News Summary
Generated by OK AI. Editorially reviewed.- लेखक सन् २०२४ मा ह्युमन डेभलपमेन्ट एन्ड क्यापेबिलिटी एसोसिएसनद्वारा आयोजित अन्तर्राष्ट्रिय सम्मेलन तथा समर स्कुलमा सहभागी हुन कोलकाता गएका थिए।
- भ्रमणका क्रममा उनले इन्डियन स्टाटिस्टिकल इन्स्टिच्युटको अतिथि गृहमा बस्दा विश्वप्रसिद्ध विकास अर्थशास्त्री जाँ द्रेजसँग भेटघाट र प्राज्ञिक छलफल गरे।
- उनले कोलकाता विश्वविद्यालयको तथ्याङ्कशास्त्र विभागका प्राध्यापकहरूसँग भेटेर यस विधाको विगत, वर्तमान र भविष्यका बारेमा गहन विचार–विमर्श गरे।
नेपालको राजनीतिक इतिहासअनुसार विगतमा नेपालको राजनीतिक, प्राज्ञिक तथा आर्थिक सम्बन्ध कोलकाता, बनारस र पटना सहरसँग थियो। विगतदेखि वर्तमानसम्म अधिकांश नेपालीको धार्मिक सम्बन्ध बनारससँग गाढा रहँदै आएको छ। सायद इनै कारणले होला, यी तीनै सहरले मलाई विशेष रूपले प्रभावित गरेका छन्।
मलाई कोलकाताले आकर्षित गर्ने प्रमुख कारण त्यहाँ रहेका प्राज्ञिक संस्थाहरू हुन्, जस्तै: इन्डियन स्टाटिस्टिकल इन्स्टिच्युट, कलकत्ता विश्वविद्यालय, प्रेसिडेन्सी कलेज (हाल प्रेसिडेन्सी विश्वविद्यालय), इन्स्टिच्युट अफ डेभलपमेन्ट स्टडिज लगायतका अनेकौँ प्राज्ञिक तथा अनुसन्धानमूलक संस्थाहरू र तिनमा आबद्ध विद्वत् समुदाय। इतिहासमा मात्र होइन, वर्तमानमा पनि यी संस्थाहरूले उत्कृष्ट शिक्षण तथा अनुसन्धान केन्द्रका रूपमा विश्वसामु आफ्नो विशिष्ट परिचय स्थापित गरेका छन्।प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा उल्लेखनीय सङ्ख्याका नोबेल पुरस्कार विजेताहरूको सम्बन्ध कोलकातासँग रहेको पाइन्छ। यसका अतिरिक्त, कलेज स्ट्रिटमा अवस्थित सयौँ पुस्तक पसलहरूले मलाई सधैँ आकर्षित गर्दै आएका छन्।
सन् २०१६ मा म पहिलो पटक कोलकाता गएको थिएँ। आठ वर्षपछि, सन् २०२४ मा पुनः कोलकाता जाने अवसर जुर्यो। दुवै पटक भएका भ्रमणको मूल कारण र सार एउटै थियो—प्राज्ञिक अभ्यास। इन्टरनेसनल स्टाटिस्टिकल इन्स्टिच्युट र कलकत्ता विश्वविद्यालयद्वारा संयुक्त रुपमा आयोजित सार्क राष्ट्रका क्वान्टिटेटिभ पब्लिक हेल्थ रिसर्चरहरूका लागि आयोजित अन्तर्राष्ट्रिय सम्मेलन तथा कार्यशालामा सहभागी हुन पाएको कारण मलाइ पहिलो पटक कोलकाता भ्रमणको अवसर प्राप्त भएको थियो। त्यसैगरी, ह्युमन डेभलपमेन्ट एन्ड क्यापेबिलिटी एसोसिएसनद्वारा आयोजित अन्तर्राष्ट्रिय सम्मेलन तथा समर स्कुलमा सहभागी हुन पाएकोले दोस्रो भ्रमणको अवसर मिलेको हो। ह्युमन डेभलपमेन्ट एन्ड क्यापेबिलिटी एसोसिएसन एक प्रतिष्ठित प्राज्ञिक संस्था हो, जसका संस्थापक अध्यक्ष हुनुहुन्थ्यो अर्थशास्त्रमा नोबेल पुरस्कार विजेता अमर्त्य सेन ।
