News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेस बीपी कोइरालाको प्रजातान्त्रिक समाजवादको आदर्शबाट टाढिँदै लोकरिझ्याइँ र व्यक्तिगत लोकप्रियताको राजनीतिमा लागेको विश्लेषण गरिएको छ ।
- संसदीय प्रणालीमाथि विभिन्न कोणबाट प्रहार भइरहेका बेला प्रमुख संवाहक दाबी गर्ने कांग्रेसले त्यसको बलियो वैचारिक प्रतिरक्षा गर्न नसकेको औंल्याइएको छ ।
- राष्ट्रिय स्वतन्त्र पार्टीजस्ता नयाँ दलको शैली पछ्याउँदा कांग्रेस आफ्नो मौलिक चरित्र र ऐतिहासिक वैचारिक धरातलबाट विचलित हुने जोखिम बढेको उल्लेख छ ।
विशेष महाधिवेशनको उद्घाटन सम्बोधनमा ‘बीपी र गणेशमानको रगत मेरो शरीरमा नहोला, तर बीपी र गणेशमानले बोकेको विचार ममा छ’ भन्ने सभापति गगन थापाले के अहिले व्यावहारिक रूपमै बीपीको विचार बोकेका छन् त ?
दायाँतिर विनोद चौधरी र बायाँतिर उमेश श्रेष्ठलाई काखी च्यापेर हिँडेका गगनले नेपाली कांग्रेसभित्र समाजवादी चिन्तनको बहस चलाउन चाहनेहरूलाई गरिरहेको उपेक्षाबाट स्पष्ट हुन्छ, उनको ध्यान समाजवादतर्फ छैन । अपितु, आजको लोकरिझ्याइँ राजनीतिले हुर्काएको कथित ‘कस्म्याटिक चेन्ज’मै अडेको छ । कसै–कसैले त भन्न थालेका छन्– कांग्रेस यतिखेर घन्टीको ‘चारु धुन’मा मग्न भएर नृत्य गर्दैछ ।
आज पनि नेपाली कांग्रेस ‘सोसलिस्ट इन्टरनेसनल’को सदस्य संगठनका रूपमा विद्यमान छ । तर आफ्नै वैचारिक मूलधारबारे कांग्रेस अन्योलग्रस्त देखिन्छ । संगठनात्मक सम्बन्ध यथावत् छ, तर वैचारिक प्रतिबद्धता क्रमशः क्षीण हुँदै गएको अनुभूति हुन्छ । नाममा समाजवाद छ, तर बहसको केन्द्र अन्यत्र सरिसकेको छ ।
अब प्रश्न उठ्छ– आफैं विचार सम्पदाले भरिपूर्ण नेपाली कांग्रेस कहिलेसम्म अरूको विचारको भरिया बन्ने ?
बीपीको मर्ममाथि प्रहार
महामानव बीपी कोइराला केवल एक राजनीतिक व्यक्तित्व होइनन्, एक युगद्रष्टा चिन्तक पनि हुन् । उनको विचारको केन्द्रीय सार दुई स्तम्भमा अडिएको थियो– संसदीय प्रजातन्त्र र प्रजातान्त्रिक समाजवाद । यही उनको वैचारिक विरासत थियो । यही उनको राजनीतिक तपस्या थियो ।
दुर्भाग्यवश, समय क्रममा बीपीलाई उनका मूल विचारभन्दा बढी राजसंस्थासँगको सम्बन्धका आधारमा व्याख्या गर्ने प्रवृत्ति विकसित भयो । राष्ट्रियताको प्रश्नमा उनले राजसंस्थासँग सहकार्यको प्रसंग उठाएका थिए । त्यो तत्कालीन ऐतिहासिक परिस्थितिको उपज थियो । राष्ट्रको सार्वभौमिकता संकटमा परेको घडीको रणनीतिक दृष्टिकोण थियो । तर त्यसलाई उनको स्थायी राजनीतिक दर्शनका रूपमा चित्रित गर्नु इतिहासप्रतिको अन्याय हो ।
बीपीको चेतनाको केन्द्र राजसंस्था होइन, लोकतन्त्र थियो । उनको अन्तस्करणको धड्कन समाजवाद थियो । उनको स्वप्न समतामूलक समाजको निर्माण थियो । उनको संघर्ष जनअधिकारका लागि थियो ।
विडम्बना, आज प्रहार बाहिरबाट मात्र भइरहेको छैन, आफ्नै आँगनबाटै भइरहेको छ । आफ्नै पंक्तिबाट पनि भइरहेको छ । जानेर वा नजानेर, नेपाली कांग्रेस भित्रैबाट बीपीको वैचारिक धरोहर क्रमशः क्षीण बनाइँदै छ ।

