्ट्रिय खेलहरूमा राम्रो प्रदर्शन गर्न सकेन ।

एन्फाको आन्तरिक विवाद र कलहका कारण यस वर्ष पनि घरेलु फुटबल गन्जागोल बन्यो । राष्ट्रिय टिमको मेरुदण्ड मानिने र नेपालको चर्चति घरेलु फुटबल शीर्ष श्रेणीको शहीद स्मारक ए डिभिजन लिग लगातार तेस्रो सिजन पनि आयोजना हुन सकेन ।

एन्फाले राष्ट्रिय लिग आयोजना गर्नकै लागि गरेपनि त्यसको कुनै फाइदा भएन । मैदानभित्र भन्दा मैदान बाहिरको खेल चर्चित रह्यो ।

एन्फाभित्र विवाद, टकराव खेलाडी संघ र डिभिजन क्लबहरूको आन्दोलन, राखेपको निलम्बन जस्ता विषय यस वर्ष नेपाली फुटबलमा सबैभन्दा हिट रहे ।

यस्तै राष्ट्रिय टिमका विदेशी प्रशिक्षकहरू पनि नेपालमा लामो समय टिक्न सकेनन् । महिला र पुरुष दुवै टिमका मुख्य प्रशिक्षकले बीचमै राजीनामा दिए ।

यो वर्षपनि नेपालको घरेलु मैदानमा आधिकारिक अन्तर्राष्ट्रिय खेलहरू हुन सकेन । मैत्रीपूर्ण खेल र साफको खेलबाहेक अन्य खेल दशरथ रंगशालमा हुन सकेन ।

फुटबल भन्ने बित्तिकै अहिले विवाद, समस्या र कमजोर प्रदर्शन नै देखिन्छ । राखेपबाट निलम्बन भइसकेको एन्फा अब फिफाबाट समेत निलम्बन हुन सक्ने खतरामा छ ।

यस्तो अवस्थामा रहेको फुटबलको लागि वर्ष २०८२ बिर्सनलायक नै रह्यो ।

पुरुष फुटबलमा कमजोर प्रदर्शनले निरन्तरता पाउँदा राम्रो सम्भावना भएको महिला फुटबलको पनि पछिल्लो समय हालत पुरुष फुटबलकै जस्तो बनिसकेको छ ।

यस वर्ष फुटबलका लागि केही राम्रो रहेन । अभिभावक संस्था एन्फा आफैं आन्तरिक विवादमा फस्ने देखि निलम्बन सम्म पर्ने अवस्थामा पुग्दा मैदानमा खेल्ने खेलाडीहरूको अवस्था नाजुक बन्यो ।

फुटबल सँग जोडिएको कुनै पनि विषय विवादबाट अछुतो रहन सकेन । जेमा पनि विवाद नै देखियो।

राष्ट्रिय टिमको कमजोर प्रदर्शन

राष्ट्रिय टिम यस वर्ष जितविहीन नै बन्यो । वर्ष २०८२ मा नेपाली राष्ट्रिय पुरुष टोलीले एक खेल पनि जित्न सकेन । मैदानमा नेपालको प्रदर्शन कमजोर रह्यो ।

एसियन कप छनोटको तेस्रो चरणमा यस वर्ष खेलेको सबै खेलमा पराजित भएको नेपालले मैत्रीपुर्ण खेलमा पनि जित हात पार्न सकेन ।

२०८१ चैतमा मैत्रीपुर्ण खेलमा सिंगापुरलाई १-० ले हरायता नेपाल ९ खेलमा जितविहिन छ । त्यसमध्ये ८ खेल २०८२ मै खेलेको थियो ।

जसमा एसियन कप छनोट अन्तर्गत भियतनाम र लाओस विरुद्ध २-२ खेल हारेको नेपाल मलेसियासँग पनि पराजित भयो । भियतनाम विरुद्ध ३-१ र १-० ले पराजित हुँदा लाओससँग २-१ र १-० ले पराजित भयो । यस्तै मलेसियासँग १-० ले पराजित भयो ।

यस वर्ष नेपाल लाओससँग इतिहासमै पहिलो पटक पराजित भयो र एकै वर्ष दुईपटक हार बेहोर्‍यो ।

त्यस बाहेक बंगलादेशसँगको दुई र हङकङसँगको एक मेत्रीपूर्ण खेलमा नेपालले बराबरी खेलेको थियो ।

एसियन कप छनोटमा समूह एफमा नेपालले खेलेको सबै ६ खेलमै पराजित भयो । तर मलेसियाले नियमित विपरित खेलाडी खेलाएपछि त्यसको नतिजा उल्टिँदा नेपालको खातामा ३ अंक भने जोडिएको थियो ।

यसबाहेक एसियन कप छनोटमा लाओससँगको खेलअघि दशरथ रंगशालमा हङकङविरुद्ध मैत्रीपूर्ण खेल खेल्ने तय भएको थियो । तर एन्फा र राखेपबीचको विवादले गर्दा त्यो खेल रद्द भयो ।

प्रशिक्षकको राजीनामा लहर

यस वर्ष नेपाली फुटबलमा विदेशी प्रशिक्षकको राजीनामाको लहर पनि चल्यो । एन्फाकै आन्तरिक विवाद र मैदानमा सफलता हात नलागेपछि प्रशिक्षकको राजीनमा आयो ।

नेपाली राष्ट्रिय पुरुष फुटबल टिमका मुख्य म्याट रोस र महिला राष्ट्रिय टोलीका प्रशिक्षक प्याट्रिक वाइल्डले कार्यकाल सकिनुअघि नै राजीनामा दिए ।

२०८१ फागुनमा प्रशिक्षक नियुक्त भएका म्याट रोसले यस वर्ष कात्तिकमा राजीनमा दिए ।

रसको आगमनपछि नेपाली फुटबल टोलीले खेलेका ७ अन्तर्राष्ट्रिय खेलमा १ जित हात पार्दा २ बराबरी र ४ हारको नतिजा आएका छन् ।

रोसको प्रशिक्षणमा खेलेको पहिलो खेलमै नेपालले सिंगापुरलाई हराएको थियो भने त्यसपछि जित निकाल्न सकेको छैन ।

रसले राजीनामा दिएपछि एन्फाको टेक्निकल डिरेक्टर हरि खड्काले एसियन कप छनोटमा एक खेलको प्रशिक्षण सम्हाले । त्यसपछि एन्फाले इटालियन प्रशिक्षक गुग्लिएल्मो एरेनालाई एक वर्षका लागि मुख्य प्रशिक्षक नियुक्त गरेको छ ।

अहिले इटलीका गुग्लिएल्मो एरेना नयाँ प्रशिक्षक नियुकत भएका छन् । उनको डेब्यू खेलमा नेपाल लाओससँग पराजित भयो ।

घरेलु मैदान अयोग्य

नेपालको घरेलु मैदानमा यस वर्ष पनि आधिकारिक अन्तर्राष्ट्रिय खेल हुन सकेन ।

एसियन कप छनोट अन्तर्गत नेपालले तीन खेल घरेलु मैदानमा खेल्न पाउने भएपनि एन्फाकै कमजोरीका कारण नेपालले घरेलु मैदानमा खेल्ने अवसर गुमायो ।

फिफा र एएफसीको आधिकारिक प्रतियोगिता र छनोट खेलका लागि नेपालको दशरथ रंगशाला अयोग्य घोषित हुँदा नेपाली दर्शकले दशरथ रंगशालमा आफ्नो टिमको खेल हेर्न पाएनन् ।

नेपालल भियतनाम, मलेसिया र लाओस विरुद्धको होम म्याच विपक्षीकै मैदानमा गएर खेलेको थियो ।

