+
+
Shares
विचार :

घन्टीको धुनमा कांग्रेसको नृत्य

प्रश्न उठ्छ– आफैं विचार सम्पदाले भरिपूर्ण नेपाली कांग्रेस कहिलेसम्म अरूको विचारको भरिया बन्ने ?

शिव लम्साल शिव लम्साल
२०८३ जेठ २४ गते १४:१४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेस बीपी कोइरालाको प्रजातान्त्रिक समाजवादको आदर्शबाट टाढिँदै लोकरिझ्याइँ र व्यक्तिगत लोकप्रियताको राजनीतिमा लागेको विश्लेषण गरिएको छ ।
  • संसदीय प्रणालीमाथि विभिन्न कोणबाट प्रहार भइरहेका बेला प्रमुख संवाहक दाबी गर्ने कांग्रेसले त्यसको बलियो वैचारिक प्रतिरक्षा गर्न नसकेको औंल्याइएको छ ।
  • राष्ट्रिय स्वतन्त्र पार्टीजस्ता नयाँ दलको शैली पछ्याउँदा कांग्रेस आफ्नो मौलिक चरित्र र ऐतिहासिक वैचारिक धरातलबाट विचलित हुने जोखिम बढेको उल्लेख छ ।

विशेष महाधिवेशनको उद्घाटन सम्बोधनमा ‘बीपी र गणेशमानको रगत मेरो शरीरमा नहोलातर बीपी र गणेशमानले बोकेको विचार ममा छ’ भन्ने सभापति गगन थापाले के अहिले व्यावहारिक रपमै बीपीको विचार बोकेका छन् त ?

दायाँतिर विनोद चौधरी र बायाँतिर उमेश श्रेष्ठलाई काखी च्यापेर हिँडेका गगनले नेपाली काग्रेसभित्र समाजवादी चिन्तनको बहस चलाउन चाहनेहरलाई गरिरहेको उपेक्षाबाट स्पष्ट हुन्छउनको ध्यान समाजवादतर्फ छैन । अपितु, आजको लोकरिझ्याइँ राजनीतिले हुर्काएको कथित ‘कस्म्याटिक चेन्ज’मै अडेको छ । कसै–कसैले त भन्न थालेका छन्– काग्रेस यतिखेर घन्टीको ‘चारु धुन’मा मग्न भएर नृत्य गर्दैछ ।

आज पनि नेपाली कांग्रेस ‘सोसलिस्ट इन्टरनेसनल’को सदस्य संगठनका रपमा विद्यमान छ । तर आफ्नै वैचारिक मूलधारबारे काग्रेस अन्योलग्रस्त देखिन्छ । संगठनात्मक सम्बन्ध यथावत् छतर वैचारिक प्रतिबद्धता क्रमशः क्षीण हुँदै गएको अनुभूति हुन्छ । नाममा समाजवाद छतर बहसको केन्द्र अन्यत्र सरिसकेको छ ।

अब प्रश्न उठ्छ– आफैं विचार सम्पदाले भरिपूर्ण नेपाली काग्रेस कहिलेसम्म अरूको विचारको भरिया बन्ने ?

बीपीको मर्ममाथि प्रहार

महामानव बीपी कोइराला केवल एक राजनीतिक व्यक्तित्व होइनन्एक युगद्रष्टा चिन्तक पनि हुन् । उनको विचारको केन्द्रीय सार दुई स्तम्भमा अडिएको थियो– संसदीय प्रजातन्त्र र प्रजातान्त्रिक समाजवाद । यही उनको वैचारिक विरासत थियो । यही उनको राजनीतिक तपस्या थियो ।

दुर्भाग्यवशसमय क्रममा बीपीलाई उनका मूल विचारभन्दा बढी राजसंस्थासँगको सम्बन्धका आधारमा व्याख्या गर्ने प्रवृत्ति विकसित भयो । राष्ट्रियताको प्रश्नमा उनले राजसंस्थासँग सहकार्यको प्रसंग उठाएका थिए । त्यो तत्कालीन ऐतिहासिक परिस्थितिको उपज थियो । राष्ट्रको सार्वभौमिकता संकटमा परेको घडीको रणनीतिक दृष्टिकोण थियो । तर त्यसलाई उनको स्थायी राजनीतिक दर्शनका रूपमा चित्रित गर्नु इतिहासप्रतिको अन्याय हो ।

बीपीको चेतनाको केन्द्र राजसंस्था होइनलोकतन्त्र थियो । उनको अन्तस्करणको धड्कन समाजवाद थियो । उनको स्वप्न समतामूलक समाजको निर्माण थियो । उनको संघर्ष जनअधिकारका लागि थियो ।

