News Summary
Generated by OK AI. Editorially reviewed.- वरिष्ठ चलचित्रकर्मी नीर शाहले ७२ वर्षको उमेरमा चलचित्र 'परान'बाट उत्कृष्ट अभिनेताको राष्ट्रिय चलचित्र अवार्ड जितेका छन् ।
- निर्देशन, खलपात्र र कमेडी विधामा अवार्ड जितेका शाहले मुख्य अभिनेता विधामा पहिलोपटक अवार्ड पाएका हुन् ।
- अवार्ड पाएपछि शाहले भने, “काम र पेशा पुरस्कृत हुँदा खुसी नहुने त कुरै भएन ।”
काठमाडौं । नीर शाहले ७२ वर्षको उमेरमा उत्कृष्ट अभिनेतातर्फ राष्ट्रिय चलचित्र अवार्ड जिते । फिल्म ‘परान’मा शक्तिशाली भूमिका निर्वाह गरेका शाहका लागि यो शीर्ष अभिनेता (प्रोटागोनिस्ट) तर्फ करिअरकै पहिलो अवार्ड थियो ।
निर्देशकको रुपमा प्रसिद्ध शाहले निर्देशन, खलपात्र र कमेडी विधामा अवार्ड जितेपनि शीर्ष अभिनेता विधामा पाएको यो पहिलो अवार्ड हो । विशाल बजारको लायन्स क्लबबाट सुरु भएको नेपाली फिल्म अवार्डको इतिहास राष्ट्रिय चलचित्र अवार्डसम्म आइपुग्दा शाहले पाएको यो सम्मान आफैमा अर्थपूर्ण पनि छ ।
अर्थपूर्ण यसअर्थमा कि, मूलधारको फिल्मले ब्याख्या गर्नेजस्तो नायकत्व र स्टारडमको नभएर यसपटक पात्रको सम्मान भएको अर्थमा लिन सकिन्छ । जसलाई लिएर शाह आफैले उत्साह समेत व्यक्त गरे ।
‘३० को दशकमा मैले वासुदेवबाट पहिलोपटक उत्कृष्ट निर्देशनमा अवार्ड पाएको थिएँ । त्यतिबेला एकदम खुसी भएको थिएँ । अहिले पनि त्यत्तिकै खुुसी छु’ शाहले अनलाइनखबरसँग भने, ‘काम र पेशा पुरस्कृत हुँदा खुसी नहुने त कुरै भएन ।’
‘यो भूमिकाको लागि जजसले मिहेनत गर्नुभएको थियो, सबैजना अवार्डको भागिदार हुनुहुन्छ’ उनले भने, ‘आफ्नो भूमिका राम्रोसँग गर्न सकेको कारणले पाएको हुँ जस्तो लाग्छ । यसले ऊर्जा निश्चय नै थप्छ तर, जीवनको करिअर क्लाइमेक्समा पुगेजस्तो चाहिँ अझै भएको छैन । मैले परानको क्यारेक्टर निर्वाह गर्नु नै ठूलो कुरा हो । दर्शकको अवार्ड नै ठूलो कुरा हो ।’
उनले अघि भने, ‘यसले अभिनय कलाप्रतिको मेरो समर्पणलाई बढावा दिने वा घटाउने काम चाहिँ गरेको छैन । जुन प्रकारको हर्षको अनुभूति हुन्छ, त्यो चाहिँ भएको छ ।’ उनले अभिनयलाई उमेरको दृष्टिकोणले हेर्न नहुने बताए ।
‘परानको रोल त्यही उमेरको मान्छेले खेल्ने हो । उसले खेलेको भूमिकालाई न्याय गर्न सकेको छ कि छैन भन्ने कोणबाट हेर्नुपर्छ’ उनले भने ।
प्रतिक्रिया 4