News Summary
Generated by OK AI. Editorially reviewed.- इस्टपोल उसु क्वानले १२ स्वर्ण, ६ रजत र ६ कांस्य पदकसहित पाँचौं उपत्यका व्यापी खुला जुनियर उसु प्रतियोगिताको उपाधि जितेको छ ।
- प्रतियोगितामा ६ स्वर्णसहित अलकेमिस्ट दोस्रो र ५ स्वर्णसहित मनमैजु उसु क्वान तेस्रो स्थानमा रहे ।
- विजेता टोलीका प्रशिक्षक सिन्जालीले "लगातारको मेहनत, परिश्रम र खेलाडीहरूको समर्पणले यो सफलता प्राप्त भएको हो" भने ।
१८ जेठ, काठमाडौं । पाँचौं उपत्यका व्यापी खुला जुनियर उसु प्रतियोगिताको उपाधि इस्टपोल उसु क्वानले जितेको छ ।
जोरपाटी उसु क्वानको आयोजनामा तथा गोकर्णेश्वर नगरपालिकाको आर्थिक सहयोगमा गोकर्णेश्वर स्पोट्र्स सिटी हलमा भएको प्रतियोगितामा १२ स्वर्ण, ६ रजत र ६ कांस्य पदकसहित टिम ईष्टपोल उसु क्वान च्याम्पियन बन्न सफल भएको छ ।
प्रशिक्षक विजय सिन्जालीको नेतृत्वमा रहेको ईस्टपोल उसु क्वानले छोटो समयमै उल्लेखनीय सफलता हासिल गरेको हो । प्रमुख प्रशिक्षक सिन्जालीले खेलाडीहरूको निरन्तर मेहनत, लगनशीलता र अनुशासनका कारण उत्कृष्ट नतिजा सम्भव भएको बताए ।
‘लगातारको मेहनत, परिश्रम र खेलाडीहरूको समर्पणले यो सफलता प्राप्त भएको हो। हाम्रो सबैभन्दा बलियो पक्ष भनेको खेलाडीहरूको अनुशासन हो । लगातार तीन पटक टिम च्याम्पियन बन्न सफल हुँदा सम्पूर्ण खेलाडी, अभिभावक तथा आयोजक समितिलाई धन्यवाद दिन चाहन्छु’ उनले भने ।
प्रतियोगितामा अलकेमिस्ट उसु क्वान ६ स्वर्ण, १ रजत र ५ कांस्य पदकसहित दोस्रो स्थानमा रह्यो । टिमका प्रशिक्षक पासाङ शेर्पाले यस सफलताले खेलाडीहरूको मनोबल अझ उच्च बनाएको बताए । यस्तै, मनमैजु उसु क्वान ५ स्वर्ण, ९ रजत र ८ कांस्य पदकसहित तेस्रो स्थान हासिल गर्न सफल भयो ।
व्यक्तिगत उत्कृष्टतर्फ पुरुष थाओलु विधामा अलकेमिस्ट उसु क्वानका पेमा ग्याल्बो लामा उत्कृष्ट खेलाडी घोषित भए भने महिला थाओलु विधामा जोरपाटी उसु क्वानकी युमी अवाल उत्कृष्ट खेलाडी चुनिइन् । सान्दा पुरुषतर्फ दक्षिणकाली उसु क्वानका सागर गुरुङ र महिला सान्दातर्फ प्रज्ञा स्कुलकी दिया सलामी उत्कृष्ट खेलाडी घोषित भए ।
जोरपाटी उसु क्वानका अध्यक्ष नारायण श्रेष्ठले यस्ता प्रतियोगिताले नयाँ खेलाडी उत्पादन तथा उसु खेलको विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे ।
प्रतिक्रिया 4