नेपालले बंगलादेशविरुद्धको एक मैत्रीपूर्ण खेल भने दशरथ रंगशालमा खेल्यो । बंगलादेशसँग दुई खेल खेल्ने तय भएपनि भदौको जेनजी आन्दोलनले गर्दा एक खेल मात्र सम्भव भयो भने अर्को खेल भएन ।

हङकङ विरुद्ध चैतमा दशरथ रंगशालमा तय भएको खेल राखेप र एन्फाबीचको विवादका कारण रद्द भयो ।

दशरथ रंगशालमा साफ महिला क्लब च्याम्पियनसिप भयो । एपीएफले उपाधि जित्ने लक्ष्य राखेपपनि भारतको इस्ट बंगालसँग फाइनलमा पराजित हुँदै उपविजेता बन्यो ।

हुन सकेन ए डिभिजन लिग

नेपालको शीर्ष श्रेणीको लिग शहीद स्मारक ए डिभिजन लिग फुटबल यस वर्ष पनि आयोजना हुन सकेन ।

२०७९-८० मा पछिल्लो पटक ए डिभिजन लिग भएपछि लगातार तीन सिजन ए डिभिजन लिग आयोजना हुन सकेको छैन ।

एन्फा र क्लबहरूबीच कुरा नमिल्दा नेपाली फुटबलको लिग संरचना लिक बाहिर गएको छ । जसले गर्दा लिगको साइल समयमै पूरा हुन सकेको छैन ।

एन्फाले क्लबहरूसँगको सामान्य समस्याहरू पनि बेलैमा सुल्झ्याउन नसक्दा त्यसले फुटबललाई असर गरिरहेको छ ।

वर्षको सुरुमै धुलिखेलमा भएको साधारण सभाबाट पुसदेखि ए डिभिजन लिग सुरु गर्ने निर्णय गरेपनि एन्फाले आफ्नै कार्यक्रम लागु गर्न सकेन । क्यालेन्डरमा समावेश कार्यक्रमहरू गर्न सकेन ।

एन्फा र क्लबहरूबीच बारम्बार बैठक बस्ने छलफल हुने गरेपनि त्यसले निकास पाउन सकेन ।

एक दशकपछि यस वर्ष राष्ट्रिय लिग फुटबल सुरु भयो । तर लिग पूरा नहुँदै बीचमै रोकियो ।

यस्तै महिलाको पहिलो पटक शहीद स्मारक ए डिभिजन लिग आयोजना भएपनि ४ खेलपछि नै स्थगित भयो । श्रम स्वीकृति नलिई विदेशी खेलाडी खेलाएको भन्दै अध्यागमन विभागले नै एन्फालाई पत्र लेखेपछि लिग स्थगित गरिएको हो ।

नेपाल सुपर लिग (एनएसएल) चौथो सिजन हुनुपर्ने विवादकै कारण हुन सकेन ।

२०८१ चैतमा सुरु भएको एनएसएलको तेस्रो संस्करण भने २०८२ वैशाखमा समपन्न भएको थियो । जसमा ललितपुर सिटी एफसीले पोखरा थण्डर्सलाई हराएर लगातार दोस्रो पटक उपाधि जित्यो ।

महिला टिम एसियन कपमा छनोट हुन असफल

पछिल्लो समय नेपाली महिला फुटबलको प्रगतिको ग्राफ अघि बढिरहेको थियो । तर एएफसी महिला एसियन कपमा छनोट हुन असफल भएपछि महिला फुटबलको स्थिति पनि कमजोर बन्दै गयो ।

उज्वेकिस्तानमा भएको महिला एसियन कप छनोटमा उज्वेकिस्तानसँगै निर्णायक खेलमा पेनाल्टीसुटआउटमा पराजित भएपछि नेपाल एसियन कपमा पुग्न सकेन ।

२०२७/२०३१ मा महिला विश्वकप खेल्ने मिसन बनाएको एन्फाले बेल्जियन अनुभवी प्रशिक्षक प्याट्रिक वाइल्डलाई एक वर्षका लागि प्रशिक्षक अनुबन्ध गरेको थियो र महिला टिमलाई एसियन कपमा छनोट गराउने जिम्मा पनि प्रशिक्षकमाथि थियो ।