यसपटकको कोलकाता भ्रमण अवधिभर मेरो बसोबास तथा भोजनको व्यवस्था इन्डियन स्टाटिस्टिकल इन्स्टिच्युटको अर्थशास्त्र बिभागका एक बरिष्ठ प्राध्यापकको सहयोगमा सोही संस्थाको अतिथि गृहमा भएको थियो। आठ रात निसुल्क खाने, बस्ने अवसर प्राप्त हुनु मेरा लागि खुसीको विषय थियो। विगतमा मैले यही संस्थाबाट व्यावहारिक तथ्याङ्कशास्त्रसम्बन्धी चारवटा फरक–फरक तालिम प्राप्त गरेको छु। यी दुवै अवसरका लागि म इन्डियन स्टाटिस्टिकल इन्स्टिच्युटप्रति हार्दिक आभारी छु।
इस्वी सन् १९९८ देखि नै यो इन्स्टिच्युटले मलाई विशेष प्रकारको प्रभाव पारेको छ। पछि तथ्याङ्कशास्त्रमा स्नातकोत्तर अध्ययन गर्ने क्रममा इन्फरेन्सियल स्टाटिस्टिक्स मेरो सबैभन्दा रुचिको विधा बन्यो। यस विषयको एक प्रमुख पाठ्यपुस्तकका लेखक सी. आर. राव सोही इन्स्टिच्युटका प्राध्यापक तथा लामो समयसम्म निर्देशक रहनुभएको थियो। उहाँको अन्तर्वार्ता लिने क्रममा मैले इन्स्टिच्युटको स्थापना र विकासका बारेमा गहिरो अध्ययन गरेको थिएँ। उक्त अन्तर्वार्ता प्रकाशित गर्न पनि सफल भएको थिएँ। साथै, उहाँका बारेमा लेखिएको मेरो एउटा विस्तृत लेख यही खबरपत्रिकामा प्रकाशित भएको थियो। इन्स्टिच्युटको स्थापना कालमा तथ्याङ्कशास्त्रका पिता मानिने आर. ए. फिसर स्वयं त्यहाँ आएर करिब छ महिना बस्नु भएको थियो र पाठ्यक्रम निर्माण तथा अनुसन्धानमूलक वातावरणको विकासमा महत्वपूर्ण योगदान गर्नु भएको थियो। विश्वका लब्धप्रतिष्ठित गणितज्ञ, तथ्याङ्कशास्त्री तथा अर्थशास्त्रीहरू—जसमध्ये केही नोबेल पुरस्कार विजेता पनि हुनुहुन्छ —भ्रमण गर्न तथा त्यहाँ प्रवचन दिन बिगत लामो समय देखिनै आउने गर्नु भएको छ। स्थापनाकालका सुरुआती केही दशकभित्रै यो संस्था विश्वकै नमुना अनुसन्धान तथा अध्ययन केन्द्रका रूपमा स्थापित हुन सफल भएको थियो जसलाई चीन र अमेरिकाले समेत प्रेरणा लिएर अनुकरण गरेका थिए। नेपालमा पनि यस्तै प्रकृतिको एक विशिष्ट शिक्षालय स्थापना गर्न पाए हुन्थ्यो भन्ने विचार मेरो मनमा सधैँ आइरहन्छ। तथ्याङ्कशास्त्र, गणितीय विज्ञान तथा यसका व्युत्पन्न क्षेत्रहरू—जस्तै गणितीय कम्प्युटर विज्ञान, गणितीय अर्थशास्त्र, गणितीय भौतिकशास्त्र, खगोलशास्त्र आदि—मा केन्द्रित अनुसन्धान हुने संस्थाहरूमा तुलनात्मक रूपमा कम लगानीमा पनि उच्च प्रतिफल प्राप्त गर्न सकिन्छ।