विशेष महाधिवेशनपछिका बहसहरूले यही संकेत गर्छन् । पार्टी नेतृत्वले प्रजातान्त्रिक समाजवादको स्थानमा ‘सामाजिक लोकतन्त्र’लाई मार्गनिर्देशक सिद्धान्तका रूपमा स्थापित गर्नुपर्ने धारणा सार्वजनिक रूपमा अभिव्यक्त गर्न थालेको छ । विशेषतः सभापति गगन थापाले २०७८ सालको महाधिवेशनपूर्व नै सामाजिक लोकतन्त्रलाई वैचारिक दिशासूचक बनाउनुपर्ने प्रस्तावसहित दस्तावेज सार्वजनिक गरेका थिए ।
स्मरणीय छ, विश्व पूँजीवाद र साम्यवादका दुई ध्रुवमा विभाजित भइरहेका बेला बीपीले प्रजातान्त्रिक समाजवादको मध्यमार्ग अवलम्बन गरेका थिए । त्यो समन्वयको दर्शन थियो । सन्तुलनको सिद्धान्त थियो । मानव स्वतन्त्रता र सामाजिक न्यायबीचको सेतु थियो । यही वैचारिक धाराले पछि अन्तर्राष्ट्रिय समाजवादी आन्दोलनलाई संस्थागत रूप दियो, जसको प्रतिविम्ब आज पनि समाजवादी अन्तर्राष्ट्रिय मञ्चहरूमा जीवित छ ।
प्रश्न अब केवल विचारको मात्र रहेन, प्रश्न विरासतको पनि हो । प्रश्न पहिचानको हो । र, प्रश्न यो हो–कांग्रेस बीपीको बाटोमा हिँड्दैछ कि बीपीलाई स्मृतिमा राखेर उनका सिद्धान्तबाट टाढिँदै छ ?
लोकतन्त्रको उपहास
समाजवादको कुरा मात्र हैन, बीपीले जीवनभर जोगाउन संघर्ष गरेको संसदीय लोकतन्त्र पनि आज बहुआयामिक आक्रमणको निसानामा छ । कुनै समय कम्युनिस्ट धाराले संसद्लाई ‘खसीको टाउको झुन्ड्याएर कुकुरको मासु बेच्ने ठाउँ’ भनेर उपहास गर्थ्यो । त्यो वैचारिक असहमतिको युग थियो । तर आज परिस्थिति फरक छ । अहिले आफूलाई नवीन, वैकल्पिक र परिवर्तनकारी भन्ने शक्तिहरू नै संसदीय प्रणालीको वैधता र गरिमामाथि प्रश्नचिह्न खडा गरिरहेका छन् । आलोचना मात्र होइन, अविश्वासको संस्कार नै स्थापित गर्न खोजिँदै छ ।
प्रधानमन्त्री बालेन शाह आफैंले प्रस्तुत गरेको नीति तथा कार्यक्रमको बहसमा उपस्थित नहुनु, सम्माननीय राष्ट्रपतिबाट सम्बोधन भइरहँदा बीचमै जुरुक्क उठेर हिँडनु, संसदीय प्रक्रिया र नियमावलीविपरीत एकाएक हात उठाएर सभामुखसँग बोल्नका लागि समय माग्नु र पद्धति मिचेरै सांसदहरूका प्रश्नको जवाफ दिनु जस्ता हर्कतले संसदीय लोकतान्त्रिक पद्धतिको धज्जी उडाएकै हो ।
तर, प्रधानमन्त्रीलाई संसदप्रति जवाफदेही बनाउन विपक्षीले आवाज उठाउँदा सत्तापक्षका सांसद जगदीश खरेलले त्यसलाई ‘संसदीय तमासा’को संज्ञा दिए । खासमा संसदीय मर्यादा र पद्धति बुझ्नेहरूले हेक्का राखिरहेकै होलान्, संसदीय पद्धति र लोकतन्त्रलाई तमासा कसले बनाइरहेको छ ?
नेपाललाई नजिकबाट चिन्नेहरूले मान्दै आएको एउटा सत्य के हो भने, कांग्रेस यो देशको एउटा शक्ति हो । चुनावमा पाएको मतका आधारमा सानो होस् वा ठूलो, भोट धेरै पाओस् वा थोरै, पहिलो पार्टी होस् वा दोस्रो, तर यो पार्टी एउटा शक्ति हो । सत्तामा बस्दा र नबस्दा यसको शक्तिमा कुनै फरक पर्दैन । के अहिलेको नेतृत्वले यसलाई बुझेको छ ? यो तथ्यलाई आत्मसात गरेको छ ?
