News Summary
Generated by OK AI. Editorially reviewed.- सप्तरीको छिन्नमस्ता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशवकुमार झामाथि कार्यकक्षमै हातपात भएपछि गाउँपालिकाको कामकाज प्रभावित भएको छ ।
- कर्मचारीहरूले दोषीमाथि कारबाही र सुरक्षाको माग गर्दै जिल्ला प्रशासन कार्यालय सप्तरीमा ध्यानाकर्षणपत्र बुझाएका छन् ।
- गाउँपालिकाले शिक्षा शाखा प्रमुख सन्तोषकुमार रायको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ ।
२२ जेठ, जनकपुरधाम । सप्तरीको छिन्नमस्ता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि हातपात भएपछि कामकाज नै प्रभावित भएको छ । बुधबार हुलहुज्जतसहित गएको टोलीले तोडफोड र हातपात गरेपछि कामकाज प्रभावित भएको हो ।
कर्मचारीहरुले घटनामा संलग्न व्यक्तिहरूमाथि कानुनी कारबाहीको माग गर्दै बिहीबार जिल्ला प्रशासन कार्यालय सप्तरीमा ध्यानाकर्षपत्र बुझाएका थिए ।
एक समूहले गाउँपालिका कार्यालयमा प्रवेश गरी प्रमुख प्रशासकीय अधिकृत केशवकुमार झामाथि कार्यकक्षभित्रै दुर्व्यवहार, अभद्र व्यवहार तथा मानसिक दबाब सिर्जना गरेको र भौतिक सम्पत्तिमा समेत क्षति पुर्याएको कर्मचारीको दाबी छ ।
कर्मचारीहरूले घटनामा संलग्न मुख्य योजनाकारसहित अन्य व्यक्तिहरूको तत्काल पहिचान गरी प्रचलित कानुनबमोजिम अनुसन्धान तथा कारबाही गर्न माग गरेका छन् । साथै गाउँपालिका कार्यालय, जनप्रतिनिधि तथा राष्ट्रसेवक कर्मचारीहरूको सुरक्षा सुनिश्चित गर्न आवश्यक सुरक्षा व्यवस्था र निगरानी बढाउन पनि भनेका छन् ।
गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरीका अनुसार वडा नम्बर ४ माध्यमिक विद्यालय लालापट्टीको विषयलाई लिएर असम्बन्धित व्यक्तिहरुको एक समूह बुधबार दिउँसो १ बजे कार्यालयमा अचानक पसेर प्रमुख प्रशासकीय अधिकृत झामाथि हातपात गरेका थिए ।
‘प्रमुख प्रशासकीयमाथि गालीगलौज हातपात नै गरे । अन्य कर्मचारीमाथि हुलुज्जत, कार्यालयमा तोडफोड जस्ता अराजक क्रियाकलाप असम्बन्धित व्यक्तिहरुको हुलले गरेको छ’ उनले भने ।
गाउँपालिकामा घटना पश्चात कामकाज प्रभावित भएको छ । बिहीबार कर्मचारीहरु जिल्ला प्रशासन कार्यालय पुगेका थिए । प्रमुख प्रशासकीय अधिकृत कार्यालय आउनै छाडेको पालिका अध्यक्ष चौधरीले बताए ।
घटनालाई लिएर गाउँपालिका कार्यालयले बिहीबार कार्यपालिका बैठकबाट शिक्षा शाखा प्रमुख सन्तोषकुमार रायको संयोजकत्वमा तीन सदस्य छानबिन समिति गठन गरेको छ । समितिलाई तीनदिन भित्र प्रतिवेदन बुझाउने समयावधि दिइएको पालिका अध्यक्ष चौधरीको भनाइ छ ।
यस्तै बैठकले कार्यपालिका निर्णय राष्ट्रसेवक कर्मचारीमाथि कुनैपनि बहानामा धरपकड, दुव्र्यबहार अस्वीकार्य रहेको र घटनामा संलग्न दोषीव्यक्तिहरुलाई अविलम्ब पत्ता लगाएर पक्राउ गरी कारबाहीको दायरामा ल्याउन सम्बन्धित निकायसँग माग गर्ने निर्णय समेत गरेको छ ।
कानुन, विधि, पद्धति अनुसार हुने काम सोही अनुसार गर्न गराउन सम्बन्धित सबै पक्षमा आह्वान गर्ने निर्णय समेत कार्यपालिकाको रहेको अध्यक्ष चौधरीको भनाइ छ ।
कार्यालयमा प्रमुख प्रशासकीय नआउँदा र कर्मचारी त्रसित हुँदा जेठ मसान्तको बेला कामकाज प्रभावित भएको छ ।
प्रतिक्रिया 4