नेपालीहरूको गणितीय विषयप्रतिको रुचि उल्लेखनीय रहेको सन्दर्भमा सरकारले यस्ता संस्थाहरू स्थापना गर्न विशेष पहल गर्नु आवश्यक देखिन्छ।
ह्युमन डेभलपमेन्ट एन्ड क्यापेबिलिटी एसोसिएसनद्वारा आयोजित अन्तर्राष्ट्रिय सम्मेलन तथा समर स्कुलको मूल उदेश्यनै मानब बिकाशका बिबिध क्षेत्रलाइ प्रबर्धन गर्नु हो। संयुक्त राष्ट्रसंघले विशेष चासो दिएको क्षेत्र ‘मानव विकास’ को अध्ययन तथा अनुसन्धानको इतिहास पुरानो छ, र यसको महत्व दिनप्रतिदिन बढ्दै गएको छ। अमर्त्य सेन र मार्था नुस्बाउमको विशेष योगदानले व्यापक रूपमा विकसित भएको मानव विकासमा क्यापेबिलिटी एप्रोचले हाल समग्र प्राज्ञिक जगत्मा गहिरो प्रभाव पार्न सफल भएको छ।
यो सम्मेलन तथा समर स्कुलमा अनुसन्धानकर्ता तथा प्रतिष्ठित प्राध्यापकहरूको अनुसन्धानपत्र तथा व्याख्यान समावेश गरिएको थियो। सम्मेलनका कीनोट वक्ताका रूपमा विश्व प्राज्ञिक जगत्मा सशक्त उपस्थिति स्थापित गरेका लब्धप्रतिष्ठित बिध्वान् हरुलाई आमन्त्रित गरिएको थियो। सम्मेलनको विस्तृत समयतालिकाको अन्तिम रूप हामीले केही साताअघि नै प्राप्त गरेका थियौँ।उक्त सम्मेलनका कीनोट वक्तामध्ये एक हुनुहुन्थ्यो जाँ द्रेज।
जाँ द्रेज एक विकास अर्थशास्त्री हुनुहुन्छ। बेल्जियममा जन्मनु भएको उहाँले बेलायतबाट गणितीय अर्थशास्त्रमा स्नातक तथा इन्डियन स्टाटिस्टिकल इन्स्टिच्युटबाट सैद्धान्तिक अर्थशास्त्रमा विद्यावारिधि गर्नु भएको छ । विद्यावारिधि अनुसन्धान सम्पन्न गरेपछि उहाँले केही समय लन्डन स्कुल अफ इकोनोमिक्समा अध्यापन गर्नु भयो र पुनः भारत फर्कनु भयो । त्यसयता उहाँले लामो समयदेखि भारतलाई आफ्नो कर्मभूमि बनाएर भारतीय सामाजिक तथा आर्थिक समस्यामाथि गहिरो अध्ययन र अनुसन्धान गर्दै आउनु भएको छ। उहाँले पुर्याउनु भएको प्राज्ञिक योगदानको बिषयलाइ लिएर विश्वभरीनै उच्च मूल्याङ्कन गरिएको छ। उहाँ एक सामाजिक अभियन्ता पनि हुनुहुन्छ। सरल जीवनशैली र उच्चस्तरीय प्राज्ञिक कर्मका कारण जाँ द्रेज विश्वभर परिचित र सम्मानित हुनुहुन्छ।