विडम्बनाआज प्रहार बाहिरबाट मात्र भइरहेको छैन, आफ्नै आँगनबाटै भइरहेको छ । आफ्नै पंक्तिबाट पनि भइरहेको छ । जानेर वा नजानेरनेपाली कांग्रेस भित्रैबाट बीपीको वैचारिक धरोहर क्रमशः क्षीण बनाइँदै छ ।

विशेष महाधिवेशनपछिका बहसहरूले यही संकेत गर्छन् । पार्टी नेतृत्वले प्रजातान्त्रिक समाजवादको स्थानमा ‘सामाजिक लोकतन्त्र’लाई मार्गनिर्देशक सिद्धान्तका रूपमा स्थापित गर्नुपर्ने धारणा सार्वजनिक रूपमा अभिव्यक्त गर्न थालेको छ । विशेषतः सभापति गगन थापाले २०७८ सालको महाधिवेशनपूर्व नै सामाजिक लोकतन्त्रलाई वैचारिक दिशासूचक बनाउनुपर्ने प्रस्तावसहित दस्तावेज सार्वजनिक गरेका थिए ।

स्मरणीय छविश्व पूँजीवाद र साम्यवादका दुई ध्रुवमा विभाजित भइरहेका बेला बीपीले प्रजातान्त्रिक समाजवादको मध्यमार्ग अवलम्बन गरेका थिए । त्यो समन्वयको दर्शन थियो । सन्तुलनको सिद्धान्त थियो । मानव स्वतन्त्रता र सामाजिक न्यायबीचको सेतु थियो । यही वैचारिक धाराले पछि अन्तर्राष्ट्रिय समाजवादी आन्दोलनलाई संस्थागत रूप दियोजसको प्रतिविम्ब आज पनि समाजवादी अन्तर्राष्ट्रिय मञ्चहरूमा जीवित छ ।

प्रश्न अब केवल विचारको मात्र रहेनप्रश्न विरासतको पनि हो । प्रश्न पहिचानको हो । र, प्रश्न यो होकांग्रेस बीपीको बाटोमा हिँड्दैछ कि बीपीलाई स्मृतिमा राखेर उनका सिद्धान्तबाट टाढिँदै छ ?

लोकतन्त्रको उपहास

समाजवादको कुरा मात्र हैनबीपीले जीवनभर जोगाउन संघर्ष गरेको संसदीय लोकतन्त्र पनि आज बहुआयामिक आक्रमणको निसानामा छ । कुनै समय कम्युनिस्ट धाराले संसद्‌लाई ‘खसीको टाउको झुन्ड्याएर कुकुरको मासु बेच्ने ठाउँ’ भनेर उपहास गर्थ्यो । त्यो वैचारिक असहमतिको युग थियो । तर आज परिस्थिति फरक छ । अहिले आफूलाई नवीनवैकल्पिक र परिवर्तनकारी भन्ने शक्तिहरू नै संसदीय प्रणालीको वैधता र गरिमामाथि प्रश्नचिह्न खडा गरिरहेका छन् । आलोचना मात्र होइनअविश्वासको संस्कार नै स्थापित गर्न खोजिँदै छ ।

प्रधानमन्त्री बालेन शाह आफैले प्रस्तुत गरेको नीति तथा कार्यक्रमको बहसमा उपस्थित नहुनुसम्माननीय राष्ट्रपतिबाट सम्बोधन भइरहँदा बचमै जुरुक्क उठेर हिँडनुसंसदीय प्रक्रिया र नियमावलीविपरीत एकाएक हात उठाएर सभामुखसँग बोल्नका लागि समय माग्नु र पद्धति मिचेरै सांसहरका प्रश्नको जवाफ दिनु जस्ता हर्कतले संसदीय लोकतान्त्रिक पद्धतिको धज्जी उडाएकै हो ।

तरप्रधानमन्त्रीलाई संसदप्रति जवाफदेही बनाउन विपक्षीले आवाज उठाउँदा सत्तापक्षका सांसद जगदीश खरेलले त्यसलाई ‘संसदीय तमासा’को संज्ञा दिए । खासमा संसदीय मर्यादा र पद्धति बुझ्नेहरले हेक्का राखिरहेकै होलान्संसदीय पद्धति र लोकतन्त्रलाई तमासा कसले बनाइरहेको छ ?

नेपाललाई नजिकबाट चिन्नेहरले मान्दै आएको एउटा सत्य के हो भने, कांग्रेस यो देशको एउटा शक्ति हो । चुनावमा पाएको मतका आधारमा सानो होस् वा ठूलोभोट धेरै पाओस् वा थोरैपहिलो पार्टी होस् वा दोस्रोतर यो पार्टी एटा शक्ति हो । सत्तामा बस्दा र नबस्दा यसको शक्तिमा कुनै फरक पर्दैन । के अहिलेको नेतृत्वले यसलाई बुझेको छ ? यो तथ्यलाई आत्मसात गरेको छ ?

