News Summary
Generated by OK AI. Editorially reviewed.- अमेरिका र इरानबिच ऐतिहासिक सम्झौताको प्रारम्भिक खाकामा सहमति भएको छ, जसको अन्तिम मस्यौदाका लागि ६० दिनभित्र वार्ता हुनेछ।
- सम्झौताअनुसार इरानले होर्मुज जलमार्ग खुला गर्नेछ भने अमेरिकाले इरानको रोक्का रहेको २५ अर्ब अमेरिकी डलर फुकुवा गर्ने सहमति जनाएको छ।
- इरानले आणविक हतियार उत्पादन नगर्ने र अन्तिम सम्झौता नहुन्जेल आफ्नो आणविक कार्यक्रमलाई हालकै अवस्थामा राख्ने प्रतिबद्धता जनाएको छ।
३१ जेठ, काठमाडौं । विगत केही महिनादेखि जारी भीषण युद्ध र तनावका बीच अमेरिका र इरान एउटा ऐतिहासिक सम्झौताको प्रारम्भिक खाका (मेमोरेन्डम अफ अन्डरस्ट्यान्डिङ) मा सहमत भएका छन्।
एक वरिष्ठ इरानी अधिकारीले रोयटर्सलाई दिएको जानकारी अनुसार, यस सम्झौताको अन्तिम मस्यौदाले इरानको आणविक कार्यक्रम, होर्मुज जलमार्ग खुला गर्ने विषय र इरानी तेल निर्यातमाथिको अमेरिकी प्रतिबन्ध फुकुवासहितका महत्त्वपूर्ण बुँदाहरूलाई समेटेको छ। दुवै पक्षबिच यो प्रारम्भिक सहमति भएको ६० दिनभित्र अन्तिम विस्तृत सम्झौताका लागि वार्ता हुनेछ।
इरानी अधिकारीका अनुसार तयार पारिएको प्रारम्भिक सम्झौताको मस्यौदामा निम्न मुख्य विषयहरू समावेश गरिएका छन्:
होर्मुज जलमार्ग र बन्दरगाह खुला गरिने
सम्झौता लागू भएलगत्तै इरानले हालै बन्द गरेको रणनीतिक रूपमा महत्त्वपूर्ण होर्मुज जलमार्ग सबै प्रकारका व्यापारिक जहाजहरूका लागि तत्काल खुला गर्नेछ।
यसको बदलामा अमेरिकाले इरानी बन्दरगाहहरूमा लगाएको आफ्नो नौसैनिक नाकाबन्दी हटाउनेछ। नाकाबन्दी हटाउने यो प्रक्रिया सम्झौतामा हस्ताक्षर भएलगत्तै सुरु भई ३० दिनभित्र पूर्ण रूपमा सम्पन्न गरिनेछ।
वित्तीय तथा आर्थिक व्यवस्था
नयाँ विस्तृत सम्झौता नभएसम्म अमेरिकाले इरानमाथि कुनै पनि नयाँ प्रतिबन्धहरू नलगाउने प्रतिबद्धता जनाएको छ। अन्तिम सम्झौतापछि एक निश्चित समयतालिका अनुसार इरानमाथिका सम्पूर्ण अमेरिकी र संयुक्त राष्ट्र सङ्घका प्रतिबन्धहरू पूर्ण रूपमा खारेज गरिनेछन्। यसका साथै, अमेरिकाले इरानको तेल बिक्रीमा लगाएको प्रतिबन्ध केही समयका लागि फुकुवा गर्नेछ, जसले गर्दा तेहरानले तेल बेचेर राजस्व संकलन गर्न पाउनेछ।
अमेरिकाले हालसम्म रोक्का गरेर राखेको इरानको २५ अर्ब अमेरिकी डलर बराबरको सम्पत्ति (फ्रोजन एसेट) पनि फुकुवा गर्न सहमति जनाएको छ। यो रकम सिधा नगद ट्रान्सफर, क्षेत्रीय देशहरूबिचको सहकार्य र वित्तीय क्रेडिट लाइनमार्फत फुकुवा गरिनेछ।
वासिङ्टनले आफ्ना क्षेत्रीय सहयोगी राष्ट्रहरूसँग मिलेर इरानको पुनर्निर्माण र विकासका लागि एउटा योजना तयार पार्नेछ, जसबारे आगामी ६० दिनभित्र तेहरानसँग वार्ता गरी सहमति कायम गरिनेछ।
आणविक कार्यक्रमको सीमा
इरानले आफूले कहिल्यै पनि आणविक हतियार उत्पादन वा प्राप्त नगर्ने कुरामा सहमति जनाएको छ। अन्तिम सम्झौता नहुन्जेल इरानले आफ्नो आणविक कार्यक्रमलाई हालकै अवस्थामा राख्नुपर्नेछ। जसअन्तर्गत युरेनियम प्रवर्द्धनलाई थप बढाउन र आणविक सुविधाहरू विस्तार गर्न पाइने छैन।
भविष्यमा हुने बृहत् सम्झौताअन्तर्गत अमेरिकाले इरानलाई आफ्नै भूमिमा अत्यधिक प्रवर्द्धन गरिएको युरेनियमको भण्डारलाई अलि कम शक्तिशाली बनाउन अनुमति दिन सहमति जनाएको छ। इरानको आणविक कार्यक्रम, युरेनियम प्रवर्द्धनका गतिविधिहरू र संकलित युरेनियमको भण्डारण व्यवस्थापन गर्ने संयन्त्रका बारेमा यो प्रारम्भिक सम्झौता भएको ६० दिनभित्र वार्ता गरी अन्तिम रूप दिइनेछ।
प्रतिक्रिया 4