जाँ द्रेजलाई प्रत्यक्ष भेट्ने अवसर प्राप्त हुने भएपछि म धेरै साताअघिदेखि नै अत्यन्त उत्साहित भएको थिएँ। उहाँले लेख्नुभएका र मैले अध्ययन गरेका पुस्तकहरूमध्ये झोला वाला इकोनोमिक्स सरल तर अत्यन्त सशक्त कृतिका रूपमा परिचित छ। अवसर मिलेमा उक्त पुस्तकमा लेखकको हस्ताक्षर लिने उद्देश्यले मैले सो पुस्तक आफूसँगै काठमाडौंबाट कोलकाता लिएर गएको थिएँ।मेरो लागि लेखक स्वयंका केही शब्दसहितको हस्ताक्षर अंकित पुस्तक अमूल्य सम्पत्ति सरह हुने गर्छ।
ह्युमन डेभलपमेन्ट एन्ड क्यापेबिलिटी एसोसिएसनद्वारा आयोजित समर स्कुल अमर्त्य सेन रिसर्च सेन्टरमा आयोजना गरिएको थियो भने सम्मेलन साइन्स सिटीमा सम्पन्न भएको थियो। दुवै स्थान म बसेको अतिथि गृहबाट करिब १२–१५ किलोमिटर टाढा रहेको जानकारी मैले गुगल म्यापमार्फत पाएको थिएँ।
सम्मेलनमा सहभागी हुनका लागि म दिउँसो ३ बजे प्रस्थान गर्ने एअर इन्डियाको काठमाडौँ–कोलकाता सिधा उडानबाट कोलकाता गएको थिएँ। मेरो लागि यो संसारका अनेकौँ आश्चर्यमध्ये हवाईजहाज पनि एक हो। हवाईजहाजको यान्त्रिकीकरण र उडानका सिद्धान्तबारे मलाई अत्यन्तै कम ज्ञान छ। इन्जिनको सहायताले त्यत्रो ठूलो जहाज कसरी पृथ्वीबाट आकाशमा चराझैँ उड्छ र पुनः सुरक्षित रूपमा धर्तिमा अवतरण गर्छ भन्ने प्रश्नले मलाई सधैँ सोच्न बाध्य बनाउँछ। जहाज उड्ने विषय मेरो लागि सधैँ आश्चर्यकै विषय रहँदै आएको छ। कहिलेकाहीँ फुर्सद मिल्दा म यस विषयमा इन्टरनेटमा उपलब्ध आफ्ना बौद्धिक स्तरअनुसारका सामग्री अध्ययन गर्ने गर्छु, तर पनि मेरो मनमा यसको आश्चर्य अझै कायम नै रहन्छ।
मलाई एअर इन्डियाको जहाजको खाना र नेपाली खानाको स्वाद उस्तै–उस्तै लाग्छ। कोलकातामा अवस्थित नेताजी सुभाष चन्द्र बोस अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज अवतरण गरेपछि म विमानस्थलबाट प्रि–पेड ट्याक्सी लिएर कोलकाताका सडकका पट्यारलाग्दा ट्राफिक जाम छिचोल्दै इन्डियन स्टाटिस्टिकल इन्स्टिच्युटभित्रै अवस्थित अतिथि गृहमा पुग्दा साँझको करिब ६ बजिसकेको थियो र झमक्कै साँझ परिसकेको थियो।
अतिथि गृहमा प्रवेश गरी मेनेजरलाई आफ्नो परिचय दिनासाथ उहाँले स्वागतमय भावका साथ मलाई रिसेप्सनमा जान र आफ्नो कोठाको चाबी लिन आग्रह गर्नु भयो। सोहीअनुसार म रिसेप्सनमा गएँ र अतिथि दर्ता खातामा आफ्नो नाम र ठेगाना लेख्ने क्रममा थाहा पाएँ कि अतिथि गृहमा म तेस्रो अतिथि रहेछु र मेरो कोठा जाँ द्रेजको कोठासँगै रहेको रहेछ। मलाई विश्वास नै लागेन। आश्चर्य मान्दै मैले रिसेप्सनिस्टलाई सोधेँ, “के उहाँ यही बस्नुहुन्छ?” उत्तर आयो, “हो, उहाँ यही बसिरहनुभएको छ।”