कुनै राजनीतिक प्रक्षिक्षणक्रान्ति र आन्दोलनको पृष्ठभूमि अनि वैचारिक धरातल बिना ‘दुर्घटनाको दलदल’बाट सत्तामा हावी भएका शक्तिहरको असली अभिष्ट या रूप अझै स्पष्ट हुन सकिरहेको छैन ।

संघीय लोकतान्त्रिक गणतन्त्रधर्म निरपेक्षता र समावेशिताप्रति रास्वपाको प्रतिबद्धताको गहिरो मापन हुन बाँकी नै छ । राष्ट्रियता र जन जीविकाको प्रश्नमा पनि नयाँ भनिने शक्तिलाई शकाको सुविधा दिन सकिएला । तर गम्भीर प्रश्न नेपाली राजनीतिको हिजोसम्मको माउमूलधार या ठूलो मानिँदै आएको दल नेपाली कांग्रेसमाथि उठ्छ ।

संसदीय लोकतन्त्रको प्रमुख संवाहक दाबी गर्ने दल किन हिजोआज रक्षात्मक देखिन्छ ? किन यसको वैचारिक प्रतिरक्षा कमजोर छ ? किन यसको पक्षमा दृढ र स्पष्ट आवाज सुनिँदैन ? किन यो धरमराउँछथरथर काम्छ ? लोकतान्त्रिक मूल्यहरको धज्जी उडाइरहँदा काग्रेस किन उराल्न सकिरहेको छैन, ‘गगनभेदी आवाज’ ?

कारण सम्भवतः पार्टीभित्रै खोज्नुपर्छ । कांग्रेसका धेरै नेताहरूको राजनीतिक आकांक्षा अब संसदीय प्रणालीको परिस्कारतर्फ होइनप्रत्यक्ष निर्वाचित कार्यकारीको अवधारणातर्फ उन्मुख देखिन्छ । सरकारको नेतृत्व होस् वा पार्टीको नेतृत्वउनीहरूको आकर्षण प्रतिनिधिमूलक प्रक्रियाभन्दा प्रत्यक्ष जनमतमा बढी केन्द्रित देखिन्छ । उनीहर लोकरिझ्याइँ राजनीतिको लहलहैमा लागेको आशका बढेको छ ।

यहीँ बीपीको दर्शन र वर्तमान प्रवृत्तिबीचको दूरी प्रकट हुन्छ । बीपीको संसदीय लोकतन्त्र व्यक्तिपूजाको सिद्धान्त थिएन । त्यो संस्थामाथिको विश्वास थियो । प्रक्रियामाथिको आस्था थियो । प्रतिनिधित्वको मर्यादा थियो । कांग्रेसको संगठनात्मक संरचना पनि त्यही दर्शनको प्रतिरूप हो– वडाबाट प्रतिनिधिप्रतिनिधिबाट महाधिवेशनमहाधिवेशनबाट नेतृत्व । चरणबद्ध वैधता । संस्थागत छनोट । उत्तरदायित्वको शृङ्खला ।

तर, लोकप्रियताको तत्कालिक तरङ्गमा राजनीति नाप्नेहरूलाई यस्तो संरचना स्वाभाविक रूपमा बोझिलो लाग्छ । उनीहरू परिणाम खोज्छन्प्रक्रिया होइन । व्यक्तिलाई हेर्छन्संस्थालाई होइन । भिडको समर्थनमा मोहित हुन्छन्तर संस्थागत सहमतिप्रति धैर्य राख्दैनन् । यही कारणले प्रश्न झन् सान्दर्भिक बन्छ– संसदीय लोकतन्त्रको आत्मा नबुझीबीपीको राजनीतिक दर्शन बुझिएको दाबी कसरी गर्न सकिन्छ ? स्मृतिमा बीपीलाई सम्मान गर्नु एउटा कुरा होतर उनको वैचारिक मर्मलाई आत्मसात गर्नु विल्कुलै भिन्न हो ।

व्यक्तिवाद’को दलदल

प्रत्यक्ष कार्यकारी प्रमुखले संसदीय परिपाटी या संस्थालाई भन्दा बढी ‘व्यक्तिवाद’लाई बढावा दिन्छ । काग्रेसको ‘अर्ग्यानिक धार’ यो हुँदै हैन । अनिअरले अघि सारेको धारमा हिँडनु काग्रेसको मौलिक चरित्र पनि हैन । काग्रेस आज आफ्नो धार र चरित्रबाट विचलित हुन थालेको छ । व्यक्तिवादको दलदलमा होमिने खतरा बढेको छ ।

नेपाली काग्रेस आफैँमा एउटा ऐतिहासिक राजनीतिक धारा हो । यो कुनै क्षणिक उत्तेजनासामाजिक सञ्जालको हल्ला वा जनभावनाको अस्थायी तरङ्गमाथि उभिएको संगठन होइन । यसको वैचारिक जग लोकतान्त्रिक समाजवादसंवैधानिकताबहुलवाद, नागरिक स्वतन्त्रता र संस्थागत लोकतन्त्रमा आधारित छ । त्यसैले काग्रेसको शक्ति यसको आफ्नै वैचारिक ‘लकिर’ मा छअरूको लकिर पछ्याउने ‘फकिरी’ मा होइन ।

सभापति गगन थापालगायत केही नेताहरूले उठाइरहेका प्रश्न र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अघि सारेका राजनीतिक भाष्यबीचको तादात्म्य चिन्ताजनक छ । काग्रेस आफ्नो ऐतिहासिक वैचारिक धरातलबाट चिप्लिएर रास्वपाले निर्माण गरेको असन्तुष्टिआक्रोश र संस्थाविरोधी राजनीतिक मनोविज्ञानको दलदलतर्फ त तानिँदै त छैन ? अनि कसैलाई मसिहा बनाउने ‘मसिहापन्थ’ तर्फ अग्रसर त छैन ?

हामीले बुझेकै होरास्वपाको मूल राजनीतिक शक्तिको आधार आक्रोश मात्र हो । कुनै स्पष्ट वैचारिक दर्शनबाट भन्दा पनि ‘पुराना दल असफल भए’, ‘व्यवस्था भ्रष्ट छ’, ‘सबै नेता उस्तै हुन्’ नकारात्मक भाष्यबाट निर्मित देखिन्छ । यो भाष्यले समस्याको पहिचान त गर्छतर समाधानको स्पष्ट वैचारिक नक्सा प्रस्तुत गर्दैन ।

लोकतान्त्रिक समाजवादउदारवाद वा कुनै स्थापित राजनीतिक दर्शनसँग आफ्नो सम्बन्ध स्पष्ट नगरी केवल असन्तुष्टिको प्रतिनिधित्व गर्ने रास्वपाले देश र जनताको भलो गर्न सक्दैन भन्ने स्पष्ट छ ।

होयहींनेर काग्रेसले आफ्नो वैचारिक आधारलाई प्रखर रपमा मुखरित गर्दै आफ्नो उपस्थिति जनाउनुपर्नेमा झन निरह भइरहेको छ । सभापति गगन थापाले बारम्बार पार्टी भित्रको कमजोरीनेतृत्वको अकर्मण्यता र परिवर्तनको आवश्यकताबारे प्रश्न उठाउनु लोकतान्त्रिक अभ्यासको दृष्टिले सकारात्मक हुन सक्छउनको आक्रामक शैलीलाई पनि एक हदसम्म जायज मान्न सकिएला ।

तर, जब सुधारिएको काग्रेसले बोकेको विचार के तभन्ने प्रश्न खडा हुन्छकाग्रेसले लोकरिझ्याइँ हुण्डरीमा आफूलाई बगाएको पाइन्छ । काग्रेसले सदैव संस्था निर्माणसंविधानसंसददलगत प्रणाली र लोकतान्त्रिक प्रक्रियाको रक्षा गरेको दाबी गर्छ । तर रास्वपाको लोकप्रियता भनेको ‘व्यवस्थाभन्दा व्यक्तिको चमत्कार’मा आधारित छ । काग्रेसले पनि संस्थागत प्रक्रियाभन्दा व्यक्तिकेन्द्रित लोकप्रियताको राजनीति पछ्याउन थालेको हो भने त्यो आफ्नो मूल दर्शनबाट उसको विचलन हो ।

काग्रेस रास्वपाको दलदलमा भासिने खतरा कुनै विशेष आर्थिक वा वैदेशिक नीतिमा भन्दा बढी राजनीतिक मनोविज्ञानमा छ आत्महिनतापरम्परागत दलविरोधी भाष्यसंस्थाप्रतिको अविश्वास र वैचारिक अस्पष्टतालाई अंगीकार गर्ने जोखिममा ।

काग्रेसले सुधार गर्नुपर्छनेतृत्व बदल्नुपर्छजनताको अपेक्षाअनुसार आफूलाई रूपान्तरण गर्नुपर्छतर त्यो आफ्नै लोकतान्त्रिक समाजवादी आदर्शको धरातलमा उभिएर गर्नुपर्छ । अन्यथा इतिहास बोकेको पार्टी क्षणिक लोकप्रियताको घन्टी सुन्दै आफ्नै मार्गराग र ताल बिर्सिने जोखिममा पर्न सक्छ ।

(लम्साल नेपाल प्रेस युनियनका अध्यक्ष हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?