News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल पुलिस क्लबका कप्तान आरिफ शेखले जय ट्रफी क्रिकेट उपाधि लगातार जित्दा खेलाडीहरूले आफुलाई प्रमाणित गरेको बताए।
- फाइनल खेलमा पुलिसले त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै उपाधि रक्षा गरेको थियो।
- आरिफले दिउँसो १२ देखि ३ बजेसम्म ब्याटिङ गर्न सहज हुने योजना बनाएको र आगामी खेलका लागि आत्मविश्वास बढेको बताए।
५ चैत, काठमाडौं । जय ट्रफी क्रिकेटको उपाधि लगातार जितेपछि नेपाल पुलिस क्लबका कप्तान आरिफ शेखले खेलाडीहरूले आफुलाई प्रमाणित गरेको र त्यसैअनुसार सफलता प्राप्त भएको बताएका छन् ।
बिहीबार सम्पन्न फाइनल खेलपछि कुरा गर्दै आरिफले उपाधि जित्न पाउँदा खुसी लागेको बताउँदै उक्त कुरा उल्लेख गरेका हुन् । ‘प्रतियोगिता जित्न पाउँदा खुसी लाग्छ, धेरै राम्रो अनुभुति भइरहेको छ । सबै खेलाडीले आफुलाई प्रमाणित गरे’ उनले भने ।
सुरुवातदेखि नखेलेका करण केसी र गुल्शन झा पछि टिममा समावेश भएपछि धेरै सहयोग पुगेको आरिफको भनाइ थियो । फाइनलको दबाब नभएको र आफ्नो टिममाथि विश्वास राखेको आरिफको भनाइ थियो ।
आरिफले दिउँसोको समयमा ब्याटिङ गर्न सहज हुने कुरालाई ध्यानमा राखेर योजना बनाएको बताए । ‘दिउँसो १२ देखि ३ बजेको समयमा ब्याटिङ गर्न सहज हुन्छ भन्ने बुझेका थियौं, त्यही अनुसार योजना बनाएका थियौं’ आरिफले भने ।
त्रिभुवन आर्मी क्लबका खेलाडी सोमपाल कामीले विकेट ब्याटिङ र बलिङ दुवैलाई च्यालेन्जिङ रहेको बताएका थिए । पुलिसका कप्तान आरिफ शेखले पनि ब्याटिङ र बलिङ दुवै हिसाबले विकेटले बिहेभ गरेको बताए ।
‘विकेट यस्तै किसिमको हुनुपर्छ, ब्याटिङ र बलिङ दुवैलाई मिल्ने । यसले टेम्परामेन्ट पनि टेस्ट हुन्छ, खेलाडीको फिटनेस र धैर्यता पनि चेक हुन्छ’ आरिफले भने ।
उनले यस प्रतियोगिताबाट आगामी खेलहरूका लागि धेरै मद्दत पुगेको र आउने दिनमा थप उपलब्धि हासिल गर्न आत्मविश्वास पनि बढेको बताए ।
जय ट्रफीको लिग चरणको खेलमा पुलिस आर्मीसँग पराजित भएको थियो । फाइनलमा भने पुलिसले बदला लिँदै उपाधि रक्षा गर्न सफल भयो ।
प्रतिक्रिया 4