+

किकस्टार्टको जितमा सरुको गोल, एन्जिला सम्मिलित सेथु पनि विजयी

२०८३ वैशाख  २१ गते ११:३१ २०८३ वैशाख २१ गते ११:३१
किकस्टार्टको जितमा सरुको गोल, एन्जिला सम्मिलित सेथु पनि विजयी

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इन्डियन वुमन्स लिगमा नेपाली मिडफिल्डर सरु लिम्बुले गोल गरेको खेलमा किकस्टार्टले सेसा फुटबल एकेडेमीलाई ३-० ले पराजित गरेको छ।
  • सेथु एफसीले श्रीभूमी फुटबल क्लबलाई २-१ ले हराउँदै छैटौं जित हात पारेको छ र दोस्रो स्थानमा कायम छ।
  • इस्ट बंगला ९ खेलमा अपराजित रहँदै शीर्ष स्थानमा छ र किकस्टार्टले दशौँ चरणमा यसलाई चुनौती दिनेछ।

२१ वैशाख, काठमाडौं । इन्डियन वुमन्स लिग (आइडब्लुएल) मा नेपाली राष्ट्रिय महिला टोलीका मिडफिल्डर सरु लिम्बुले गोल गरेको खेलमा किकस्टार्टले जित हात पारेको छ ।

मिडफिल्डरद्वय सरु र रेनुका नगरकोटी सम्मिलित किकस्टार्टले सेसा फुटबल एकेडेमीलाई ३-० ले पराजित गरेको हो ।

नेसनल सेन्टर अफ एक्सिलेन्स मैदानमा आइतबार भएको खेलमा सरुले २९औं मिनेटमा गोल गरेकी हुन् । त्यसअघि नाइजेरियन खेलाडी इमेम पिस इसियनले १७औं मिनेटमा गोल गरेकी थिइन् भने बबिसाना देवीले ६७औं मिनेटमा टिमको लागि तेस्रो गोल गरिन् ।

यसअघि सरुल र रेनुकाले खेलेको पहिलो खेलमा किकस्टार्टले निता फुटबल एकेडेमीसँग १-१ को बराबरी खेलेको थियो ।

९ खेलमा तेस्रो जित हात पारेको किकस्टार्ट १० अंक जोडेर छैटौं स्थानमा उक्लेको छ र रेलिगेसन जोन छाडेको छ । ८ टोली सहभागी लिगमा पुछारका दुई टोली रेलिगेसनमा पर्नेछन् ।

यस्तै नेपाली राष्ट्रिय टिमकी गोलकिपर तथा पूर्व कप्तान एन्जिला तुम्बापो सुब्बा सम्मिलित सेथु एफसीले श्रीभूमी फुटबल क्लबलाई २–१ ले हरायो । पहिलो हाफमै तीन गोल भएको थियो ।

सेथुका लागि सुमती कुमारीले १३औं, स्लिन्डा कोमले २०औं र घानाकी खेलाडी फिलोमेना अबकाशले पेनाल्टीमार्फत ३८औं मिनेटमा गोल गरिन् ।

छैटौं जित हात पारेको सेथु ९ खेलबाट १९ अंक सहित दोस्रो स्थानमा कायम छ ।

अहिलेसम्म खेलेको सबै ९ खेल जितेर अपराजित इस्ट बंगला २७ अंक जोडेर शीर्ष स्थानमा छ ।

इस्ट बंगालले आइतबारै भएको खेलमा गोकुलम केरलालाई २–१ ले पराजित गरेको थियो ।

अब दशौँ चरणमा किकस्टार्टले शीर्ष स्थानको इस्ट बंगलाको सामना गर्नेछ र सेथु एफसीले निता फुटबल एकेडेमीसँग खेल्नेछ ।

किकस्टार्ट सरु लिम्बु

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय