त्रिभुवन विश्वविद्यालयमा वनस्पति विज्ञानमा स्नातकोत्तर अध्ययन गर्दा हामी विश्वविद्यालयका तर्फबाट र आफ्नै व्यक्तिगत प्रयासले पनि विभिन्न स्थानमा वनस्पति सम्बन्धी अवलोकन भ्रमणमा जाने गर्थ्यौं। यसै सिलसिलामा हामीलाई लाङटाङ राष्ट्रिय निकुञ्जको अध्ययन भ्रमणको अवसर जुर्यो।
उच्च हिमाली भेगको वातावरण प्रायः चिसो, सुक्खा र प्रतिकूल हुने गर्छ। यस्तो कठिन हावापानीमा हुर्कनका लागि बोटबिरुवाले विशेष किसिमको अनुकूलन प्रणाली विकास गरेका हुन्छन्। जरा जमिनको भित्रसम्म फैलिएका साना झाडीदार बिरुवा, बाक्ला तथा मसिना पात, जरामा पोषण तत्त्व सञ्चय आदि यस भेगका बिरुवाका अनुकूलन संयन्त्र अन्तर्गत पर्दछन्।
साना बिरुवाले अलि ठूला बिरुवाको ओतमा घाम, सुक्खापन एवं चरिचरनको प्रभावबाट आफूलाई जोगाएका हुन्छन्। वनस्पति विज्ञानका विद्यार्थी भएकाले हाम्रा लागि यस्ता अनुकूलन अवलोकन गर्न पाउनु एउटा राम्रो अवसर थियो। यसै सन्दर्भमा एउटा विशेष पारिस्थितिकीय अन्तरसम्बन्धको दृश्यले हामीलाई बढी उत्साहित बनायो।
उच्च हिमाली क्षेत्रको रैथाने चुत्रो (Berberis angulosa) को झाडीभित्र र बाहिर केही फरक–फरक प्रकारका बोटबिरुवा थिए। साथै बाहिरको तुलनामा चुत्रोभित्र धेरै वनस्पतिहरू संरक्षित थिए। हामीले यो दृश्य बारम्बार देख्यौं। यससँगै ‘के चुत्रोले साँच्चिकै अन्य बोटबिरुवाको संरक्षण गर्न सहयोग गर्छ त ?’ भन्ने एउटा प्रश्नको बीजारोपण भयो। चुत्रो हिमाली भेगमा पाइने काँडेदार पात भएको सानो झाडीदार बिरुवा हो।
काँडेदार पात हुने भएकाले यसले चौपायाको चरनबाट बचाउन सक्ने भयो, तर साँच्चिकै चुत्रोको अन्य वनस्पति संरक्षणमा भूमिका छ कि छैन भन्ने कुरा भने शोधकै विषय बन्न सक्थ्यो। वैज्ञानिक रूपमा यो अवलोकनलाई प्रमाणित गर्न एक स्थापित विधि प्रयोग गरेर तथ्याङ्क सङ्कलन एवं त्यसको विश्लेषण गर्नुपर्ने थियो।
अवलोकन भ्रमण सकेर बेंसीतिर फर्कंदै गर्दा स्थानीय मानिसहरूसँग उच्च हिमाली भेगको स्रोत व्यवस्थापन सम्बन्धी कुराकानी गर्दै फर्कियौं। यस भेगको लेकाली वातावरणमा उष्ण, उपोष्ण वा समशीतोष्ण हावापानीमा भन्दा पोषण तत्त्व र अन्य जैविक स्रोतको अभाव हुने गर्छ। त्यसैले त्यो भेगमा हुर्केका बोटबिरुवा वा जीवले स्रोतको उपयोग र व्यवस्थापनमा विशेष ख्याल गर्नुपर्ने हुन्छ।
यसमा पनि धेरैजसो मानव समुदाय चौंरी लगायत चौपाया पालनमा निर्भर हुने भएकाले खर्क (घाँस) व्यवस्थापनको विशेष महत्त्व हुने नै भयो। छलफलका क्रममा चुत्रो खासै घाँसको रूपमा उपयोग नहुने भएकाले स्थानीयले खर्कको क्षेत्रफल वृद्धि गर्न एवं घाँसको व्यवस्थापनका लागि काटेर फाल्ने अथवा आगो लगाउने गरेको अनुभव सुन्न पाइयो।
यो जानकारीले कतै चुत्रोसँगै यससँग आश्रित अन्य महत्त्वपूर्ण वनस्पति जोखिममा परिरहेका त छैनन् भन्ने नयाँ जिज्ञासा थपिदियो र थप अनुसन्धान गर्नका लागि प्रेरित गर्यो।
त्यो समयमा हामी कर्नेल विश्वविद्यालयको नेपालस्थित आवासीय ‘कर्नेल नेपाल अध्ययन कार्यक्रम’ सँग आबद्ध थियौं। त्यहाँका साथी र प्राध्यापकहरूसँगको अन्तरक्रियाले हामीलाई यस अनुसन्धानका लागि स्रोत व्यवस्थापन गर्न सहयोग गर्यो र बेलायतको ‘रुफोर्ड फाउन्डेसन’ को ‘Rufford Small Grant for Nature Conservation’ प्राप्त गर्न मदत पुग्यो।
यो अनुदानले हाम्रो अवलोकनलाई व्यवस्थित रूपमा अनुसन्धान गर्न सहयोग गर्यो, जसले लाङटाङ क्षेत्रमा सर्वेक्षण गरी वनस्पतिले अन्य वनस्पतिलाई कसरी संरक्षण गर्न सक्छ भन्ने सम्बन्धी तीनवटा विश्वस्तरीय खोजहरूमा सहलेखन गर्न मदत पुर्यायो। साथै लाङटाङ राष्ट्रिय निकुञ्जमै (क्याङजिङ र गोसाइँकुण्ड क्षेत्रमा) आधारित थप दुईवटा स्वतन्त्र अध्ययन गर्न र तिनका नतिजा अन्तर्राष्ट्रिय वैज्ञानिक जर्नलमा प्रकाशित गर्न सकियो।
के सबै झाडी उपकारी हुन्छन् त ?
अनुसन्धान थाल्दा हाम्रो अगाडि ‘के सबै काँडेदार वा होचा झाडीहरूले अन्य बोटबिरुवालाई आश्रय दिन्छन् त ?’ भन्ने एउटा महत्त्वपूर्ण प्रश्न थियो। यसको सहज जवाफ ‘सबैले दिंदैनन्’ भन्ने नै हुन्छ। तर वनस्पति विज्ञानमा यो एउटा गम्भीर प्रश्न हो। बोटबिरुवा बीचको अन्तरक्रिया सधैं सकारात्मक मात्र हुँदैन; कहिलेकाहीं एउटा वनस्पतिले अर्को वनस्पतिसँग प्रकाश, पानी र पोषण जस्ता स्रोतहरूका लागि प्रतिस्पर्धा पनि गर्छ।
अनुसन्धानहरूले देखाए अनुसार घना हाँगाबिंगा (Canopy) भएको वनस्पतिले प्रकाश धेरै चाहिने बिरुवाको प्रवर्धनमा नकारात्मक असर गरेको हुनसक्छ भने केही कम प्रकाश भएको स्थानमा पनि हुर्कन सक्ने तर चरिचरन लगायतका अन्य प्रतिकूलता सहन नसक्ने बिरुवाको प्रवर्धन गरेको पनि हुनसक्छ। यस्ता प्रकारका अन्य वनस्पतिलाई प्रवर्धन गर्ने वनस्पतिलाई ‘संरक्षक’ (नर्स प्लान्ट) भन्ने गरिन्छ।
जसरी सामान्य जीवनमा नर्सले हेरचाहको आवश्यकता परेका व्यक्तिहरूको सेवा र संरक्षण गर्छन्, त्यसैगरी वनस्पति जगतमा पनि केही वनस्पतिहरूले वातावरणीय तथा चरिचरनजन्य प्रतिकूलतासँग जुध्न विशेष वातावरण आवश्यक पर्ने साना तथा संवेदनशील वनस्पतिलाई संरक्षण प्रदान गर्छन्। यसलाई ‘फेसिलिटेसन’ भनिन्छ।
