News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले डिजिटल प्रक्रियामार्फत इच्छुक स्वयंसेवीहरूसँग सहकार्य गर्न ‘स्मार्ट फाराम’ सार्वजनिक गरेको छ ।
- कांग्रेसले पहिलो चरणमा जलवायु परिवर्तन, मानसिक स्वास्थ्य र उद्यमशीलतासहित ८ वटा विषयमा सहकार्य गर्न स्वयंसेवीलाई आह्वान गरेको छ ।
- इच्छुक व्यक्तिहरूले क्युआर कोड स्क्यान गरी आफ्नो रुचि र दक्षताका आधारमा निश्चित विषयको सहकार्य टोलीमा जोडिन सक्नेछन् ।
५ असार, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले ‘स्मार्ट फाराम’ सार्वजनिक गरेको छ ।
प्रतिष्ठानले शुक्रबार पार्टीको आधिकारिक फेसबुक पेजमार्फत ‘स्मार्ट फाराम’ सार्वजनिक गर्दै इच्छुक स्वयंसेवीलाई सहकार्यको आह्वान गरेको हो ।
नेपाली समाज र जीवनका ज्वलन्त विषयमा सहकार्य गर्न इच्छुकहरूलाई डिजिटल प्रक्रियाबाट जोडिनका लागि ‘स्मार्ट फाराम’ सार्वजनिक गरिएको कांग्रेसले जनाएको छ ।
कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले क्यूआर कोड स्क्यान गरेर निश्चित कुनै एक विषयमा ‘सहकार्य टिम’ मा जोडिन सकिने बताएका छन् । सहकार्यका लागि कांग्रेसले प्रथम चरणका लागि विभिन्न आठ वटा विषयहरू छनोट गरेको छ ।
जलवायु परिवर्तन, मानसिक स्वास्थ्य सचेतना, उद्यमशीलता, डिजिटल सचेतना, दुव्र्यसनमुक्त समाज, जातीय विभेदविरुद्ध सचेतना, बाल श्रम उन्मूलन तथा कला र साहित्य गरी आठ विषय छनोट गरिएको दुलालले बताए ।
प्रथम चरणमा इच्छुक भएर जोडिनेहरूको रुचिगत विषय र दक्षताका आधारमा सहकार्य प्रारम्भ गरेर दोस्रो चरणका विषय सार्वजनिक गरिने उनले बताए ।
उनले पार्टीका सदस्य वा स्वतन्त्र ढंगले काम गरिरहेका विषयगत रुचि राख्नेहरूलाई नीति निर्माण र चेतनामूलक अभियानमा समेट्ने उद्देश्यले ‘स्मार्ट फाराम’ सार्वजनिक गरिएको पनि बताए ।
प्रतिक्रिया 4