News Summary
Generated by OK AI. Editorially reviewed.- अध्यागमन विभागले पर्यटकिय भिसामा रहेका विदेशी खेलाडीहरूलाई राष्ट्रिय फुटबल लिगमा सहभागी नगराउन अखिल नेपाल फुटबल संघलाई पत्र काटेको छ।
- अखिल नेपाल फुटबल संघले अध्यागमन विभागको पत्रपछि राष्ट्रिय पुरुष र महिला लिगका खेलहरू प्राविधिक कारण स्थगित गरेको छ।
- राष्ट्रिय खेलकुद परिषद्ले चैत १३ गते हुने अखिल नेपाल फुटबल संघको साधारण सभा र निर्वाचन स्थगित गरेको जानकारी दिएको छ।
५ चैत, काठमाडौं । देशमा झण्डै दुई तिहाईको बहुमत ल्याएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कस्तो सरकार बनाउन भन्ने धेरैलाई चासो बनिरहेको छ । यसैबीच बिहीबार दिनभर भने नेपाली फुटबलको विषयले माहोल खुब गर्मायो ।
फुटबलका एकभन्दा बढी विषयमा पत्र पठाउने, निर्देशन दिने देखि उमेर समूहको राष्ट्रिय टिमलाई बिदाइ गर्नेसम्मको काम एकै दिन भयो ।
गत पुस ३० गतेदेखि सुरु भएको राष्ट्रिय लिग (पुरुष), यही चैत ४ गतेदेखि सुरु भएको शहीद स्मारक महिला लिगका खेलहरू बिहीबारदेखि स्थगित भएका छन् ।
अध्यागमन विभागले पर्यटकिय भिसामा रहेका विदेशी खेलाडीहरूलाई लिगमा सहभागी नगराउन एन्फालाई बिहीबारै पत्र काट्यो । त्यही पत्रपछि एन्फाले लिगहरू स्थगित गरेको हो ।
एन्फाको ए डिभिजन लिग गर्ने एकलौटी निर्णय विरुद्ध डिभिजन क्लबहरू एन्फा कम्प्लेक्सको गेट बाहिर रिले अनशनमा बसेको चौथो दिन भयो ।

राष्ट्रिय खेलकुद परिषदले चैत १३ गते गर्ने भनिएको एन्फा साधारण सभा र निर्वाचन स्थगित गरिएको लिखित सहित जानकारी गराउन बिहीबारै एन्फालाई पत्र काट्यो ।
एन्फाले माल्दिभ्समा आयोजना हुने साफ यू-२० च्याम्पियनसिप खेल्न जाने नेपाली यू-२० पुरुष राष्ट्रिय फुटबल टिमलाई बिहीबारै एक होटलमा कार्यक्रम आयोजना गर्दै बिदाइ गर्यो ।
एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ र महासचिव किरण राई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रामचरित्र मेहतालाई भेट्न यही बिचमा त्रिपुरेश्वरस्थित राखेप कार्यालय पनि पुगे ।
दिनभर फुटबलकै विषयले सबै व्यस्त भए चर्चा भयो । तर यसको नतिजा भने त्यति राम्रो हुन सकेन । चलिरहेको लिग स्थगित हुँदा खेलाडीहरूले खेल्नबाट वञ्चित हुने भए ।
‘साँढेको जुधाई बाच्छाको मिचाईं’ भनेजस्तै नेतृत्वमा रहनेहरूको सही काम नहुँदा त्यसको मारमा पर्ने अन्तिममा खेलाडीहरू नै हुन् ।
अर्कोतर्फ एन्फा भने जसरी भएपनि चैत १३ गते नै निर्वाचन गर्ने मुडमा अघि बढेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा विभागीय टोली त्रिभुवन आर्मी एफसी र सातदोबाटो युथ क्लब राष्ट्रिय लिगको म्याच नम्बर ९९ मा प्रतिस्पर्धा गरिरहेका थिए । त्यही बेला आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगको म्याच नम्बर ९७ र म्याच नम्बर १०० देखि १३६ सम्मको खेल प्राविधिक कारणवश अर्को सुचना नभएसम्मको लागि स्थगित गरिएको जानकारी गराउँदै सहभागी १७ वटै क्लबहरूलाई पत्र लेख्यो ।