हामीलाई नर्सको सहयोग अस्पतालमा बढी आवश्यक भए जस्तै चुनौतीपूर्ण वातावरणमा कमजोर वनस्पतिलाई पनि ‘नर्स प्लान्ट’ को सहयोग आवश्यक हुन्छ। त्यसैले सहज वातावरण तथा माटोमा पोषण तत्त्व पर्याप्त भएको अवस्थामा नर्स प्लान्टको प्रभाव कम हुन्छ।
तर यो सार्वव्यापी प्रक्रिया भने होइन र घना बोट भएको झाडीदार वनस्पति र अन्य वनस्पति बीचको अन्तरक्रिया सकारात्मक र नकारात्मक दुवै हुन सक्छ। यसैले प्रत्येक प्रजाति र पारिस्थितिक प्रणालीको सूक्ष्म मूल्याङ्कन आवश्यक हुन्छ। अनुसन्धान विना किटेर कुन वनस्पतिको कुन वनस्पतिसँग कस्तो सम्बन्ध छ भनेर भन्न सकिंदैन। हाम्रो अनुसन्धानले ‘चुत्रोको झाडीले अन्य बिरुवालाई संरक्षण गर्न भूमिका खेलेको हुन्छ त ?’ भन्ने प्रश्नको जवाफ खोज्यो।
यस अध्ययनले हिमालयको उच्च भेगमा चुत्रोले राम्रो संरक्षक वनस्पतिको रूपमा काम गरी यहाँको जैविक विविधताको संरक्षण गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेको देखायो। यसमा भएका काँडाले चौपायाको चरनबाट बचाउँछ, उच्च प्रकाशका कारण हुनसक्ने सुक्खापनबाट समेत जोगाउँछ र यसको पातपतिङ्गरले माटोमा आर्द्रता, प्राङ्गारिकपना र पोषणको प्रवर्धन गर्छ। चुत्रोका यिनै विशेषताले गर्दा झाडीभित्र एउटा अनुकूल सूक्ष्म वातावरण बन्छ, जसले अन्य संरक्षण तथा मानव उपयोगिताको हिसाबले महत्त्वपूर्ण बोटबिरुवाहरूको संरक्षण गर्न महत्त्वपूर्ण भूमिका खेल्छ।
हामीले लाङटाङ राष्ट्रिय निकुञ्जभित्रको क्याङजिङ क्षेत्रमा गरेको पहिलो अध्ययनले देखाए अनुसार चुत्रोले विभिन्न प्रतिकूल मौसममा पनि स्थिर रूपमा संरक्षक वनस्पतिको काम गर्ने गरेको देखायो। जसअनुसार वर्षा (जून/जुलाई) र सुक्खा (अक्टोबर) दुवै मौसममा खुला घाँसे मैदानभन्दा झाडीभित्र धेरै वानस्पतिक विविधता भएको पाइयो। अर्थात् उच्च हिमाली क्षेत्रको जुनसुकै कठिन वातावरणीय परिस्थितिमा पनि चुत्रोले वानस्पतिक जैविक विविधताको संरक्षणमा महत्त्वपूर्ण भूमिका खेल्छ।
संरक्षणको परिमाणात्मक झलक
हामीले लाङटाङ राष्ट्रिय निकुञ्जको गोसाइँकुण्ड क्षेत्रमा गरेको अध्ययनमा जम्मा ९७ वनस्पति प्रजातिको अभिलेखीकरण गर्यौं। जसमध्ये ३९ वटा प्रजाति सम्पूर्ण रूपमा चुत्रोको झाङभित्र मात्रै अभिलेखीकरण गरिएको थियो। यद्यपि केही प्रजाति कम मात्रामा (अर्थात् केही पटक मात्र अभिलेखित) थिए। यीमध्ये पनि १९ वटा प्रजाति मानव उपयोगिताको हिसाबले उच्च महत्त्वका थिए।
