+
+
Shares

Live Updates: थापाथली सुकुमवासी बस्तीमा के भइरहेछ ?  

बस्तीमा पुगेका नेपाल प्रहरी र नगर प्रहरीका जवानहरूले सुकुमवासीहरूका सरसामान आफैँ बोकेर सुरक्षित स्थानमा सार्न मद्दत गरिरहेका छन्।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १२ गते ८:३५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बागमती नदी किनारअन्तर्गत थापाथलीको सुकुमवासी बस्तीमा सरकारी निकायले अनधिकृत संरचना हटाउने काम गरिरहेको छ।
  • सरकारी अभियानअन्तर्गत शनिबार बस्ती खाली गराउन सुरक्षाकर्मी परिचालित छन् र प्रहरीहरूले सुकुमवासीहरूको सामान सुरक्षित स्थानमा सार्न मद्दत गरिरहेका छन्।
  • सरकारले नदी कोरिडोर निर्माण र बागमती सभ्यता संरक्षणको योजना अनुसार उक्त क्षेत्रका संरचनाहरू भत्काउने तयारी गरिरहेको छ।

१२ वैशाख, काठमाडौं । बागमती नदी किनारअन्तर्गत थापाथलीमा रहेको सुकुमवासी बस्तीमा स्काभेटरले संरचना हटाउने काम गरिरहेको छ ।

सार्वजनिक जग्गा र नदी कोरिडोर अतिक्रमण गरेर बनाइएका अनधिकृत संरचनाहरू खाली गराउने सरकारी अभियानअन्तर्गत शनिबार बस्तीमा सरकारी निकायका अधिकारीहरू परिचालित छन् ।

बस्ती हटाउने क्रममा सम्भावित झडप र तनावको स्थितिलाई मध्यनजर गर्दै बाक्लो सङ्ख्यामा सुरक्षाकर्मी परिचालित छन् । यसपटकको दृश्य विगतका भन्दा निकै फरक र शान्त देखिएको छ।

बस्तीमा पुगेका नेपाल प्रहरी र नगर प्रहरीका जवानहरूले सुकुमवासीहरूका सरसामान आफैँ बोकेर सुरक्षित स्थानमा सार्न मद्दत गरिरहेका छन्।

विगतमा यसै क्षेत्रमा डोजर चलाउन खोज्दा स्थानीय र सुरक्षाकर्मीबीच ढुंगामुढा तथा हिंसात्मक झडप भएको थियो। यसपटक प्रशासनले सहयोगात्मक रूपमा बस्ती खाली गराउने रणनीति अपनाएको देखिन्छ।

घरभित्र रहेका लत्ताकपडा, भाँडाकुँडा, ग्यास सिलिन्डर, ओछ्यान लगायतका अत्यावश्यक सामानहरू नपुरिऊन् र नोक्सान नहोऊन् भनेर प्रहरीहरू आफैँ खटेर सामान ओसारपसार गरिरहेको दृश्य घटनास्थलमा देखिएको छ।

सम्बन्धित निकायहरूले यसअघि नै पटक–पटक सार्वजनिक सूचना जारी गर्दै उक्त क्षेत्र खाली गर्न निर्देशन दिँदै आएका थिए। नदी कोरिडोर निर्माण र बागमती सभ्यता संरक्षणको दीर्घकालीन योजना अनुसार उक्त क्षेत्रका संरचनाहरू भत्काउन लागिएको सरकारले बताउँदै आएको छ ।

Live Updates

११ ताजा अपडेट
1 minute ago, 09:29:48
वास्तविक सुकुमवासीको यसरी हुनेछ व्यवस्थापन

काठमाडौं महानगरपालिकाका प्रवक्ता नविन मानन्धर भन्छन्, ‘वास्तविक सुकुमवासीलाई अन्याय नहुने गरी कानुन अनुसार जग्गा उपलब्ध गराउने प्रक्रिया अगाडि बढाउँछौं ।’

थप पढ्नुहोस
9 minutes ago, 09:22:11
डोजरको अघिअघि प्रहरीको माइकिङ

डोजरको अघिअघि प्रहरीको माइकिङ- तपाईंको समान सुरक्षित छ, आफू छेउ लागेर बसिदिनुहोला

13 minutes ago, 09:18:02
सक्कली-नक्कली सुकुमवासी पहिचान गर्छौंः दाहाल

सरकारले सुकुमवासी बस्ती खाली गरेर सक्कली र नक्कली सुकुमवासी पहिचान गर्ने बताएको छ । सार्वजनिक जग्गा फिर्ता गर्नु मात्र नभई, सक्कली र नक्कली सुकुमवासीको छनोट गर्नका सुकुमवासी बस्ती खाली गर्न लागेको प्रधानमन्त्रीको प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी गराइन् ।

थप पढ्नुहोस
24 minutes ago, 09:06:41
सुकुमवासी पुनर्स्थापनाका लागि ५ स्थान तय

सुकुमवासी पुनर्स्थापनाका लागि ५ स्थान तय भएको सरकारले जानकारी दिएको छ । उनीहरूलाई थापाथली, मनोहरा र गैरीगाउँबाट बस्ती खाली गराउने क्रममा पहिचान भएका घरबारविहीनहरूलाई विकल्पका रूपमा नागार्जुन (इचङ्गु), कीर्तिपुर, बोडे, चाँदबाग र खरीपाटीमा राखिनेछ।

थप पढ्नुहोस
27 minutes ago, 09:04:10
थपियो स्काभेटर
30 minutes ago, 09:00:59
खुसी छैन मन ...

सुकुमवासी बस्तीमा डोजर चलेपछि रुँदै एक वृद्धा ।

32 minutes ago, 08:58:55
डोजर चल्दै गर्दा पानीको फोहोरा फुट्यो

बस्तीमा डोजर चलाइरहँदा पानीको फोहोरा फुट्यो र भेल बगेको छ । यसबाट सुकुमवासी बस्तीका नागरिकले निकालेको सामानहरू भिजेका छन् ।

39 minutes ago, 08:52:16
४ महिने बाबु कोक्रोमा झुलाउँदै सुकुमवासी बस्तीकी अन्जली

४ महिने बाबु कोक्रोमा झुलाउँदै सुकुमवासी बस्तीकी अन्जली पसवान । उनका अनुसार, उनीहरूको परिवार यहाँ आएको २० वर्ष भयो। सरकार बस्ती भत्काउन आएपछि उनीहरू सामान घरबाहिर निकालेर अगाडि बसिरहेका छन् । छेउमा ४ महिने बच्चा कोक्रोमा हल्लाउँदै उनी बसिरहेकी छन् ।

अचानक भत्काउन आयो । अस्तिमात्र सूचना दियो । अब कहाँ लान्छ केही थाहा छैन। व्यवस्था गर्छौं भनेको छ, तर कहाँ लग्छ थाहा छैन- उनले भनिन् ।

45 minutes ago, 08:45:56
बस्तीका दुई तिरबाट डोजर चल्दै

थगापाथलीको सुकुवबासी बस्तीमा डोजर दुई तिरबाट चलाइरहेको छ । शंखमूलतर्फबाट र प्रसुती गृहतिरबाट प्रशासनले बस्ती खाली गरिरहेको छ ।

47 minutes ago, 08:43:50
सुकुमवासीका सामान सार्न सघाउँदै प्रहरी

प्रहरीले सुकुमवासीका सामानहरू सार्न सघाइरहेका छन् । बस्तीमा केही वृद्धवृद्धाहरू रोइरहेका देखिन्छन् ।

लाइभ हेर्न यहाँ क्लिक गर्नुहोस्-

54 minutes ago, 08:37:05
बस्तीमा प्रवेश गरेको छ स्काभेटर

यसअघि सडकबाटै भेटिने संरचना भत्काइरहेको प्रशासनले अब बस्तीभित्रै पसेर संरचना खाली गरिररहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?