बिहीबार बिहानको खेलमा कास्कीको लागिगुराँस एसोसिएसन क्लबले चित्लाङ एफसीलाई १-० ले पराजित गर्दै शीर्ष स्थानमा उक्लेको थियो । अपराजित लालिगुराँसको १३ खेलबाट २४ अंक भएको छ ।
आर्मी जित निकाल्दै दोस्रो स्थानमा पुग्ने होडमै थियो । एन्फाको सूचनापछि आर्मी १-० को जित निकाल्दै २६ अंक जोडेर दोस्रो स्थानमा पनि उक्लियो ।
यस्तै बिहिबार बिहानसम्म शीर्ष तीनमा रहेका मछिन्द्र एफसी र एपीएफ पनि आज खेल जित्दै शीर्ष स्थानमा पुग्ने लक्ष्यमा थिए । दुवै टिमको समान २५ अंक थियो र जित्ने टिमको २८ अंक पुग्ने थियो ।
तर एपीएफ र मछिन्द्र बीचको खेल हुनै पाएन । अब पुन: लिगको खेल सुरु नहुँदासम्म लालिगुराँस पहिलो र आर्मी दोस्रो स्थानमै यथावत् रहनेछन् ।
***
एन्फाले पहिलो पटक महिला फुटबलको शहीद स्मारक महिला लिग बुधबारदेखि मात्र सुरु गरेको थियो । तीन विभागीयसहित ९ महिला टोलीहरू सहभागी महिला लिगमा पहिलो दिन दुई खेल भयो भने दोस्रो दिन पनि दुई तय थियो ।
च्यासलमा भइरहेको लिगको दोस्रो दिनको दुई खेल पनि सम्पन्न भयो । तर अब म्याच नम्बर ५ पछि शहीद स्मारक महिला लिगका खेलहरू पनि प्रावधिक कारणवश अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको जानकारी सहित एन्फाले ९ क्लबलाई पत्र पठायो ।
बिहीबारको खेलमा नेपाल पुलिस क्लबले चर्च ब्वाइज युनाइटेडलाई ५-० ले हरायो । त्यसअघि प्रतिस्पर्धात्मक खेलमा बागमती युथ क्लबले आरएस पोखरालाई ५-४ ले पराजित गरेको थियो । पहिलो दिन संकटाले एनआरटीलाई ४-० र दोस्रो खेलमा त्रिभुवन आर्मी क्लबले झापा एफसीलाई ५-० ले पराजित गरेको थियो ।
लिगमा सहभागीमध्ये अब विभागीय टोली एपीएफले खेल्न बाँकी छ । एक दिन अघि सुरु भएको लिग एपीएफले एक खेल नखेल्दै स्थगित भयो ।

अध्यागमनको पत्र पछि स्थगित भएको लिग
एन्फाको दुई लिगलाई एकै दिन स्थगित गर्न बाध्य गराउने माध्यम भने अध्यागमन विभागको एउटा पत्र नै थियो ।
अहिले भइरहेको राष्ट्रिय लिग पर्यटकिय भिसामा रहेका विदेशी खेलाडीहरू खेलिरहेको भन्ने उजुरी पाएपछि बिहीबार बिहानै अध्यागमन विभागले युवा तथा खेलकुद मन्त्रालय र राखेपलाई बोधार्थ गर्दै एन्फालाई पत्र काटेको थियो । त्यही पत्रपछि दिनभरको माहोल हलचल बनेको थियो ।