यो अप्रत्यासित खुशीले मेरो मन ढुकढुक हुन थाल्यो। नाम दर्ता गरेर कोठाको चाबी बुझी भर्याङ चढ्दै गर्दा कुर्ता–पाइजामा लगाएका एक अग्ला व्यक्ति मभन्दा केही कदम अगाडि भर्याङ चढिरहेको देखें। मेरो लगेज भुइँमा घिस्रिँदै गरेको आवाजका कारण उहाँले अचानक पछाडि फर्केर मलाई हेर्नुभयो। मैले उहाँलाई तुरुन्तै चिनिहालेँ—उहाँ जाँ द्रेज हुनुहुन्थ्यो। मन अत्यन्तै खुशी भयो।
मैले हतारहतार उहाँलाई अभिवादन गर्दै आफ्नो परिचय छोटकरीमा दिएँ र आफू ह्युमन डेभलपमेन्ट एन्ड क्यापेबिलिटी एसोसिएसनद्वारा आयोजना हुन लागेको अन्तर्राष्ट्रिय सम्मेलनमा आफ्नो अनुसन्धानपत्र छनोट भएकोले सहभागी हुन कोलकाता आएको बताएँ। साथै, म आठ रात कोलकाता बस्ने र सो अवधिभर इन्डियन स्टाटिस्टिकल इन्स्टिच्युटकै अतिथि गृहमा रहने जानकारी पनि दिएँ। यसरी हामी दुवै कुरा गर्दै भर्याङ चढ्दै तेस्रो तलामा पुग्यौँ। मेरो र उहाँको कोठा एकअर्कासँग जोडिएका रहेछन्। आफ्नो कोठामा प्रवेश गर्नुअघि उहाँले मलाई भन्नुभयो, “बेलुकी ८ बजे सँगै डिनर गरौँला।” मेरो मन अत्यन्तै खुशी भयो।
म आफ्नो कोठामा प्रवेश गरेँ, एटेच्ड बाथरुममा नुहाइधुवाइ गरी सफा कपडा फेरेर ताजा भएर ८ बजेको प्रतीक्षा गर्न थालेँ। कोलकातामा गर्मी भएता पनि वातानुकूलित चिटिक्क परेको कोठामा अतिथि भएर निःशुल्क आठ रात बस्न र खान पाउने अवसर इन्डियन स्टाटिस्टिकल इन्स्टिच्युटको अर्थशास्त्र विभागले उपलब्ध गराइदिएकोमा मनमनै अत्यन्तै आभारी पनि भएँ।
मलाई कुनै पनि कार्यका लागि निर्धारित समयभन्दा करिब १० मिनेट अगाडि नै तोकिएको स्थानमा पुग्न मन पर्छ। आफ्नो स्वभावअनुसार त्यस दिन पनि म समयभन्दा १० मिनेट अघि नै डाइनिङ हलमा पुगेर जाँ द्रेजको प्रतीक्षामा बसेँ। साथमा थियो उनले लेखेको पुस्तक झोला वाला इकोनोमिक्स ।
निर्धारित समयमै उहाँ आइपुग्नुभयो। हामी दुई जना मात्र डाइनिङ हलमा बेलुकाको भोजनका लागि बसेका थियौँ। मेरो लागि यो एक सुनौलो अवसर थियो। उहाँले मेरो बारेमा, मेरो परिवारको बारेमा तथा मेरो अनुसन्धान क्षेत्र र सम्मेलनमा प्रस्तुत गर्ने विषयबारे सोध्नुभयो। मैले पनि उहाँलाई आफ्नो, परिवारको र मेरो विधागत पृष्ठभूमिबारे विस्तृत रूपमा बताएँ। साथै, मैले विगत केही वर्षदेखि अमर्त्य सेनको क्यापेबिलिटी अप्रोचमा आधारित भएर जीवन को गुणस्तरको मापन तथा मोडेल विकाससम्बन्धी अध्ययन गर्दै आएको कुरा पनि उहाँलाई बताए। यसै सन्दर्भमा मैले अमर्त्य सेनका प्रायः सबै प्रमुख पुस्तक तथा अनुसन्धानपत्रहरू सकेसम्म अध्ययन गर्दै आएको जानकारी पनि दिएँ।
