+
+
Shares

३ वर्ष जेल बसेर ६ महिनाअघि छुटेका व्यक्ति फेरि लागूऔषध कारोबारमै, प्रहरीले गोली चलाएर समात्यो

अन्य दुई पनि पक्राउ

भारतबाट लागूऔषध खैरो हिरोइन ल्याइ कारोबार गरिरहेको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ६ गते १६:५८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौंको बालकुमारीमा लागूऔषध कारोबार गरिरहेका किशोर प्रसाद ओझैयालाई प्रहरीले गोली हानेर पक्राउ गरेको छ ।
  • पक्राउ परेका ओझैया लागूऔषध मुद्दामा ३ वर्ष कैद भुक्तान गरी ६ महिनाअघि मात्र नख्खु कारागारबाट छुटेका व्यक्ति हुन् ।
  • प्रहरीले उनीहरूको साथबाट ३०० ग्राम खैरो हिरोइन बरामद गरी अन्य दुई जनालाई पनि पक्राउ गरेको छ ।

६ असार, काठमाडौं । लागूऔषध मुद्दामा तीन वर्ष कैद भुक्तान गरेर ६ महिनाअघि मात्रै छुटेका व्यक्ति पुन: लागूऔषधकै कारोबार गरिरहेको अवस्थामा पक्राउ परेका छन् ।

काठमाडौंको बालकुमारीस्थित पुलमुनि कारोबार गरिरहेको अवस्थामा प्रहरीले ती व्यक्तिलाई गोली हानेर पक्राउ गरेको हो ।

पर्साको पटेवा सुगौली गाउँपालिका–४ घर भएका ३९ वर्षीय किशोर प्रसाद ओझैयालाई प्रहरीले गोली हानेर पक्राउ गरेको हो ।

प्रहरीका अनुसार, उनीसँगै कारोबारमा संलग्न अन्य दुई जनालाई पनि पक्राउ गरिएको छ । पक्राउ पर्नेहरूमा कैलालीको टिकापुर नरगपालिका ५ घर भएका २५ वर्षीय अशोक भुल र सप्तरीको राजगढ गाउँपालिका ३ घर भएका २० वर्षीय निरज कुमार मण्डल रहेका छन् ।

भारतबाट लागूऔषध खैरो हिरोइन ल्याइ कारोबार गरिरहेको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

प्रहरीले जनाए अनुसार, उनीहरूलाई रोकिन भन्दै सुरुमा हवाइ फायर गरिएको थियो । उनीहरू नमानेर भाग्न थालेपछि प्रहरीले एक जनाको घुँडा मुनि गोली हानिएको जनाएको छ ।

गोली लागेर घाइते भएका ओझैयालाई ट्रमा अस्पतालमा उपचारका लागि लगिएको छ ।

उनीहरूको साथबाट तीन सय ग्राम खैरो हिरोइन, मोबाइल ४ थान बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रारम्भिक अनुसन्धानका क्रममा गोली लागेका ओझैया यसअघि पनि लागूऔषध मुद्दामा कैद भुक्तान गरेका व्यक्ति हुन् ।

३ वर्ष कैद र एक लाख ४ हजार जरिवाना तिरेर उनी ०८२ पुस १७ गते नख्खु कारागारबाट छुटेको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक एवं प्रवक्ता दुर्गाराज रेग्मीले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?