‘पर्यटकीय भिसा रहेका विदेशी खेलाडीहरू खेलाएको भन्दै मौखिक लिखित जानकारी प्राप्त भयो’ अध्यागमन विभागका प्रवक्ता टिकाराम ढकालले अनलाइनखबरसँग भने, ‘अस्थायी भिसा लिएर बस्नुपर्ने, तर पर्यटक भिसा लिएर यहाँ खेल्न पाइँदैन । कानुनमा पनि स्पष्ट व्यवस्था छ । हामीले खेलाउने संस्थालाई पनि जिम्मेवार हुनुपर्छ र खेलाडीहरूलाई पनि नियम पूरा नगरी खेल्नुभएको छ भने कारवाही गर्नुपर्ने हुन्छ । हामीले श्रम स्वीकृति लिनुस् भनेर पत्र काटेका हौं।’
अध्यागमन नियमावली, २०५१ को नियम २० मा भिसा प्राप्त गर्ने विदेशीले जुन उद्देश्यको लागि भिसा प्राप्त हो त्यो बाहेक अरु काम गर्न नपाउने उल्लेख छ ।
तर एन्फाले गरेको महिला/पुरूष लिग फुटबल खेलमा सहभागी भएका फुटबल क्लबहरूले पर्यटक भिसा लिएका विभिन्न मुलुकका विदेशी खेलाडीहरूलाई समेत समावेश गरेको भन्ने व्यहोराको उजूरी प्राप्त भएको भन्दै विभागले एन्फालाई पत्र काटेको हो ।
विभागले विदेशी खेलाडीलाई खेलाउनु पर्ने भएमा नियमानुसार कार्य सहमति र श्रम स्वीकृति लिएर मात्र सहभागी गराउन अनुरोध गर्दै र आजैदेखि अनुगमन सुरु भएको पनि पत्रमा भनेको छ । ‘यस विभागबाट आजैदेखि अनुगमन प्रारम्भ भएको हुँदा स्वीकृति नलिएका विदेशी खेलाडीहरू भिसाको उद्देश्य विपरित कुनै पनि खेलमा सहभागी भएको पाइएमा तत्काल कारवाही अगाडि बढाईने व्यहोरा निर्णयानुसार जानकारी गराईन्छ ।’ पत्रमा उल्लेख छ ।
श्रम स्वीकृति नलिइकन राष्ट्रिय लिगमा विदेशी खेलाडीहरू खेलाइएको भन्दै यसअघि नै राष्ट्रिय खेलकुद परिषद् र अध्यागमन विभागमा उजुरी परेको थियो ।

त्यसपछि राष्ट्रिय खेलकुद परिषद्ले यही १ चैतमा श्रम स्वीकृति नलिईकन खेलिरहेका विदेशी खेलाडीहरूको सूची उपलब्ध गराउन भन्दै एन्फालाई पत्र काटेको थियो । तर एन्फाले लिग खेलाइरह्यो ।
बिहीबार अध्यागमनले नै पत्र काटेपछि एन्फा लिग गर्न बाध्य भएको हो ।
एन्फा सीईओ ईन्द्रमान तुलाधारले पनि अध्यागमनको पत्रपछि लिगका खेलहरू स्थगित भएको अनलाइनखबरसँग बताएका थिए ।
त्यसपछि दिउँसो राखेपले पनि एन्फालाई चैत १३ को साधारण सभा र निर्वाचन नगर्न भन्दै कडा पत्र काटेपछि माहोल अझ गर्मायो । त्यसपछि एन्फा नेतृत्व राखेप सदस्य सचिवलाई भेट्न पुगेका थिए ।
एन्फा निर्वाचन विषयमा फिफाको पनि कन्सर्न रहेकोले एन्फा वैधानिक अवस्था लगायत विषयमा जानकारी गराउन अध्यक्ष र महासचिवले सदस्य सचिवसँग भेट गरेको एन्फा प्रवक्ताले जानकारी दिए ।
यसैबीच बिहीबार साँझ एन्फा महासचिव किरण राईले एन्फाको सदस्य रहेका जिल्ला, क्लब र संघहरूलाई पत्र लेख्दै चैत १३ गते हुने निर्वाचनमा सहभागी हुन आह्वान गर्द बैठक सुची पनि पठाएका छन् ।
एन्फा पेलेरै निर्वाचन गर्ने योजनामा हो भन्ने प्रश्नमा एन्फा प्रवक्ताले संक्षिप्तमा यसो भने, ‘एन्फाले वैधानिक हिसावले नै निर्वाचन अघि बढाएको हो । हामी एन्फाको विधान अनुसार नै निर्वाचन गर्ने हो ।’
प्रतिक्रिया 4