त्यस साँझ मैले आफ्ना विचारहरू जाँ द्रेजसँग खुलेर राख्ने अवसर पाएँ। अमर्त्य सेन र जाँ द्रेज दुवैको संयुक्त लेखनमा प्रकाशित धेरै महत्वपूर्ण कृतिहरू छन्। अमर्त्य सेनसँग बिगत लामो समयदेखि सहकार्य गर्दै आएका जाँ द्रेजलाई मेरो आफ्नो बुझाइअनुसारका विचारहरू राख्न पाउनु मेरो लागि अत्यन्तै सन्तोषजनक अनुभव थियो। उहाँले बीचबीचमा आफ्ना धारणा राख्दै मेरा कुरा ध्यानपूर्वक सुन्नुभयो। उहाँले आफू अमर्त्य सेनबाट प्रभावित भएको बताउनुभयो र साथै आफूलाई प्रभाव पारेका पाँच जना दार्शनिक तथा प्राज्ञहरूको बारेमा पनि संक्षेपमा उल्लेख गर्नुभयो। उहाँले भोलिदेखि बिहानको नियमित ब्रेकफास्ट र बेलुकाको डिनर सँगै गरौँला भन्नुभयो। जाँ द्रेजसँग बिहानको ब्रेकफास्ट र बेलुकाको खाना सँगै खाने अवसर पाउनु मेरो लागि अत्यन्त महत्वपूर्ण थियो।
विश्वले चिनेका र सम्मान गरेका प्राज्ञसँग यसरी संवाद गर्ने अवसर विरलै मात्र प्राप्त हुन्छ। कुराकानीका क्रममा अमर्त्य सेन, डेमोक्रेसी , सामाजिक सुरक्षा, गेम थ्योरी लगायतका विषयमा विचारविमर्श हुन्थ्यो। कार्ल मार्क्स , नोम चोम्स्की, गान्धी र अम्बेडकरका विचारले पनि हाम्रो संवादमा स्थान पाउँथे। सामाजिक सुरक्षाका सन्दर्भमा नेपालले आशाजनक काम गरिरहेको छ भन्ने उहाँको धारणा थियो। समग्रमा हाम्रो रात्रीभोजनको समयमा हुने संवाद अर्थपूर्ण हुने गर्थ्यो। भोजनपछि हामी केही समय सँगै हिँड्ने गर्थ्यौँ।
अतिथि गृहमा बसाइ अवधिभर उहाँ की–नोट स्पीचको तयारीमा पूर्ण रूपमा समर्पित भएर लागिरहनुभएको थियो। उहाँ प्रायः मसँग भन्नुहुन्थ्यो, “के बोल्ने होला खै? मलाई त चिन्ता पो लागिरहेको छ।” उहाँका यस्ता कुरा सुन्दा म झसङ्ग हुन्थेँ र सोच्थेँ—मेरो परिवेशमा त की–नोट स्पीचका लागि वक्ताले यति धेरै मेहनत गरेको मैले कहिल्यै देखेको थिइनँ। उहाँ दिनरात नभनी तयारीमा जुटिरहनुभएको देख्दा मलाई प्राज्ञिक मेहनतको गहिराइ बुझ्ने अवसर मिलेको थियो।
खाना खाने समयमा उहाँ मसँग विभिन्न विषयमा छलफल गर्नुहुन्थ्यो र मेरा विचार ध्यानपूर्वक सुन्नुहुन्थ्यो। एकपटक प्रसङ्गवश उहाँले मलाई गेम थ्योरीका आधारभूत मान्यताबारे मेरो धारणा सोध्नुभयो। मैले “खेल सधैँ जित्नका लागि मात्र खेलिन्न ” भन्ने आफ्ना तर्क राख्दै उदाहरण प्रस्तुत गरेँ, जसमा उहाँ सहमत हुनुभयो। त्यसपछि उहाँले अनातोल रापोपोर्टले लेखेको पुस्तक अध्ययन गर्न सुझाव दिनुभयो। साथै, “यो पुस्तक केही दिनका लागि अध्ययन गर्न दिन्छु” भन्दै उहाँले म तर्फ हेर्नुभयो, जसले मलाई अत्यन्तै उत्साहित बनायो। भोलिपल्ट उहाँले वास्तवमै उक्त पुस्तक अध्ययनका लागि मलाई दिनुभयो र भन्नुभयो, “यसको भूमिका र पहिलो पाठ राम्ररी पढेमा धेरै कुरा स्पष्ट हुन्छ।” साथै, उहाँले अभिनाश दीक्षितको द आर्ट अफ स्ट्राटिजि पनि अध्ययनका लागि उपयुक्त पुस्तक हो भन्दै मलाई अध्ययनका लागि दिनुभयो ।
जाँ द्रेजको प्राज्ञिक जीवनले मलाई अत्यन्तै प्रभावित पारेको छ। उहाँले अपनाउनुभएको सरल जीवनशैली र उच्च विचारमा आधारित प्राज्ञिक कर्म वास्तवमै प्रेरणादायी छ। उहाँका विचारहरूले विश्वलाई गहिरो प्रभाव पारेका छन्। यति धेरै सादगीपूर्ण जीवन जिउँदै उच्चस्तरीय प्राज्ञिक अभ्यास गर्न सकिन्छ भन्ने उहाँ एक ज्वलन्त उदाहरण हुनुहुन्छ।आम जनताका लागि, अझ विशेषगरी भुइँमान्छेका लागि काम गर्ने जाँ द्रेज विश्वका प्रतिष्ठित विश्वविद्यालयहरूमा अध्ययन, अनुसन्धान तथा अध्यापन गरिसक्नुभएका उच्च कोटीका प्राज्ञिक व्यक्तित्व हुनुहुन्छ। धेरै अर्थशास्त्रीहरूले उहाँले निकट भविष्यमा विकास अर्थशास्त्रमा नोबेल पुरस्कार प्राप्त गर्नुहुनेछ भन्ने विश्वास व्यक्त गर्ने गरेका छन्। यस्ता महान व्यक्ति सँग समय बिताउने अवसर प्राप्त हुनु मेरो लागि अविस्मरणीय रहिरहनेछ।
नेपाल फर्किनुभन्दा दुई दिनअघि कोलकाता विश्वविद्यालयका तथ्याङ्कशास्त्रका प्राध्यापकद्वय सुगत सेन रोय र भास्वती गांगुलीसँग बेलुकाको खाना सँगै खाने अवसर मिल्यो। उहाँहरूले कोलकाताको एक विशिष्ट रेस्टुरेन्टमा त्यहाँका विशेष परिकार चखाउने गरी मलाई निमन्त्रणा गर्नुभएको थियो। उहाँहरूसँग मेरो अत्यन्त आत्मीय सम्बन्ध रहेको छ। कोलकाता विश्वविद्यालयको तथ्याङ्कशास्त्र विभाग विश्वकै अग्रणी र प्रतिष्ठित विभागहरूमध्ये एक हो। यस्तो ऐतिहासिक विभागका विभागीय प्रमुख भइसकेका प्राध्यापकद्वयसँग तथ्याङ्कशास्त्रको विगत, वर्तमान र भविष्यका बारेमा विचार–विमर्श गर्न पाउनु आफैँमा ठूलो उपलब्धि हो।
