News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय स्वतन्त्र पार्टीको बागमती प्रदेश अधिवेशनको नयाँ नेतृत्व चयनका लागि ३० जेठमा काठमाडौंमा मतदान हुँदै छ ।
- बागमती प्रदेश सभापति पदका लागि डा. अच्युतम लामिछाने र उत्सव अर्यालसहित चार जनाबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।
- प्रतिनिधि विवादका कारण स्थगित भएको मतदान प्रक्रिया यसपटक विद्युतीय माध्यमबाट सम्पन्न गर्ने तयारी गरिएको छ ।
२९ वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बागमती प्रदेश अधिवेशनमा प्यानलगत प्रतिस्पर्धा गर्ने गरी प्रदेश नेताहरूले आन्तरिक छलफल सुरु गरेका छन् ।
बागमतीको पहिलो अधिवेशनमा नयाँ नेतृत्वका लागि शनिबार मतदानको समय तोकिएको छ । मकवानपुरको हेटौंडामा २६ जेठमा उद्घाटन भई मतदान प्रक्रिया सुरु नगरी स्थगित गरिएको अधिवेशनको स्थान काठमाडौंमा सारिएको छ । भोलि (३० जेठ) का लागि मतदानको समय तोकिएको छ । सभापतिका लागि चार जनाको उम्मेदवारी परेको छ । सभापति पदमा डा. अच्युतम लामिछाने, उत्सव अर्याल, हरिबहादुर खत्री र कृष्णमान श्रेष्ठको उम्मेदवारी परेको छ । सभापति पदको आकांक्षी देखिएका बदन भण्डारीले भने उम्मेदवारी दर्ता गरेनन् ।
प्रदेश तहका एक नेताका अनुसार चार उम्मेदवारमध्ये डा. लामिछाने र अर्यालबीच मुख्य प्रतिस्पर्धा हुने छ । लामिछाने हाल सभापति पदमा छन् भने अर्याल प्रवक्ता हुन् । सभापतिको आकांक्षी रहेका भण्डारीले उम्मेदवारी नदिएर डा. लामिछानेलाई सघाउने आन्तरिक सहमति भएको ती नेताले दाबी गरे । उनी भन्छन्, ‘अच्युत्तम र उत्सवको बीचमा मुख्य प्रतिस्पर्धा हुने हो । सभापतिमा बदनले उम्मेदवारी नदिएपछि अच्युत्तमलाई लाभ हुने देखिएको छ ।’
रास्वपा स्रोतका अनुसार अच्युत्तम र बदन वीचमा अघोषित सहमति समेत बनिसकेको छ । सभापतिमा अच्युत्तम निर्वाचित भएपछि नयाँ आउने पदाधिकारी बदनलाई बनाउने गरी आन्तरिक छलफल भएको जानकारी गराइएको छ । अधिवेशन र भावी पदाधिकारीमा बारे भइरहेको छलफलबारे एक प्रदेश सदस्यले भने, ‘अच्युत्तमको टिमबाट बदन र सुरेन्द्र भट्ट महामन्त्रीको आकांक्षी हुन् । एउटालाई उपसभापति र अर्कोलाई महामन्त्री बनाउने गरी सहमति जुट्छ ।’ भट्ट हाल बागमती महामन्त्री छन् । काभ्रे–२ बाट निर्वाचित भण्डारी सार्वजनिक मामिला विभागका सचिव समेत हुन् ।

डा. रमेश ढकाल र हाल सहमहामन्त्री रहेकी राधिका तिमिल्सिना उपसभापतिको आकांक्षी छन् । साथै, कोषाध्यक्ष पदमा रहेकी मेनुका ठकुरी महामन्त्री पदको आकांक्षी छन् ।
ठकुरीले अनलाइनखबरसँग भनिन्,‘पहिले सभापति र सदस्यहरुको चुनाव हुनुपर्यो । पदाधिकारीमा उठ्ने बारे त्यसपछि छलफल हुन्छ ।’
रास्वपाको विधान अनुसार पहिलो चरणमा प्रदेश सभापति र प्रदेश सदस्यको निर्वाचन गर्नुपर्दछ । दोस्रो चरणमा पदाधिकारीका लागि छुट्टै मतदान गर्नुपर्ने व्यवस्था विधानमा छ ।
प्रदेश सभापतिमा निर्वाचित हुनका लागि कूल सदर मतको ५० प्रतिशत मत कटाउनु पर्दछ । खसेको मतको बहुमत कसैको पक्षमा नभएमा पहिलो र दोस्रो स्थान मत ल्याउने वीचमा पुन प्रतिस्पर्धा हुनेछ । प्रदेश सभापतिको प्रतिस्पर्धामा २५ प्रतिशत मत कटाउने निकटतम् प्रतिस्पर्धीलाई स्वत: प्रदेश सदस्य हुने व्यवस्था छ ।
प्रदेश समितिमा सभापति, उपसभापति, महामन्त्री, कोषाध्यक्ष प्रवक्ता १/१ र सहमहामन्त्री २ जना (फरक फरक लिङ) को हुने गरी पदाधिकारी गठन गर्ने व्यवस्था छ । सात जना पदाधिकारी मध्ये कोषाध्यक्ष र प्रवक्तालाई प्रदेश सभापतिको सिफारिसमा प्रदेश समितिले मनोनीत गर्ने व्यवस्था छ । रास्वपा विधान अनुसार बागमती प्रदेश समिति ६५ सदस्यीय हुनेछ ।
निर्वाचन आयोगका अनुसार प्रदेश अधिवेशनका लागि १३ सय बढी प्रतिनिधि छनोट भएका थिए । पार्टी समयोजनका क्रममा चार सय बढी प्रतिनिधिका विरुद्ध उजुरी परेको हुँदा समाधानका लागि मतदानको समय पर सार्नु परेको निर्वाचन आयोगले जानकारी गराएको छ । शनिबार हुने मतदान प्रक्रिया विद्युतीय माध्यमबाट हुने जानकारी गराइएको छ ।
प्रतिक्रिया 4