त्यसैगरी हामीले क्याङजिङ क्षेत्रमा गरेको अध्ययनमा कुल १०५ वनस्पतिको अभिलेखीकरण गरेका थियौं, जसमध्ये २१ वटा वनस्पति प्रजाति सम्पूर्ण रूपमा चुत्रोको झाडीभित्र मात्रै पाइएका थिए, तर खुला घाँसे मैदानमा मात्रै पाइने वनस्पतिको प्रजाति भने ७ वटा मात्र थियो। हामीले अभिलेख गरेका ५६ प्रजातिका मानव उपयोगिताको हिसाबले महत्त्वपूर्ण वनस्पतिमध्ये ९ वटा चुत्रोको झाडीभित्र मात्रै भेटिएका थिए।
यसले के देखायो भने यदि चुत्रो झाडीलाई हटाउने हो भने खुला घाँसे मैदानमा भएको पारिस्थितिक प्रणालीले संरक्षण गरेको भन्दा निकै बढी वनस्पति सङ्कटमा पर्न सक्छन् र यस्ता वनस्पतिमा अधिकांश संरक्षण अथवा मानव उपयोगिताको हिसाबले उच्च महत्त्वका वनस्पति पर्दछन्।
दुवै अध्ययनलाई मिलाएर हेर्दा चुत्रोले करिब एकतिहाइ वनस्पतिहरूलाई अनुकूल वासस्थान प्रदान गरी तिनको संरक्षणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको देखियो, जुन अन्यथा हिमालयको प्रतिकूल हावापानी र जनावरको उच्च चरनको प्रभावले लोप हुने जोखिम रहन्थ्यो। यसमा औषधीय, सांस्कृतिक र खाद्य दृष्टिले महत्त्वपूर्ण मानव–उपयोगी प्रजातिहरू पनि पर्दथे।
अन्य उच्च हिमाली पर्वतीय शृङ्खलाहरू जस्तै एन्डिज, पाटागोनिया र रकी माउन्टेन्समा भएका अध्ययनहरूले पनि यस्तै चुनौतीपूर्ण वातावरणमा झाडीदार वनस्पतिहरूले साना वनस्पतिहरूको संरक्षण गरेको देखाएका छन्। यो वनस्पतिजगतमा सामान्य प्रक्रिया हो।
तर हामीले पहिलो पटक ‘बोटानिकल नर्सिङ’ अवधारणालाई संरक्षणसँग, विशेषगरी औषधीय तथा सामाजिक–सांस्कृतिक रूपमा महत्त्वपूर्ण वनस्पतिहरूसँग जोडेर अनुसन्धान गर्यौं र यसलाई वैज्ञानिक लेख मार्फत प्रकाशित गर्यौं।
तर सङ्ख्यात्मक रूपमा कम भए पनि केही वनस्पतिका प्रजाति भने चुत्रोभित्र भन्दा बाहिर बढी भेटिए। यसको अर्थ सबै वनस्पतिले चुत्रोको झाङभित्रको सूक्ष्म वातावरण मात्र मन पराउँछन् भन्ने हुँदैन। विभिन्न किसिमका वासस्थानले भिन्न किसिमका वनस्पति तथा तिनका आवश्यकताहरू पूरा गर्न सक्ने भएकाले उच्च जैविक विविधताका लागि खुला र झाडीदार दुवै वासस्थान आवश्यक पर्दछन्। त्यसैले खुला घाँसे मैदान र झाडी क्षेत्र मिसिएको विविध र सन्तुलित वासस्थानले जैविक विविधता बढाउन एवं संरक्षण गर्न मदत गर्छ।
फायलोजेनेटिक विविधताको संरक्षण
हामीले गोसाइँकुण्ड क्षेत्रमा गरेको अध्ययनमा चुत्रोले जैविक विविधताको अर्को पक्ष अर्थात् फायलोजेनेटिक विविधता पनि मापन गर्यौं। फायलोजेनेटिक विविधताले वनस्पतिको विकासक्रमको इतिहास मापन गर्छ।
अर्थात् कुन जीव वा वनस्पति कति समयअघि भिन्न प्रजातिको रूपमा विकास भयो भन्ने कुरा मापन गर्छ। हाम्रो अध्ययनले चुत्रोको झाडीभित्र पाइने वनस्पति बीचको फायलोजेनेटिक विविधता पनि बाहिरको घाँसे मैदानको तुलनामा बढी रहेको देखायो।
हरेक जीवले विकासक्रमको सिलसिलामा पृथक् वातावरणमा अनुकूलित हुनका लागि विविध किसिमको आनुवंशिकता विकास गरेका हुन्छन्। त्यसैले फायलोजेनेटिक विविधता धेरै भएको जैविक प्रणालीमा आनुवंशिक विविधता पनि उच्च हुने अपेक्षा गर्न सकिन्छ। हाम्रो अध्ययनले विशेषगरी मानव–उपयोगी प्रजातिहरूमा चुत्रोले उच्च फायलोजेनेटिक विविधता कायम राख्न महत्त्वपूर्ण भूमिका निभाएको देखायो।
फायलोजेनेटिक विविध जीवमा आनुवंशिक विविधता पनि उच्च हुने भएकाले हाल भइरहेको जलवायु परिवर्तन र त्यसले जैविक विविधतामा पर्न सक्ने असर विरुद्ध जुध्नका लागि महत्त्वपूर्ण हुन सक्छ, जसमा पनि चुत्रोको महत्त्वपूर्ण भूमिका पाइयो।
संरक्षण नीतिभित्र चुत्रो
स्थानीयले चुत्रोलाई घाँसको रूपमा उपयोगी नदेख्दा खर्क व्यवस्थापनका लागि काटेर फाल्ने अथवा आगो लगाउने कुरा माथि पनि उल्लेख गरिसकेका छौं। मानिसको जीविका र पशुपालनको दृष्टिकोणले यो अभ्यासको आफ्नै महत्त्व होला, तर जैविक विविधता तथा वातावरण संरक्षणको दृष्टिबाट हेर्दा यसले एउटा जैविक विविधता क्षयीकरणको चक्रीय प्रक्रिया शुरु गर्न सक्छ। यसले वनस्पति सम्पदालाई जोखिममा पार्छ र हामीले यो महत्त्वपूर्ण सम्पदा सधैंका लागि गुमाउन पनि सक्छौं।
त्यसैले हिमाली भेगका संरक्षित क्षेत्रमा मानव र प्रकृतिको दिगो सहअस्तित्व कायम गर्नका लागि यस भेगमा रहेका चुत्रो लगायत वनस्पति र त्यसले अन्य वनस्पति तथा जीवसँग गर्ने अन्तरक्रियाको बारेमा अध्ययन गर्न जरूरी छ र समग्र पारिस्थितिक प्रणालीको दिगो संरक्षण आवश्यक छ। चुत्रो जस्ता ‘संरक्षक वनस्पति’हरूको संरक्षण गर्नु हिमाली जैविक विविधतालाई जोगाउने एउटा दिगो, प्रभावकारी र प्रकृतिमा आधारित उपाय हो। राष्ट्रिय निकुञ्ज तथा उच्च हिमाली खर्कहरूमा चुत्रोलाई खुला घाँसे मैदानसँगै सन्तुलित तरिकाले संरक्षण गर्ने नीति अवलम्बन गर्ने हो भने यसले वनस्पतिजन्य स्रोतको संरक्षण र व्यवस्थापनमा पनि महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ।
(पराजुली हाल अमेरिकाको प्रसिद्ध ओडम स्कूल अफ इकोलोजीमा पोस्टडक्टरल अनुसन्धाताका रूपमा कार्यरत छन्। तिमिल्सिना नर्वेको ट्रोम्सोमा अवस्थित UiT The Arctic University of Norway मा विद्यावारिधि अध्ययनरत छन्।)
प्रतिक्रिया 4