तर उज्वेकिस्तानमा पुगेर कुवेत विरुद्ध पहिलो खेल खेल्नु अघि नै कप्तान कसलाई बनाउने भन्ने विवाद चर्कँदा त्यो हट टपिक बन्यो । नेपाल एसियन कपमा नपुगेपछि नेपालको मिसन विश्वकप २०२७ असफल भयो । प्रशिक्षक वाइल्ड पनि टिमसँग फर्केनन् । उनले पछि राजीनामा पठाए ।

महिला टोलीले एसियन कप छनोटअघि थाइल्यान्डसँग मेत्रीपूर्ण खेल खेलेको थियो । उक्त खेलमा नेपाल १-० ले पराजित भयो ।

उमेर समूहमा फेरि कमजोर

साफ र एएफसीको उमेर समूहमा पनि नेपालको प्रदर्शन यस वर्ष कमजोर रह्यो ।

नेपालले साफको उमेर समूहमा उपाधि नजितेको लामो समय भइसकेको छ । उपाधि जित्ने लक्ष्य राखेपनि यस वर्ष पनि नेपालले सफलता हात पार्न सकेन ।

उमेर समूहमा महिला र पुरुष दुवै टोली असफल भए । बंगलादेशमा भएको साफ यू-१९ महिला च्याम्पियनसिप र पोखरामा भएको साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालले उपाधि जित्ने लक्ष्य राखेपनि सफल हुन सकेन ।

यस्तै माल्दिभ्समा चैतमा भएको साफ यू-२० पुरुष च्याम्पियनसिपमा पनि नेपाल सेमिफाइनलबाटै बाहिरियो

एएफसी एसियन कपको उमेर समूह छनोटमा नेपालको कमजोर प्रदर्शनले निरन्तरता पायो ।

ग्रासरुट र उमेर समूहदेखि नै कमजोर बनेपछि त्यसको असर नेपालको राष्ट्रिय टिमसम्म देखिएको छ । युवा प्रतिभावान् खेलाडीहरूले आफ्नो प्रतिभा राम्रोसँग देखाउन पाएका छैनन् ।

अर्ली इलेक्सन घोषणादेखि राखेपको निलम्बनसम्म

यस वर्ष नेपाली फुटबलमा मैदान बाहिरको खेल सबैभन्दा चर्चा रह्यो । त्यसमा पनि पुस १६ गते बसेको एन्फा कार्यसमतिको बैठकले अर्ली इलेक्सन गर्ने निर्यण गरेपछि यो सबैभन्दा धेरै विवादित बन्यो ।

जसको नतिजा एन्फाले तीन पटक मिति तोकेर पनि अर्ली इलेक्सन गर्न सकेन भने नेपाली खेलकुदको कार्यकारी निकाय राष्ट्रिय खेलकुद परिषद (राखेप) ले विधान अनुसार तहगत निर्वाचन नगरी केन्द्रिय निर्वाचन गर्न खोजेको र आफ्नो निर्देशन नमानेको भन्दै एन्फालाई तीन महिनाको लागि निलम्बन नै गरिदियो ।

एन्फाको वर्तमान कार्यसमितिको कार्यकाल २०८३ असार सम्म रहेपनि विधानमै उल्लेख नभएको अर्ली इलेक्सन गर्ने घोषणा पाँच महिनाअघि नै फेरि चार वर्षे कार्यकालको लागि दोहोरिने रणनीति बनाएको थियो । तर त्यसमा सफल हुन सकेन ।

एन्फाले अर्ली इलेक्सन घोषणा गरेपछि नै नेपाली फुटबलमा यो विवादले ठूलो चर्चा पायो । एन्फा बाहिर रहेका व्यक्तिदेखि क्लबहरू धेरैले यो विधान विपरित भएको बताएका थिए ।

तर एन्फा नेतृत्वले भने एन्फा कार्यसमितिको बहुमतको निर्णय अनुसार नै माघ २८ गते झापामा साधारण सभा र अर्ली इलेक्सन गर्ने निर्णय भएको दाबी गरिरह्यो ।

त्यसको केही दिनपछि नै राखेपले एन्फालाई ११ बुँदे निर्देशनसहित विधान अनुसार निर्वाचन गर्न भनेको थियो । तर एन्फाले त्यसलाई मानेन । त्यसपछि अर्ली इलेक्सनको निर्णय विरुद्ध राखेपमा उजुरी, अदालतमा मुद्दा पर्ने देखि राखेपले निर्वाचन स्थगित गर्न निर्देशन दिनेसम्मको काम भयो ।

त्यसपछि राखेपले एन्फालाई खेलकुद ऐन २०७७ अनुसार जिल्ला तहदेखि नै निर्वाचन गरेर केन्द्रको निर्वाचन गर्न निर्देशन दिएको थियो । राखेपले पटकपटक पत्रमार्फत यसो भनेपनि एन्फाले भने फिफा र एएफसीले भनेको मान्ने भन्दै निर्वाचन गरिछाड्ने हठ देखायो ।

राखेपले पनि आफूले भने अनुसार नगरेमा निर्वाचनलाई स्वीकृति नदिने अठान कायम राखिराख्यो र बारम्बार पत्र पठाउँदा पनि चित्त बुझ्दो जवाफ नदिएको, निर्देशन पालना नगरेको, स्वीकृति बिना निर्वाचन प्रक्रिया अघि बढाएको र राखेपबाट माग गरिएका सफाइमा चित्तबुझ्दो जवाफ नआएको बताउँदै चैत ११ गते राखेपले एन्फालाई निलम्बन गर्‍यो । त्यसपछि चैत १३ मा झापामा अर्ली इलेक्सन गर्न भनेर पुगेको एन्फाले इलेक्सन गर्न सकेन ।

फिफा र एएफसीको प्रतिनिधिसँग छलफल गरेपछि एन्फा निर्वाचन स्थगित गर्ने अवस्थामा पुग्यो । एक पक्षले निर्वाचन नै बहिस्कार गर्ने निर्णय गर्‍यो ।

संकटमा नेपाली फुटबल

नेपाली फुटबल अहिले ठूलो संकटमा पुगेको छ । राखेपको निलम्बनपछि एन्फाले घोषणा गरेको अर्ली इलेकुसन पनि हुन सकेन । फिपा र एएफसीको प्रतिनिध आइसकेको अवस्थामा पनि एन्फाले अर्ली इलेकुसन स्थगित गर्‍यो ।

तयसपछि फिफार एएफसीले संयुक्त पत्र पठाउँदै तेस्रो पक्षको हस्तक्षेप भए नेपाललाई निलम्बन गर्न सक्ने चेतावनी दियो ।

अहिले नेपाली फुटबल अब कता जान्छ के हुन्छ के फिफाले निलम्बन गर्छ ? फिफाले निलम्बन गरे के हुन्छ ? फिफाले निलम्बन नगरेमा कसरी नेपाली फुटबल सही ट्रयाकमा अघि बढ्न सक्छ ? भन्ने जस्ता प्रश्नहरू उब्जिएका छन् । यी प्रश्नको रेडिमेड उत्तर भने कोहीसँग छैन ।

अहिले सबैले आ-आफ्नो स्वार्थ र हठ त्यागेर नेपाली फुटबलको विकासमा सबै एकै ठाउँमा जम्मा भएर एकजुट भएर लाग्नुपर्ने अवस्था सिर्जना भएको छ ।

यदी फेरि पनि सबैले आफ्नो हडकायम राखेन गरेमा नेपाली फुटबल अझ धेरै पछाडि धकेलिन्छ ।

वर्षान्त २०८२ संकटमा नेपाली फुटबल
लेखक
गोविन्दराज नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय