News Summary
Generated by OK AI. Editorially reviewed.- त्रिभुवन आर्मी एफसीले दिनेश हेन्जनको निर्णायक गोलमा सातदोबाटो युथ क्लबलाई १-० ले पराजित गरेको छ।
- यो जितपछि आर्मीले १२ खेलबाट २६ अंक जोडेर राष्ट्रिय लिगमा दोस्रो स्थानमा उक्लिएको छ।
- अध्यागमन विभागको पत्रपछि एन्फाले प्राविधिक कारण देखाउँदै राष्ट्रिय लिगका सबै खेलहरू स्थगित गरेको छ।
५ चैत, काठमाडौं । दिनेश हेन्जनको निर्णायक गोलमा विभागीय टोली त्रिभुवन आर्मी एफसीले राष्ट्रिय लिग फुटबलमा सातदोबाटो युथ क्लबलाई १-० ले पराजित गरेको छ ।
यो जितले आर्मी दोस्रो स्थानमा उक्लेको छ । १२ खेलबाट आर्मीले २६ अंक जोडेको छ । आर्मीले समान २५ अंक रहेका मछिन्द्र एफसी, एपीएफ र चर्च ब्वाइज युनाइटेडलाई पछि पारेको हो ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा दिनेशले १२औं मिनेटमा गरेको गोल नै आर्मीको जितमा निर्णायक बन्यो ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले यो खेल चल्दै गर्दा नै राष्ट्रिय लिगका खेलहरु प्रावधिक कारणवश स्थगित गर्नुपरेको भन्दै क्लबहरूलाई पत्र लेखेर जानकारी गराएको थियो ।
जसका कारण आज साँझ ६ बजेदेखि दशरथ रंगशालमा तय भएको मछिन्द्र एफसी र एपीएफ एफसी विरुद्धको खेल पनि स्थगित भएको छ । यसबाहेक म्याच नम्बर १०० देखि १३६ सम्मको सबै खेल स्थगित भएको छ ।
बिहीबार बिहान अध्यागमन विभागले पर्यटिकय भिसामा रहेका विदेशी खेलाडीहरु राष्ट्रिय लिगमा सहभागी नगराउन भन्दै एन्फालाई पत्र काटेपछि एन्फाले लिग स्थगित गरेको हो ।
एन्फाले प्राविधिक कारण भनेर पत्र पठाएपनि एन्फा सीईओ ईन्द्रमान तुलाधरले भने अध्यागमनको पत्र र एन्फा बाहिर डिभिजन क्लबहरुको धर्ना लगायत कारणले लिग स्थगित भएको बताएका थिए ।
बिहीबारै भएको पहिलो खेलमा लालिगुराँस एसोसिएसन क्लबले चित्लाङ एफसीलाई १-० ले हराएर शीर्ष स्थानमा उक्लेको छ । लालिगुराँसले १३ खेलबाट २७ अंक जोडेको छ ।
लिग स्थगित हुँदासम्म लालिगुराँस शीर्ष र आर्मी दोस्रो स्थानमा कायम छ ।
प्रतिक्रिया 4