कोलकाता बसाइको अन्त्यतिर इन्डियन स्टाटिस्टिकल इन्स्टिच्युटको अर्थशास्त्र विभागका विभागीय प्रमुख अनुज भौमिकसँग लामो कुराकानी भयो। हृदयदेखि नै मलाई प्राध्यापकद्वय समरजित दास र अनुज भौमिकले अर्थशास्त्र विभागमा स्वागत गर्नुभएको थियो।इकोनोमेट्रिसिएन समरजित दास र शुद्ध गणितीय विधामा स्नातकोत्तर गर्दै गणित र गणितीय अर्थशास्त्रमा उच्च अध्ययनको पृष्ठभूमिका आधारमा गणितीय अर्थशास्त्र र गणितमा उच्चस्तरीय अनुसन्धान गर्दै आउनुभएका अनुज भौमिकसँग केही घण्टा बिताउन पाउनु मेरो लागि अत्यन्त महत्वपूर्ण अनुभव रह्यो । मलाई गणितीय अर्थशास्त्रमा रुचि छ। नेपालको सन्दर्भमा मैले अर्थशास्त्र विषयको स्नातकोत्तर कार्यक्रमका लागि अर्थशास्त्रको लागि गणित बिषयको पाठ्यक्रम निर्माण, अध्यापन तथा विद्यार्थी मूल्याङ्कन गर्ने अवसर पनि पाएको छु। अर्थशास्त्रका विद्यार्थीलाई गणित सिकाउन निकै कठिनाइ हुने कुरा मैले अनुभव गरेको छु। तर यही प्रकृतिको समस्या विश्वभरि नै रहेछ भन्ने कुरा उहाँबाट थाहा पाउँदा यो समस्या केवल हाम्रो मात्र होइन भन्ने स्पष्ट भयो। त्यस्तै प्रकारको समस्या स्वास्थ्य विज्ञानका विद्यार्थीलाई तथ्याङ्कशास्त्र सिकाउँदा पनि मलाइ अनुभव हुन्छ , जससँग म विगत १६ वर्षदेखि परिचित छु। अर्थशास्त्र अध्ययनका लागि गणित तथा तथ्याङ्कशास्त्र अपरिहार्य भइसकेका छन्। गहिरो र उच्चस्तरीय गणितीय ज्ञान भएका व्यक्तिले अर्थशास्त्रमा अझ उत्कृष्ट र प्रभावकारी अनुसन्धान गर्न सक्छन् भन्ने धारणा विश्वव्यापी रूपमा बलियो हुँदै गएको छ, र यो धारणा दिनप्रतिदिन अझ गहिरिँदै गएको छ।अनुसन्धानमा जटिल गणितीय बिधिको अत्यधिक प्रयोग बढ्दै गएको विषयमा केही वरिष्ठ अर्थशास्त्रीहरूलाई चिन्तित पनि बनाएको छ।
त्यस्तै, स्वास्थ्य बिज्ञानका विभिन्न विधामा हुने अनुसन्धानमा तथ्याङ्कशास्त्रले महत्वपूर्ण भूमिका निर्वाह गर्न सफल भएको छ। गणित तथा तथ्याङ्कशास्त्रको उपयोगिता समस्त प्राज्ञिक क्षेत्र र नीति निर्माण तहमा दिनप्रतिदिन बढ्दै गएको छ। म आफैँमा पनि गणित तथा तथ्याङ्कशास्त्रप्रति अझै रुचि रहिरहेकोमा खुशी महसुस गर्छु, र यी विधाहरू अभ्यास गर्न पाउँदा गर्व लाग्छ। आशा छ भविष्यमा नेपालमा पनि गणित तथा तथ्यांकशास्त्रमा उच्च शिक्षा प्रदान गर्न तथा अनुसन्धान कार्यका लागि राम्रा राम्रा सरकारी संस्था स्थापित हुनेछन्।
प्रतिक्रिया 4