+
+
Shares

नखिपोटमा खुला बास्केटबल आइतबारदेखि

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २० गते २०:५७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नखिपोट युथ क्लबको आयोजनामा आगामी आइतबारदेखि पाँचौं खुला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता शुरू हुने भएको छ ।
  • प्रतियोगितामा हालसम्म पुरुषतर्फ १८ र महिलातर्फ ७ टोलीको सहभागिता निश्चित भएको आयोजकले जनाएको छ ।
  • पुरुषतर्फको विजेताले १ लाख र महिलातर्फको विजेताले ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ ।

२० जेठ, काठमाडौं । नखिपोट युथ क्लबको आयोजनामा पाँचौं नखिपोट खुला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता आइतबारदेखि हुने भएको छ ।

प्रतियोगितामा हालसम्म पुरुषमा १८ तथा महिलामा ७ टिमको सहभागिता निश्चित भएको आयोजक क्लबका अध्यक्ष इन्द्रजित लिम्बूले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।

उनले टिम दर्ताको समय शुक्रबारसम्म रहेकाले सहभागी टिमको संख्या बढ्न सक्ने बताए । पुरुषको खेल नकआउट तथा महिलाको खेल लिग कम नकआउट पद्धतिमा हुनेछ । पुरुषमा नेपाल आर्मी तथा महिलामा माउन्टेन मुभर्स साविक विजेता हुन् ।

हरेक टिमले ३ विदेशी खेलाडी अनुबन्ध गर्न पाउने आयोजकले जनाएको छ । त्यसमा २ खेलाडीले खेल्न पाउने प्रावधान छ ।

प्रतियोगितामा मोफसलबाट कम्तीमा २ टिमको सहभागिता पक्का भइसकेको आयोजक क्लबका सदस्य एवं प्रतियोगिता संयोजक विनोद श्रेष्ठले बताए । दुवै टिम धरानका हुन् । धरानबाट जोन एन्ड द लोकल ब्यान्ड र धरान टिमले सहभागिता पक्का गरिसकेका छन् । मोफसलबाट पहिलोपटक टिम सहभागी हुन लागेको हो ।

पुरुषमा विजेताले १ लाख र उपविजेताले ५० हजार नगद पुरस्कार पाउने छन् । महिलामा पहिलो हुनेले ५० हजार र दोश्रोले २५ हजार नगद पुरस्कार हात पार्ने छन् । पुरुषतर्फ ‘मोस्ट भेलुएबल प्लेयर’ ले २० हजार र महिलाले १५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । उदीयमान पुरुष÷महिला खेलाडीलाई जनही १० हजार नगदबाट पुरस्कृत गरिने छ ।

प्रतियोगिताको सञ्चालन गर्न करिब १५ लाख रुपैयाँ खर्च हुने आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले बताए । ललितपुर महानगरपालिका वडा १४ को मुख्य प्रायोजन तथा नेपाल बास्केटबल संघको प्राविधिक सहयोगमा हुने प्रतियोगिताको फाइनल जेठ ३० गते हुनेछ ।

बास्केटबल बाहेक नखिपोट युथ क्लबले आकर्षक नगद पुरस्कार राशीको भलिबल र ब्याडमिन्टन प्रतियोगिता पनि आयोजना गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?