कुनै राजनीतिक प्रक्षिक्षण, क्रान्ति र आन्दोलनको पृष्ठभूमि अनि वैचारिक धरातल बिना ‘दुर्घटनाको दलदल’बाट सत्तामा हावी भएका शक्तिहरूको असली अभिष्ट या रूप अझै स्पष्ट हुन सकिरहेको छैन ।

संघीय लोकतान्त्रिक गणतन्त्र, धर्म निरपेक्षता र समावेशिताप्रति रास्वपाको प्रतिबद्धताको गहिरो मापन हुन बाँकी नै छ । राष्ट्रियता र जन जीविकाको प्रश्नमा पनि नयाँ भनिने शक्तिलाई शंकाको सुविधा दिन सकिएला । तर गम्भीर प्रश्न नेपाली राजनीतिको हिजोसम्मको माउ, मूलधार या ठूलो मानिँदै आएको दल नेपाली कांग्रेसमाथि उठ्छ ।
संसदीय लोकतन्त्रको प्रमुख संवाहक दाबी गर्ने दल किन हिजोआज रक्षात्मक देखिन्छ ? किन यसको वैचारिक प्रतिरक्षा कमजोर छ ? किन यसको पक्षमा दृढ र स्पष्ट आवाज सुनिँदैन ? किन यो धरमराउँछ, थरथर काम्छ ? लोकतान्त्रिक मूल्यहरूको धज्जी उडाइरहँदा कांग्रेस किन उराल्न सकिरहेको छैन, ‘गगनभेदी आवाज’ ?
कारण सम्भवतः पार्टीभित्रै खोज्नुपर्छ । कांग्रेसका धेरै नेताहरूको राजनीतिक आकांक्षा अब संसदीय प्रणालीको परिस्कारतर्फ होइन, प्रत्यक्ष निर्वाचित कार्यकारीको अवधारणातर्फ उन्मुख देखिन्छ । सरकारको नेतृत्व होस् वा पार्टीको नेतृत्व, उनीहरूको आकर्षण प्रतिनिधिमूलक प्रक्रियाभन्दा प्रत्यक्ष जनमतमा बढी केन्द्रित देखिन्छ । उनीहरू लोकरिझ्याइँ राजनीतिको लहलहैमा लागेको आशंका बढेको छ ।
यहीँ बीपीको दर्शन र वर्तमान प्रवृत्तिबीचको दूरी प्रकट हुन्छ । बीपीको संसदीय लोकतन्त्र व्यक्तिपूजाको सिद्धान्त थिएन । त्यो संस्थामाथिको विश्वास थियो । प्रक्रियामाथिको आस्था थियो । प्रतिनिधित्वको मर्यादा थियो । कांग्रेसको संगठनात्मक संरचना पनि त्यही दर्शनको प्रतिरूप हो– वडाबाट प्रतिनिधि, प्रतिनिधिबाट महाधिवेशन, महाधिवेशनबाट नेतृत्व । चरणबद्ध वैधता । संस्थागत छनोट । उत्तरदायित्वको शृङ्खला ।
तर, लोकप्रियताको तत्कालिक तरङ्गमा राजनीति नाप्नेहरूलाई यस्तो संरचना स्वाभाविक रूपमा बोझिलो लाग्छ । उनीहरू परिणाम खोज्छन्, प्रक्रिया होइन । व्यक्तिलाई हेर्छन्, संस्थालाई होइन । भिडको समर्थनमा मोहित हुन्छन्, तर संस्थागत सहमतिप्रति धैर्य राख्दैनन् । यही कारणले प्रश्न झन् सान्दर्भिक बन्छ– संसदीय लोकतन्त्रको आत्मा नबुझी, बीपीको राजनीतिक दर्शन बुझिएको दाबी कसरी गर्न सकिन्छ ? स्मृतिमा बीपीलाई सम्मान गर्नु एउटा कुरा हो, तर उनको वैचारिक मर्मलाई आत्मसात गर्नु विल्कुलै भिन्न हो ।
‘व्यक्तिवाद’को दलदल
प्रत्यक्ष कार्यकारी प्रमुखले संसदीय परिपाटी या संस्थालाई भन्दा बढी ‘व्यक्तिवाद’लाई बढावा दिन्छ । कांग्रेसको ‘अर्ग्यानिक धार’ यो हुँदै हैन । अनि, अरूले अघि सारेको धारमा हिँड्नु कांग्रेसको मौलिक चरित्र पनि हैन । कांग्रेस आज आफ्नो धार र चरित्रबाट विचलित हुन थालेको छ । व्यक्तिवादको दलदलमा होमिने खतरा बढेको छ ।
नेपाली कांग्रेस आफैँमा एउटा ऐतिहासिक राजनीतिक धारा हो । यो कुनै क्षणिक उत्तेजना, सामाजिक सञ्जालको हल्ला वा जनभावनाको अस्थायी तरङ्गमाथि उभिएको संगठन होइन । यसको वैचारिक जग लोकतान्त्रिक समाजवाद, संवैधानिकता, बहुलवाद,
सभापति गगन थापालगायत केही नेताहरूले उठाइरहेका प्रश्न र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अघि सारेका राजनीतिक भाष्यबीचको तादात्म्य चिन्ताजनक छ । कांग्रेस आफ्नो ऐतिहासिक वैचारिक धरातलबाट चिप्लिएर रास्वपाले निर्माण गरेको असन्तुष्टि, आक्रोश र संस्थाविरोधी राजनीतिक मनोविज्ञानको दलदलतर्फ त तानिँदै त छैन ? अनि कसैलाई मसिहा बनाउने ‘मसिहापन्थ’ तर्फ अग्रसर त छैन ?
