News Summary
Generated by OK AI. Editorially reviewed.- एन्फाले राष्ट्रिय खेलकुद परिषद्को निर्देशन उल्लङ्घन गर्दै १३ चैतमा निर्वाचन गर्ने तयारी गरिरहेको छ।
- एन्फाको नेतृत्वको लापरबाहीले पुरुष र महिला राष्ट्रिय लिग स्थगित भएका छन्।
- नेपाली फुटबलको दशरथ रंगशाला दुई वर्षदेखि एएफसीबाट अयोग्य घोषित छ र विदेशी प्रशिक्षकहरूले एन्फाको नेतृत्वलाई असफल ठहराएका छन्।
५ चैत, काठमाडौं । बिहीबार दिउँसो एन्फा कम्प्लेक्स मैदानमा त्रिभुवन आर्मी क्लब र सातदोबाटो युथ क्लबबिच खेल चलिरहेको थियो ।
बाहिर गेटमा तिनै क्लब चलाउनेहरू अखिल नेपाल फुटबल संघ (एन्फा) विरुद्ध धर्ना बसिराखेका थिए । एन्फा पदाधिकारीलाई न खेलको मतलब थियो, न क्लब सञ्चालकहरूको ।
एन्फाको ध्यान त ‘अर्ली इलेक्सन’ गरेर पुनः नेतृत्वमा आउनेतर्फ छ । जबकि स्वीकृतिबिना एन्फाको निर्वाचन नगर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पटक पटक निर्देशन दिइसकेको छ । तर एन्फा पेलेरै निर्वाचन गर्न खोजिरहेको छ ।
निर्वाचन आयोग र अदालतको रोकपछि २८ माघमा हुन नसकेको एन्फा निर्वाचन १३ चैतमा गर्ने तयारी चलिरहेको छ । अर्थात् पंकजविक्रम नेम्वाङ नेतृत्वको एन्फाको ध्यान मैदानमा कम, निर्वाचनमा धेरै छ ।

एन्फा नेतृत्वकै लापरबाहीले राष्ट्रिय लिग स्थगित भएको छ । ९८ खेल सकिएपछि पुरुषतर्फको लिग स्थगित हुनुमा एन्फा नेतृत्वकै लापरबाही कारण रह्यो ।
अध्यागमन नियमावली, २०५१ को नियम २० मा भिसा प्राप्त गर्ने विदेशीले जुन उद्देश्यको लागि भिसा प्राप्त गरेको हो, सोबाहेक अन्य काम गर्न नपाउने स्पष्ट व्यवस्था छ । तर एन्फाले श्रम स्वीकृति नलिई विदेशी खेलाडी नेपाली भूमिमा खेलाइरह्यो । सोही कारण लिग नै स्थगित हुन पुगेको छ । बुधबार मात्र सुरु भएको महिलातर्फको राष्ट्रिय लिग पनि स्थगित भएको छ ।
यति महत्त्वपूर्ण लिगहरू धमाधम स्थगित भइरहँदा एन्फालाई बढी चासो भने जसरी पनि नेतृत्वमा दोहोरिने तिकडमतर्फ छ । उनीहरू राखेपको निर्देशन मान्न तयार छैनन् । पेलेरै गएर आफू दोहोरिने र पछि राज्यले हस्तक्षेप गर्यो भन्दै विश्व फुटबल परिषद्(फीफा)बाट नेपाललाई निलम्बनतर्फ धकेल्ने नियत उनीहरूमा लुक्दैन ।
सबैभन्दा ठुलो घरेलु लिग ‘ए’ डिभिजन लिग नभएको हजार बढी दिन भइसक्यो । तर एन्फा कहिले खेलाडीलाई दोष लगाएर त कहिले क्लबलाई दोष लगाएर ‘ए’ डिभिजन लिग गर्न सकेको छैन ।
एउटै विषयमा क्लबहरूसँग एउटा सम्झौता गर्छ, खेलाडी संघसँग अर्को ।
एन्फाले गत कात्तिकमा अर्को वर्षबाट ‘होम एन्ड अवे’का आधारमा ‘ए’ डिभिजन लिग गर्ने सहमति क्लबहरूसँग गरेको थियो । तर नेपाली फुटबल खेलाडी संघले विरोध जनाएपछि एन्फाले हतार–हतार चैत ३० गते लिग गर्ने सहमति गर्ने निर्णय गर्यो । एन्फाले एकपक्षीय निर्णय गरेपछि क्लबहरू आन्दोलित छन् ।
तर एन्फा माग सुन्ने मनस्थितिमा छैन । राष्ट्रिय लिग खेलिरहेका क्लबहरू पनि खेल्ने नखेल्ने अन्योलमा छन् ।
एन्फा आफै पनि लिग कुन तरिकाबाट गर्ने, खेलाडी कसरी भित्र्याउने भन्नेबारे अलमलमा देखिन्छ । आन्दोलनरत खेलाडी थामथुम पार्ने गरी निर्णय गरेको बुझ्न सकिन्छ । सहमतिअनुसार ‘ए’ डिभिजन लिग खेल्ने कयौँ खेलाडीहरू बिदेसिएका छन् ।
‘ए’ डिभिजन लिगजस्ता महत्त्वपूर्ण प्रतियोगिता नहुँदा खेलाडी भविष्य खोज्दै बिदेसिएका हुन् । तर एन्फालाई त्यसको मतलब छैन ।
नेपालको एक मात्र अन्तर्राष्ट्रिय स्तरको दशरथ रंगशाला एसियाली फुटबल महासंघ (एएफसी) बाट अयोग्य भएको २ वर्ष बढी भयो । रंगशाला नहुँदा नेपाली खेलाडीहरू होम ग्राउन्डमा हुनुपर्ने खेल विदेशमा खेल्ने बाध्य छन् । तर तीनै खेलाडीका लागि काम गर्छु भनेर आएका एन्फा नेतृत्वकर्ता विदेश जान लालायित देखिन्छन् ।
नेतृत्वको कार्यशैली न नेपालीले मन पराए, न विदेशीले नै । एन्फा नेतृत्व अक्षम छ भन्ने कुरा विदेशी प्रशिक्षकहरूले पनि देखाइसकेका छन् । एन्फा नेतृत्वसामु विदेशी प्रशिक्षक समेत टिकेनन् ।
राष्ट्रिय पुरुष फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रोसले ८ महिनामै पदबाट राजीनामा दिए । एन्फासँगको असन्तुष्टिका कारण रोसले ४ महिना सम्झौता बाँकी छँदै राजीनामा दिएका हुन् । महिला टोलीका मुख्य प्रशिक्षक प्याट्रिक डे वाइल्ड पनि एक महिनाभन्दा धेरै टिक्न सकेनन् ।
प्रतिक्रिया 4