हामीले बुझेकै हो, रास्वपाको मूल राजनीतिक शक्तिको आधार आक्रोश मात्र हो । कुनै स्पष्ट वैचारिक दर्शनबाट भन्दा पनि ‘पुराना दल असफल भए’, ‘व्यवस्था भ्रष्ट छ’, ‘सबै नेता उस्तै हुन्’ नकारात्मक भाष्यबाट निर्मित देखिन्छ । यो भाष्यले समस्याको पहिचान त गर्छ, तर समाधानको स्पष्ट वैचारिक नक्सा प्रस्तुत गर्दैन ।
लोकतान्त्रिक समाजवाद, उदारवाद वा कुनै स्थापित राजनीतिक दर्शनसँग आफ्नो सम्बन्ध स्पष्ट नगरी केवल असन्तुष्टिको प्रतिनिधित्व गर्ने रास्वपाले देश र जनताको भलो गर्न सक्दैन भन्ने स्पष्ट छ ।
हो, यहींनेर कांग्रेसले आफ्नो वैचारिक आधारलाई प्रखर रूपमा मुखरित गर्दै आफ्नो उपस्थिति जनाउनुपर्नेमा झन निरीह भइरहेको छ । सभापति गगन थापाले बारम्बार पार्टी भित्रको कमजोरी, नेतृत्वको अकर्मण्यता र परिवर्तनको आवश्यकताबारे प्रश्न उठाउनु लोकतान्त्रिक अभ्यासको दृष्टिले सकारात्मक हुन सक्छ, उनको आक्रामक शैलीलाई पनि एक हदसम्म जायज मान्न सकिएला ।
तर, जब सुधारिएको कांग्रेसले बोकेको विचार के त, भन्ने प्रश्न खडा हुन्छ, कांग्रेसले लोकरिझ्याइँ हुण्डरीमा आफूलाई बगाएको पाइन्छ । कांग्रेसले सदैव संस्था निर्माण, संविधान, संसद्, दलगत प्रणाली र लोकतान्त्रिक प्रक्रियाको रक्षा गरेको दाबी गर्छ । तर रास्वपाको लोकप्रियता भनेको ‘व्यवस्थाभन्दा व्यक्तिको चमत्कार’मा आधारित छ । कांग्रेसले पनि संस्थागत प्रक्रियाभन्दा व्यक्तिकेन्द्रित लोकप्रियताको राजनीति पछ्याउन थालेको हो भने त्यो आफ्नो मूल दर्शनबाट उसको विचलन हो ।
कांग्रेस रास्वपाको दलदलमा भासिने खतरा कुनै विशेष आर्थिक वा वैदेशिक नीतिमा भन्दा बढी राजनीतिक मनोविज्ञानमा छ– आत्महिनता, परम्परागत दलविरोधी भाष्य, संस्थाप्रतिको अविश्वास र वैचारिक अस्पष्टतालाई अंगीकार गर्ने जोखिममा ।
कांग्रेसले सुधार गर्नुपर्छ, नेतृत्व बदल्नुपर्छ, जनताको अपेक्षाअनुसार आफूलाई रूपान्तरण गर्नुपर्छ; तर त्यो आफ्नै लोकतान्त्रिक समाजवादी आदर्शको धरातलमा उभिएर गर्नुपर्छ । अन्यथा इतिहास बोकेको पार्टी क्षणिक लोकप्रियताको घन्टी सुन्दै आफ्नै मार्ग, राग र ताल बिर्सिने जोखिममा पर्न सक्छ ।
(लम्साल नेपाल प्रेस युनियनका अध्यक्ष हुन् ।)
प्रतिक्रिया 4